site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली क्रिकेट टिमलाई २१ वर्षअघिको इतिहास दोहोरिने डर
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘‘सानैदेखि भारत र पाकिस्तानले खेलेको हेर्दै आएका थियौँ । भारत, पाकिस्तानसँग खेल्न पाउनु हाम्रो लागि निकै ठूलो अवसर हो । कप्तानको रूपमा र टिमले नै निकै गर्विलो महसुस गरिरहेका छौँ,” गएको मंगलबार एसिया कपमा स्थान पक्का गरेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईमाथि सात विकेटको विजय हासिल गरेपछि नेपालले यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा स्थान पक्का गरेको हो । त्योसँगै खेलाडी र समर्थक नेपालले भारत र पाकिस्तानजस्ता विश्वकै उत्कृष्ट टिमविरुद्ध खेल्ने क्षणको प्रतीक्षामा छन् । सिंगो नेपाली क्रिकेटजगत् नै उत्साहित छ । उत्साहित हुनुको कारण छ, नेपालले पहिलोपटक यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ ।

नेपाली क्रिकेटप्रेमी उत्साहित मात्र छैनन् । चिन्तित पनि छन्, प्रतियोगिता नै नहुने हो कि भनेर । किनभने, प्रतियोगिता योपटक पाकिस्तानमा हुने तय छ । भारतीय टिम पाकिस्तान जान तयार छैन । छिमेकी भए पनि दुई देशबीचको तिक्ततापूर्ण सम्बन्धका कारण भारतीय टिमले पाकिस्तान जान अस्वीकार गरेको हो । सोही कारण प्रतियोगिता नै अन्योलमा छ । र, नेपालको पहिलोपटक एसिया कप खेल्ने सपना पनि धुमिल बनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल एसिया कपमा छनोट भएको यो पहिलोपटक भने होइन । दोस्रोपटक हो । २१ वर्षअघि नेपाल पहिलोपटक यो प्रतियोगितामा छनोट भएको थियो । तर, प्रतियोगिता नै रद्द भएपछि त्यति बेला नेपालले एसिया कपमा ‘डेब्यु’ गर्न पाएन । संयोग नै मान्नुपर्छ, योपटक पनि प्रतियोगिता रद्द हुने चर्चा चुलिँदो छ । नेपाली क्रिकेटलाई अहिले २१ वर्षअघिको त्यही इतिहास दोहोरिएला कि भन्ने त्रास छ ।

एसिया कप खेले अवसरका आधारमा नेपाली क्रिकेट टोलीका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता बन्नेछ । यसको प्रमुख कारण हो, एसिया कपमा नेपाल त्यो समूहमा परेको छ, जसमा विश्व क्रिकेटका दुई महारथी तथा समकालीन चिर–प्रतिद्वन्द्वी भारत र पाकिस्तान छन् । विश्व क्रिकेटमा आफ्नो छाप छोड्न नेपाली टिमका लागि यो स्वर्ण अवसर बन्न सक्नेछ ।

Global Ime bank

नेपाली टिमले यसअघि सन् २०१४ को विश्वकपमार्फत आफूलाई क्रिकेटको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक गरेको थियो । ट्वान्टी–२० विश्वकप खेल्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो । तर, त्यति बेला नेपालले भारत र पाकिस्तानको स्तरका टिमसित प्रतिस्पर्धा गर्ने अवसरै हासिल गरेन ।

दोहोरिएला २१ वर्षअघिको इतिहास ?

नेपाल सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको उपविजेता बन्यो । त्यसपछि सोही वर्ष आयोजना हुने तालिका रहेको एसिया कपमा छनोट भयो । प्रतियोगिताको फाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई एसीसी ट्रफीको च्याम्पियन बनेको थियो । फाइनलमा प्रवेश गरेका दुई टिम एसिया कपका लागि छनोट हुने प्रावधान थियो । त्यसैले नेपालले पनि एसिया कपमा स्थान बनाएको थियो ।

त्यति बेला पनि प्रतियोगिताको आयोजना अधिकार पाकिस्तानले नै पाएको थियो । सन् २००१ मे ३० मा भारतको कोलकातामा आयोजित पत्रकार सम्मेलनमार्फत तत्कालीन एसियन क्रिकेट फाउन्डेसन (एसीएफ)का अध्यक्ष जगमोहन दाल्मियाले त्यो वर्षको एसिया कप पाकिस्तानमा हुने जनाएका थिए । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसी ट्रफीबाट दुई टिम छनोट हुने जनाइएको थियो । तर, भारत र पाकिस्तानबीचको राजनीतिक विवाद चरम अवस्थामा पुगेपछि उक्त संस्करण रद्द भयो ।

एसिया कपमा शंका किन ?

एसीसीको तालिकाअनुसार प्रतियोगिताको १६औँ संस्करणको आयोजना अधिकार पाकिस्तानले पाएको छ । तर, भारतले पाकिस्तानमा खेल्न जान अस्वीकार गरेपछि प्रतियोगिताबारे आशंका उत्पन्न भएको छ ।

भारतले आफ्नो देश भ्रमण गर्न अस्वीकार गरेपछि केही लचिलो बन्दै पाकिस्तानले ‘हाइब्रिड मोडेल’को प्रस्ताव गरेको थियो । एसिया कप पाकिस्तानमा आयोजना भए पनि भारतका खेल ‘तटस्थ भूमि’मा गर्ने प्रस्ताव पेस गरिएको थियो । तर, भारतले पाकिस्तानको यो प्रस्ताव पनि अस्वीकार ग¥यो । त्योसँगै प्रतियोगिता हुनेबारे आशंका झनै चुलियो ।

पाकिस्तानी सञ्चार संस्था क्रिकेट पाकिस्तानले भने केही समयअघि एसिया कप रद्द हुने सम्भावनाप्रति भारत पूर्ण तयार रहेको उल्लेख गरेको थियो । बीसीसीआई पाँचदेशीय नयाँ प्रतियोगिताको सुरुआत गर्ने तयारीमा रहेको पनि क्रिकेट पाकिस्तानले खुलाएको थियो ।

पीसीबी आफ्नो ‘हाइब्रिड’ प्रस्तावमा अडिग रहे एसिया कप २०२३ मा आयोजना नहुने सम्भावना प्रवल छ । अन्तर्राष्ट्रियजगत्लाई आफ्नो देश सुरक्षित रहेको सन्देश दिन पाकिस्तान यो प्रतियोगिता आफ्नै भूमिमा आयोजना गर्न चाहन्छ । उक्त सञ्चार संस्थाले पाकिस्तानबाहेक एसियाका पाँच राष्ट्र समावेश गरेर भारतले नयाँ प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको सार्वजनिक गरेको छ ।

एसीसीका अधिकारीलाई उद्धृत गर्दै एक भारतीय सञ्चारमाध्यमले प्रतियोगिता सार्ने वा रद्द गर्नेबारे एसीसी, पीसीबी र बीसीसीआईबीच कुनै छलफल नभएको खुलाएको छ ।

“प्रतियोगितालाई लिएर केही सूचना आदानप्रदान भएका छन् । तर, एसिया कप सार्नेबारे कुनै पनि प्रकारको छलफल भएको छैन,” एसीसीका कार्यसमिति सदस्यलाई उद्धृत गर्दै उक्त भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

‘नेपालका लागि ठूलो अवसर हो, हाम्रो पालाको जस्तै नहोस्’

सन् २००२ मा एसीसी ट्रफीको उपविजेता नेपाली टिमको कप्तानी राजु खड्काले सम्हालेका थिए । खड्का २१ वर्षअघि एसिया कप रद्द हुनुलाई नेपाली क्रिकेट इतिहासको ‘कालो दिन’का रूपमा टिप्पणी गर्छन् ।

“नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको ६ वर्षपछि हामी एसीसी कपमा छनोट भएका हौँ । एसिया कपमा छनोट भएपछि नेपाल फर्किंदा हामीले विमानस्थलमा राम्रो स्वागत पायौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा हाम्रो यात्रा लामो पनि थिएन । हामीमा त्यस बेला भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता राष्ट्रसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने डर थियोे,” खड्का भन्छन्, “यो डरका बाबजुद हामी प्रतियोगितालाई लिएर निकै उत्साहित थियौँ । तर, भारत र पाकिस्तानको खिचातानीले प्रतियोगिता नै रद्द भयो । हामीले त्यो दिनलाई नेपाली क्रिकेटको कालो दिन भन्दै चित्त बुझायौँ ।”

