
मूलपानी क्रिकेट मैदानमा अहिले एसीसी प्रिमियर कप आयोजनाको तयारी तीव्र गतिमा चलिरहेको छ । प्रतियोगिताका खेलहरू नेपालका कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुने तय भएसँगै नेपाल क्रिकेट संघ (क्यान) मूलपानीको मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य बनाउन लागिपरेको छ ।
यसै वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप छनोट प्रतियोगितासमेत रहेको प्रिमियर कपमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह चरणका कुल २० खेलमध्ये १० खेलहरू मूलपानी मैदानमा हुने तालिका छ । यसै सन्र्दभमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मूलपानीमा भइरहेको तयारी र अन्य विविध विषयलाई लिएर बाह्रखरीका आशिष पुडासैनीले नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकसँग गरेको कुराकानीको सम्पादित अंश :
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मूलपानी कसरी तयार हुँदै छ ?
एसीसी प्रिमियर कपका लागि आवश्यक पूर्वाधारहरू तीव्र रुपमा तयार हुँदै छ । अन्तर्राष्ट्रिय भेन्युका लागि आवश्यक ड्रेसिङ रुम, पभेलियन, पिच, आउटफिल्ड, भीआईपी कक्ष, डाइनिङ, कमेन्ट्री बक्स, स्कोररको तीव्र तयारी भइरहेको छ । बाहिर दर्शकका लागि आवश्यक शौचालयसँगै सुरक्षा र खानेपानीको व्यवस्थाका लागि जुटिरहेका छौँ । यी सबै कुरामा काम अघि बढिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा दर्शकको ठूलो चाप देख्यौं । मूलपानीले एसीसी प्रिमियर कपमा त्रिवि मैदानको जस्तो समर्थकको चाप थाम्न सक्ने देखिन्न नि ?
हामीसँग जे छ त्यसमा सन्तुष्ट हुनुपर्छ । जे पूर्वाधार छ, त्यही पूर्वाधारमा टेकेर काम गर्नुपर्छ । हामीसँग त्यो खालको ठूलो रंगशाला छैन । तर, हामीसँग जे पूर्वाधार छ त्यसमा रहेर हामीले उत्कृष्ट गर्ने प्रयास गरिरहेका छौँ ।
बन्न सुरु भएको तीन दशकसम्म पनि पूर्णता पाउन नसकेको मूलपानीमा क्यान यही एसीसी प्रिमियर कप आयोजना गर्नका लागि मैदानलाई खेल्न योग्य बनाउन तात्तिएको हो ?
क्यान तात्तिएको भन्दा पनि मूलपानी मैदान क्यानको आफ्नै पनि हो । यही नै हाम्रो केन्द्रीय कार्यालय पनि छ । मूलपानी मैदान एकेडेमी कन्सेप्टमा बनेको ग्राउन्ड हो ।
मुल रंगशाला तल्लो मैदान हो । तल्लो र माथिल्लो दुई मैदान हुँदा नेपाल सरकार र राष्ट्रिय खेलकुदबाट भइरहेको निमार्णमा काम नभएको भनेर क्यानलाई गाली गरिरहेका हुन्छन् । तर, यो हाम्रो (क्यान) को मैदान हो ।
यहाँ राष्ट्रिय र प्रदेश स्तरीय प्रतियोगिताहरू भइरहेका छन् । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थिएन । यो मैदान अन्तर्राष्ट्रिय मान्यताप्राप्त भेन्युको रुपमा विकास हुनुपर्छ भनेर क्यानले प्रिमियर कपका खेलहरू यहाँ पनि खेलाउन लागेको हो ।
त्यसको तयारी भइरहेको छ । तर, तपाईहरूले भन्नुभएको जस्तो तीन दशकदेखि विकास नभएको भनिएको मैदान यो नभई तल्लो मैदान भएको स्पष्ट पार्न चाहन्छु ।
मूलपानीमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लाग्दा यहाँको स्थानीय सरकारबाट क्यानले कतिको साथ र सहयोग पाएको छ ?
राम्रो सहयोग पाइरहेका छौँ । नेपाल सरकारबाट पनि सहयोग भएको छ । एसीसीले अनुदानको रुपमा, ग्राउन्डका लागि चाहिने इक्युपमेन्टहरू पठाएको थियो । त्यसमा नेपाल सरकार अर्थ मन्त्रालयले राजस्व छुट गर्ने प्रक्रियामा काम गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले सहजीकरण गरेको छ ।
मूलपानीमा पहिलो पटक खेल हुँदै छ भनेर यहाँको स्थानीय तह पनि उत्साहित छ । यहाँका मेयरज्यु पनि सहयोग गर्न आइरहनु भएको छ । प्रतियोगिताको व्यवस्थापनमा कमीकमजोरी हुन नदिन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
क्यान एसीसी प्रतियोगिताका लागि मात्रै मैदानको स्तर वृद्धि गर्न लागेको त हैन नि ?
यो हाम्रो आफ्नो मैदान हो । यहाँ पहिले पनि प्रतियोगिता हुन्थ्यो । तर, बीचमा संघ प्रतिबन्धमा पर्दा व्यवस्थापनको कुराहरू आए । त्यसबेला हुनपर्ने परिवर्तन हुन सकेन ।
यो क्रिकेट संघको मैदान हो । अब यो कामले निरन्तरता पाउँछ । यहाँ अब अन्तर्राष्ट्रियसहित खेल गर्न सक्ने मैदानको रुपमा विकास गरिदै लगिनेछ । राष्ट्रिय स्तरका प्रतियोगिताहरू त भइरहेको छ र त्यसलाई निरन्तर अघि बढाउने छौँ ।
क्यानको हालको नेतृत्वले गरेको प्रमुख कामहरूको बारेमा केही बताइदिनुस् न ?
नेपाल क्रिकेट संघ आइसकेपछि विगत तीन, चार वर्षमा गतिविधिहरू चलायमान भएको छ । चतुरबहादुर चन्दको नेतृत्वमा बनेको कार्यसमितिले योजना बनाएर काम गर्यौँ ।
लगत्तै कोभिड–१९ महामारी सुरु भयो । कोभिडका कारण आशाअनुरुपको गतिविधि हुन सकेन । हामी आउँदा आईसीसीको आर्थिक प्रतिबन्ध थियो ।
आईसीसीले हामीलाई आशिंक रुपमा मात्र फुकुवा भएको बताएको थियो । पूर्ण रुपमा फुकुवा हुनलाई आईसीसीले दिएका कुराहरूलाई पालना गर्नुपर्छ भनेको थियो । त्यसलाई हामीले पालना गर्दै गयौं र आईसीसीले अहिले आर्थिक प्रतिबन्ध पनि फुकुवा गरिसकेको अवस्था छ ।
घरेलु क्रिकेट हामीले चलायमान गर्न लाग्यौँ । यू–१९, यू–१६, महिला, पुरुषमा प्रधानमन्त्री कपजस्ता प्रतियोगिताहरू गर्यौँ । जति गर्न पर्ने थियो, त्यसमा चुकेका होलाउ तर, स्रोत र साधनले भ्याएसम्म हामीले प्रतियोगिताहरू गर्यौँ । कार्यालय व्यवस्थापनमा काम गर्यौँ ।
आईसीसीले दिएको सम्पूर्ण अनुपालन हामीले पूरा गर्यौँ । त्यसलगत्तै अन्तर्राष्ट्रिय प्रतियोगिता दुई तीन वटा गर्यौँ । नेपाल टी–२० लिगको सुरुआत गर्यौँ । र, अहिले हामी एसीसी प्रिमियर कपको तयारीमा छौँ । भनेपछि समग्रमा क्रिकेट चलायमान भएको छ, दुई–तीन वर्षमा ।
घरेलु प्रतियोगिताकै नतिजा स्वरुप अहिले यू–१९ टिम विश्वकपका लागि छनोट भएको छ । सिनियर टिम विश्वकपको छनोट खेल्दै छ । हामीले कामको सुरुआत गरेका छौँ ।
घरेलु क्रिकेटको संरचना गरिसकेका छौँ । दुई दिने प्रतियोगिता गर्नेका लागि हामी त्यसको पाइपलाइनमा छौँ । निजी क्षेत्रलाई जोडिरहेका छौँ । समग्रमा क्रिकेटलाई चलायमान बनाइराखेका छौँ ।
प्रतियोगिताहरू कै कुरा गर्दा प्रधानमन्त्री कपमा राखेपको सहयोग हुन्छ । मेयर कपमा ललितपुर र काठमाडौं महानगरले सहयोग गर्छ । भनेपछि क्यानले प्रतियोगिता आयोजना गर्नुभन्दा पनि सहजीकरणको भूमिका मात्र निभाएको हो ?
क्यानको आफ्नै बजेटले प्रतियोगिताहरू आयोजना गर्न सक्दैनौं । हाम्रो बजेटले त्यो प्रतियोगिता आयोजनाका लागि पर्याप्त छैन । यसैकारण प्रतियोगिताका लागि हामीले स्थानीय तहलाई जोडेका छौँ । प्रदेशलाई सँगै ल्याइरहेका छौँ । महानगर र सरकारसँग समन्वयन गरिरहेका छौँ ।
त्यसैकारण प्रतियोगिताहरू चलायमान भइरहेका छन् । हामीले आफै सबै प्रतियोगिता गर्न सक्दैनौँ । बाहिरी स्रोतहरूमा निर्भरता हुनुपर्ने अवस्था छ ।
एक प्रतियोगिताका लागि डेढ करोड खर्च हुन्छ । जिल्ला, प्रदेशदेखि नै प्रतियोगिता गर्न पर्ने हुन्छ । त्यति सहज छैन । त्यसैकारण हामीले प्रतियोगिताहरू आयोजनामा उहाँहरूलाई जोडेर पुलको काम गरिरहेका छौँ । सरकार, स्थानीय तह र निजी क्षेत्रलाई नजोडी हामीमात्र प्रतियोगिता गर्न सक्दैनौं । त्यसकारण सबैलाई जोडेर काम गरिरहेका छौँ ।
पछिल्लो समय चर्चामा रहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटको विषय के हो ? प्रष्ट पारिदिनु न ।
यसअघिका अर्थमन्त्री जर्नादन शर्माको कार्यकालमा केही बजेट यसका लागि भनेर छुट्टिएको थियो । तर, काम भने ढिलासुस्ती भइरहेको थियो । विश्वकपको छनोटका लागि नेपाल छनोट भएर आइसकेपछि प्रधानमन्त्रीज्युले बोलाएर क्रिकेट मैदानमा फ्लड लाइटको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिनु भएको थियो ।
प्रधानमन्त्री राष्ट्रिय खेलकुद परिषद्को संरक्षक पनि हुन् । त्यहीअनुरुप राष्ट्रिय खेलकुद परिषद्ले यसका लागि टेन्डर पनि निकालिसकेको छ । अबको दुई चार महिनाभित्र नै फ्लड लाइटको काम हामी देख्नेछौँ र त्यसले प्रतियोगिता आयोजनामा सहज हुनेछ भन्ने हामीले आशा राखेका छौँ ।
तपाईले हामीले यो–यो काम गरिरहेका छौँ भन्दै गर्दा नेपाली क्रिकेटको स्पष्ट रोडम्याप भने देखिदैन । यसमा क्यानले केही सोचेको छ की छैन ?
पक्कै पनि क्यानले गरिरहेको छ । मैले तपाईलाई यही कुरा जोड्न खोजिरहेको थिए । हामी भोलिका लागि क्रिकेट भन्ने नाराका साथ अघि बढिरहेका छौँ । क्रिकेट खेलेर पनि जीविकोपार्जन गर्न सकिन्छ ।
क्रिकेटमा भविष्य छ भन्ने कुरालाई स्थापना गर्न हामीले खाका तयार पारेर अघि बढिरहेका छौँ । यसमा धेरै काम गर्न बाँकी छ । राज्यको प्राथमिकतामा खेलकुद क्षेत्र अहिले पनि छैन ।
निजी क्षेत्रहरू अहिले थलिएको अवस्था छ । तर, पनि उहाँहरूले खुलेर सहयोग गरिरहनु भएको छ । देशकै आर्थिक अवस्था नाजुक स्थितिमा छ । क्यान पनि अहिले आईसीसी कै भर पर्नुपर्ने अवस्था छ ।
आईसीसी, एसीसी र सरकारसँग सहयोग माग्नुको विकल्प छैन । र, क्रिकेट विकासका लागि समग्रमा एक खाका बनाउन सबैजना मिल्नुको विकल्प छैन । टिमको नतिजाले पनि यसमा फरक पार्छ र अहिले टिमको नजिता राम्रो भइरहेको छ ।
क्रिकेटमा राज्यको चासो छ । निजी क्षेत्रको चासो छ । मिडियाको चासो छ । आम जनमानसबाट नेपाली क्रिकेटले सधैँ माया पाइरहेको छ । क्रिकेटलाई अघि बढाउने काम गर्ने यो उपयुक्त समय हो । र, हामी यसमा काम गरिरहेका छौँ ।
हामी अहिले ग्रासरुट क्रिकेटदेखि आगामी १० वर्षसम्म जानुपर्छ भनेर खाका निमार्णमा लागिरहेका छौँ । त्यसमा छलफल भइरहेको छ । तपाईहरूले केही समयमा नै नेपाली क्रिकेटको रोडम्याप पाउनुहुनेछ ।
तपाईले भनेजस्तै क्रिकेटको माहोल सन् २०१४ मा पनि थियो, जतिबेला नेपालले ट्वान्टी–२० विश्वकप खेल्यो । त्यसपछि सबैले नेपाली क्रिकेट अब माथि जान्छ भन्ने अनुमान लगाएका थिए । तर, हामीले त्यसलाई कायम पनि राख्न नसकी झन् तल झा¥यौँ । अहिले नेपाली क्रिकेट माथि नै जान्छ भनेर कसरी दाबी गर्न सक्नुहुन्छ ?
जब २०१४ मा नेपालले विश्वकप खेल्यो । नेपाली टिम विश्वकप खेलेर आइसकेपछि नेपाली क्रिकेट निलम्बनमा पर्यो । विभिन्न आरोपलाई आधार बनाएर संघलाई निलम्बन गरियो । त्यसबेला संघ नहुँदा नै नेपाली क्रिकेट अहिलेको अवस्थामा आएको हो । तर, २०१९ मा विधान बनिसकेपछि अहिले नेपाली क्रिकेटको खाका बनेको छ ।
नेपाली क्रिकेट त्यसपछि फेरि विस्तारै स्थापित हुँदै आएको छ । र, अहिले हामीले ग्रासरुटमा कामहरू सुरु गरेका छौँ । संघ हुँदा र नहुँदाको परिणाम के हुन्छ भन्ने बुझ्न अहिले र त्यसबेलाको अवस्थालाई तुलना गरे हुन्छ ।
त्यसबेला संघ निलम्बनमा नपरेको भए हाम्रो क्रिकेट माथि बढ्थ्यो । अभिभावक नहुँदा त्यसबेला नेपाली क्रिकेट खस्कियोे । र, अहिले त्यस्तो अवस्था छैन ।
नेपाल क्रिकेट संघ छ । खेलाडीले आफ्नो प्रदर्शन दिइरहनु भएको छ । टिमले राम्रो खेलिरहेको छ । संघले पनि त्यसमा समन्वयनको काम गर्दै अघि बढिरहेको छ । हिजोको अवस्था र आजको अवस्था फरक छ । त्यसैले के विश्वास गर्न सकिन्छ भने नेपाली क्रिकेट अब तल झर्दैन माथि जान्छ ।
चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाललाई अंक दिनुपर्यो भने कति दिनुुहुन्छ ?
अंक दिनुपरे ठ्याकै यति भन्नेचाहिँ हैन । हामीले धेरै काम गरेका छौँ । अंक चाहिँ तपाईहरूले दिने हो । यो कार्यसमिति आउने बित्तिकै कोरोना महामारी सुरु भयो । र, पछिसम्म पनि हामी आईसीसीको आर्थिक प्रतिबन्धमा थियौं ।
अहिले आईसीसीको अनुपालक पूरा गरेर आर्थिक प्रतिबन्ध फुकुवा गर्न सफल भएका छौँ । घरेलु प्रतियोगिता सुरु भइसकेको छ । टिमबाट नतिजा पाइरहेको छौँ । जिल्ला र प्रदेशमा बजेट पठाउन सुरु गरिसकेको छौँ ।
विभिन्न मैदानको काम अघि बढाएर त्यहाँ क्युरेटर राख्न थालिसकेको छौँ । दुई दिने प्रतियोगिता कसरी गर्ने भनेर त्यसमा काम गरिरहेका छौँ ।
चतुरबहादुर चन्द नेतृत्वको कार्यसमिति आउँदा नेपाल क्रिकेट संघको कार्यालय कहाँ हो भन्ने थाहा थिएन । संघको कार्यालय छ भन्ने थियो तर, कस्तो छ भन्ने थाहा थिएन । संरचना के हो थाहा थिएन । घरेलु क्रिकेट शून्यप्रायः थियो ।
अहिले हामी क्रिकेट विकासको जग हाल्ने काममा छौँ । नेपाली क्रिकेटको घर बन्ने सुरुआत हुँदै छ । मैले यति नै नभने पनि हामीले सन्तोषजनक काम गरेका छौँ । र, तपाईहरूले पनि यसलाई मूल्यांकन गर्नुहुनेछ भन्ने लागेको छ ।
खेलकुद सरकारको प्राथमिकतामा पर्दैन भन्ने सबैको गुनासो हुन्छ । यसमा नेपाल क्रिकेट संघको अनुभव कस्तो छ ?
न्यून लगानी तर जनताको ठूलो अपेक्षा । अपेक्षा ठूलो भए पनि न्यून लगानीले कस्तो नतिजा आउँछ होला ? यो यथार्थ पनि हो । तर, पछिल्लो समय राखेप, खेलकुद मन्त्रालय र सम्माननीय प्रधानमन्त्रीले पनि क्रिकेट प्राथमिकतामा राख्नु भएको छ ।
क्रिकेटमा लगानी गर्दा नतिजा आउँछ । हामीले क्रिकेटमा नतिजा पनि देखिरहेका छौँ । एसोसिएट क्रिकेटमा सबैभन्दा ठूलो समर्थक भएको नेपाल नै होला । दक्षिण एसियाली क्रिकेट संस्कारले पनि हामीलाई यसमा केही सहयोग पुर्याएको छ ।
यस अवस्थामा सरकारले क्रिकेटमा चासो राख्ने हो भने यसले ठूलो फड्को मार्छ । पछिल्लो समय राज्यले सहयोग पनि गरिरहेको छ । र, यो सहयोग सँधै रहिरहोस् भन्ने अपेक्षा पनि गरेका छौँ ।
दक्षिण एसियामा हामी भारत, पाकिस्तान, श्रीलंकाजस्ता क्रिकेटका हस्ती राष्ट्रसँग छिमेकको रुपमा छौँ । तर, यति नजिक क्रिकेटका स्थापित राष्ट्र हुँदा पनि क्यानले क्रिकेट कुटनीतिमा खास काम गर्न नसकेको होइन र ?
हुनसक्छ । यो हामीले स्वीकार गर्नुपर्ने कुरा हो । हामीले त्यसमा पहल गर्न नसकेको हो की भन्ने देखिन्छ । तर, अहिले पहल सुरु गरिसकेका छौँ ।
हामी दक्षिण एसियाका क्रिकेट राष्ट्रहरूसँग समन्वय गरिरहेका छौँ । उहाँहरूसँग कुरा भइरहेको छ । सरकारमार्फत जादाँ अझ राम्रो हुने रहेछ भन्ने अनुभव गरेका छौँ ।
त्यसका लागि राज्यसँग पनि अनुरोध गरिरहेका छौँ । नेपाल नजिक रहेका क्रिकेट बोर्डसँग क्यानले छलफल गरिरहेको छ । अबको केही समयमा नै तपाईहरूले पनि यसको बारे थप कुराहरू थाहा पाउनुहुनेछ ।
तपाईले दक्षिण एसियाली मुलुकसँग क्रिकेट कुटनीतिमा काम गरिरहेको भन्दै गर्दा समर्थकले अबको १० वर्षमा नेपाली टिम टेस्ट राष्ट्र बन्छ भन्ने आश राख्न सकिन्छ त ?
पाउनुपर्छ । अब नेपाली क्रिकेट घट्ने हैन, बढाउनु पर्छ । तपाईले १० वर्ष अझ टाढा भन्नु भयो । हामीले राज्यको सहयोग पाउने, सबैको सहयोग पाउने हो भने र संघले पनि आफ्नो कार्य निष्ठासाथ पूरा गर्ने हो भने । सबैले आफ्नो ठाउँको दायित्व लिने हो भने हामीले १० वर्षभन्दा अघि नै टेस्ट राष्ट्रको मान्यता पाउनेछौँ ।
घरेलु क्रिकेटको कुरा गर्दा जिल्ला र प्रदेशका संघहरू चलयमान देखिदैनन् । यसमा क्यानको धारणा के छ ?
मुख्य दुःख गर्ने साथीहरू जिल्लामा हुनुहुन्छ । जिल्ला र प्रदेशका साथीहरू पदमा बस्यो भन्नेमात्र आरोप आउँछ । तर, सीमित स्रोत र साधनमा उहाँहरूले गर्नुभएको योगदान बेस्ट छ ।
आर्थिक नियमावली बनिनसकेको अवस्थामा पनि उहाँहरूले स्थानीय तहलाई जोडेर आफ्नो तर्फबाट उत्कृष्ट काम गरिरहनु भएका साथीहरू जिल्लामा हुनुहुन्छ । उहाँहरूकै अथक मेहनतका कारण अहिले नेपाली क्रिकेटमा धेरै खेलाडीहरू उत्पादन भइरहेको छ ।
स्थानीय स्तरमा प्रतियोगिताहरू भएका छन् । सीमित स्रोत र साधनका बाबजुद गर्नु भएको कामप्रति उहाँहरू धन्यवादको पात्र बन्नुभएको छ ।
र, अन्त्यमा नेपाली क्रिकेटबारे केही छ ?
सबैले नेपाली क्रिकेटलाई माया गरिरहनु भएको छ । सबैको मायाको कारण नै क्रिकेट यो अवस्थामा आइपुगेको छ । निजी क्षेत्रको सहयोग छ । मिडियाको साथ छ । राज्यको ठूलो चासो छ अहिले । समर्थकले ठूलो अपेक्षा राखेका छन् ।
क्रिकेटले नेपाललाई विश्वव्यापी रुपमा चिनाइरहेको छ । राज्यलाई चिनाउने क्रिकेटलाई राज्यले पनि न्याय गरिदिनु गर्यो । क्रिकेट सम्भावना बोकेको खेल हो र त्यसअनुरुपको लगानी गर्ने हो भने क्रिकेटले नतिजा पनि दिन्छ ।
सीमित पूर्वाधारमा यत्तिको नतिजा ल्याउँदा यसमा लगानी र पूर्वाधार विकासमा जोड दिने हो भने नेपाल क्रिकेट संघ व्यवस्थापकीय पाटोमा काम गर्न सक्षम छ र हामी काम गरेर देखाउँछौँ ।
हेर्नुहोस् भिडियो