site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राजेशलाई दर्शकले बिर्सिसके कि सम्झिरहेका छन् ?

काठमाडौं । नायक राजेश हमाल फिचर फिल्ममा नदेखिएको कति भयो ? सम्भवतः धेरैलाई थाहा छैन । कारण, राजेश अभिनीत सिनेमा रिलिज नभएको धेरै भइसक्यो ।

चलचित्र ‘वाग्मती’ राजेशले अभिनय गरेको पछिल्लो सिनेमा हो । त्यसयता उनले चलचित्रमा अभिनय गरेका छैनन् । ‘वाग्मती’ रिलिज भएको आधा दशकभन्दा धेरै भइसकेको छ । चार वर्षयता सिनेमा हेर्न थालेका दर्शकले उनका सिनेमा हेर्न पाएका छैनन् ।

राजेश अभिनीत त्यसअघि चलचित्र ‘शकुन्तला’ रिलिज भएको थियो । त्यो बक्सअफिसमा राम्रो भएन । ‘वाग्मती’ समेत बक्सअफिसमा असफल भएको थियो । त्यसयता राजेशले कुनै पनि सिनेमामा काम गरेका छैनन् । त्यसपछि उनले बाह्रखरीसँग भनेका थिए– मैले काम गरेका केही चलचित्रमा सायद सेलेक्सन सही भएन । अब यसमा मैले ध्यान पुर्‍याउनुपर्छ ।  

Dabur Nepal
NIC Asia

‘वाग्मती’ रिलिजयता राजेशले सिनेमामा काम गर्ने धेरै हल्ला चल्यो । समाचार नै पनि आए । आजसम्म काम भने गरेका छैनन् । यहीबीचमा उनले आफैँ चलचित्र बनाउने उद्घोष पनि गरे । स्टोरी हेरेर मात्र चलचित्रमा काम गर्ने बताए । राम्रो कथामा मात्र फिल्म खेल्ने वा आफैँ चलचित्र बनाउने बताए पनि ती दुवै काम राजेशले गरेका छैनन् ।

उनी दर्शकमाझ भने आइरहेका छन् । योबीचमा उनी सिनेमाको सेतो पर्दामा मात्र नदेखिएका हुन् । गीतका भिडियो र टेलिभिजन कार्यक्रमहरूमा उनी बेलाबेलामा देखिएका छन् । तीन वर्षअघि प्रसारण भएको ‘को बन्छ करोडपति ?’ उनले ‘होस्ट’ गरेका थिए । दुई वर्षअगाडि मात्र उनले टेलिभिजन शो ‘जातको प्रश्न’ चलाएका थिए ।

उनको सक्रियता अझै जारी छ । ‘मालिंगो’, ‘हजुर मुसुक्कै’ लगायत केही म्युजिक भिडियोमा राजेशले अभिनय गरे ।

गीतका भिडियोमा अभिनय गरिरहेका राजेशले आफैँ गीत पनि गाए । ‘मन बूढो भएन’ बोलको गीतमा आफैँले स्वर भरे । यसको भिडियोमा उनी स्वयंले अभिनय गरे । टेलिभिजन शो गरून् वा म्युजिक भिडियोमा अभिनय, राजेशको पहिचान नायकको हो । तर, आधा दशकदेखि उनी चलचित्रका दर्शकमाझ आएका छैनन् । कारण जे सुकै होस्, दर्शकले उनलाई चलचित्रमा हेर्न नपाएको सत्य हो ।

‘युगदेखि युगसम्म’मार्फत झन्डै साढे तीन दशकअगाडि नेपाली रजतपटमा डेब्यु गरेका राजेश हमालले करिब २०० चलचित्रमा अभिनय गरे । वर्षमा १२ भन्दा धेरै सिनेमामा अभिनय गर्ने उनी अहिले फुर्सदिला छन् । उमेरले ५८ वर्ष लागिसकेका छन् । के अब नायकको भूमिका उनलाई सुहाउँदैन ? सोही कारण चलचित्रमा नदेखिएका हुन् ? कि अफर नै आउँदैन ?

“उहाँलाई अफर नै नआउने भन्ने त हुँदैन होला । मलाई लाग्छ, उहाँलाई धेरै अफर आाउँछ । उहाँले राइट टाइम र राइट स्क्रिप्ट पर्खिरहनुभएको होला,” कलाकार समेत रहेका निर्देशक निश्चल बस्नेत भन्छन् ।

भारतमा अमिताभ बच्चनले अझै पनि चलचित्रमा अभिनय गरिरहेका छन् । उमेरले ८० पुगेका उनी सिनेमाका गीतमा नाचिरहेकै छन् । अघिल्लो वर्ष मात्र उनी अभिनीत चलचित्र ‘उचाइ’ रिलिज भएको थियो । उनको क्रेज दर्शकमा उत्तिकै छ । उनको माग अहिले पनि बलिउडमा त्यत्तिकै छ । मुख्य भूमिकामै खेलिरहेकै छन् ।

त्यति टाढा बलिउड पनि नपुगौँ, नेपालमै अघिल्लो वर्ष ‘महापुरुष’ चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य थिए । उनी राजेशजस्तो नायक होइनन् । शारीरिक रूपमा राजेशजस्तो फिट पनि देखिँदैनन् । राजेश शारीरिक रूपमा कति सजग छन् र त्यसका लागि मिहिनेत गर्छन्, उनको फेसबुक एकाउन्ट हेरे पुग्छ ।

अमिताभ र हरिवंशको उदाहरणले नै राजेश उमेरले ‘आउट डेटेड’ भइनसकेको पुष्टि गर्छ । तर, उमेर सुहाउँदो कथा अवश्य नै चाहिन्छ । व्यक्ति हेरेर कथा लेखिनुपर्ने कलाकार तथा लेखक खगेन्द्र लामिछाने बताउँछन् ।

अब राजेशलाई रुखको वरिपरि छोरीको उमेरका हिरोइनसँग लुकीलुकी नाच्न भने सुहाउँदैन । भलै, उनले म्युजिक भिडियोमा नाचिरहेका छन् ।

राजेश लामो समयदेखि सिनेमामा देखिएका छैनन् । फेस भ्यालु बोकेको कलाकार छ/सात वर्षदेखि सिनेमामा नदेखिँदा दर्शकले बिर्सिंदैनन् ? सायद त्यही डरले उनी बेलाबेलामा म्युजिक भिडियोमा देखिइरहेका हुन् कि ! सिनेमा र म्युजिक भिडियोका दर्शक फरक मान्ने हो भने निश्चय नै उनी ओझेलमा पर्ने बेला भइसक्यो । तर, उनको व्यक्तित्वले दर्शकले तत्काल नबिर्सिने निश्चल बताउँछन् ।

राजेश म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममार्फत दर्शकमाझ आइरहन्छन् । सामाजिक सञ्जालमा उनको बाक्लो उपस्थिति छ । अक्सर हरेक दिन उनी सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छन् । जोक त उनको विशेषता नै भइगयो । त्यसले पनि उनी केही दर्शकमाझ पुगिरहेका छन् । सामाजिक सञ्जालले नयाँ पुस्तामाझ पुग्न उनलाई सहयोग गरिरहेको छ ।

त्यसो त उनका चलचित्र हेरेर हुर्किएको पुस्ता अहिले सिनेमा र टेलिभिजन कार्यक्रममा छ । त्यसमा उनीप्रति गरिने व्यंग्यले प्रत्यक्ष उपस्थिति कम भए पनि राजेशको चर्चा शून्य हुन दिएको छैन ।

कुनै समय थियो, पोस्टरमा राजेशको तस्बिर मात्र भए दर्शक सिनेमा हलसम्म पुग्थे । समय फेरियो । आर्य फेसको सुगठित शरीर भएको व्यक्ति मात्र सिनेमाको हिरो भन्ने मानक भत्कियो । दयाहाङ राई, सौगात मल्ल, विपीन कार्कीलगायत स्टार भए । सिंगल थिएटर बन्द भए । मल्टिप्लेक्स खुले । राजेशको माग क्रमशः घट्दै गयो । अन्ततः उनका उपस्थिति सिनेमामा पातलियो । उनले चलचित्रमा अभिनय गर्नै छोडे । तर, नेपाली सिनेमाको ‘हिरो’ को हो भनेर सोधे अझै धेरैले राजेश र भुवन केसीकै नाम लिन्छन् ।

एक युग राजेशले नेपाली सिनेमामा राज गरे । सायद उनको युग सकियो । अर्को पुस्ता आयो । राजेशको उपस्थिति घट्यो । तर, उनको चर्चा घटेन । केही वर्षअगाडिको ‘महानायक’ विवादलाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘महनायक’ विवाद हुँदा उनले चलचित्रमा काम नगरेको तीन वर्ष भइसकेको थियो । तर, उनका पक्षमा यति धेरै समर्थन देखियो, विवादमा जोडिएका अर्को व्यक्तिले स्पष्टीकरण नै दिनुपर्ने अवस्था आयो । अहिले पनि ठूलो तप्का छ, जसले उनलाई बिर्सिंदैन ।

लेखक समेत रहेका कलाकार खगेन्द्र लामिछाने लामो समय चलचित्रमा काम नगर्दा दर्शकमा तरोतरुण नहुने तर राम्रो सिनेमामा काम गरेका कलाकारलाई दर्शकले बिर्सिने अवस्था नआउने बताउँछन् । “खासै राम्रा चलचित्रमा काम गरेको छैन र त्यसपछि लामो समय नयाँ चलचित्रमा देखिएन भने दर्शकले बिर्सिने सम्भावना हुन्छ । तर, राम्रो चलचित्रमा काम गरेको छ भने पाँच/सात वर्ष काम नगर्दैमा दर्शकले बिर्सिंदैन,” खगेन्द्र अगाडि थप्छन्, “राजेश दाइको हकमा उहाँलाई केही वर्ष काम नगर्दैमा दर्शकले बिर्सिन्छन् भन्ने मलाई लाग्दैन ।”

नेपाली सिनेमाको एक युग नै राजेशले ‘लिड’ गरेकाले उनलाई केही वर्षमै दर्शकले नबिर्सिने खगेन्द्रको भनाइ छ ।

टेलिभिजनमार्फत विभिन्न कार्यक्रममा आइरहने र उनको बारेमा हुने गरेका चर्चाले पनि राजेश तत्काल बिर्सिने नायक नभएको खगेन्द्रको तर्क छ । देश–विदेशका मेला–महोत्सवमा पनि बाक्लै रूपमा बोलाइने पात्र हुन्, राजेश ।

बलिउडमा जतिसुकै वर्ष अमिताभ, शाहरूख खान, आमिर खान, सलमान खानले सिनेमा नखेले पनि उनीहरूलाई दर्शकले नबिर्सिने उनी बताउँछन् । नेपालमा आम जनमानसमा राजेशको बेग्लै पहिचान रहेको उनको बुझाइ छ ।

नेपालमा उमेर पाको भइसकेका व्यक्तिलाई सिनेमाको मुख्य ‘प्रोटागोनिस्ट’ कमै मात्र बनाइन्छ । पछिल्लो समय यसमा केही परिवर्तन आउन थालेको छ । “यसको उदाहरणका लागि मेरै पानीफोटोलाई पनि लिन सकिन्छ । पानीफोटोको हिरो अनुप बराल दाइ हो,” खगेन्द्र भन्छन्, “महापुरुष पनि यसको अर्को उदाहरण हो । यसमा हरिवंश दाइ हिरो हो ।”

मेकरले व्यक्तिभन्दा कथाप्रधान चलचित्र बनाए उमेरले प्रोटागोनिस्ट निर्धारण नहुने खगेन्द्र बताउँछन् । कथाअनुसार प्रोटागोनिस्ट निर्धारण भए जुनसुकै उमेरको व्यक्ति ‘हिरो’ हुन सक्ने उनको भनाइ छ । यस्तो अवस्थामा राजेश हमाल उमेरका व्यक्ति पनि मुख्य भूमिकामा सक्रिय भइरहने अवस्था आउने उनी बताउँछन् ।

“नेपालमा मात्रै होइन, विश्वमै ढल्किँदो उमेरका व्यक्तिलाई त्यति धेरै मेन प्रोटागोनिस्टमा लिने प्रचलन छैन । नेपालममा पनि त्यही नै हो,” उनी भन्छन्, “तर, विस्तारै सोचमा बदलाव आउँदै छ । नेपालमा पनि सोचमा परिवर्तन आउन थालिसकेको छ । मेकरले कस्तो सिनेमा बनाउँछ भन्ने कुराले को र कस्तो कलाकारले अवसर पाउँछ भन्ने निर्धारण हुन्छ ।”

निश्चल बस्नेत राजेश हमालको स्टारडमबारे भन्न नसकिए पनि उनलाई अहिले नै नेपाली जनताले नबिर्सिने धारणा राख्छन् । “राजेश दाइलाई आजै कसैले बिर्सिन्छ भन्ने लाग्दैन । राजेश दाइलाई नचिन्ने कमै नेपाली होलान् भन्ने लाग्छ । अहिले पनि कसैलाई हिरोको नाम लिन लगायो भने सुरुमा राजेश दाइकै नाम लिन्छन्,” निश्चल भन्छन्, “त्यसैले उहाँ केही वर्षमै छायामा परिसक्नुभयो भन्ने लाग्दैन । उहाँको छुट्टै व्यक्तित्व छ । उहाँले आफ्नो व्यक्तित्वलाई बचाएर राख्नुभएको छ ।”

राजेशलाई ‘कमब्याक’ गर्न पनि सहज रहेको उनको तर्क छ । “मान्छेले सम्झिने काम र व्यक्तित्वले हो । राजेश दाइको काम आज पनि धेरैले सम्झिरहेका होलान् । उहाँ अब कुनै चलचित्रमार्फत आउनुभयो भने दर्शकले रि–कल गर्छन् भन्ने लाग्छ,” निश्चल भन्छन्, “सायद उहाँ राइट स्क्रिप्ट र राइट समयको पर्खाइमा हुनुहुन्छ होला । काम गराउने व्यक्तिले राम्रो काम गराउन सक्यो भने उहाँको व्यक्तित्वले स्टारडम पनि देखिन्छ होला ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro