site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शरणार्थी प्रकरणमा मुखै खोल्दैनन् देउवा, कुरा सुन्छन् जवाफ दिँदैनन् !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेस रक्षात्मक भएको छ ।  कांग्रेसमाथि अनेकन् प्रश्नहरू उठिरहेका छन् । तर, आधिकारिक निकायबाट कांग्रेसले जवाफ दिएको छैन । 

विधानले नचिनेको पदाधिकारी बैठकलाई सभापति शेरबहादुर देउवाले आधिकारिक निर्णयका लागि प्रयोग गरिरहेका छन् । 

केन्द्रीय समितिसँग भाग्दै देउवा : खाँण समातिएपछि झन् ‘डिफेन्सिभ’

त्यहाँ पनि नेतृत्वमाथि प्रश्नै छन् । तर, जवाफ दिनुपर्ने सभापति मौन छन् । उनी निकटहरू पार्टीको यो अवस्थामा कसरी प्रस्तुत हुने, नागरिकबाटै उठेका प्रश्नको जवाफ दिने कि मौनमात्र बस्ने, अपराधमा जोडिएका व्यक्ति र संस्थालाई अलग राख्ने कि विवादित व्यक्तिसँगै कांग्रेसलाई बदनाम गर्ने प्रश्न उठाइरहेका छन् । त्यसरी सुझाव माग्न पुगेका आफैँ निकटसँग पनि देउवा जवाफ दिँदैनन् । 

“म दुई पटक धुम्बाराही पुगेर उहाँलाई भेटिसकेँ । पार्टीमाथि उठेका प्रश्नको जवाफ कसरी दिने ? पक्राउ परेका व्यक्तिहरू व्यक्तिगत कमजोरी भन्ने कि त्यसमा संस्थागत संलग्नता छ भनेर प्रश्न गरिरहेको छु,” देउवा निकटका एक केन्द्रीय सदस्य भन्छन्, “उहाँ जवाफ दिनुहुन्न । खाली टाउको हल्लाउनु हुन्छ ।”

 

प्रचण्ड, देउवा र ओलीको भेटबारे सांसदहरूको प्रश्न : मिलेमतो त होइन ?

ती केन्द्रीय सदस्य देउवा मौन बस्नुमा उनीसँग जवाफ नभएको निस्कर्षमा छन् ।   खाँण मात्र होइन यो प्रकरणमा रामेछापबाट संविधानसभा सदस्य तथा कांग्रेस नेता आङ्टावा शेर्पा पनि पक्राउ परेका छन् । 

यस्तै कांग्रेसकै दुई सांसदसमेत रहेका केन्द्रीय नेतृहरूलाई मोटो रकम लिएको आरोप लागिरहेको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा सभापति देउवा पत्नीसमेत रहेकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा र खाँण पत्नी समेत रहेकी सांसद तथा केन्द्रीय सदस्य मञ्जु खाँणको पनि नाम जोडिएको छ । 

उनीहरूले क्रमशः २ करोड र ६ करोड लिएको आरोप सार्वजनिक भएको अडियोमा छ ।  तर अडियोको सत्यता पुष्टि भइसकेको छैन । अडियो प्रकरणले आफ्नो चरित्र हत्या गरेको भन्दै नेतृ आरजुले साइबर व्यूरोमा उजुरी दिएकी छन् । 

तर, खाँण पत्नी मञ्जु भने सम्पर्कबाट बाहिर रहेको प्रहरी बताउँछ ।  उनको सामाजिक सञ्जाल फेसबुक डिएक्टिभ गरिएको छ । उनले संसद् सचिवालयमा उपलव्ध गराएको मोबाइलमा सम्पर्क गर्दा उनका सहयोगीले उनी घरबाहिर निस्किएको जानकारी दिए ।