योपटक पनि भारत र पाकिस्तानको खिचातानीले नेपालले प्राप्त अवसर गुमाउन सक्ने खतरा रहेको खड्का बताउँछन् ।

“अहिले पनि पाकिस्तानमा हुने भएकाले प्रतियोगिता रद्द हुने भन्ने सुन्नमा आएको छ । अहिले पनि नेपाली क्रिकेटका लागि कालो दिन हुन्छ कि भन्ने डर छ । भारत पाकिस्तान जान मान्दैन, अनि पाकिस्तान भारत । आयोजनाका लागि भारत, पाकिस्तानलाई नै किन दिने ? यूएई छ, श्रीलंका छ । अहिले त अब नेपाल पनि एसिया कप आयोजनाका लागि तयार भइसक्यो,” खड्का थप्छन्, “यी दुई देशको आपसी कलहले हामीलाई अप्ठ्यारो भइरहेको छ । एसिया कप खेल्न पाउनु हाम्रो लागि भाग्यको कुरा हो । २१ वर्षअघि गुमायौँ । अहिले मौका पाएका छौँ । यो प्रतियोगिताबाट विश्वले नेपाली क्रिकेटलाई हेर्ने नजर फरक हुन्छ । खेलाडीले एक्सपोजर पाउछन् । यसपटक पनि पहिलेजस्तै भयो भने त्यस बेला हामी हराएजस्तै अहिले पनि नेपाली टिम फेरि हराउन सक्छ ।”

के भन्छन् कप्तान र प्रशिक्षक ?

कप्तान रोहित नेपालजस्तो देशका लागि एसिया कप ठूलो मञ्च भएको बताउँछन् । आफूहरूका लागि एसिया कप जहाँ भए पनि खेल्न पाउने कुराले महत्त्व राख्ने उनको भनाइ छ ।

“हाम्रो लागि यो अवसर हो । हामीलाई प्रतियोगिता खेल्नु छ । म प्रतियोगिता होस् भन्ने चाहन्छु । पाकिस्तान, भारत, यूएई जहाँ भए पनि खेल हुनुप¥यो,” रोहित भन्छन्, “एक टिमको रूपमा हामीले यति मिहिनेत गरेका छौँ, एसीसीले यति धेरै लगानी गरेको छ, खेल भएको एकदमै राम्रो हुन्छ ।”

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई प्रतियोगिता समयमै आयोजना हुनेमा आशावादी छन् ।

“मैले यो (एसिया कप रद्दबारे) कुरा अहिले तपाईंबाट नै सुनिरहेको छु । म यस्तो हुँदै छ भन्ने कुराबारे अनभिज्ञ छु । तर, सबैलाई थाहा छ, यो प्रतियोगितामा १० राष्ट्र थिए, एसिया कपको लक्ष्य बोकेर आएका । दुई टिम फाइनलमा एक मात्र स्थानका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । यति कठिन अवस्था पार गरेर उनीहरू आईसीसीको पूर्ण सदस्य रहेका टिमसँग खेल्न पाउने मौका पाउँछन् । यदि, अहिले यो रद्द हुने कुरा चलिरहेको हो भने, मलाई थाहा छैन हो वा होइन । तर, यो सत्य नहोस् भन्ने मेरो आशा र कामना छ,” देसाई भन्छन् ।

नेपालजस्तो राष्ट्रका लागि प्रतियोगिता खेल्न पाउनु नै ठूलो कुरा भएको देसाई बताउँछन् । आईसीसीको पूर्ण सदस्यसँग खेल्ने मौका दिन उनको आग्रह छ ।

देसाई थप्छन्, “जब हामी सानो थियौँ, हामी ब्याट र बल समात्थ्यौँ । त्यस बेला हामी कस्तो मञ्च पाएका छौँ भन्ने सोच्दैन थियौँ । बस्, हामीलाई खेल्नु थियो । हामीलाई रमाउनु थियो । अहिले हामी ठ्याक्कै त्यस्तै अवस्थामा छौँ । अहिले यी बच्चाहरू खेलिरहेका छन् । उनीहरूलाई खेल्न देऊ । पूर्ण सदस्यहरूसँग पनि खेल्ने मौका देऊ । आशा छ, एसिया कप समयमै आयोजना हुनेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC