काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदबाट हटाइएका ढाकाकुमार श्रेष्ठको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
ढाकाकुमार श्रेष्ठले सांसद पदको पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो ।
इजलासले ढाकाकुमारको सांसद पद खारेज गरी बिन्दवासिनी कंसाकारलाई सांसद पदमा नियुक्त गर्ने रास्वपाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
“सांसद पद रिक्त भएको मानी निज (ढाकाकुमार)को स्थानमा प्रतिनिधिसभा सदस्य पदमा विपक्षीमध्येका बिन्दवासिनी कंसाकारलाई स्थापित गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिति २०७९।१२।२९ मा भएको निर्णय र सोसम्बन्धी पत्राचार एवं काम कारबाही थप कार्यान्वयन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु,” आदेशमा उल्लेख छ ।
सर्वोच्चबाट सोमबार उक्त आदेश भए पनि आइतबार नै बिन्दवासिनीलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिइसकेको छ ।
अदालतको आदेशले थप कारबाही अगाडि नबढाउन भनेसँगै बिन्दवासिनीको शपथ भने रोकिने सम्भावना बढेको छ । अदालतको उक्त आदेश अर्को सुनुवाइ नहुँदासम्म जारी नै रहने छ । अर्को पेसी भने जेठ ५ गतेलाई तोकिएको छ ।