काठमाडौं । अग्ला पहाडी भूभागमा अप्टिकल फाइबर बिछ्याउने झन्झटबाट मुक्त पार्दै तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिवद्धताको नयाँ प्रविधि लाई–फाईले चर्चा पाउन थालेको छ ।
लाई–फाईलाई कतिपयले वाई–फाईको विकल्पका रुपमा समेत हेर्न थालेका छन् । तर, लाई–फाईमा काम गरिरहेका कम्पनीहरुले वाई–फाईलाई लाई–फाईले विस्थापित गर्ने सम्भावना भने नरहेको बताएका छन् ।
बरु, वाई–फाईले अग्ला पहाडी एवं हिमाली भूभागमा सहजै इन्टरनेट सेवा उपलब्ध गराएर इन्टरनेट एवं डाटा ट्रान्सफरका क्षेत्रमा फरक स्थान बनाउने यो प्रविधिमा काम गरिरहेका कम्पनीहरुको भनाइ छ ।
के हो लाई–फाई ? कसरी काम गर्छ ?
लाई–फाई अर्थात लाइट फिडेलिटी ‘बाइडिरेक्सनल’ (द्विदिशात्मक) ताररहित प्रणाली हो । सन् २०११ मा एडिनबर्गमा भएको टेडग्लोबलको वार्तामा मोबाइल कम्युनिकेसनका जर्मन प्रोफेसर हाराल्ड हासले यो शब्दको सुरुआत गरेका थिए ।
अप्टिकल फाइबरमा फाइबर अथवा तारबाट डाटा प्रसारण भएभन्दा फरक लाई–फाईमा लाइट अर्थात प्रकाशबाट डाटा प्रसारण हुन्छ । आँखाले देखिने प्रकाश, अल्ट्रोभ्वोइलेट र इन्फ्रारेड स्पेक्ट्रमहरुमा यसले उच्च गतिमा डाटा प्रसारण गर्न सक्छ ।
कुनै एक ठाउँमा रहेको टेलिकम्युनिकेसनको टावरबाट टाढा पहाडको टुप्पोमा लाई–फाईको रिसिभर राखिन्छ । त्यो रिसिभरले टावरबाट लाइट सिग्नल रिसिभ गर्छ । त्यसपछि उक्त लाइट सिग्नल त्यहाँबाट लेजर बिमका रुपमा १० किलोमिटर टाढासम्मको दूरीका लागि ट्रान्समिट हुन्छ ।
त्यसपछि त्यहाँ पनि रिसिभरले लेजर बिम रिसिभ गर्छ र ती बिमहरुबाटै इन्टरनेट चल्छ र डाटा ट्रान्सफर हुन्छ । यसरी फाइभजीको टावरबाट लाई–फाई प्रविधि प्रयोग गर्दै टाढा पहाडी भागमा १० जीबीपीएससम्मको इन्टरनेट चलाउन सकिन्छ ।
उदाउँदो प्रविधिमा केही अवरोध पनि
एक हप्ताअघि मात्रै भारतीय इन्जिनियर, आविष्कारक एवं शिक्षा सुधारवादी सोनम वाङ्चुकले लद्दाखको पहाडी भूभागमा रहेको एक स्कुलमा लाई–फाई प्रविधिबाटै इन्टरनेट पुर्याएको बताएका छन् ।
यस प्रविधिमा काम गरिरहेको भारतीय कम्पनी एनएभी टेकसँग सहकार्य गरी सेक्मोल माउन्टेन टपमा लाई–फाई प्रविधिको प्रयोग गरी सेक्मोल विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्याएको उनले बताएका छन् ।
यो प्रविधि एलन मस्कको स्टारलिंक, अमेजनको प्रोजेक्ट कुइपर र अल्फाबेट (गुगल)को लुन प्रविधिभन्दा राम्रो र सस्तो भएको उनले बताएका छन् । ती प्रविधिले प्रदूषणमा ठूलो भूमिका खेल्ने साथै अन्तरिक्षलाई फोहोरको थुप्रो बनाउने उनको आरोप छ ।
फाइबर बिछ्याउन प्रतिकिलोमिटरमा एक करोडभन्दा बढी रुपैयाँ लाग्ने बताउँदै उनले लाई–फाई यसभन्दा चार गुणा सस्तो पर्ने बताएका छन् । उनले भारतसँगै नेपाल र पाकिस्तानलगायतको देशका पहाडी भूभागमा सजिलै, सस्तोमा उच्च गतिको इन्टरनेट पुर्याउनका लागि लाई–फाई महत्वपूर्ण प्रविधि हुनसक्ने बताएका छन् ।
टाढाको सिग्नल क्याच गरेर त्यहाँबाट डाटा ट्रान्समिट गरे पनि रेडियो वेभ जसरी भित्ताहरुबाट प्रकाश नछिर्ने हुँदा लाई–फाईमा केही अवरोध पनि छन् ।
रेडियो सिग्नलबाट डाटा ट्रान्समिट गर्ने वाई–फाईले करिब ३२ मिटरसम्म सिग्नल दिन सक्छ । तर, लाई–फाईले प्रकाश नछेकिने १० मिटर आसपासमा मात्रै सिग्नल उपलब्ध गराउँछ । प्रविधिमा सुधार हुँदै जाने यसमा काम गरिरहेका कम्पनीहरुको विश्वास छ । –एजेन्सीको सहयोगमा ।