
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचन पेचिलो बन्ने संकेत देखिएको छ । चार महिनाअघि भएको निर्वाचनमा जनताले अस्वीकार गरेका उमेदवारहरू क्षेत्र र दल नै बदलेर चुनावी मैदानमा होमिएसँगै चुनाव प्रतिष्ठाको विषय बनेको छ ।
तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि सोमबार उमेदवारी दर्ता भएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपचुनाव हुँदै छ । त्यस्तै, बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का सांसद रामचन्द्र पौडेल उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उप निर्वाचन हुन लागेको हो । उता, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका रवि लामिछानेले नागरिकता विवादको मुद्दामा पद गुमाएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
एकैदिन हुने तीन क्षेत्रको उनिर्वाचनका लागि कुल ६९ जनाको उमेदवारी परेको छ । तीमध्ये केही चर्चित अनुहारहरू मंसिर ४ मा भएको निर्वाचनमा पराजित भएका थिए । उनीहरू जसरी पनि संसद् छिने प्रयासस्वरूप प्रतिष्पर्धीका रूपमा उभिएका छन् । यहाँ उक्त निर्वाचनमा पराजित तथा चचिर्त अनुहारको चर्चा हुनेछ ।
चुनाव क्षेत्र फेरेर संसद् छिर्ने दाउमा यादव
मंसिर ४ को निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट दोब्बर बढी मतान्तरले पराजित भए । जनमत पार्टीका अध्यक्ष चन्दकान्त (सीके) राउतसँग पराजित उनी १८ हजार ६३ मतान्तरतले पराजित भएका थिए । उक्त निर्वाचनमा राउतले ३५ हजार ४२ ल्याउँदा यादवले १६ हजार ९७९ मत पाएका थिए ।
मंसिर ४ मा संसद् छिर्न असफल यादव वैशाख १० को उपनिर्वाचनबाट जसरी पनि संसद् छिर्ने दाउमा छन् । उनी उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उमेदवार बनेका छन् ।
आफू सांसद बन्न उनले बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका आफ्ना सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएका थिए । रामहसाय उपराष्ट्रपतिको उमेदवार हुँदा महिला उमेदवार नउठाएको भन्दै चर्काे आलोचना पनि भएको थियो ।
यादवले आफूलाई सहज हुने क्षेत्र रोज्दै विश्वासपात्र मानिएका रामसहायको क्षेत्र खाली गराएका थिए । महोत्तरीमा जन्मिएका यादव निर्वाचन क्षेत्र बदलेर उपनिर्वाचनमा उमेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनमा रहेको दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साथ छ । उनी ती पाँच दलका साझा उमेदवारका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।
रमेश खरेल : पार्टी र निर्वाचन क्षेत्र अदलबदल
पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले २०७८ को मंसिर २४ गते नेपाल सुशासन पार्टी खोल्ने घोषण गरेका थिए । प्रहरी सेवामा रहँदा चर्चा कमाएका खरेलले देशमा सुशाासनको कायम गर्न आफू राजनीतिमा होमिएको बताएका थिए ।
झण्डै एक वर्षपछि मंसिर ४ को निर्वाचनमा उनी सुशासन पार्टीमार्फत निर्वाचनमा होमिए । काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवार बनेका उनले तीन हजार १२४ मत मात्र पाए ।
उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सात हजार १४३ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।
निर्वाचन आयोगको तथ्यांकमा खरेल उक्त निर्वाचन क्षेत्रमा पाएको मत पाचौँ स्थानमा देखिन्छ । उनी अहिले दल र निर्वाचन क्षेत्र नै बदलेर बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको उमेदवार बनेका छन् । उनलाई मंसिर ४ को निर्वाचनबाट २० सिटसहित उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उमेदवार बनाएको छ । उनी देशको आवश्यकताले आफूलाई सोही ठाउँको उमेदवार बनाएको दाबी गर्छन् ।
शिवचन्द्र कुशवाह : माओवादी छाडेर जनमत
मंसिर ४ गतेको निर्वाचनमा बारा–२ मा ३५४ मतले पराजित भएका शिवचन्द्र कुशवाह उपनिर्वाचनमा पनि उमेदवार बनेका छन् । त्यतिबेला सत्ता गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका उमेदवार बनेका कुशवाहले १३ हजार ४६८ मत पाएका थिए ।
तर, पाँच महिनापछि हुन लागेको निर्वाचनका लागि उनले दल नै बदले ।
माओवादीले जसपाका अध्यक्ष यादवलाई नै समर्थन गर्ने भएपछि कुशवाह जनतमत पार्टी प्रवेश गरे । उनी चैत १५ गते माओवादी छाडेर जनमत प्रवेश गरेका हुन् ।
उपेन्द्रलाई संसद् छिर्न रोक्ने प्रयासमा रहेका सीके राउतले उनका प्रतिष्पर्धीका रूपमा कुशवाहलाई पार्टीमा भित्राएका हुन् । उपनिर्वाच नै पेचिलो बन्दा र दाबी अनुसारको मन्त्रालय नपाउँदा जनमत केन्द्रीय सरकारबाट नै बाहिरिसकेको छ ।
सर्वेन्द्र खनाल : एमाले प्रवेश गरेको ६ महिनामै दोस्रो अवसर
मंसिर ४ को चुनावको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले फेरि चुनाव लड्ने अवसर पाएका छन् । असोज ६ गते राजनीतिमा होमिएका खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट टिकट पाएका थिए ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार शिशिर खनालसँग पराजित भएका थिए । रास्वपाका खनालले १४ हजार २२१ मत पाउँदा एमाले उमेदवार खनालले आठ हजार ९१७ मत पाएका थिए । उनै खनाल पाँच महिनापछि हुन लागेको उपचुनावमा निर्वाचन क्षेत्र फेरेर उमेदवार बन्न लागेका हुन् ।
उनी तनहुँमै जन्मिएका हुन् । पूर्व प्रहरी प्रमुख खनालले पार्टी प्रवेश गरेको ६ महिनामा नै उनले दुईपटक चुनाव लड्ने अवसर पाएका छन् ।
चितवन–२ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ज्ञानेन्द्र प्रजालाई उमेदवार बनाएको छ । मंसिर ४ को निर्वाचनमा पनि उनले सोही क्षेत्रबाट ५२ मत पाएका थिए । उनी फेरि उमेदवार बनेका हुन् ।
चुनाव जितेका रवि, पार्टी फेरेका स्वर्णिम
पत्रकारिता छाडेर पार्टी खोलेको छोटो समयमा भारी मतले निर्वाचित भएका रवि लामिछाने फेरि उमेदवार बनेका छन् ।
मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रास्वपाका सभापति लामिछानेको नागरिकता मुद्दामा सांसद पद गुमाएपछि उपनिर्वाचन हुँदै छ । सर्वोच्च अदालतको फैसलापछि पुनः नागरिकता लिएका लामिछानेको अहिले पनि राहदानीका विषयमा सर्वाेच्चमा रिट परेको छ । उनी पुनः उमेदवार बनेका छन् ।
त्यस्तै, तनहुँ क्षेत्र नम्बर १ मा उमेदवार बनेका डा. स्वर्णिम वाग्ले नयाँ अनुहार हुन् । कांग्रेसको कोटाबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका वाग्ले दल बदलेर उमेदवार बनेका हुन् । उनले चैत १५ गते मात्र कांग्रेस परित्याग गरेका हुन् ।
जनमतको धज्जी उडाइँदै !
