site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपालमा म्यागेजिनको युग समाप्त हुन लागेको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली पत्रकारितामा लामो समय विभिन्न सञ्चारगृहका समाचार कक्षको नेतृत्व गरेका पत्रकारहरूले नेपालमा अझै म्यागेजिनको युग समाप्त भइनसकेको बताएका छन् । ‘हिमाल’ म्यागेजिन बन्द भएपछि कतिपयले नेपालमा म्यागेजिनको युग समाप्त भयो भनिरहेका बेला सम्पादन र प्रकाशनको समेत अनुभव सम्हालेका पत्रकार तथा प्रकाशकहरूले छापा पत्रकारिताको समय अझै नसकिएको बताएका हुन् । 

परिवर्तित पाठकको बदलिँदो रुचिलाई संबोधन गर्न सके कुनै माध्यमले ठूलो असर नगर्ने उनीहरूको भनाइ छ । मुख्य पक्ष विषयवस्तु भएको उनीहरूको तर्क छ । पाठकको चाहनाअनुसारको बलियो ‘कन्टेन्ट’ आए त्यसले पाठकलाई बाँध्न सक्ने र त्यस्तो मिडिया सधैँ अस्तित्वमा रहिरहने उनीहरू ठान्छन् । यद्यपि, परिवर्तनशील समयमा माध्यमले थोरबहुत प्रभाव भने पार्नेमा उनीहरू सहमत छन् । 

म्यागेजिनको युग समाप्त भइनसकेको तर समयअनुसार भूमिका भने परिवर्तन भएको पत्रकार शरच्चन्द्र वस्ती बताउँछन् । ‘हिमाल’, ‘नेपाल’, ‘समय’ बन्द हुँदैमा नेपालमा म्यागेजिनको युग नै समाप्त भयो भन्ने निष्कर्ष निकाल्न नहुने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“बन्द भएका यी म्यागेजिननस्तै साप्ताहिक, पाक्षिक वा मासिक म्यागेजिन राम्रोसँग निकाल्न सक्यो भने यसको भविश्य छ । म्यागेजिनले दिने सामग्री अनलाइन र दैनिक पत्रिकाले दिन सक्तैनन्, त्यसैले पाठकमा म्यागेजिनप्रति भोक छ,” उनी भन्छन्, “त्यसलाई संबोधन गरेर राम्रो म्यागेजिन निकाल्न सक्यो भने चल्छ । तर, फरक तरिकाले सामग्री दिन सक्नुपर्छ ।” 

‘हिमाल’ले आफ्नो समयमा अरुले दिन नसकेको र पाठकका लागि आवश्यक एवं रुचिकर विषयमा काम गरेकाले लोकप्रिय भएको भन्दै वस्ती त्यस्तै विषय चयन गर्नसके अहिले पनि म्यागेजिन चल्ने बताउँछन् । यद्यपि, परिवर्तित समयलाई चिन्न भने सक्नुपर्नेमा उनको जोड छ । अन्यथा रहरमात्रै हुने उनी बताउँछन् । 

Global Ime bank

कतिपयले अहिले धेरैजसो छोटो ‘कन्टेन्ट’ रुचाउँछन् भन्ने गरे पनि यसमा सत्यता नरहेको शरच्चन्द्रको जिकिर छ । 

“अहिले मात्रै होइन पहिला पनि छोटा सामग्री रुचाइन्थ्यो । दुईवटा वाक्यमा बुझाउन सकिन्छ भने लामो सामग्री किन चाहियो भनेर पहिला पनि भनिन्थ्यो । १५ शब्दभित्रको लिडमा समाचारको महत्त्वपूर्ण कुरा भनिसक्नु पर्छ भन्ने सिद्धान्त नै यहीँबाट आएको त हो,” शरच्चन्द्र अगाडि थप्छन्, “तर, धेरै मान्छेलाई विस्तृतमा बुझ्ने चाहना  हुन्छ । तपाईँले केही कुरा कतै छ्यास्स सुन्नुभयो भने त्यसको भित्री तहसम्म जाने चाहना हुन्छ । त्यो उत्सुकता जगाएर त्यसलाई परिपूर्ति गर्नेगरी काम गर्नसक्ने हो भने अझै पनि पढिन्छ ।” 

किन त्यस्तो भएको रहेछ, कसरी भएछ, त्यसको परिणाम के हुन्छ भनेर जान्ने चाहना भएका व्यक्तिको ठूलो संख्या रहेको तथ्यलाई नकार्न नसकिने उनी बताउँछन् । 

जुन सामग्री पस्किने हो त्यसमा उत्सुकता सिर्जना गर्दै विस्तृतमा दिने काम अहिले कुनै पत्रिका, अनलाइन वा सामाजिक सञ्जालले गर्न नसकेको उनको भनाइ छ । त्यसैले यसलाई पहिचान गरेर त्यस्तो सामग्री उत्पादन गर्न सके अहिले पनि म्यागेजिनको भविष्य उज्ज्वल रहेको उनको दाबी छ । 

पाठकले के चाहेको छ भनेर थाहा पाउन ठूलो लगानी गरेर अनुसन्धान पनि गर्नु नपर्ने उनको धारणा छ । इमानदार, लगनशील, संवेदनशील पत्रकार भए उसले हरेक दिन पाठकलाई उत्सुकता जगाउन सक्ने सामग्री निकाल्न छान्नसक्ने शरच्चन्द्र बताउँ न् । 

पत्रकार हरेक दिन समाजको जीवन्त सम्पर्कमा रहने भएकाले समाजले के चाहेको छ भन्ने ऊ एक्लैले थाहा पाउने उनको तर्क छ । यद्यपि, यो सम्बन्धित पत्रकारमा भरपर्ने उनी बताउँछन् । आग्रहपूर्वाग्रह नराखेर पाठकको मनमा पुग्न सक्ने हो भने ठूलो खर्च गरेर रिसर्च नै आवश्यक नपर्ने उनी दाबी गर्छन् । आफूले समाचार कक्षमा यो सिद्धान्त पटकपटक प्रयोग गरेर सफल पनि भएको बताउँछन् । 

पछिल्लो समय म्यागेजिन बन्द हुनुको कारण आर्थिक संकट अर्थात् विज्ञापनको बजारमा आएको मन्दीलाई मानिन्छ । 

यसमा केही सत्यता पनि रहेको तर शतप्रतिशत यहीमात्रै कारण हो भन्नेमा उनी सहमत छैनन् । आर्थिकरूपमा सधैँ सम्पन्न नभएर सकस हुँदाहुँदै पनि बजारमा आएका पत्रिकाले राम्रो बजार लिएका र पाठकको मन जितेको थुप्रै उदाहरण रहेको उनको भनाइ छ । 

मूल पक्ष पछिल्लो समय पत्रकारिता कर्पोरेट कम्पनीको जागिरजस्तो भएको उनको टिप्पणी छ ।  पत्रकारभित्र हुटहुटी र राम्रो गर्छु भन्ने तीव्र चाह नभएसम्म पत्रकारिता राम्रो नहुने उनको अनुभव छ । 

“स्वयं पत्रकारले म आफूलाई जसरी पनि पत्रकारितामा प्रमाणित गर्छु भनेर काम गर्ने हो भने अवरोध बिस्तारै हट्दै जान्छ,” शरच्चन्द्र अगाडि थप्छन्, “म सक्छु र गर्छु भन्ने पत्रकारको संख्या पनि कम भयो कि ? यस्तो इच्छाशक्ति हुने पत्रकारको संख्या पनि कम भयो कि भन्ने पनि लाग्छ ।” 

म्यागेजिन बन्द हुनुका पछाडि थुप्रै कारण होलान् तर आउँदा दिन थप चुनौतिपूर्ण रहेको उनको भनाइ छ । सबै सूचनाका लागि म्यागेजिन, पत्रिका, रेडियो, टेलिभिजन कुर्नु नपर्ने दिन आइरहेको भन्दै उनी भन्छन्, “त्यतिबेला झन् के गर्ने भन्ने पनि हो । विज्ञापन कम भएकै हो । १८–२० पेज छापिने पत्रिका ८–१० पेजमा सीमित भएका छन् । तर, धेरै विज्ञापन आएर राम्रो पत्रकारिता भएको इतिहास हाम्रो होइन । धेरै विज्ञापन आएर त पैसाको चलखेल धेरै हुने हो । काम गर्ने हुटहुटी त पत्रकार स्वयंमा हुनुपर्छ । त्यसले पत्रकारितालाई मजबुत बनाउँछ ।” 

