site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई ह्याट्रिकको अवसर, आज कीर्गिस्तानविरुद्ध खेल्ने

काठमाडौं । अरूणा शाही नेपाली महिला भलिबल टिमलाई अन्तर्राष्ट्रिय उपाधि जिताउने पहिलो कप्तान हुन् । आजदेखि सुरु हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को उपाधि जित्दै ह्याट्रिक गर्ने अवसर अरूणासामु छ । त्यसको सुरुआत कीर्गिस्तानविरुद्धको खेलबाट हुनेछ ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपाल र कीर्गिस्तानसँगै भारत र बंगलादेश पनि छन् । आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।

Argakhachi Cement Island Ad

आज उद्घाटन समारोहअघि उज्वेकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन समारोहलगत्तै नेपालले कीर्गिस्तानविरुद्ध खेल्नेछ । अन्तिम खेलमा माल्दिभ्सले काजखस्तानविरुद्ध खेल्नेछ ।

यही जेठ १४ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । यो प्रतियोगितामा नेपालले पहिलोपटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । यो प्रतियोगितामा दुई बलिया टिम भारत र काजखस्तान पहिलोपटक सहभागी भएका हुन् ।

घरेलु कोर्ट र दर्शकको साथ पाउने नेपाली टिममा मुख्य स्पाइकर प्रतिभा माली भने हुने छैनन् । खुट्टामा लागेको चोटका कारण उनले यो प्रतियोगिता गुमाएकी हुन् । प्रतिभाको अनुभव आज नेपाली टिमलाई खट्किनेछ ।

कप्तान अरूणाले प्रतिभा नभए पनि टिम सन्तुलित बनेको प्रतिक्रिया दिएकी छन् । अरुणा थप्छिन् “प्रतिभा नहुनु टिमको लागि मुख्य सेटब्याक हो । प्रतिभा नभए पनि सन्तुलित टिम बनेको छ । हामीले सबै टिमलाई हराउन सक्ने क्षमता राख्छौँ ।”

टिममा अहिले ६ नयाँ अनुहार छन् । स्पाइकर रिमा कुँवर, पूजा चौधरी, मिडल ब्लकर कविता भट्ट, संगम महतो, सेटर प्रगति नाथ र लिबेरो शान्तिकला तामाङ टिममा नयाँ अनुहार हुन् । नेपाली टिमलाई दुई महिनायता यान ब्रान्ड्टले प्रशिक्षण दिएका छन् । उनलाई जगदीश भट्ट, कोपिला उप्रेती र भरत यादवले सघाएका छन् ।

नेपाली टिम
अरूणा शाही (कप्तान र सेटर), सरस्वती चौधरी (स्पाइकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), रिमा कुँवर (स्पाइकर), पूजा चौधरी (स्पाइकर), साफिया पुन (मिडल ब्लकर), कविता भट्ट (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिबेरो) र शन्तिकला तामाङ (लिबेरो) ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्