काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार भएको छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग १४ – १ गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
पोउर शरीफ फुटसल हलमा भएको खेलमा बलियो उज्वेकिस्तानसँग पहिलो हाफमै ७ – ० ले पछि परेको थियो । दोस्रो हाफमा उज्वेकिस्तानले थप ७ गोल गर्दा नेपालले एक गोल फर्काएको थियो । उज्वेकिस्तानको जितमा दिलशोड राख्मातोभले ह्याट्रिक गरे । त्यस्तै कप्तान अर्तर युनिसोभ, दिलमुराद सेभ्कातोभ, निशोनोभ खुसन्निदीन, चोरिभ दाभ्रोनले समान दुई दुई तथा फर्खुद अब्दुमाभिल्यानोभ, अनास्खन राखमाटोभ र दाभ्रोन्जोन अब्दुरखामनोभले समान एक एक गोल गरे । नेपालको लागि एक मात्र गोल कप्तान सुरज राउतले गरेका थिए ।
साउथ एसिया जोनको छनोट अन्तर्गत समूह ए को नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्ने छ भने मंगलबार तुर्क्मिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् । च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । समूह बी मा आयोजक इरान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।
नेपालले पहिलो अन्तर्रा्ष्ट्रिय फुटसल प्रतियोगिताको रुपमा रहेको एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल खेलिरहेको हो । नेपालको यो पहिलो अधिकारिक फुटसल टोली समेत हो । छनोटको लागि एन्फाको फुटसल कमिटीले गएको भदौमा रेडबुल एन्फा राष्ट्रिय लिग फुटसल आयोजना गरेको थियो । त्यसैको आधारमा फुटसल कमिटीले पहिलो चरणमा २७ खेलाडी छनोट गरी अन्तिम नेपाली टोलीको घोषणा गरेको थियो । प्रशिक्षकहरु राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङको छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाली टिम
गोलकिपर – अनिस श्रेष्ठ, सुमितकुमार आले
डिफेन्डर – राज शाही, सौरभ मगर, अमित तामाङ
मिडफिल्डर – नवीन लामा (उपकप्तान) , अरुज सिंह, विनोद गुरुङ, मणीकुमार लामा, अभय राना
फरवार्ड – सुरज राउत (कप्तान),सुसन श्रेष्ठ, संजोग महर्जन, निर्मल गुरुङ
मुख्य प्रशिक्षक – राकेश श्रेष्ठ
सहायक प्रशिक्षक – राजेश खड्की