site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवासँगै असन्तुष्ट छन् निकट नेता– महामन्त्रीद्वयको ‘विद्रोह’ मा समर्थन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीमा निर्वाचित भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र संघर्षको गृहकार्यमा छन् । पार्टी नेतृत्वविरूद्ध संघर्ष गर्ने गृहकार्य गरिरहेका उनीहरू सभापतिले पार्टी नभइ ‘सिन्डिकेट’ चलाएको निष्कर्षमा छन् । 

महामन्त्रीद्वयले संघर्षको तयारी गर्दैगर्दा सभापति देउवा निकटकै नेताहरूले उक्त कदम स्वाभाविक हुने भनेका छन् । उनीहरू महामन्त्री कार्यकारी पद भएको भन्दै निर्वाचित महामन्त्रीलाई नै बाहिर राखेर गर्ने निर्णय गर्ने प्रवृत्ति सभापतिले सच्याउनुपर्ने बताउँछन् ।

देउवानिकट केन्द्रीय सदस्य रमेश लेखक सभापतिले गर्ने निर्णय प्रकृयामा महामन्त्रीद्वय थापा र शर्मालाई समावेश नगराउँदा यस्तो अवस्था आएको संकेत गर्छन् ।  बाह्रखरीसँग प्रतिकृया दिँदै उनले पार्टी बलियो बनाउने हो भने जनमतबाट अनुमोदित कार्यकारी पदमा रहेका महामन्त्रीद्वयलाई पार्टी निर्णय प्रकृयामा सहभागी गराउनुपर्ने जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“पार्टीभित्र सरसल्लाह गरेर जानुपर्छ, त्यसको विकल्प छैन । महामन्त्री भनेको पार्टीको महत्वपूर्ण पद हो । महामन्त्रीहरुसँग सरसल्लाह गरेरै सभापतिले जाुनपर्छ । अरु नेताहरू पनि जानुपर्छ र यो विषय सभापतिले सोच्नुभएकै होला,” लेखकले भने, “दुई महामन्त्रीको विद्रोह कांग्रेसका लागि राम्रै गर्नका लागि अगाडि गर्ने भन्ने अर्थमा मैले बुझेको छु । उहाँहरुको गुनासो केही कुरामा आफूहरूसँग सरसल्लाह हुनुपर्ने, त्यो तहसम्म भएन भन्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने लागेको छ ।”

महामन्त्रीद्वय थापा र शर्मा मन्त्रिपरिषद् विस्तारपछि विद्रोहको मुडमा पुगेको निकट नेताहरू बताउँछन् । महामन्त्रीद्वयले सांसद प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेका थिए । आफ्नो पुस्ताबाट प्रतिनिधित्व गर्ने भन्दै उनीहरूले पौडेललाई स्वास्थ्यमन्त्री बनाउन चाहेका थिए । तर, उनीहरू सफल भएनन् । 

Global Ime bank

सभापति देउवाले मोहन बस्नेतलाई मन्त्री बनाएपछि आफूहरूसँग सल्लाह नभएको उनीहरूको गुनासो छ । यस्तै, विभाग गठन, भ्रातृ संस्थालाई पूर्णता दिने र विधानको पूर्ण कार्यान्वयन नभएको भन्ने गुनासो पनि उनीहरूको छ ।

“भ्रातृ संस्थालाई पूर्णता विभाग गठन र विधानको कार्यान्वनयमा उहाँ निरन्तर चुकेपछि उहाँहरूबाट विद्रोहको कुरा आएको हो,” निकट एक नेताले भने, “यो दुई महामन्त्रीबीच सल्लाह भएरै आएको हो । पदाधिकारी बैठकमा राजीनामासम्मको विषय सल्लाहमै आएको हो ।”

ती नेताका अनुसार पार्टीभित्र आफूहरू भूमिकाविहीन भएको भन्दै पटकपटक संवाद भएको छ । महामन्त्री गगन थापाले आइतबार सामाजिक सञ्जालमा लेखेको स्टाटस पनि शर्मा र थापाले सल्लाह गरेरै लेखेको उनले बताए ।

सभापति देउवानिकट अर्का केन्द्रीय सदस्य श्याम घिमिरे पार्टी समस्यामा रहेको र जनताको विकर्षण छ भन्ने वैशाख १० को उपनिर्वाचनको नतिजाले स्पष्ट रुपमा देखाइसकेको बताउँछन् । उनी महामन्त्रीद्वयको प्रतिकृया पार्टी सुधारको चरण भएको भन्दै त्यसमा जनसमर्थन बढ्दै जाने विश्वास व्यक्त गर्छन् । उनी पार्टीभित्र उठेको आवाज चर्किएर जाने भन्दै दबिने शंका नै नगर्न आग्रह गर्छन् ।

“लोकतान्त्रिक विधिमा पार्टी लोकतान्त्रिक पद्धतीबाट करेक्सन हुन्छ । पार्टीभित्रैबाट आवाज उठ्न थालेको छ । यी आवाज चर्किएर जान्छ । दबिएर जाँदैन । महामन्त्रीहरुले बोल्न थाल्नुभएको छ । त्यसमा समर्थन र जनसमर्थन प्राप्त हुँदै जान्छ,” उनले भने, “पार्टी करेक्सन हुुनको विकल्प छैन । करेक्सन नभए समाप्त हुनुको विकल्प छैन । एउटा पुस्ता त बुढो भयो होला, त्यो पुस्ता बिदा होला । तर, आउने पुस्तालाई पार्टी जोगाएर हस्तान्तरण गर्नुपर्ने दायित्व हाम्रै हो ।”

पार्टी किन बिग्रियो भनेर प्रश्नभन्दा पनि आचरण सुधार गरेर पार्टी सुधार गर्नुपर्नेमा घिमिरे जोड दिन्छन् । पार्टी सरकारमा भएको बेला जनमुखी काम गर्न नसके पाँच वर्षपश्चात् देशभर गतिलै घण्टी बज्ने उनको भनाइ छ ।

“विधानभन्दा पनि महत्वपूर्ण कुरा आचरण र व्यवहारका कुरा हुन् । पार्टीलाई करेक्सनको बाटोमा लैजानका लागि जनताले चाहेको, कार्यकर्ताले र आम जनमानसले के चाहेको छ भन्ने कुरा पार्टी नेतृत्वले बुझ्न आवश्यक छ । पार्टीसँग मानिस किन असन्तुष्ट भए ? उपनिर्वाचनको परिणामहरुले एक किसिमको घण्टी बजाएको कुरा स्वीकार गर्नैपर्छ र त्यसलाई बुझेर साढे चार वर्षको समय छ, करेक्सन हुनुपर्छ र गर्नुपर्छ,” उनले भने, “करेक्सन गर्न व्यवहार र आचरण सुधार गर्नुपर्छ । आज सरकारमा छौं हामी । तीनै तहमा सरकारमा छौं हामी । तर, हाम्रो कार्यशैली र आचरण र व्यवहारले जनतामा ठूलो प्रभाव पार्नेवाला छ । आउने पाँच वर्षपछि हुने निर्वाचमा त्यो देखिन्छ ।”

कांग्रेस नेतृत्व यतिबेला प्रश्नैप्रश्नको कठघरमा उभिएको छ । विधान नै नमान्ने पार्टीले ‘डेलिभरी’ कसरी दिन्छ भन्ने प्रश्न छ । देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्मा अहिले भइरहेको पार्टी सञ्चालनमा सन्तोष गर्ने ठाउँ नभएको बताउँछन् । तर, कार्यकारी पदमा रहेका महामन्त्रीहरू प्रतिकृयावादी मात्र हुनुभन्दा हस्तक्षेपमै उत्रिन किन नसकेको भन्ने प्रश्न उनको छ ।

“हामीले पार्टी सञ्चालन प्रकृयामा नितान्त गलत र परम्परावादी शैली अपनाएका छौँ । यसले प्रतिस्पर्धी बन्न हामी सफल हुँदैनौँ,” विश्वकर्माले बाह्रखरीसँग भने, “तर, महामन्त्री कार्यकारी पद हो । सुझाव वा गुनासो मात्र गर्ने ठाउँ होइन । असन्तुष्टि पोखेर मात्र सुधार हुँदैन ।”

सभापति देउवाले पार्टी संकटमा पर्दा सहयोग माग्ने तर पार्टीलाई अघि बढाउने मुद्दामा बाधक बन्ने गरेको महामन्त्रीहरू गुनासो छ । उक्त तर्कमा सहमत छन्, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी । यथास्थितिवाद र गिरोहवादले पार्टी नचल्ने निष्कर्षमा पुगेर महामन्त्रीहरु आमूल परिवर्तको पक्षमा उभिएको उनको जिकिर छ । 

“दुई महामन्त्रीले नेतृत्व र नेतृत्वको शैली आमुल ढंगबाट परिवर्तन हुनुपर्छ, सुधारको बाटोलाई अघि बढाउन सकिएन भने गम्भीर अवस्था पार्टीको हुन्छ भनेर भन्नुभएको छ । त्यो कुरा एकदम सत्य हो । नीतिगत, नेतृत्वगत संरचनात्मक दृष्टिकोणले परिवर्तन गर्दै पार्टीलाई विधिसंगत पारदर्शी ढंगले चलाउनुपर्ने आवश्यक्ता छ,” उनले भने, “अहिलेको यथास्थितिवाद र गिरोहवादले पार्टीको हित र उन्नति हुँदैन । जनमत बिस्तारै हामीतिर विकर्षित हुँदै गएको छ भन्ने कुरा पछिल्लो घटनाक्रमले बताएको छ । त्यो समूह पनि बन्दै जाला, मैले त लिखित रुपमा ६ बुँदे असहमति केन्द्रीय तहको बैठकमा राखेको छु । उहाँहरुले राखेको विचारमा आम नेपाली कांग्रेसका कार्यकर्ता, नेतृत्व हामी सबै एक ठाउँमा छौं ।”

देउवानिकट केन्द्रीय सदस्य रमेश लेखक सभापति देउवाले आफ्नो तर्फबाट संवाद गर्ने, सहमति गर्ने र समेट्ने कोसिस गरिरहेको दाबी गर्छन् । तर, महामन्त्रीद्वयको कुरालाई सामान्य रूपमा लिन नहुनेमा उनी पनि सहमत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय