site stats
बाह्रखरी :: Baahrakhari
देश
मेडिसिटी अस्पतालका तीन कर्मचारी दुई करोड ६३ लाख ठगीको आरोपमा पक्राउ 

काठमाडौं । मेडिसिटी अस्पतालको सफ्टवेयर प्रयोग गरी ठगी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले बुधवार ठगी कार्यमा संलग्न सोही अस्पतालका तीनजना कर्मचारीलाई सार्वजनिक गरेको हो । 

उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामक एचएमआईएस सफ्टवेयर दुरुपयोग गरी दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरू दोलखा भिमेश्वर नगरपालिका ४ का राघव सापकोटा, गोदावरी नगरपालिका ११ का २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका ४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल हुन् । उनीहरू मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा कार्यरत थिए । 

Argakhachi Cement Island Ad

उनीहरूले अस्पतालको सफ्टवेयर प्रयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टरको चार्ज र निर्सङ चार्जसमेतको वास्तविक शुल्क लिइ सफ्टवेयरमा भने कम इन्ट्री गराई ठगी गर्दै आएको खुलेको छ । 

यसबारे अस्पतालले गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्यादथप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्