site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उम्दा सिनेमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

समय इन्टरनेटको युगभन्दा ठिक अगाडिको थियो । परिवारको आर्थिक अभाव झेल्न कमल परदेश (खाडी) जाने निधोमा पुगे । आमाले ‘विवाह गरेर मात्र जा !’ भनिन् । कमलले आमाको वचन काट्न सकेनन् । विवाह गरे । विवाह गरेको सात दिनमा श्रीमती मियालाई छोडेर कमल विदेश गए ।

सुरुसुरुमा त विदेशबाट चिठी आयो । पछि अचानक बिनाजानकारी कमलको चिठी आउन बन्द भयो । अनि सुरु हुन्छ, मियामा छटपटी । कसैले विदेश जाने कुरा गरे मात्र पनि उनलाई रिस उठ्छ । त्यसैले त उनी भन्छिन्, ‘किन जानुपर्‍यो विदेश ?’

कमल चलचित्र ‘हल्कारा’को मुख्य पात्र होइनन् । राम (महेश त्रिपाठी) र मिया (विनिता थापामगर) सिनेमाका मुख्य पात्र हुन् । राम ‘हल्कारा’को भूमिकामा छन् । उनी चिठी बाँड्दै गाउँगाउँ पुग्छन् । त्यसैक्रममा मियाको गाउँमा पनि पुग्छन् । त्यहाँ मिया कमलको चिठीको व्यग्र प्रतीक्षामा हुन्छिन् । तर, रामले बोकेका केही पत्र बाटैमा खोलिन्छन् । केही पानीमा डुबेर अक्षर मेटिएका छन् । त्यसपछि सिनेमा जसरी अगाडि बढ्छ, त्यही नै चलचित्रको कथा हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘हल्कारा’ले विदेश गएका आफन्तको प्रतीक्षाको कथा भन्छ । विदेश गएका आफन्तको प्रतीक्षा कति पीडादायी हुन्छ, सिनेमाले देखाउन खोजेको छ ।

महेश त्रिपाठीको पहिलो सोलो लिड सिनेमा हो, ‘हल्कारा’ । उनले यसअघि ‘नोभेम्बर रेन’मा सामान्य भूमिकामा काम गरेका थिए । त्यसैले ‘हल्कारा’ महेशले लिड गरेको पहिलो सिनेमा हो । महेश यसमा डेब्यु सोलो हिरोजस्तो भने देखिँदैनन् । उनी अभिनयमा उम्दा देखिन्छन् । सर्ट मुभीमा ओस्कार इन्टरनेसनल कलेजमा ‘बाघ’ अभिनेताको छवि बनाएका उनले लामा (फिचर) फिल्ममा पनि त्यो सम्भावना देखाएका छन् । विपीन कार्कीपछि नेपाली सिनेमा उद्योगले त्यही तहको अभिनेता पाउन सकेको थिएन । महेशले त्यो अभाव पूर्ति गर्ने छनक ‘हल्कारा’मार्फत देखाएका छन् ।

Royal Enfield Island Ad

विनिताको पनि यो डेब्यु चलचित्र हो । डेब्युमै मुख्य रोलको अवसर पाएकी उनको अभिनय पनि लोभलाग्दो छ । यो सिनेमामा नयाँ कलाकारको अभिनयले के पनि देखाएको छ भने – अडिसन लिन मात्र मेकरले जाँगर चलाउनुपर्छ, उम्दा अभिनयको खाँचो हुँदैन ।

दीपक क्षेत्री, पशुपति राईलगायत सिनेमामा कथा भन्न आइपुग्ने कलाकार फिका लाग्दैनन् ।

‘हल्कारा’को अर्को राम्रो पक्ष भनेको यसको सिनेमेटोग्राफी हो । पहाडी परिवेशका दृश्यमा चिन्तनराज भण्डारीको सिनेमेटोग्राफी उत्तम छ । कथा भन्न सिनेमेटोग्राफीले निर्देशकलाई भरपुर सहयोग गरेको छ । लेकाली क्षेत्रमा घुर्मैला दृश्य, कुहिरोले ओसिलो देखिने दृश्यले मन लोभ्याउँछ ।

साउन्ड र ब्याकग्राउन्ड स्कोरमा पनि ‘हल्कारा’मा राम्रै मिहिनेत गरिएको छ । अधिकांश नेपाली सिनेमामा साउन्ड र ब्याकग्राउन्ड स्कोरमा खासै मिहिनेत गरेको देखिँदैन । तर, ‘हल्कारा’मा सिनेमामा यसको महत्त्वलाई नजरअन्दाज गरिएको छैन । साउन्ड र ब्याकग्राउन्ड स्कोरमा मिहिनेत नगरिए सिनेमा कर्कस सुनिन्छ । ‘हल्कारा’मा दर्शकले कर्कस साउन्ड र ब्याकग्राउन्ड स्कोर झेल्नु पर्दैन ।

कथा कहिलेको सेटअपको हो ? सिनेमा हेर्दा स्पष्ट हुँदैन । तर, वैदेशिक रोजगारीका लागि नेपाली विदेश जान थालेपछिको हो । वैदेशिक रोजगारीमा जानेको लहर चलिसकेको तर श्री ५ को सरकार नै रहेकाले ५० को दशकको सुरुआततिरकै सेटअप रहेको बुझिन्छ ।

सुरुमै सिनेमाले भन्छ–
यो चिठी होइन, कसैको हंस अडेको पाना हो
तर, अक्षर उडेको पानामा प्राण कसरी भरूँ म ?
के लेखूँ र दिऊँ यो चिठीमा–
भनूँ कि सबै ठिक छ, म आउँदै छु दसैँमा ?
या लेखिदिऊँ सहिरहेछु कहर पुतपुत जलिरहेको भट्टीमा ?

चिठीको सहारामा खबर पर्खेर बस्दाको पीडादायी समयको कथा निर्देशक विक्रम सापकोटाले भनेका छन् । खबरको व्यग्र प्रतीक्षा हुन्थ्यो, तर चिठी आउन महिनौँ लाग्थ्यो । त्यसमा पनि सरकारी निकायका व्यक्तिको लापरबाहीका कारण खबर पठाउने र पाउने व्यक्तिले कति तड्पिनुपर्थ्यो निर्देशकले देखाउन खोजेको कथा हो ।

गाउँका घरघरबाट युवा विदेशिएका छन् । घरमा घर छाउने मान्छेसम्म छैनन् । बूढा भएका आमा–बुवालाई पानी तताएर खान दिने कोही छैन । तर, परदेशमा छोरो साहुको ‘कब्जा’मा छ । गाउँमा बिरामी पर्दा वृद्धवृद्धालाई अस्पताल पुर्‍याउने युवा छैनन् । गाउँ आधुनिक सुविधाबाट वञ्चित छ । एक बोरा मकै पिसाउन घण्टौँ हिँडेर दिनभरि पानीघट्टमा बस्नुपर्छ । तर, पानीघट्टसम्म जाने मान्छे पनि घरमा छैनन् ।

परदेशिएको आफ्नो मान्छे आउने आसमा आँखा ओछ्याएर बूढाबूढी र श्रीमती बसेका छन् । यस्तो अवस्थामा परदेशी लामो समय बेखर हुँदाको भावनात्मक पक्षलाई देखाउन निर्देशक सफल भएका छन् ।  

एक वाक्यमा ‘हल्कारा’ प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा हो । कथालाई अगाडि बढाउने क्रममा आउने पटकथाबाट सिनेमा बरालिएको छैन । मूल कथालाई मियो मानेर त्यसको वरपर पटकथा घुमिरहँदा लेखन पक्ष पनि बलियो लाग्छ ।

‘हल्कारा’ विक्रमको पहिलो चलचित्र हो । यसमा उनले गजबको काम गरेका छन् । कथा, सिनेमेटोग्राफी, अभिनयमा उनले आफ्नो कलाचेत मजैले देखाएका छन् । त्यसो त यसको मूल्यांकन यसअघि नै भइसकेको छ ।

गत वर्ष ५५औँ वर्ल्ड ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले अवार्ड जितिसकेको छ । उक्त फेस्टिभलमा ‘हल्कारा’ले उत्कृष्ट चलचित्रसँगै महेशले उत्कृष्ट अभिनेता र चिन्तनले उत्कृष्ट सिनेमेटोग्राफीको अवार्ड पाएका थिए ।

यद्यपि, नेपालको सन्दर्भमा आम दर्शकले रुचाउने चलचित्र होइन, ‘हल्कारा’ । तनावबाट दुई घण्टा भए पनि मुक्त हुन सिनेमा हलमा जाने दर्शकका लागि ‘हल्कारा’ होइन । यसमा हरेक संवादमा पञ्चलाइन छैन । कतिपय ठाउँमा त दृश्य र कलर हेरेर बुझ्नुपर्छ । संवाद थोरै प्रयोग गरेर दृश्यमार्फत कथा भनिएको छ । खित्का छोडेर हाँस्ने कमै सिन छन् । त्यसैले अहिले आम दर्शकले हेरिरहेका सिनेमाभन्दा ‘हल्कारा’ बिल्कुल फरक छ ।

० ० ०

निर्देशक : विक्रम सापकोटा
निर्माता : आरके पोखरेल/विक्रम सापकोटा
लेखक : विक्रम सापकोटा
सहलेखन : विप्लव प्रतीक, आकाश बराल
कलाकार : महेश त्रिपाठी, विनिता थापामगर, दीपक क्षेत्री आदि ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro