
काठमाडौं । ११औँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ६–अन्डर ६६ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा छन् ।
उनले नेपलका वाङचेन ढोन्डुपलाई दुई स्ट्रोकले पछि पारे । वाङचेन ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा छन् । नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बंगलादेशका मोहम्मद साहाब उद्दीन २–अन्डर ७० सहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् ।
इभन–पार ७२ को स्कोरमा नेपालका प्रकृत तामाङ र श्रीलंकाका रेशन अलगामाले छैटौँ स्थान बाँडे । यस्तै, नेपालका टासी छिरिङ, भुटानका डेचेन लेन्डुप र निम दोर्जी तामाङ तथा भारतका भिभान उभयाकरले २–ओभर ७४ को स्कोरमा संयुक्त रूपमा आठौँ स्थानमा पहिलो दिनको खेल सकाएका छन् ।
पहिलो दिनका लिडर सदभावले बोगीरहित फ्रन्ट नाइन खेले । पहिलो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि ब्याक नाइनमा सदभावले ११औँ, १२औं, १४औँ र १८औँ होलमा बर्डीको सफलता प्राप्त गरे । १३औँ होलमा भने एक सट खेर फाले। उनले ब्याक नाइन पनि ३–अन्डर ३३ खेले ।
वाङचेनले पहिलो, छैटौँ र नवौँ होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि १०औँ र १२औँ होलमा पनि एक–एक सट बचाए । १५औँ होलमा बोगीको समाना गरेसँगै ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे ।
महिलातर्फ भारतकी अनन्थी विवेक १–अन्डर ७१ सहित शीर्षस्थानमा रहन सफल भएकी छन् । उनले नेपालकी तारा कार्की चित्रकारलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारिन् । ताराले ८–ओभर ८० खेलिन् ।
अभान्थीले फ्रन्ट नाइनमा ३–अन्डर ३३ र ब्याक नाइनमा २–ओभर ३८ खेलिन् । उनले तेस्रो, पाँचौँ, सातौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरिन् । दोस्रो र छैटौँ होलमा बोगी खेपिन् । ब्याक नाइनमा भने १६औँ होलको बर्डीविरुद्ध १२औँ, १५औँ र १८औँ होलमा एक–एक सट खेर फालिन् ।
नेपालकी ताराले पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाइन् । तर, ब्याक नाइनमा बिर्सनलायक प्रदर्शन गरिन् । उनले ब्याक नाइनमा कुल ६ वटा होलमा बोगी खेप्दा १२औँ होलमा ट्रिपल बोगी प्रहार गर्न पुगिन् । योसँगै ब्याक नाइन ९–ओभर ४५ मा पूरा गर्न बाध्य भइन् ।
यसैगरी भारतकी दियाक्रिस कुमार ८४ स्कोरसहित तेस्रो तथा नेपालकी एन्जिला योञ्जन (९१) र अभानी राई (९४) का साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।
यू–१६ तर्फ रूबेन थापा ८० स्कोरसहित शीर्ष स्थानमा रहे । ९० स्कोर बनाएका दिप्सन लामा दोस्रो र ९३ स्कोरसहित दिपेश श्रेष्ठ तेस्रो स्थानमा रहे ।
पुरूषको टिम स्पर्धामा नेपाल ’ए’ टिमका सदभाव आचार्य र राहुल विश्वकर्मा १३६ स्कोरका साथ पहिलो स्थानमा छन् । नेपाल ‘बी’ टिमका टासी छिरिङ र वाङचेन ढोन्डुप १४२ स्कोरसहित दोस्रो स्थानमा छ । बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दीन १४५ स्कोरसहित तेस्रो स्थानमा छ ।
मंगलबार बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । तीनदिने ५४–होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारत गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागिता छ ।
व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ । सहभागी खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन् । यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्यांकिङ (डब्लूएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्यांकिङ अंक समेत प्राप्त गर्नेछन् ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्, वाग्मती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटेल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटेल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी तथा मेहेन्दो होटेल एन्ड स्टुडियो सुइट्सले सहयोग गरेका छन् ।