site stats
बाह्रखरी :: Baahrakhari
खेल
'अवैधानिक' कार्यबाहक सचिवविरुद्ध कानुनी कारबाहीमा जाने क्यान सदस्य अन्सारीको घोषणा
क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठक । फाइल तस्बिर।

काठमाडौं । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य मोहम्मद दाउद अन्सारीले कार्यबाहक सचिव दुर्गाराज पाठक अवैधानिक भएकाले कानुनी कारबाहीमा जाने बताएका छन् । अन्सारीले गत जेठ ७ गते क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग ६ वटा विषयमा जवाफ माग गर्दै यसबीचमा कार्यबाहक सचिवले गरेको सबै काम अवैधानिक हुने दाबी गरेका छन् ।

अन्सारीले मुलपानी क्रिकेट मैदान स्तरोन्नतिको आयव्यय, यल्लो प्यागोडा होटलको बिल भुक्तानी, लेभिन स्पोर्ट्सको बक्यौता रकम, एसीसी प्रिमियर लिगको भुक्तानी, नेपाल टी–२० लिगका लागि सेभन थ्री स्पोर्ट्ससँगको भुक्तानी र कानुनी कारबाही तथा अवैधानिक सचिवको सम्बन्धमा अध्यक्षसँग लिखित जवाफको माग गरेका हुन् ।

Argakhachi Cement Island Ad

‘‘विशेष साधारणसभामा ल्याइएको विधान संशोधनको मस्यौदाबाट पनि उहाँ अवैधानिक रहेको प्रष्ट हुन्छ । त्यसको वैधानिकता विधान संशोधनको सम्पूर्ण प्रक्रिया पूर्ण भएपछि मात्र वैधानिक हुनसक्छन्,’’ अन्सारीले बुझाएको पत्रमा भनिएको छ, ‘‘तसर्थ, उहाँले यस अवधिभित्र गरेका सम्पूर्ण निर्णय तथा कार्य स्वतः अवैधानिक हुन जाने देखिएकोले मेरो फरक मत र कानुनी कारबाहीको बाटो रहिरहन्छ ।’’

अन्सारीले नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले खेलाडीको म्याच फी भुक्तान नगरेको, विजेताको टिमको पुरस्कार तथा म्यान अफ द म्याच घोषित खेलाडीको पुरस्कार राशि नपाएको तथा संघले अनुमति दिएवापतको पूरा रकम नपाए पनि कानुनी प्रक्रिया नअपनाउनु रहस्यमय भएको बताएका छन् । 

अन्सारीले यस विषयमा सबैलाई विस्तृत जानकारी गराउन माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्