site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ब्रिटिस गोर्खा भर्ती बन्द गर्न बाबुरामले दिए चुनौती

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिस गोर्खालाई वंशजका आधारमा नै नागरिकता दिइनुपर्ने बताएका छन् । शनिबार (असार ७) ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

रगतका आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने उनले उल्लेख गरे । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजका आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नु उचित नभएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...एलन मस्कको तीनवटा देशको नागरिकता छ । बाउ दक्षिण अफ्रिकाको भएकाले वंशजको आधारमा नागरिकता छ, आमा क्यानडेली भएकाले वंशजको आधारमा नागरिकता छ,” उनले भने, “पछि अमेरिकामा गएर बसोबास गरे, त्यहाँ उनको अंगीकृत नागरिकता छ ।”

हिम्मत र साहस भए ब्रिटिस गोर्खा भर्ती बन्द गर्न उनले चुनौती दिए । नत्र आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ थियो ।

“एकातिर हामीले आफ्नो देशको नागरिकलाई पठाउने, कि त पठाउनै हुँदैन थियो । हाम्रो हिम्मत र साहस छ भने गरौँ त्यस्तो,” उनले भने, “होइन भने उनीहरू त्यहाँ जाने, त्यत्रो योगदान गर्ने, उनीहरूको प्रकारान्तले नागरिकता खोस्ने कुरा भएको छ, त्यसलाई सच्याऔँ ।”

संसारमा राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने उनले बताए । “नागरिकताको विषयमा नेपालमा असाध्यै बुझाइको अल्पता छ,” उनले भने, “हाम्रो गहिराइमा गएर कुनै पनि चिजलाई बुझ्ने, विश्वको पछिल्लो प्रवृृत्तिसँग आत्मसात् गर्ने र त्यसानुसार आफ्नो पदचाप मिलाउने कुरामा हामी हमेसा चुकेका छौँ ।”

अध्यक्ष भट्टराईले नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेको बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्