site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
अनौठो किकबक्सिङ प्रतियोगिता : रोबोटहरूले देखाए कौशल

काठमाडौं । स्टार्टअप कम्पनी युनिट्री रोबोटिक्सका ह्युमनोइड रोबोटहरूले आइतबार चीनको होङजाओमा आयोजित एक अनौठो किकबक्सिङ प्रतियोगितामा आफ्नो कौशल प्रदर्शन गरकेका छन् । यो प्रतियोगिताभन्दा केही हप्ताअघि बेइजिङमा आयोजना भएको विश्वको पहिलो अर्ध–म्याराथनमा यी रोबोट मानिससँगै दौडिएका थिए ।

चीनको राज्य नियन्त्रित चाइना मिडिया ग्रुपद्वारा आयोजित र चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)द्वारा प्रत्यक्ष प्रसारण गरिएको यस प्रतियोगितामा चार युनिट्री जी–१ ह्युमनोइड रोबोटहरूले एक–अर्कासँग प्रतिस्पर्धा गरे । उनीहरूले मुक्का हाने, लात हाने र ढलेपछि उभिनेजस्ता व्यवहार देखाए ।

१३० सेन्टिमिटर उचाइ, ३५ किलोग्राम तौल र सुरक्षात्मक हेडगियर र किकबक्सिङ पञ्जा लगाएका जी–१ ह्युमनोइड रोबोटहरू रिङको छेउबाट मानिस नियन्त्रण गरेको रिमोट कन्ट्रोल र आवाजमार्फत सञ्चालन गरिएका थिए ।

Argakhachi Cement Island Ad

चाइना एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीअन्तर्गतको चाइना टेलिकम्युनिकेसन टेक्नोलोजी ल्याबका मुख्य उप–इन्जिनियर लियू ताईले भने, “सामान्य रिमोट–नियन्त्रित खेलौनाभन्दा फरक, युनिट्रीको जी–१  रोबोट सञ्चालन गर्न एआई मोडेलहरूद्वारा सञ्चालित गति नियन्त्रण एल्गोरिदमहरू आवश्यक छन् ।”

प्रतिस्पर्धा सुरु हुनुअघि, प्रत्येक जी–१ रोबोटले मुक्का हान्ने, डाइभ मारेर बच्ने, लात हान्ने र धकेलिएपछि सन्तुलन कायम राख्ने क्षमता देखाएर वार्मअप गरेका थिए ।

जी–१ किकबक्सरहरूले तीनवटा दुई मिनेटको राउन्डमा प्रतिस्पर्धा गरेका थिए । जहाँ हात वा खुट्टाले प्रतिद्वन्द्वीको टाउको वा अनुहारमा प्रहार गरेर अंक हासिल गर्थेे । सबैभन्दा बढी अंक प्राप्त गर्ने रोबोट विजयी घोषित हुन्थ्यो । ८ सेकेन्डभित्र उभिन नसकेको रोबोटलाई हराइको घोषणा गरिन्थ्यो ।

पहिलो दुई म्याच जित्न सफल दुई जी–१ रोबोटहरू बीचको फाइनल प्रतिस्पर्धा चिनियाँ टेक इन्फ्लुएन्सर लू जिनले नियन्त्रण गरेको रोबोटले जित्यो । सामाजिक सञ्जाल विइबोमा सोमबार प्रकाशित उनको पोस्टमा उनले युनिट्रीको उद्यमशीलता ऊर्जाको प्रशंसा गरेका थिए ।

यो किकबक्सिङ प्रतियोगिताले होङजाओमा–आधारित युनिट्रीले चीनको उदीयमान ह्युमनोइड रोबोट क्षेत्रमा आफ्नो प्रतिष्ठा बढाउने प्रयासलाई प्रतिविम्बित गर्छ । यस वर्ष यस क्षेत्रले धेरै ठूलो मात्रामा उत्पादन सुरु गरेको छ ।

बजार अनुसन्धान कम्पनी ट्रेन्डफोर्सले गत महिना प्रकाशन गरेको एक रिपोर्टमा ११ वटा घरेलु ह्युमनोइड रोबोट निर्मातामध्ये ६ ले यस वर्ष एक हजारभन्दा बढी रोबोटहरू उत्पादन गर्ने योजना उल्लेख थियो । यसमा युनिट्री, एजिबोट, ग्यालबोट, इन्जिन एआई र लेजु रोबोटिक्स समावेश छन् ।

यद्यपि, प्रतिस्पर्धी ह्युमनोइड रोबोट निर्माताहरू आइतबारको प्रतियोगितामा सामेल भएनन् । तर युनिट्रीले गत महिना बेइजिङमा भएको अर्ध–म्याराथनमा भोगेको असफलतालाई यसले केही हदसम्म मेटाउने प्रयास गरेको देखिन्छ । त्यतिबेला एक भाइरल भिडियोमा योे रोबोट दौड सुरु हुनासाथ ढलेको देखिएको थियो । युनिट्रीले पछि उनीहरू आधिकारिक रूपमा त्यो दौडमा सहभागी नभएका स्पष्ट पारेको थियो ।

यस वर्षको चीनको सबैभन्दा धेरै हेरिने टेलिभिजन कार्यक्रम (स्प्रिङ फेस्टिभल गालामा) जी १ ह्युमनोइड रोबोटहरूले मानिहरूसँग चिनियाँ लोकनृत्य ‘यांगे’ प्रदर्शन गरेपछि युनिट्रीले राष्ट्रिय चर्चा पाएको थियो ।
साउथ चाइना मर्निङ पोस्ट

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्