बाँके । बाँकेको कोहलपुरमा नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार जेठिनाला नदीमा नुहाउने क्रममा ३६ वर्षीय कमल सहानीको डुबेर मृत्यु भएको हो । सहानी बैजनाथ गाउँपालिका–४, बोरिङ बस्तीका हुन् ।
प्रहरीका अनुसार सहानी शनिबार बिहान ९ बजे घरदेखि २०० मिटर दक्षिणमा पर्ने नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए । घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ । रासस