
यही चैत २८ र २९ गते नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा हुँदै छ । तीन वर्षपछि अध्यक्ष बन्नका लागि साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी चयन गरिनेछ । पदाधिकारी चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि तीन प्यानलले उमेदवारी दर्ता गराइसकेका छन् । वरिष्ठ उपाध्यक्षका लागि वस्तुगततर्फका हालका उपाध्यक्ष अन्जन श्रेष्ठ पनि उमेदवार बनेका छन् । उनै वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठसँग बाह्रखरीका लागि आशीष ज्ञवाली र बलराम बुढाथोकीले गरेको कुराकानी :
तपाईंले हतारिएर उमेदवारी दिनुभयो भन्ने छ, हतारिनुभएको हो ?
हतारिएर मैले उमेदवारी दिएको हैन । किनभने, म २० वर्षदेखि उद्योग वाणिज्य महासंघमा संलग्न छु । २०४५/४६ सालदेखि मैले नेपाल प्लास्टिक उत्पादक संघको कार्यसमिति सदस्य भएर काम गरेको हुँ । महासंघमा मात्र संलग्न भएको म २० वर्ष भयो । समितिको सदस्य भएर, सहसभापति भएर सभापति भएको हुँ । अहिले वस्तुगततर्फ कार्यसमितिमा उपाध्यक्ष छु । मैले कार्यकारिणी पद नै लिएर १५ वर्ष बिताइसकेँ । संस्था भनेको व्यक्तिगत हुँदैन । जीवनकाल नै संस्थामा बिताउने हैन । संस्थाको माध्यमबाट आफूलाई परिष्कृत गर्ने हो । सक्षम भए सक्नेले नेतृत्व लिने हो ।
मेरो संलग्नताले गर्दा मलाई खारेको छ । परिष्कृत बनाएको छ । मेरो अनुभव हेरेर मलाई न्याय गर्नुपर्छ । म पदमा हुँदा गरेको कामलाई पनि हेर्नुपर्छ । मलाई जिल्ला, एसोसिएट र वस्तुगतका साथीहरूले ‘अगाडि जाऊ’ भन्नुभएको छ । उहाँहरूकै प्रेरणालाई लिएर म अगाडि जाने हो । मलाई अझै उमेर छ भन्ने कुरा गरिएको होला । तर, म विधानतः योग्य छु । अरू उमेदवारको तुलनामा म सक्षम र सवल छु । म संस्थागत संलग्नताले खारिएको पनि छु । अहिलेका उमेदवारहरू यही संस्थामा कम संलग्नता हुनुहुन्छ । त्यो कुरा मेरो लागि गर्नु नै पर्ने छैन ।
उपाध्यक्ष हुँदा के गर्नुभयो र वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए के गर्नुहुन्छ ?
हामीले एउटा नारा लिएर अगाडि बढेका छौँ । देशभर हामीले लथालिंग अर्थतन्त्र भनेर डिसकोर्ष नै चलायौँ । त्यो बहसबाट थुप्रै सुझाव आएका छन् । त्योभन्दा अगाडि अध्यक्ष र पदाधिकारीहरूसँग भेटेको छु । उनीहरूका समस्या पनि बुझेको छु । जिल्लामा जाँदा स्थानीय व्यवसायीलाई पनि भेटेको छु । उनीहरूका पीरमर्का बुझेको छु । अहिलेको अवस्थामा समस्या के हो त भन्ने पनि बुझेको छु । अहिले व्यवसायी साथीहरूलाई व्यवसाय गर्न तरलता अभाव छ । ब्याजदर बढी भएर पनि काम गर्न सक्ने अवस्था छैन । लगानीयोग्य पुँजी छैन । धान्न नसक्ने ब्याजदर छ । ब्याजदर सांगोपांगो हुनसक्छ । तर, अहिले व्यवसायीले धान्न नसक्ने छ । किनभने, हिजो १०० रुपैयाँको व्यापार हुन्थ्यो भने अहिले तीन/चार रुपैयाँको व्यापार छ । हाम्रो लागत बढिरहेको अवस्था छ । लागत बढ्दै जाँदा ब्याज तिर्न नसक्ने भन्ने स्थिति छ । त्यसले गर्दा पनि व्यवसायी सडकमा आएर आन्दोलन गर्नुपर्ने स्थिति छ ।
व्यापार–व्यवसाय भएको छैन । पुँजी निर्माणको काम भइरहेको छैन । सरकारले यसलाई सहयोग गरेको छैन । भन्सारमा जाँचपास गर्न समस्या छ । हामीसँग धेरै युवा जनसंख्या छ । त्यो जनसंख्यालाई हामीले उपयोग गर्नुपर्नेछ । अहिले पनि दैनिक रूपमा विदेशिने युवा जनशक्ति तीन हजारको हाराहारीमा छ । यी युवालाई देशमा नै रोक्नुपर्नेछ ।
निजी क्षेत्रलाई नियन्त्रण गर्ने र दोहन गर्ने खालका नीति–नियम छन् । त्यसलाई पनि सच्याउनुपर्नेछ । नीति स्पष्ट छैनन् । यस्ता समस्यालाई समाधान गर्नुपर्नेछ । यसका लागि जोसिलो निजी क्षेत्र हुनुपर्छ भन्ने हाम्रो अवधारणा हो । निजी क्षेत्रको अर्थतन्त्रमा ८० प्रतिशत योगदान छ भने रोजगारीमा ८६ प्रतिशत योगदान छ । यो योगदन दिने निजी क्षेत्रलाई जीवन्त राख्न नसके समस्या पर्छ ।
ब्याजदर बढी हुँदा सरकारलाई नै असर पारेको छ । सरकारले सोचेजस्तो राजस्व संकलन गर्न सकेको छैन । सरकार र जनताप्रति पनि निजी क्षेत्र जिम्मेवार र उत्तरदायी हुनुुपर्छ । उत्तरदायी र जिम्मेवार निजी क्षेत्रले मात्रै अर्थतन्त्रको पुनरुउत्थान गर्छ । हामी के चाहन्छौँ भने, हामी उत्तरदायी भइरहँदा राज्य पनि जिम्मेवार र उत्तरदायी हुनुपर्छ । अहिलेका समस्या समस्या समाधान गर्न सक्षम र युवा नेतृत्व चाहियो ।
ब्याजदरको समस्या समाधान गर्न हामीले क्यापिटल इन्जेक गर्नुछ । क्यापिटल इन्जेक गर्न हामीले विदेशबाट पैसा ल्याउनुपर्छ । हाम्रो आन्तरिक स्रोतले अर्थतन्त्रको आकार बढ्दैन । त्यसका लागि हामीले हेजिङको काम गर्नुपर्नेछ । कन्ट्री रेटिङको कुरा पनि छ । निजी क्षेत्रलाई पनि विदेशबाट पैसा ल्याउन सक्ने बनाउनुपर्यो । हाम्रो इन्टर्नल क्यापिटल फर्मेसन त भइरहेको छैन । बचतबाट अहिले ९.५ प्रतिशत मात्र क्यापिटल फर्मेसन भएको छ । क्यापिटल इन्जेक गर्न सकिएन भने हाम्रो अर्थतन्त्रको आकार आउँदैन । हाम्रो आर्थिक नीति ग्रोथको कुरा गर्छ । तर, मौद्रिक नीति घटाउने कुरा गर्छ । यो तालमेल र सामञ्जस्यता छैन । यो सामञ्जस्यता ल्याउनुपर्नेछ । पूर्वाधारका लागि सरकारलाई घच्घच्याउनुपर्नेछ । लगानीलाई प्रोत्साहन र सम्मान गरिएन भने लगानी यहाँ आउँदै आउँदैन । रोजगारदाताको सम्मान गर्नुपर्नेछ । यो हाम्रोमा अहिले पनि हुन सकेको छैन । राज्यले समयसापेक्ष नीति–नियम बनाउनुपर्नेछ । नीति–नियम स्पष्ट छैनन् । त्यसलाई हामीले समयसापेक्ष बनाउन पहल गर्छौँ ।
महासंघ चुनावका लागि मात्र भयो, अरू मुद्दा ओझेल परे भन्ने छ नि ?
चुनावदेखि चुनाव भनेको कुरा त यस्तो हो, यो वर्षको चुनाव दुई वर्ष आठ महिनामा भएको छ । कोभिड–१९ ले गर्दा हामीले समय घटायौँ । तर, उद्योग वाणिज्य महासंघले गरेका कार्यक्रम र गतिविधि हेर्नुभयो भने धेरै कामहरू गरेको छ । अहिले पनि तपाईंहरू नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग गरेका कार्यहरू हेर्न सक्नुहुन्छ । हामीले भिजन डकुमेन्ट बनायौँ । एसएमई सम्मेलन गरेको छ । हामीले कार्यसमितिमा हुँदा धेरै काम गरेका छौँ । हामीले चुनावकेन्द्रित काम मात्र गरेका छौँजस्तो लाग्दैन ।
वरिष्ठ उपाध्यक्षका लागि तीनजना प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तपाईंको टिमबाट ज्योत्स्ना श्रेष्ठ बीचमै छोडेर अर्काेतिर जानुभयो, तपाईं कत्तिको ‘कम्फर्ट जोन’मा हुनुहुन्छ ?
हामीले साझा उमेदवार बनाएका छौँ । साझा उमेदवार बनाएको अवस्थाले गर्दा हाम्रो टिम कम्फर्टमा छ । यसले गर्दा पनि हामी विजयोन्मुख छौँ ।
धेरैको बुझाइ निर्वाचन प्रक्रिया दोस्रो चरणमा जान्छ भन्ने छ । दोस्रो चरणमा गए ‘अलायन्स’ हुने सम्भावन छ कि छैन ?
त्यो पछिको कुरा हो । हामी पहिलो चरमा नै विजयी हुने गरी तयारी गरिरहेका छौँ । यदि, पछि त्यस्तो कुनै अवस्था आएछ भने हाम्रो टिममा कुरा हुन्छ । सहयोगको बाटो पनि खुल्छ ।
राजनीतिक दल देखाएर व्यवसायीको कित्ताकाट हुन्छ । तपाईं नेतासँग सहयोग माग्न जानुहुन्छ कि हुँदैन ?
हाम्रो विशुद्ध व्यापारिक संस्था हो । राजनीति पार्टीका सबै तहका नेताहरूसँग सम्पर्क हुन्छ । तर, हामीले सम्पर्क बढाउने भनेको व्यावसायिक हितका लागि हो । हामी राजनीति दलमा नै आबद्ध भएर उद्योग वाणिज्य महासंघको पदाधिकारी हुन हैन । हामी सरकारको आर्थिक र राजनीतिक सल्लाहकार पनि हो । हामीले व्यवसायीका मुद्दामा विपक्षीको भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । त्यही भएर पनि हामी राजनीतिक दलको पदाधिकारी नहुने व्यवस्था गरेका हौँ ।
महासंघको चुनाव एकदमै खर्चिलो भयो, ठूला घरानाले मात्र भाग लिन सक्ने अवस्था सिर्जना भयो भन्ने छ । कति खर्च गर्दै हुनुहुन्छ ?
मैले त्यति धेरै खर्च गरेको छैन । अलिअलि खर्च त हुन्छ नै । खर्च चियापान र सामान्यतया हुन्छ । तर, भड्किलो खालको खर्चचाहिँ हुँदैन ।
पदमा जानेहरूले व्यक्तिगत फाइदाका लागि मात्र काम गरे भन्ने छ । यो कुरा मान्न तयार हुनुहुन्छ ?
म सानो व्यवसायबाट नै माथि उठेको हुँ । साना, मझौला हुँदै ठूला व्यवसायी भएको हुँ । तलका व्यवसायीका हकहितका लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले साना तथा मझौला व्यवसायीको हितका लागि काम गर्ने हो । मैले यो प्रतिबद्धता पनि गरेको छु । यो कुरामा म दत्तचित्त पनि छु ।
पदाधिकारीले व्यवसायीका कुरा नसुन्ने, फोन नउठाउने गर्छन् भन्ने गुनासा छन् नि ?
मैले वस्तुगत उपाध्यक्ष हुँदा उहाँहरूका समस्या सम्बोधन गर्न विभिन्न समिति पनि बनाएँ । क्षेत्रगत छलफल पनि गरेँ । उद्योग वाणिज्य महासंघमा बोलाएर नै सम्मान गरेँ । त्यसले पनि उहाँहरू खुसी हुनुभएको थियो ।
मैले पहिले उपाध्यक्ष जित्दा नै महासंघको अपनत्व दिलाउने प्रतिबद्धता गरेको थिएँ । त्यहीअनुसार काम पनि गरेँ । मेरो तर्फबाट त्यस्तो हुँदैन । महासंघ सबैको हो । त्यो महसुस सबैलाई हुने अवस्था सिर्जना गर्छु । म उहाँहरूको समस्यामा सँगै हुने प्रयास पनि गर्नेछु ।
तपाईं अहिले लक्ष्मी ग्रुपको कार्यकारी निर्देशक पनि हुनुहुन्छ । व्यवसाय गरेको ३० वर्ष अवधिमा कत्तिको संकट देख्नुभयो ?
अर्थतन्त्रमा भएको अहिलेको समस्याजस्तो इतिहासकै कालखण्डमा कसैले पनि देखेको छैन भन्छन् । मैले त झन् देख्ने कुरै भएन । सरकारले लिएको गलत नीतिका कारणले अहिलेको अवस्था सिर्जना भएको जस्तो लाग्छ । खुला अर्थतन्त्र आयो । तर, त्योअनुसार रिफर्म भएन । खुला बजार अर्थतन्त्र आएपछि पोलेसी रिफर्म हुनुपर्थ्यो । त्यस्तो भएन । निजी क्षेत्रलाई साक्षी राख्ने मात्र काम भयो । सल्लाह भएन । त्यसको परिणाम अहिलेको अवस्था हो ।
समस्याबाट निस्कन निजी क्षेत्रबाट लबिइङ नै कमजोर भयो भनिन्छ नि ?
लबिइङ बढाउन त हामी काम गर्छौँ । अहिले पनि लबिइङ कमचाहिँ भएको छैन है । यो स्वीकार्न म सक्दिनँ । किनभने, अहिलेको तरल राजनीतिक अवस्थामा अर्थ मन्त्रालय नै केही समयअघि दुई महिना खाली भयो । उद्योग मन्त्रालय नै गत वर्ष १० महिना नेतृत्वविहीन थियो । अब यस्ता समस्या समाधान भएका छन् । हामी नेतृत्वसँग बसेर समस्या राख्न सक्छौँ ।
अन्जन श्रेष्ठलाई नै भोट किन ?
अन्जन श्रेष्ठ एउटा व्यवसायी हो, जसले आफ्नो ३० वर्ष सफल व्यवसायमा बिताएको छ । पर्यटन, निर्माण, कृषि, उत्पादनमूलक क्षेत्रमा योगदान छ । जुन मेरो सफल पारिवारिक व्यावसायिक इतिहास छ, आज ५० वर्ष बितेको छ । यो व्यवसाय यहाँसम्म आउनुमा मेरो पनि त ठूलो योगदान छ । मैले पनि नेतृत्व दिएर यो अवस्थामा ल्याएको हुँ । विभिन्न समितिमा बसेर काम पनि काम गरिसकेको छु । म महासंघको वस्तुगत उपाध्यक्षमा पनि मैले काम गरिसकेको छु । मेरो नेतृत्व देखेर नै मलाई साथीहरूले अगाडि बढ्न प्रेरित गरेका छन् । मलाई सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।
अन्तिम क्षणमा एकले अर्कालाई सघाएर जाने सम्भावना रहन्छ ?
हामीलाई यो प्रश्न हाम्रा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि सोध्नुभएको थियो । उहाँले प्रयास पनि गर्दै हुनुहुन्छ । एकले अर्काेको अस्तित्व स्वीकार्ने स्थिति आयो भने हामी मिलेर जान तयार पनि हुनुपर्छ । असम्भव भन्ने कुरा त हुँदै हुँदैन । तर, सबैले सहमति जनाउनुपर्यो ।