म्यागेजिन बन्दै हुँदैमा यसको आवश्यकता र औचित्य भने समाप्त भइनसकेको अनलाइनखबरडटकमका प्रधान सम्पादक शिव गाउँलेको धारणा छ ।  गाउँले लामो समय म्यागेजिनको सम्पादकीय नेतृत्वमा पनि थिए । 

देशलाई उचित बाटो देखाउन पनि म्यागेजिनको खाँचो रहेको उनको तर्क छ । भारतमै पनि ‘इन्डिया टुडे’, ‘आउटलुक’ अहिले पनि सशक्तरूपमा रहेको भन्दै नेपालमा पनि म्यागेजिन आवश्यक रहेको उनी बताउँछन् ।  

तर, आर्थिक मन्दी बढ्दै जानु र विज्ञापन बजार घट्दै जानुले म्यागेजिनहरूले आर्थिक भार बहन गर्न नसक्दा बन्द हुनु परिरहेको शिव बताउँछन् । 

“छापा पत्रकारितामा पेपर र प्रिन्टमा ठूलो रकम खर्च हुन्छ । त्यसपछि मात्रै आउने हो ओभर हेड,” उनी भन्छन्, “सूचना प्रविधिका कारण हातहातमा निःशुल्क सूचना तत्काल आइपुग्न थालेपछि बजार गएर पैसा तिरेर म्यागेजिन किनेर पढ्ने कुरा कम प्राथमिकतामा पर्‍यो ।” 

पाठकलाई पसलसम्म लगेर पैसा तिरेर म्यागेजिन किन्नै  पर्ने वातावरण बनाउनु आवश्यक रहेकोमा उनले जोड दिए । 

अहिलेका डिजिटल प्लेटफर्म, सामाजिक सञ्जालमा बिनालगानी सजिलोसँग सूचना आइरहे पनि दीगो र महत्त्वपूर्ण समाचार सामग्री दिन सके अहिले पनि म्यागेजिनको आवश्यकता र सान्दर्भिकता उत्तिकै रहेको उनको भनाइ छ । 

“अहिले हरेक व्यक्तिको हातहातमा सूचनाको ओइरो लागिरहेको छ । भलै त्यो कति सत्य, कति परिपक्व, कति दिगो विश्लेषण पस्किने छन् त्यो समीक्षाको विषय हो । तर, ‘इन्फरमेसन ओभरफ्लो’ भइरहेको सत्य हो,” शिव भन्छन्, “यस्तो अवस्थामा पाठकले कुनै हालतमा छुटाउनै नहुने अवस्था बनाउने चुनौती म्यागेजिनलाई छ । यो पछि प्रकारान्तरले मिडिया हाउसका लागि लगानी हो । यसका लागि राम्रो रिपोर्टर, राम्रो कपी एडिटर, राम्रो डेस्क, राम्रो सम्पादक चाहिन्छ । राम्रो प्रिन्टिङको क्वालिटी चाहिन्छ । यो पनि लगानी हो । सम्पादकीय चुनौती रहँदा पनि म्यागेजिन बन्द भइरहेका कुरा भन्न हिचकिचाउनु पर्दैन, यो निकै थोरै छ ।”

‘पपुलिज्म’ पत्रकारिताको आधारभूत कुरा नभएको भन्दै शिव अहिलेको डिजिटल पत्रकारिता केही हदसम्म क्लिकबेसमा आधारित रहेको बताउँछन् । तर, पत्रकारिता पपुलिज्मभन्दा पनि देशलाई चाहिएको के हो त्यो कुरा सञ्चार माध्यमले भन्नुपर्नेमा उनको जोड छ । कहिलेकाहीँ अलोकप्रिय भएरै भए पनि लोकरिझाइँभन्दा बाहिर गएर समाज र देशको हितमा केन्द्रित हुनुपर्ने उनी बताउँछन् । भिडका पछाडि सम्पादक लाग्न नहुने उनको धारणा छ । 

“डिजिटल पत्रकारिता क्लिकबेसमा रमाउनेको संख्या बढ्ने र म्यागेजिनहरू बन्द हुँदै जाँदा पत्रकारिता ठूलो जोखिममा पर्छ । म्यागेजिनले यो गलत हो र यसको असर भोलि यस्तो पर्छ भनेर विचारसहित भन्छ । तर, त्यसो भन्ने म्यागेजिन नै नहुँदा त्यसको असर निश्चय नै देखिन्छ,” शिव भन्छन्, “हिमाजलस्ता म्यागेजिन बन्द भए, अब त्यो जिम्मेवारी हामीले बोक्नुपर्छ । आजको एजेण्डा के हो ?, सधैँ लोकप्रिय बाटो हिँडेर गन्तब्यमा पुगिँदैन भन्न तथ्यलाई न्यु मिडियाले बुझ्न जरुरी छ । हामी गरिरहेका छौँ तर यो जिम्मेवारी अहिलेका पत्रपत्रिका, अनलाइन, रेडियो टेलिभिजनलाई चुनौती र दायित्व थपिएको छ ।” 

नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित अहिलेको अवस्थामा नेपालमा म्यागेजिन प्रकाशन गरेर त्यसलाई निरन्तरता दिन प्रकाशन गृहहरूलाई ठूलो चुनौती रहेको बताउँछन् । ‘हिमाल’ आर्थिक संकटकै कारण तत्कालका लागि बन्द हुन पुगेको उनको भनाइ छ । नेपालमा म्यागेजिनहरू बन्द हुने क्रममा रहे पनि पाठकको अभाव भने नरहेको उनको भनाइ छ । विज्ञापनको भने टड्कारो अभाव रहेको कुन्द बताउँछन् । 

“नेपालमा लङफर्मको स्टोरी पढ्ने पाठकको संख्या छ । यस्ता स्टोरी पढिन्छन् । तर, विज्ञापन भने छैन,” कुन्द अगाडि थप्छन्, “छोटा र सनसनीपूर्ण समाचारबाट दिक्क भएका पाठक लङफर्मका स्टोरी पढ्न रुचाउँछन् । यस्ता पाठकको संख्या ठूलो छ तर यसमा विज्ञापन छैन । यसैले यसमा ‘रेभिन्यु’ कसरी उठाउने भन्ने ठूलो चुनौती छ ।”

नेपालमा मात्रै होइन संसारभर नै अहिले प्रिन्ट मिडियाको व्यापारिक आधार जोखिममा रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल र मोबाइल फोनको प्रयोगले प्रिन्ट मिडिया जोखिममा रहेको उनको अनुभव छ ।   

दस वर्षअगाडि आफूले दस वर्षपछाडि प्रिन्ट मिडिया चल्दैन भनेर विद्यार्थीलाई भन्ने गरेको कुन्द स्मरण गर्छन् । यद्यपि, प्रिन्ट मिडियाको भविष्य नसकिएको पनि उनको जिकिर छ । “प्रिन्ट मिडियाको मृत्यु भइसक्यो भन्नु अतिरञ्जनामात्रै हो,” कुन्द प्रष्ट पार्छन्, “भारतमै हेर्ने हो भने पनि प्रिन्ट मिडिया फस्टाइरहेकै छन् । प्रकाशकहरूले पैसा कमाइरहेका छन् ।” 

साप्ताहिकरूपमा आउने ‘हिमाल’ कोभिडको समयमा बन्द भएको थियो । त्यसपछि पुनः प्रकाशन हुँदा मासिकरूपमा आउन थालेको थियो । मासिकरूपमा प्रकाशन हुँदा विज्ञापन बढ्छ भन्ने अपेक्षा गरिए पनि यस्तो हुन नसकेको कुन्दले खुलासा गरे । “अपेक्षा गरेजस्तो विज्ञापन नभएपछि हामीले केही समयका लागि बन्द गरेका हौँ । तर, सधैँका लागि बन्द गरेका होइनौ । केही समयपछि अर्कै मोडालिटीमा आउने हाम्रो सोच छ,” कुन्द भन्छन्, “कस्तो मोडालिटीमा आउने भन्नेबारे हामी अध्ययन गरिरहेका छौँ । अर्कै फर्म्याटमा प्रिन्ट गर्न सकिन्छ कि भनेर तीन÷चारवटा मोडल हामीले हेरिरहेका छौँ । यसमा हामीले अरूको अनुभव पनि हेर्नुपर्छ ।” 

कस्तो खालको म्यागेजिन चल्छ भनेर प्रकाशकलाई थाहा भइनसकेको भन्दै यसको खोजी आवश्यक रहेको उनी बताउँछन् । तर, अहिले नेपालमा प्रकाशन भइरहेकाजस्ता म्यागेजिन भने नचल्ने निश्चित भइसकेको उनको निष्कर्ष छ । 

अब ‘हिमाल’ प्रकाशन हुँदा फर्म्याट परिवर्तन भए पनि प्रिन्टमै आउने उनले जानकारी दिए । अमेरिका र युरोपमा पछिल्लो समय मोबाइलमा पढ्दा आँखा दुख्ने र दृष्टि कमजोर हुने समस्या बढ्यो भनेर पुनः प्रिन्ट फर्म्याट नै ठीक भन्ने केही म्यागेजिन फस्टाएको उनी बताउँछन् । युरोपमा ‘मोनकल’ म्यागेजिन राम्रोसँग चलेको र त्यो व्यापारिकरूपमा पनि सफल भइरहेको भन्दै त्यस्तो फर्म्याटमा नेपालमा म्यागेजिन प्रकाशन सम्भव छ÷छैन अध्ययन गरिरहेको उनको भनाइ छ । यसका लागि समय लिएर अध्ययन गरिरहेको पनि उनले जानकारी दिएका छन् ।  

कतिपय म्यागेजिन वर्षको दुईपटक किताबको फर्म्याटमा प्रकाशन भइरहेको भन्दै कुन्द भन्छन्, “विभिन्न स्याम्पलमा हामीले पनि अध्ययन गरिरहेका छौँ । यसबारे अरुको धारणा पनि लिनुपर्छ । कुन फर्म्याटमा आउँदा प्रकाशन सहज हुन्छ यसमा पर्याप्त अध्ययन आवश्यक छ । प्रिन्टमात्रै होइन अहिले डिजिटल न्युज पोर्टलहरू पनि संकटमा छन् ।”

कुन्द पहिले प्रिन्टलाई मात्रै लेगेसी मिडिया भन्ने गरेको स्मरण गर्दै जुन आउटलेटमा विज्ञापन र पाठक हुन्छन्, ती सबै मिडिया लेगेसी मिडिया भएको बताउँछन् । रिडर रेभिन्यु भएका मिडियाको अस्तित्वलाई स्वीकार्नु पर्ने भन्दै उनी अहिले सबै टेम्प्लेटका मिडिया आर्थिकरूपमा सहज अवस्थामा नरहेको बताउँछन् ।  

यति हुँदाहुँदै पनि  ‘द न्युयोर्क टाइम्स’ र ‘न्युजविक’ सफल नभए पनि अमेरिकामा अरू म्यागेजिन सफल भएको कुन्दको भनाइ छ । ‘द न्युयोर्कर’ र ‘एट्लान्टिक’ म्यागेजिन लङफर्मका स्टोरी बेच्ने म्यागेजिन भएको र यसको लोकप्रियता अहिले पनि कम नरहेको उनी बताउँछन् । अनलाइन संस्करणबाट उनीहरूले आम्दानी गरिरहेको भन्दै प्रिन्ट भर्सनमा भने विज्ञापन कम रहेको उनको भनाइ छ । ‘रिडर रेभिन्यु’को फर्म्याटमा नगई अब सम्भव नरहेको उनको जिकिर छ ।    

आउँदो सय वर्षमा पनि छापा पत्रकारिता कायम रहनेमा आफू ढुक्क रहेको शिक्षक मासिकका सम्पादक वरिष्ठ पत्रकार  राजेन्द्र दाहाल बताउँछन् । भलै यसको मात्रा फरक पर्नेमा शंका नरहेको उनको भनाइ छ । हिजोको तुलनामा आज प्रिन्ट मिडिया नचले पनि यसको अस्तित्व नै सकिइसक्यो र भविष्य नै छैन भन्ने कुरामा आफूलाई विश्वास नरहेको उनी बताउँछन् । 

“प्रिन्ट, अनलाइन, एप, वा रेडियो, टेलिभिजन जे भने पनि यी माध्यममात्रै भएको तर मुख्य कुरा कन्टेन्ट हो भन्ने भुल्न हुँदैन,” राजेन्द्र दाहाल भन्छन्, “हिजो हामी काँसको थालमा खाना खाएर हुर्कियौँ होला आज सेरामिक्सको प्लेटमा खाइरहेका छौँ होला । मसलाहरू बदलिए होला तर जेमा खाए पनि आधारभूत कुरा खाना नै हो । त्यस्तै जुन माध्यमबाट गए पनि विषयवस्तु नै जाने हो । त्यसलाई माध्यमले मात्रामा तलमाथि पर्ला तर धेरै फरक पार्दैन । आज पनि पुस्तक चलेकै छन्, बेचेर लेखकहरू धनी भइरहेकै छन् ।” 

पाठकको रुचि निरन्तर परिवर्तनशील हुने र आवश्यकता पनि बदलिँदै जाँदा एउटै आपूर्तिकर्ताले सधैँ पाठकलाई उत्तिकै स्वादिलो सामग्री दिन नसक्ने राजेन्द्र बताउँछन् । प्रकाशन गृहहरूले आफूलाई अध्यावधिक गर्दै पाठकका परिवर्तित रुचि र आवश्यकता संबोधन गर्न नसके त्यस्ता प्रकाशक छोडिँदै जाने उनको धारणा छ ।  

पाठक र बजारको आवश्यकताअनुसार आफूलाई अध्यावधिक गर्न नसक्ने मिडिया किनारा लाग्दै जाने र परिवर्तनशील बजारअनुसार विषयवस्तु दिने मिडिया अगाडि बढ्ने राजेन्द्र बताउँछन् । “प्रवेश र निकास निर्बाध हुनुपर्छ भन्ने स्वतन्त्र प्रेसको सौन्दर्य हो । पुराना पत्रिका र सञ्चारमाध्यम बन्द हुँदै जान सक्छन् । नयाँ नयाँ प्रकृति र प्रविधिका सञ्चारमाध्यम खुल्दै जान सक्छन् । कतिपय प्रकाशक लगानी डुबाएर यो बिजनेसबाटै पलायन हुन सक्छन्,” राजेन्द्र भन्छन्, “कतिपय उत्साही नयाँ लगानीकर्ता नयाँ अवधारणासहित प्रवेश गर्न सक्छन् । यो गतिशील समाजको स्वाभाविक प्रक्रिया हो । हिमाल पत्रिका बन्द हुनु त एउटा सन्दर्भमात्रै हो । यस्ता धेरै म्यागेजिन आएर बन्द भइसकेका छन् । ती बन्द भएपछि अरु आएर पनि बन्द भए वा रुपान्तरित भए । त्यसैले यो बजार र पाठकको गतिशीलताको परिणाम हो ।” 

राजनीतिप्रतिको वितृष्णा र विमोहले समग्र समाजलाई गाँजेको र त्यसले समाचार पढ्ने जाँगर पनि पाठकमा नरहेको राजेन्द्र बताउँछन् । पुरानो पुस्ता ५०/५५ कटेपछि बिस्तारै समाचार र सूचनाबाट टाडिँदै जाने भएकाले मूलतः नयाँ पुस्ता नै सञ्चारमाध्यमको पाठक/स्रोता/दर्शक हो । यसैले त्यो पुस्ताको रुचि र आवश्यकतालाई संबोधन गर्न सक्नुपर्नेमा उनको जोड छ । जुन माध्यमले अडियन्सको रुचिअनुसारको समाचार सामग्री दिन्छन् तिनै ‘सस्टेन’ हुने उनको भनाइ छ । 

“जब युवा पुस्तालाई अहिलेको राजनीतिक, शैक्षिक बौद्धिक र सामाजिक नेतृत्वले विदेश जान प्रेरित गरिरहेको छ । राजनीतिप्रति नै युवामा वितृष्ण पैदा गराइदिएको छ भने कुनै पनि समाचारप्रति नयाँ पुस्ताले सरोकार नै राख्दैन,” उनी भन्छन्, “सरोकार जुन विषयमा छ, त्यसमै लागेर मिहिनेत गरिरहेका छन् । हाम्रो समाज अहिले विमोह र वितृष्णाको बाटोमा गइरहेको छ । युवा पुस्ता विदेशिनेतर्फ केद्रित छ । हाम्रो शासनव्यस्थाले यसैलाई मलजल गरिरहेको छ । यस्तो अवस्थामा युवाले जे खोज्छ, त्यो जुन माध्यममा आउँछ, उसले त्यसमै हेर्छ ।” समय र युवाको चाहना तथा आवश्यकता अनुसार आफूलाई ‘अपडेट’ नगर्ने कुनै पनि सञ्चार माध्यमले आफूलाई जोगाउन नसक्ने उनको निष्कर्ष छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय