site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल

सुदूरपश्चिम । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ ।

अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले संघर्ष गरिरहेका छन् । संघर्ष समितिको आह्वानमा आज गेटा क्षेत्रमा रहेको अत्तरिया बजार बन्द गर्नुका साथै मेडिकल कलेजको भवनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको साइन बोर्ड टाँगेका छन् । संघर्ष समितिको अगुवाइमा सरकारलाई ज्ञापनपत्र दिनुका साथै जनसमर्थन जुटाउन लगातार प्रदर्शन, घेराउ र सार्वजनिक बहस कार्यक्रम भइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुनमा गेटा मेडिकल कलेजका भवन संरचनाको स्थलगत निरीक्षणका क्रममा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी गराएका थिए ।

Dabur Nepal
NIC Asia

सरकारले हालै संसद् समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रममा यो कलेजलाई एकसय शय्यासहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेको विषय समेटिएको छ ।  मेडिकल कलेजलाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने बारेमा सरकारबाट नै आएका दुई फरक निर्णयबाट अन्योल सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।   

गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माणाधीन यो मेडिकल कलेजका संरचना निर्माणको काम लगभग पूरा हुने चरणमा छ । सरकारको प्राथमिकता प्राप्त यो कलेज निर्माणमा हालसम्मको पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ । ६०० शय्याको निर्माण गर्ने लक्ष्यसहित विसं २०६६ मा यो कलेजको संरचना निर्माण सुरु भएको थियो ।

मेडिकल विश्वविद्यालय स्थापनाको पहल गर्न गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ ले मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णयबाट खुसी भएका जनता अहिले सरकारको नीति कार्यक्रममै यो कलेजलाई प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने विषय समेटिँदा निराश भएको बताए ।

उनले भने, “नीति कार्यक्रममा प्रतिष्ठान बनाउने विषयलाई सच्याएर विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्नुपर्ने जनताको माग छ ।” निर्माणको गुरुयोजनाबमोजिम कलेजका झण्डै ४२ संरचनामध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संचना हस्तान्तरणको चरणमा छन् । आउने असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ ।
 
हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना काम निर्माणाधीन रहेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। विश्व विद्यालय सञ्चालन भएमा स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने र सुदूरपश्चिमको समग्र क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले भने, “तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने भनेर जानुभएको थियो, अहिले प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने भन्नुभएको छ ।”

उनका अनुसार देशका दुई शीर्ष नेताबाट मेडिकल कलेज सञ्चालनको प्रारूपका बारेमा आएको फरक धारणाले अन्योलता बढ्न स्वाभाविक हो । उनले थपे “सञ्चालनको प्रारूपका बारेमा संसद्बाट पारित भएपछि मात्र ढुक्क हुने अवस्था हुन्छ ।” सुदूरपश्चिम प्रदेशमा पहिलो पटक विसं २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो ।

काँचीकामा कोठी पीठका जगत्गुरु शंकराचार्यको संरक्षकत्व र लगानीमा विसं २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयु विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो । कलेज निर्माणका लागि जगत्गुरु शंकराचार्यबाट भवन शिलान्यास भएको थियो । तर विविध कारणले थप काम अघि बढ्न सकेन ।  

त्यसपछि सरकारले यसै ठाउँमा विसं २०६८ मा मेडिकल कलेज बनाउने निर्णय गरेको हो । झन्झटिलो र लामो प्रक्रियाका कारण कलेजका संरचना निर्माण कार्य ढिलो सुरु भएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro