site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यारेक्टरमा बस्दा झाँक्रीसामु पुर्‍याइएका महेश
SkywellSkywell

काठमाडौं । चार वर्षअघि आइसफल प्रोडक्सनका सञ्चालक आरके (रामकृष्ण पोख्रेल)ले महेश त्रिपाठीलाई म्यासेज गरे– मैले तिमीलाई एउटा स्क्रिप्ट पठाएको छु, पढ है । 

सिनेमा कलेज ओस्कारमा पढाइरहेका महेशलाई केहीले चलचित्रको स्क्रिप्ट पढेर ‘फिडब्याक’ दिन भन्थे । उनका लागि त्यस्तै अनुरोधमध्येको एक थियो, त्यो आग्रह पनि । उनले भने– हुन्छ । पढ्न थाले, स्क्रिप्ट मन पर्‍यो ।

‘नोभेम्बर रेन’मा सानो भूमिकाबाहेक महेशले फिचर फिल्ममा काम गरेका थिएनन् । सर्ट मुभीमा त उनी ‘बाघ’ नै भइगए । तर, त्यसबाट न पैसा आउने न ‘पब्लिक्ली’ धेरैले नै हेर्न पाउने ।

KFC Island Ad
NIC Asia

इन्जिनियरिङ छोडेर ‘हिरो’ बन्न सिनेमा पढेको । सिनेमै पढाइरहेका थिए । तर, हिरो हुने भोक मास्टरीले किन मर्थ्यो र ! उनलाई लागिरहेको थियो– म जे छु र जहाँ छु, यो मेरो काम होइन । उद्देश्य यो होइन । र, थिएन पनि । यो त लामो बाटोको एउटा कुइनेटो मात्र हो । जहाँ म अल्झिरहेको छु ।

स्क्रिप्ट पढ्दै जाँदा उनलाई लाग्यो– यो सिनेमामा काम गर्न पाए ! यस्तै सिनेमा त हो मैले खोजेको, जसका कारण ‘नोभेम्बर रेन’पछि यत्तिकै बसिरहेको छु ।

Royal Enfield Island Ad

यत्तिको सिनेमाबाट डेब्यु गर्न पाए मेरो करिअरको गोरेटो आफैँ कोरिनेछ –उनलाई लाग्यो ।

महेशलाई यो मौका नगुमाऊँ भन्ने लाग्यो । आरकेलाई भने– दाइ, स्क्रिप्ट मलाई मन पर्‍यो । अडिसन खुल्छ कि होइन ? खुल्छ भने म पनि दिन्छु है ।

‘आऊ न त,’ आरकेले भने । 

आइसफलको कार्यालय लाजिम्पाट पुगे, महेश । लेखक तथा निर्देशक विक्रम सापकोटासँग भेट भयो । अडिसन दिए । व्यक्तिगत रूपमा धेरैलाई बोलाएर र आउनेहरूसँग अडिसन लिइसकेका रहेछन् उनीहरूले ।

विक्रमले महेशका कलेज प्रोजेक्टहरू हेरिसकेका रहेछन् । दुई दिनपछि विक्रमले फोन गरेर भने– एकपटक भेटौँ न । 

महेशमा आशा जाग्यो । ‘ग्रिन सिग्नल’ पाएको महसुस गरे । हुन्छ कि क्या हो ! भन्ने भयो । विक्रमसँग भेट भयो । गफ भयो । स्क्रिप्ट मन परेर मात्र पनि हुँदैन थियो । ‘थर्ट प्रोसेस’ र ‘वेभलेन्थ’ पनि मिल्नुपर्थ्यो । गफको बिट मार्दै विक्रमले भने– यु आर इन ।

वास्तवमा महेशलाई स्क्रिप्ट पठाउँदा नै विक्रम र आरकेले उनलाई फाइनल गरिसकेका रहेछन् । भलै, उनले पछि थाहा पाए । अडिसन त औपचारिकता मात्र रहेछ ।

सम्झौता भयो । एउटा सपना पूरा भयो महेशको । तर, जिम्मेवारीको डरले थिच्न थाल्यो । पाँच सयभन्दा माथि सर्ट फिल्म त गरे, फिचर फिल्ममा लिड क्यारेक्टर गरेको अनुभव उनमा थिएन । सिंगो फिल्म आफ्नै काँधमा बोकेर हिँड्नुपर्ने जिम्मेवारीले उनको मनमा डरले घर गर्‍यो । स्वाभाविक पनि हो । कसैले उनीमाथि विश्वास गरेर करोडौँ लगानी गर्दै थियो ।

मैले सिनेमालाई न्याय गर्न सकिनँ भने के हुन्छ ? त्यसले महेशको निद्रा ‘हराम’ गर्न थाल्यो । आफैँले आफैँलाई सम्झाए– डरले काम हुँदैन । अब कसरी काम गर्ने हो, त्यसको कार्ययोजना बनाउनुपर्छ । होइन भने यो सुनौलो अवसर फुत्किन्छ । मैले डर हटाउन मेरो क्यारेक्टरमा काम गर्नुपर्छ । 

त्यसपछि डिरेक्टरले बनाउन खोजेको सिनेमा के हो, बुझे । र, क्यारेक्टर निर्माणमा जुट्ने निधो गरे । 

सम्झौता गरेको करिब चार महिनामा सिनेमा छायांकनमा जाँदै थियो । 

‘हल्कारा’मा महेश हल्कारा हुन् । सपनाको घर सजाउने क्रममा आउने अवरोधले ऊ ‘अल्कोहलिक’ बनिसकेको छ । महेशले त्यही हल्काराको भूमिका निभाउनु थियो ।

हल्काराको क्यारेक्टर कस्तो होला ? प्रश्नले घर गर्‍यो । महेश भन्थे– झुत्रेझाम्रे लुगा लगाएर गनाउँदै बाटोबाटोमा लड्दै हिँड्ने ।

विक्रम भन्थे– सबै अल्कोहलिस्ट झुत्रेझाम्रे नै हुँदैनन् । सफासुग्गर लुगा लगाएर हिँड्ने व्यक्ति पनि अल्कोहलिस्ट हुन्छ । र, हाम्रो सिनेमाको हल्कारा पनि त्यस्तै क्यारेक्टर हो ।

महेशको दिमागमा ‘क्लिसे क्यारेक्टर’ आएको थियो । विक्रम त्यस्तो होइन भन्थे । को सही ? विवाद नै चल्यो । महेश त्यति बेला ‘कन्भिन्स’ भए, जब उनले एक आफन्तलाई सम्झिए ।

“मेरो एकजना आफन्त हुनुहुन्थ्यो, जो हरेक दिन रक्सी पिउनुहुन्थ्यो । तर, उहाँले दाह्री नकाटेको दिनु हुँदैन थियो । हरेक दिन आइनर गरेर मात्रै सर्टपाइन्ट लगाउनुहुन्थ्यो,” महेश भन्छन्, “हो त, मेरो दिमागमा अल्कोहलिस्टको क्लिसे सिन पो बसिरहेको रहेछ ।”

काम गर्न ‘जब’ छैन । काम नभए पैसा पनि हुँदैन । सधैँभरि कसैले सापटी र उधारो दिँदैन । त्यसैले ऊ सफासुग्गर हुँदैन भन्ने आमबुझाइ हो । महेशको बुझाइ पनि त्यही थियो । तर, सबै अल्कोहलिस्ट कहाँ त्यस्ता हुँदा रहेछन् र ! आफन्तलाई हेरेर महेश कन्भिन्स भए । 

विक्रमले उनलाई कन्भिन्स गरे । महेश आफ्नै विगतमा पनि फर्किए । सिनेमा पढिसकेर पढाउन सुरु गर्नुअघिको आफ्नो विगत सम्झिए । हो त, उनी कहाँ गल्लीमै सुतेर हिँडेका थिए र ! तर, सपनाको सफलता समात्ने फेरो नभेटिँदा उनी कति समय घरमा बसेनन् । पशुपतिका मन्दिरहरू उनका लागि आश्रयस्थल बनेका थिए । त्यहाँ बिनापैसा बाँडिने खाना उनको दालभात थियो । त्यसरी बाँडिने खानामा दालमा चाउचाउको मसला मिसाएर महेश आफैँले खाएकै त हो । निदाउन नसकेर अल्कोहलको सहारा लिएका थिए । तर, उनी ‘क्लिन’नै थिए त ! आफ्नै विगतले पनि कन्भिन्स भए ।

मूलधारे सिनेमामा ‘र’ र ‘पनि’ छुटे ‘टेक’ ‘कट’ गरेर पुनः ‘टेक’ लिइन्छ । तर, यो चलचित्रका लागि महेश क्यारेक्टरको रिसर्चमा निस्किए । ‘इन्टरनल’ र ‘एक्सटर्नल’ पक्षमा स्पष्ट भएपछि कतिपय रिसर्चबाट आएका कुरा पनि स्क्रिप्टमा समेट्न सकिन्थ्यो ।

टाइमफ्रेम वि.सं. २०५५ तिरको थियो । कथा कास्कीको । महेशले विक्रमलाई चरित्र निर्माणका लागि गाउँ जान्छु भने । विक्रमले स्वीकृति जनाए, ‘ओके । टेक योर टाइम  ’

महेश आफ्नै गाउँ कास्कीकोट पुगे । हल्काराको क्यारेक्टर ‘अल्कोहलिक’ थियो । तर, जहाँतहीँ मदिरा पाइँदैन थियो । पाए पनि पैसा कहाँ पाउनु ! नपाउँदा खैनीले पनि त्यसको धीत मानुपर्थ्यो । त्यसैले उनले सेवन गर्न थाले, कहिल्यै सेवन नगरेको खैनी ।

क्यारेक्टरको गहिराइमा पुग्न एक महिनाअगाडिदेखि नै ओठमा चेप्न थाले, बिजुली खैनी । ‘रियालिस्टिक’ सिनेमाको वकालत गर्ने महेशलाई कसैले भनेको होइन, आफैँ खैनी च्याप्न सुरु गरेका थिए । उनले ओठमा खैनी च्याप्न थाले, त्यसको असर घाँटीमा देखिन थाल्यो ।

सिनेमाको छायांकन सकियो । तर, उनको घाँटीमा देखिएको समस्या सकिएन । खाना खानै नहुने भयो । ठाडो घाँटी लगाएर जाउलो खान थाले । के भएको हो थाहा थिएन । त्यसपछि सुरु भयो, अस्पताल धाउने क्रम । कसले के भन्छ, कसले के । जति मान्छे त्यति कुुरा– सातौँ डाक्टरले पत्ता लगाए, भएको के हो । डाक्टरले भने– लुकोप्लेकिया (ह्वाइट प्याच) अर्थात् अत्यधिक मदिरा सेवनबाट मुखमा लाग्ने रोग । बल्लतल्ल रोग त पत्ता लाग्यो, तर निदान भएन ।

धेरै खाना बार्नुपर्ने भयो । घरबाहिर खानै नहुने भयो । घरमै जाउलो खान थाले । “सुरुमा त के भयो के भयो भन्ने भयो । घाँटी, मुख सुक्खा भएर खाना खान समस्या भयो । खैनीले हो भन्नेतर्फ ध्यान नै गएन । पछि मात्रै थाहा भयो,” महेश भन्छन्, “त्यो बेला त जोसमा गरियो । तर, अहिले दुःख पाउँदा त्यति नगरेको भए पनि हुन्थ्यो भन्ने पनि लाग्छ ।”

एक वर्षसम्म उनले दिनमा मुस्किलले दुई गाँस पनि खाना खान सकेनन् । दुई वर्षसम्म बाहिरको केही खाएनन् । भात खाँदा सिता गएर घाँटीमा अड्किन्थ्यो । दुई वर्ष उनले दूधमा ओड्स भिजाएर खाए ।

“अहिले करिब चार वर्ष भयो । तुलनात्मक रूपमा सुधार त भयो, तर ठिक भइसकेको छैन,” महेश क्यारेक्टर खोज्दाको सकस सुनाउँछन् । खैनीको केमिकलले दिएको दुःख अभिनयको मूल्यांकनबाट भुलाइरहेका छन्, उनी ।

विदेश जान नेपाली युवालाई के कुराले बाध्य गरिरहेको छ ? र, ऊ कसरी विचलित हुन्छ ? सिनेमाको कथा थियो । हातमा सीप भएको तर अल्कोहलिकका कारण ‘कठै बिचरा’ भन्ने अवस्थाको चरित्र थियो । महेशले अनुभूत गर्नुपर्ने थियो, अल्कोहलिक चरित्रको । एक हदसम्म त उनले पहिला नै यसको अनुभव लिइसकेका थिए । थप अनुभव गर्न मन लाग्यो । त्यसपछि महेश गाउँका भट्टीमा छिरेका थिए । रक्सी पिएका थिए । र, गाउँलेहरूसँग गफिएका थिए । स्थानीयका कुरा सुने । गाउँलेलाई सघाए । घर छाउनेदेखि जोत्नेसम्मका काम गरे ।

कपाल पालेर जिङ्ग्रिङ्ग भएको छोरो एक/डेढ महिनादेखि गाउँगाउँ डुली हिँड्छ, के भइरहेको छ यसलाई ? – बुवाआमाले सोध्न थाले । हुन पनि हो, हिरो हुन्छु भनेर इन्जिनियरिङ छोडेर सिनेमा पढे । सिनेमामा काम गर्छु भनेर मास्टरी छोडेको छोरो गाउँ आएर कपाल र दाह्री पालेर जिङ्ग्रिङ्ग परेर गाउँगाउँ डुली हिँडेको देखेपछि बुवाआमालाई चिन्ता हुने नै भयो । महेश खासै बोल्दैन थिए । एकोहोरो आफ्नै सुरुमा हिँडिरहेका थिए ।

“हुँदा छँदाको काम छोडेर गाउँ आएर बसेको छ, एकोहोरिएर आफ्नै सुरमा हिँडेको छ, के भयो यसलाई ? गाउँलेले शंका गरेछन् । कतै दिमाग नै केही भएन ? गाउँलेले बुवाआमालाई भनेछन् । आमाले मलाई धामीझाँक्रीमा लैजानुहुन्थ्यो,” महेश भन्छन्, “म दुई/तीनपटक आमासँगै झाँक्रीकोमा पनि गएँ । तर, मलाई केही भएको थिएन ।”

‘मेथोड एक्टिङ’का लागि उनी क्यारेक्टर निर्माणमा थिए । उनका बुवाआमालाई त्यो थाहा थिएन । भाइलाई भने भनेका थिए । भाइले बुवाआमालाई पनि भनेका थिए । तर, बुवाआमाले गाउँलेका कुरा सुने । सायद मनले मानेन । तनाव लिए । स्वाभाविक पनि थियो ।

त्यही सिनेमा ‘हल्करा’ जसमा महेश लिड रोलमा छन् । यसले अमेरिकाको ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल–२०२२’ मा अवार्ड जित्यो । गत वर्ष उक्त फेस्टिभलको ५५औँ शृंखलामा महेशले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । महेशले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यही चलचित्रले उत्कृष्ट सिनेमाटोग्राफीतर्फको अवार्ड पनि पाएको थियो । विदेशमा अवार्ड जितेको ‘हल्कारा’ नेपाली दर्शकले यही वैशाखको अन्तिम शुक्रबारदेखि हेर्न पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro