site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश राईको इजलासमा 
फाइल तस्बिर ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको छ । आज सुनुवाइ पेसी सूचीको सातौँ नम्बरमा रहेको छ ।

यसअघि, न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । त्यति बेला लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममितिसम्बन्धी प्रमाण पुनः झिकाउन अदालतबाट आदेश भएको थियो ।

लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै जाहेरवालाको जन्ममितिलाई मूल मुद्दाका रूपमा प्रस्तुत गर्दै बहस गरिरहेका छन् । जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममितिअनुसार उनी नाबालिग हुन् । तर, लामिछानेका कानुन व्यवसायीले शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा उल्लेख भएको जन्ममितिअनुसार जाहेरवाला बालिग रहेको जिकिर गरिरहेका छन् । मुद्दामा यही विषयको टुंगो लागेको छैन । सोही कारण पटक–पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि स्थगित हुँदै आएको छ ।

लामिछानेविरुद्ध नाबालिगमाथि बलात्कार अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता गरिएको थियो ।

जाहेरी दर्ता हुँदा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा थिए । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

पक्राउ परेपछि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो । अनुसन्धान सकिएसँगै कात्तिक १५ गते उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिमको कसुरमा मुद्दा दायर गरियो ।

लामिछानेविरुद्ध उक्त दफा २१९ को उपदफा ३ (घ) अनुसार १० देखि १२ वर्षसम्मसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।

मुद्दा दायर भएसँगै उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतको उक्त आदेश सदर गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनलाई क्रिकेट खेल्न विदेश समेत जान मिल्ने गरी धरौटीमा छाड्ने आदेश दिएको थियो । लामिछानेलाई विदेश जान अनुमतिसँगै इजलासले पीडितलाई अन्तरिम क्षतिपूर्ति समेत दिने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro