site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विदेशमा नेपालीलाई आपत्कालीन उद्धार गर्न र्‍यापिड एक्सन टिम बनाऔँ : बराल

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपत्कालीन अवस्थामा उद्धारका निम्ति ‘र्‍यापिड एक्सन टिम’ बनाउन जरुरी देखिएको बताएकी छन् । शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा उनले त्यससम्बन्धी छुट्टै डेस्क स्थापना गर्न सुझाव दिइन् ।

आमनागरिकको सिधै पहुँच विदेशस्थित नेपाली नियोगसँग नहुने भएकाले मन्त्रालयमै स्थायी संरचना बनाउनुपर्ने उनले बताइन् । “विभिन्न देशमा रहेका नेपाली वर्कर (श्रमिक)हरूलाई आपत परेका बेला उद्धार गर्न परराष्ट्र मन्त्रालयमै र्‍यापिड एक्सन टिम बनाउन जरुरी छ,” उनले भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परराष्ट्र मन्त्रालयले मुलुकको पहिचान प्रतिविम्बित गर्ने उनले उल्लेख गरिन् । मन्त्रालयको संस्थागत सूचना संयन्त्र कमजोर रहेको उनले औँल्याइन् ।

छिमेकीसहित विभिन्न मुलुकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन संस्थागत ‘मेमोरी’ राख्ने प्रणालीको विकास जरुरी रहेको उनले बताइन् । “मन्त्री वा सरकार फेरिँदैपिच्छे संस्थागत मेमेरो नष्ट हुने कुराले विदेश सम्बन्धलाई प्रभावित गर्छ,” उनले भनिन्, “इन्टिच्युसनल मेमेरी मुलुकका लागि अत्यन्तै जरुरी छ ।”

सांसद बरालले विदेशी डायस्पोराका नेपालीसँगको सहकार्यलाई परराष्ट्र मन्त्रालयले ध्यान नदिएको बताइन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)लगायत नेपालीका संघसंस्थासँगको सम्बन्ध जीवन्त बनाउनुपर्नेमा उनले जोड दिइन् ।

नेपालको विदेश नीति असंलग्नताको सिद्धान्त र ‘सफ्ट पावर डिप्लोमेसी’को मान्यताका आधारमा अघि बढेकाले ‘कल्चरल’ र ‘टुरिज्म’ कूटनीतिमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विश्वबजारको आवश्कताअनुसारको प्रतिस्पर्धी र दक्ष र विदेशमा काम गरेर फर्किएका (रिटर्नी)लाई एकीकृत रूपमा लगानी गरी उद्यमशीलता एवं रोजगारी सिर्जना गर्ने कार्यमा लगाउनुपर्ने उनले बताइन् ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्