काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।
आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।