site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सारङ्गी’को प्रभावले गुलजार बन्दै चलचित्र उद्योग

काठमाडौं । कलाकार बुद्धि तामाङ चलचित्र ‘रिमै’को सुटिङमा गत साता गोरखामा थिए । गोरखाको माथिल्लो बेल्ट सिरानचोमा फोनको नेटवर्क आउनेभन्दा पनि जाने धेरै हुन्थ्यो ।

तर, नेटवर्ककको अवरोधबीच बुद्धिको मोबाइलमा फोनको घण्टी बजिरहन्थ्यो । कति चिनेका त केही नयाँ नम्बरबाट । अधिकांश फोन उनलाई आफ्नो चलचित्रमा खेलाउन चाहने निर्देशक र निर्माताका हुन्थे ।

“गोरखामा एक हप्ता बस्दा १२ वटा सिनेमाका लागि अफर आयो,” बुद्धि भन्छन्, “मुस्किलले बल्लबल्ल फोन लाग्दा त १२ वटा अफर आयो भने फोन ट्राइ गर्ने कति थिए होला ?”

Dabur Nepal
NIC Asia

आइतबार (मंसिर २३) यसो भनिरहँदा उनी निर्मातासँगै थिए, मण्डला थिएटरमा । नयाँ सिनेमाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिरहेका थिए । “यस्तो सिनेमा बनायो भने चल्छ भन्ने कन्फिडेन्स निर्मातामा यति धेरै देखिएको छ कि म आफैँलाई छक्क लाग्छ,” बुद्धि भन्छन् ।

कुन सिनेमा चल्छ र कुन चल्दैन भन्ने सामान्यतया पूर्वानुमान गर्न कठिन हुन्छ । बुद्धिले गरेको संकेत यही हो ।

सोसल ड्रामामा निर्माता केन्द्रित रहेको उनी सुनाउँछन् । “पछिल्लो समय पारिवारिक सोसल ड्रामा कथा भएका चलचित्रबाट अलि धेरै अफर आइरहेको छ,” उनी भन्छन् ।

बुद्धिको यो अनुभव र उनलाई आएको अफरले यस वर्ष ठूलो संख्यामा चलचित्र बनाइँदै छ भन्ने संकेत गर्छ । हाल फ्लोरमा जान लागेका चलचित्रले अर्को वर्ष रिलिज हुने सिनेमाको संख्या यसपालिभन्दा धेरैमाथि हुने उनको प्रस्ट संकेत छ ।

अहिले चलचित्र बनाउन कलाकारको समय पाउनै कठिन रहेको निर्देशक दीपेन्द्र के खनालको भनाइ छ । “कलारको समय पाउन कठिन छ । मुख्य कलाकार त एकडेढ वर्षका लागि प्याक भइसकेका छन्,” दीपेन्द्र भन्छन्, “अन्य कलाकारको समय पाउन पनि लामो समय कुनुपर्ने अवस्था छ ।”

कलाकार मात्र होइन, प्राविधिक र इकुप्मेन्टको पनि अभाव रहेको उनी बताउँछन् । एकैपटक सुटिङका निम्ति धेरै चलचित्र फ्लोरमा जाँदा कलाकारसँगै प्राविधिक र इकुप्मेन्टको पनि अभाव भएको हो ।

कलाकार र प्राविधिकलाई मात्र होइन, निर्देशकलाई पनि अफर आउनेक्रम बढेको छ । दीपेन्द्रलाई तिहारपछि मात्र पाँच सिनेमा निर्देशनका लागि अफर आएको छ ।

“राम्रै मेकरबाट मात्रै तिहारयता पाँचवटा चलचित्र निर्देशनका लागि कुरा आएको छ,” उनी भन्छन्, “चिनजान नभएका र नयाँ मेकरबाट पनि त्यतिकै अफर आइरहेको छ ।”

हाल चलचित्र निर्माण गर्ने र त्यसको तयारीमा रहेका सिनेकर्मीको संख्या ठूलो छ । दर्ता भइसकेका र छायांकनको अन्तिम तयारीमा रहेकासँगै स्टोरीमा काम गरिरहेका निर्माताको संख्या पनि उच्च छ ।

यसलाई पुष्टि गर्छ, स्क्रिप्ट सुपरभिजन गराउन चाहनेको संख्याले । गत वर्षदेखि स्क्रिप्ट डक्टरिङ गरिरहेका निर्देशक मनोज पण्डितलाई पछिल्लो समय यसका निम्ति प्रस्ताव आउने क्रम बढेको छ ।

“दसैँयता स्क्रिप्ट डक्टरिङ गराउनेको संख्या अनपेक्षित रूपमा बढेको छ,” मनोज भन्छन्, “दसैँअगाडिको तुलनामा स्क्रिप्ट डक्टरिङ गराउँन मसँग आउनेको संख्या तेब्बरले बढेको छ ।”

चलचित्र विकास बोर्डको तथ्यांकले पनि सिनेमा निर्माणको संख्या बढ्ने पुष्टि गरेको छ । असोजदेखि मंसिर २७ गतेसम्म मात्र विकास बोर्डमा चलचित्र निर्माणको इजाजत लिनेको संख्या ४७ पुगेको छ ।

“यो वर्ष बोर्डमा चलचित्र निर्माणका लागि नाम दर्ता गर्नेको संख्या बढेको छ,” बोर्डको दर्ता शाखाका रञ्जन अधिकारी भन्छन्, “असोजदेखि मंसिर २७ गतेससम्म मात्रै ४७ वटा चलचित्र दर्ता भएका छन् ।”

गत वर्षको सोही अवधिको तुलनामा यो संख्या निकै धेरै भएको अधिकारी बताउँछन् । दर्ता भएको संख्याले यो वर्ष विगतको तुलनामा धेरै चलचित्र निर्माण हुने देखिएको उनको भनाइ छ ।

यो वर्ष सुरुदेखि नै चलचित्रले राम्रो व्यापार गरेपछि निर्माणमा आकर्षण बढेको छ । ‘बोक्सीको घर’, ‘घर ज्वाइँ’, ‘खुस्मा’, ‘पुजार सार्की’, ‘छक्का पञ्जा’, ‘१२ गाउँ’, ‘पूर्ण बहादुरको सारङ्गी’लगायत चलचित्रले राम्रो व्यापार गरेपछि सिनेमा निर्माणमा आउन चाहनेको संख्या बढेको हो ।

‘१२ गाउँ’ र ‘पूर्ण बहादुरको सारङ्गी’ले अनपेक्षित कमाइ गरेपछि चलचित्रमा लगानी गर्न चाहनेको संख्या बढेको छ । यी दुईमध्ये पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाटै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेपछि सिनेमा निर्माणमा लगानी गरेर प्रतिफल लिन सकिन्छ भन्ने आत्मविश्वास बढेको चलचित्रकर्मी बताउँछन् ।

कलाकार बुद्धिलाई अफर आएका स्क्रिप्टले पनि यसलाई पुष्टि गर्छ । उनलाई आएका अफरमा अधिकांश मेलोड्रामा छन् । यसले ‘पूर्ण बहादुरको सारङ्गी’बाट प्रभावित भएको प्रस्ट हुन्छ ।

यसको असर अर्को वर्ष देखिने निर्देशक दीपेन्द्र बताउँछन् । धेरै चलचित्र बन्नु राम्रो भए पनि लहड र प्रभावको पछि लाग्न नहुनेमा उनी जोड दिन्छन् ।

“चलचित्र बन्नुपर्छ । चलचित्र क्षेत्र चलायमान हुनुपर्छ । जति धेरै चलचित्र बन्यो, त्यति पैसा रोल हुन्छ,” दीपेन्द्र भन्छन्, “तर, कुनै चलचित्र चल्यो भने त्यस्तै अर्को चलचित्र पनि चल्छ भन्ने हुँदैन ।”

हाल तीन पुस्ता चलचित्र निर्माणका लागि बजारमा आएको छ । पुराना निर्माता जो लामो समयदेखि निर्माणबाट अलग भएका थिए, उनीहरू पनि निर्माणमा फर्किइरहेका निर्देशक दीपेन्द्र बताउँछन् ।

“नयाँ मेकर जो नियमित रूपमा सिनेमा बनाइरहेका छन्, उनीहरूले पनि बनाइरहेका छन्,” दीपेन्द्र अगाडि थप्छन्, “नयाँ निर्माता जो चलचित्रमा लगानी गर्ने सोचमा थिए, उनीहरू पनि अहिले आइरहेका छन् ।”

पुराना, काम गरिरहेका र नयाँ मेकर एकैपटक लगानी गर्न आउँदा आउँदो वर्ष रिलिज हुने चलचित्रको संख्या बढ्नेछ । यो वर्ष ठूलो संख्यामा चलचित्र बन्ने, अर्को वर्ष रिलिज हुने र त्यसको नतिजा कस्तो आउँछ त्यसको असर ०८३ मा देखिने उनको भनाइ छ ।

“चलचित्र निर्माणको पनि साइकल हुने रहेछ । चलचित्र चलेको वर्ष निर्माण संख्या स्वाट्टै बढ्ने,” उनी भन्छन्, “चलचित्र नचलेपछि फेरि निर्माणको संख्या अनपेक्षित रूपमा घट्ने रहेछ ।”

पर्याप्त अध्ययन र मिहिनेत नगरी आउँदा लगानीको जोखिम भने बढ्ने निर्देशक मनोज बताउँछन् । रिस्क कम गर्न बजारको अध्ययन र बलियो कन्टेन आवश्यक रहेको अन्यथा उत्साह तनावमा परिणत हुने उनको धारणा छ ।

“तर, यो वर्ष कन्टेन बलियो भयो भने मात्रै चलचित्र राम्रो हुन्छ भन्नेमा नयाँ मेकर सचेत देखिएका छन्,” मनोज भन्छन्, “स्क्रिप्ट लेखिसकेपछि सुपरभिजन गरेर मात्रै फ्लोरमा जाने ट्रेन्ड बढेको छ, यसले मेकर सिनेमाको गुणस्तरमा पनि सचेत देखिन थालेको देखाउँछ ।”

निर्देशक दिनेश राउत राम्रो प्रतिफल आउने क्षेत्रमा लगानीमा आकर्षण देखिनु स्वाभाविक भएको बताउँछन् । “छोटो समयमा राम्रो लगानी हुने रहेछ भनेर आउनेको संख्या देखिएको छ,” दिनेश भन्छन्, “नेपालबाहिर रहेकाहरूले अहिले लगानी बढाएको देखाएको छ ।”

आफूले काम गरिरहेको क्षेत्र गुलजार हुनु, धेरैको आकर्षण हुनु खुसीको कुरा भए पनि लगानी गरेको क्षेत्रबारे बुझ्न आवश्यक रहेकामा उनको जोड छ ।

“रहर पूरा गर्न मात्रै लगानी गर्ने, यति कलेक्सन भयो रे भनेर सुनेको हल्लाकै भरमा आउनुचाहिँ गलत हो,” दिनेश सचेत गराउँदै भन्छन्, “सिनेमाबारे अध्ययन गरेर मात्रै आउनुपर्छ । सिनेमाको बजार कस्तो छ, कसरी रिटर्न्स हुन्छ । टोटल कलेक्सनबाट कति सेयर हात पर्छ भन्ने सामान्य जानकारी पनि नलिई आउने हो भने त्यसले राम्रो प्रतिफल दिँदैन ।”

संख्या बढ्दा चलचित्र उद्योग चलायमान भए पनि स्तरीय सिनेमा नबने त्यसले खासै ठूलो अर्थ नराख्ने दिनेशको धारणा छ । सिनेमामा लगानी गर्दा पर्याप्त बुझेर मात्र गर्न उनको सुझाव छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro