
काठमाडौं । तनहुँ क्षेत्र नम्बर–१ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ । गएको मंसिर–४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति निर्वाचित भएपछि यो क्षेत्र रिक्त भएको हो ।
कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले जितेको तनहुँ–१ मा त्यहीँका स्थानीयसमेत रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उमेदवार बनाएको छ । ०५४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष चलाइसकेका भट्टराईलाई कांग्रेसले बलियो उमेदवारका रुपमा प्रस्तुत गरिरहेको छ ।
नेकपा (माओवादी केन्द्र)सहितका पार्टीको उमेदवार नहुने र नेकपा (एमाले)सँग मात्र प्रतिस्पर्धा हुँदा भट्टराई बलिया देखिएको टिप्पणी भइरहेको थियो । तर, कांग्रेसको राजनीतिमा सक्रिय अर्थविद् डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवार बनाएपछि प्रतिस्पर्धा रोचक हुने विश्लेषण सुरु भएको छ ।
डा. वाग्लेले कांग्रेस छोड्दै गर्दा ‘देउवा–आरजु गिरोह’का कारण पार्टीमा बस्न नसकेको उल्लेख गरेका छन् ।
उनले ऐतिहासिक पार्टी कांग्रेस ‘दाइ–भाउजु, साला–साली’को गिरोह बनेको आरोप लगाउँदा कांग्रेसभित्र त्यसको प्रभाव पर्ने विश्लेषण पनि भइरहेको छ ।
खासगरी सभापति शेरबहादुर देउवाबाट हेपिएको महसुस गरेका संस्थापनइतर समूहका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा पनि स्वर्णिमका पक्षमा सद्भाव देखाइरहेका छन् । जसकारण चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत छ ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराई ०७४ को प्रदेशसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ को ‘क’बाट चुनाव लडेका थिए ।
भट्टराई वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए । गुरुङले १८ हजार २६५ मत ल्याउँदा भट्टराईले १६ हजार ८७८ मत ल्याएको निर्वाचन अयोगको तथ्यांक छ ।
त्यस्तै, गत संसदीय निर्वाचनमा उनको नाम समानुपातिक कोटामा राखिएको थियो । खसआर्यतर्फ तीन नम्बरमा परेका भट्टराईले आफू समानुपातिकमा नबस्ने भन्दै नाम फिर्ता लिएका थिए ।
त्यसबेला नै तनहुँ–१ मा प्रत्यक्षतर्फका उमेदवारको आकांक्षी रहेका भट्टराई पौडेलले नै टिकट लिएपछि रोकिएका थिए ।
उनै भट्टराईलाई यसपटक कांग्रेसले गठबन्धनकै तर्फबाट उमेदवार बनाउने गरी अवसर दिएको छ । उनलाई गठबन्धनको उमेदवार बनाउने प्रयास पार्टी केन्द्रबाटै जारी रहेकाले त्यो सम्भावना पनि बलियो छ ।
बिहीबार नै कांग्रेस परित्याग गरेर रास्वपाबाट सोही क्षेत्रमा उमेदवार बन्न पुगे अर्थविद् डा. वाग्ले पनि । कांग्रेस नेतृत्त्वको तत्कालीन सरकारले नै वाग्लेलाई योजना आयोगको उपाध्यक्ष बनाइसकेको र पार्टी महासमिति सदस्यसमेत बनेका थिए । स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्रको मस्यौदा समितिमा पनि सक्रिय रहेका थिए उनी ।
गएको निर्वाचनबाट उदाएको पार्टी रास्वपाले अप्रत्यासित परिणाम निकालेको थियो ।
पार्टी गठन भएको पाँच महिनामै प्रतिनिधिसभामा २० सिट पाएको पार्टीबाट डा. वाग्ले उमेदवार बनेसँगै उपचुनावको ‘इपिसेन्टर’ तनहुँ–१ हुने चर्चा सुरु भएको हो ।
यता, एमालेले भने तनहुँ–१ मा पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उमेदवार बनाएको छ ।
गत मंसिर–४ को निर्वाचनमा काठमाडौं–६ बाट उमेदवार बनेका खनाल त्यहाँ दोस्रोे लोकप्रिय मत पाएर पराजित भएका थिए ।
मंसिर ४ को निर्वाचनको मुखमा एमाले प्रवेश गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट उमेदवार बनेका खनालले आठ हजार १९ मत प्राप्त गर्दा रास्वपाका शिशिर खनाल १४ हजार २२१ मत प्राएर निर्वाचित भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यो निर्वाचन क्षेत्रमा उमेदवारी दिने निर्णय गरिसकेको छ ।
यस्तो छ अंकगणित
मंसिर ४ को चुनावमा जितेको कांग्रेसले यहाँ प्रत्यक्षतर्फ २५ हजार ३६१ मत प्राप्त गरेको थियो ।
पौडेल पाँच हजार ३८० मतान्तरले निर्वाचित भएका थिए । उनी कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत पाँचदलीय गठबन्धनको साझा उमेदवार थिए । अहिले सत्तारुढ गठबन्धनमा पनि तिनै दल छन् ।
पौडेलका निकटतम् प्रतिष्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । यस्तै, स्वतन्त्र उमेदवारी दिएका कांग्रेस पूर्वनेता गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विनोदकुमार घर्तीले दुई हजार ४८४ मत प्राप्त गरेका थिए ।
दलले पाएको समानुपातिक मतलाई निर्वाचन क्षेत्रमा पार्टीको मत मानिन्छ । यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेस सबैभन्दा ठूलो दल देखिन्छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १८५ मत पाएको थियो । उसको मत एमालेको भन्दा तीन हजार ५२० मत बढी देखिन्छ ।
त्यस्तै, दोस्रो दल बनेको एमालेको मत १६ हजार ६८३ छ । यहाँ समानुपातिकतर्फ रास्वपाले १२ हजार ७७३ मत प्राप्त गरेको छ ।
रास्वपाको मत कांग्रेसको भन्दा सात हजार ४१२ र एमालेको भन्दा तीन हजार ९१० मत कम छ ।
त्यस्तै, यहाँ माओवादीले मंसिर ४ को निर्वाचनमा सात हजार ३२६ र राप्रपाले तीन हजार ७७५ मत प्राप्त गरेको थियो ।
समानुपातिकतर्फको मत हेर्दा कांग्रेस यो क्षेत्रमा ढुक्क नै देखिन्छ । माओवादीलगायत गठबन्धनले सहयोग गरेमा कांग्रेसलाई सहज हुने देखिन्छ ।
तर, कांग्रेसमा राष्ट्रपति निर्वाचित भएका पौडेल गुटमा नरहेका भटट्राईलाई पौडेल गुटले सहयोग गर्छ कि गर्दैन भन्ने प्रश्न रहेको स्थानीय नेता बताउँछन् ।
यसबाहेक संस्थापनइतरले उनलाई सहयोग गर्छ या गर्दैन भन्ने शंका पनि कायम छ । त्यसैले भट्टराईलाई आफ्नै पार्टीका नेताहरुको डर रहेको कांग्रेसकै कार्यकर्ताहरुको भनाइ छ ।
“तपाईँ औपचारिक रुपमा कुरा गर्न चाहनुहुन्छ कि अनौपचारिक ?,” तनहुँमा डा. वाग्लेको उमेदवारीले केही फरक पार्छ भन्ने प्रश्नमा तनहुँ कांग्रेसका एक नेताले प्रतिप्रश्न गर्दै भने, “औपचारिक रुपमा कुरा गर्न चाहनुहुन्छ भने तनहुँमा हाम्रो भोट नै बढी छ । गोविन्दराज जोशीको पनि रामचन्द्र पौडेलसँग मात्र द्वन्द्व भएकाले भट्टराईले भोट पाउनेछन् र प्रचण्ड बहुमतले जित्नेछन् । अनौपचारिक कुरा गर्नुहुन्छ भने स्वर्णिमको बहिर्गमन कांग्रेसका लागि प्रिय विषय होइन । देउवाजीको दबदबा पार्टीभित्र पाच्य विषय पनि बनिरहेको छैन । फेरि उनीजस्ता मान्छेलाई उमेदवार बन्नै रोकेर बाहिर पठाएको कारणले धेरै असन्तोष कायम छ ।”
एमालेको भोट नपाउने अवस्थामा भने स्वर्णिमलाई सहज नहुने उनको बुझाइ छ ।
कांग्रेसले तनहुँमा पार्टीभित्र रहेका असन्तुष्टि कम गर्न पार्टीेबाटै निष्कासन गरेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीविरुद्धको कारबाही फिर्ता गरेको छ । यसअघि भएका सबै कारबाही फिर्ता गर्दै कांग्रेसले भट्टराईका लागि अनुकूल हुने निर्णय गरेको छ । सँगै, निर्वाचन जिताउनका लागि महामन्त्री गगन थापालाई त्यो क्षेत्रमा प्रतिनिधिसमेत तोकेको छ ।
यसअघि, स्वतन्त्र लडेका जोशी पुनः उठ्ने वा नउठ्ने टुंगोमा पुगिसकेका छैनन् ।
बाह्रखरीसँगको कुराकानीमा उनले आफू उमेदवारी दिने विषयमा टुंगोमा पुगिनसकेको बताए । तर, उनले कांग्रेसले कारबाही फिर्ता गरेको विषय आफूसँगको परामर्शमा नभएको र त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।
तनहुँ–१ मा एक लाख २३ हजार ३०५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ मा भएको निर्वाचनभन्दा १८५ मतदाता यो क्षेत्रमा घटेका छन् ।