चुनावमा पराजित भएर चार महिनामै फेरि उमेदवार बनेर जनताले दिएको मतको कदर नगरेको भन्दै आलोचना पनि हुन थालेको छ । जनताले अस्वीकार गरेपछि दल नै फेरेर उमेदवार बन्नुले नैतिकतामाथि प्रश्न उठाएको राजनीतिक विश्लेषक नारायण ढकाल बताउँछन् ।
“राजनीतिमा नैतिकताको संकट छ । दल बदल भइरहेको छन् । दल बदलिए पनि विचार बदलिएको हुँदैन । तर, आफ्नो पोजिसनका लागि ठाउँ फेरेको देखिन्छ । यो नैतिकताको संकटकै उपज हो ,” उनले बाह्रखरीसँग भने,“ जनताले व्यक्तिलाई नियालिरहेको छ । त्यो व्यक्तिको प्रतिबद्धता के हो ? के मूल्यका लागि अर्को ठाउँमा उभिएको हो ? भन्ने जनताले मूल्यांकन गरिरहेका हुन्छन् ।”
त्यस्तै, एकपटक अस्वीकृत भइसकेपछि अर्कोपटकका लागि कुर्न नसक्नु र स्थान परिवर्तन गर्नु पनि नैतिकताको खडेरीकै उपज भएको ढकालको विश्लेषण छ ।
“एक ठाउँबाट रिजेक्ट भइसकेपछि अर्को ठाउँमा जानु अनैतिकताको कुरा हो । चुनावमा पराजित भएपछि अर्को चुनावसम्म पर्खिएको भए पनि हुन्थ्यो । तर, सांसद बन्न मन्त्री बन्न पाइँदैन भनेर हतारिनुले राजनीति राम्रो हुँदैन,” ढकाल भन्छन्, “राजनीतिप्रति हेर्ने दृष्टिकोण खस्किदै जान्छ । राजनीतिको मात्रै नभएर यसले व्यक्तिको ओझ घटाउँछ ।”
त्यस्तै, कुनै पनि पेसामा रहेर अब्बल काम गरेकाहरूलाई दलहरूले स्थान दिनुपर्ने उनको भनाइ छ । तर, ती व्यक्तिहरूले राजनीतिको मूल्य पनि बुझ्नुपर्ने ढकाल बताउँछन् ।
“प्रोफेसनल ल्याकत भएका मानिसहरू राजनीतिमा त जानुपर्छ । पार्टीले विषयताका ज्ञातालाई राष्ट्रिय सभा जस्ता ठाउँमा ल्याउन सक्छ नि । प्रोफेसनलको नाममा राजनीतिको न्यूनतम मूल्य भुल्नु भएन नि,” ढकाल बताउँछन् ।
अर्का विश्लेषक डा. विष्णु दाहाल अहिले दलीय व्यवस्थामा जनमतको कदर नगर्ने प्रवृत्ति देखिएको बताउँछन् । सत्तामा पुग्नै सबै कुरा ठान्ने प्रवृत्ति मौलाउँदै गएको उनको भनाइ छ ।
“अहिलेको दलीय व्यवस्था जनमतलाई मान्ने, पार्टीको लोकतन्त्रलाई मान्ने खालको छैन । सत्तामा जाने जनताको एजेन्डा पूरा गर्न भन्ने पनि छैन । सत्ता प्राप्ति एक मात्र सर्त देखिन्छ । सत्ताप्राप्ति गर्ने सहज बाटो कहाँ छ भनेर दलहरू खोजिरहेका छन्,” दाहालले बाह्रखरीसँग भने, “ठूला दलमा त समानुपातिकको बाटो हुन सक्छ भन्ने छ । गठबन्धन गरेर चुनाव जित्ने बाटो समातिरहेका छन् । एजेन्डा नै भएका दलहरूको गठबन्धन भइरहेको छ । दलहरूले राजनीतिका नाममा जति हर्कत गरिरहेका छन् नि, ती हर्कतहरूले पक्का पनि नागरिक र राष्ट्रपति गद्दारी त गरिरहेको छ । आफू सत्ता प्राप्तिका लागि दल र नेतृत्वले जे पनि गर्छ भन्ने सन्देश गएको छ ।”
चुनावमा पराजित भएपछि पाँच वर्षसम्ममा अर्कै ह्विम आउने डरले नेताहरू स्थान फेरेर उपचुनावमा गएको उनको विश्लेषण छ । आफूलाई केन्द्रमा राखेर अघि बढ्ने प्रवृत्तिले चुनावमा अदलबदल हुने गरेको उनले बताए ।
“पाँच वर्षसम्ममा त नयाँ ह्विम आइसक्ने भयो । पछिल्लो राजनीतिक घटनाक्रम तीव्र रूपमा विकास भइरहेको छ,” उनी भन्छन्, “आन्तरिक र जिओ–पोलिटिक्सले यसको कारण हो । आफूले पाँच वर्ष कुर्दा बेग्लै हुन्छ भन्ने कुराले यी प्रवृत्ति देखिएका छन् । दल नभएर आफूलाई केन्द्रमा राखेर दल बदलेर भए पनि उमेदवार बन्ने गरेका छन् ।”
त्यस्तै, अर्कै प्रोफेसनमा सेलिब्रेटी भएकाहरू पार्टीमा गएर सत्तामा गइहाल्ने ट्रेन्ड विकास भएको उनी बताउँछन् ।