खाँणलाई निलम्बन गर्न देउवामाथि नेविसंघको दबाब 

“उहाँको फोन छुटेको छ । ३–४ घण्टा भयो घरबाट निस्केको,” सहयोगीले भने । 

विश्वासपात्र खाँण प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अवस्था र पार्टीको दुई शीर्ष नेतृहरूमाथि आरोप लागिरहँदा सभापति देउवाले मुख खोलेका छैनन् । यो बीचमा उनले पटक–पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका छन् । 

यो संवादले अनुसन्धान प्रकृयामै प्रभावित पार्ने भन्दै संसदमा प्रश्न उठेको छ ।  तर, सबै दलले निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्दा निर्दोष फस्न नहुने भनिरहेका छन् । 

सांसदसमेत रहेका देउवा निकट अर्का केन्द्रीय सदस्य भने सुझाव सुन्ने र आफ्ना कुरा भन्ने नेचर सभापति देउवामा नभएको तर्क गर्छन् । जसले देउवा मात्र होइन पार्टी पनि असफल र बदनाम भएको गुनासो उनको छ । 

“उहाँले विधि स्वीकार गरिदिएको भए यति अलोकप्रिय उहाँ मात्र होइन पार्टी पनि हुने थिएन नि ! उहाँ फेरि नेतृत्वमा आउने पनि होइन । उहाँले गुट बनाएर राख्न जरूरी पनि छैन,” देउवा निकटकै सांसदसमेत रहेका अर्का केन्द्रीय सदस्य भन्छन्, “सुझाव सुन्ने र कार्यान्वयन गर्ने उहाँको नेचरनै होइन । उहाँबाट सुधारको अपेक्षा अब बेकार छ ।”

मौनताकै बीच पार्टी प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरे ।

देउवासँगै असन्तुष्ट छन् निकट नेता– महामन्त्रीद्वयको ‘विद्रोह’ मा समर्थन 

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आफ्नै विश्वासपात्र र पत्नीविरूद्ध आवाज उठ्दासमेत किन सभापति मौन भन्ने प्रश्नमा प्रवक्ता महतले सभापतिको धेरै बोल्ने बानी नभएको भनेर बचाउ गरे ।  

“धेरै बोल्ने बानी पहिलेदेखि नै छैन । निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको छ । दोषी प्रमाणित भयो भने कानुनअनुसार अघि बढ्न सहयोग गर्नुहुन्छ,” उनले भने ।

संगीन आरोप लागेका खाँणलाई पार्टीले कारवाही नगर्दा देउवा र उनी निकट बाहेक अन्य कांग्रेस नेताहरू विरोधमा छन् । यो प्रकरणमा पार्टीभित्र दुई धार देखिएको छ । महामन्त्री गगनकुमार थापाले मंगलबार विज्ञप्ति जारी गर्दै दोषीको भारी पार्टीले बोक्न नहुने भन्दै कारवाहीको माग गरेका छन् । 

उनी निकट कतिपय नेताहरू पनि सोही चाहन्छन् तर, देउवा नेतृत्वको प्रश्न, कार्यकार्ताको गुनासो र आम मिडिया भन्दा टाढा बसेर पार्टीको छलफल गर्ने थलोहरू केन्द्रीय समितिलगायत बैठक टार्दै आएका छन् ।

देउवा निकट सहमहामन्त्री महेन्द्र यादव सभापति देउवा चुप लागेर नबसेको र खाँण पनि कारबाहीमा नपर्ने बताउँछन् । 

प्रश्नैप्रश्नको ‘कठघरा’मा देउवा– सपना देखाउँछन्, उत्तर दिँदैनन्

“सभापति मौन हुनुहुन्न । आफूलाई निर्दोष सावित गर्छु भन्नुभएको छ त्यसकारण बालकृष्ण खाँणलाई पार्टीले अहिले कारवाही गर्दैन भन्नुभएको छ,” सहमहामन्त्री महेन्द्र यादवले बाह्रखरीसँग भने, “उहाँलाई फसाइएको हो । मिडियाले पनि यसरी बुझ्नु पर्छ ।”
 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro