काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
सोमबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई शपथ ग्रहण गराएका हुन् ।
सो क्रममा सभामुख घिमिरेले सांसद कंसाकारलाई संसद्को लोगो प्रदान गरेका थिए ।
त्यस्तै सांसद कंसाकारले एसिड जलनको पीडाको मुद्दा लिएर सदनमा प्रवेश गर्ने बताइन् ।
यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले ढाकाकुमारलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।
आफ्ना सांसदले शपथ ग्रहण गरेपछि रास्वपा सभापति रवि लामिछानेले एसिड आक्रमणबाट पीडित व्यक्तिलाई सांसद पदको रूपमा पाउँदा निकै गर्वको महसुस भएको बताए ।
उनले कंसाकारलाई संसद्मा प्रवेश गराउनु सम्पूर्ण एसिड आक्रमण पीडितको विजयी भएको धारणा राखे ।