site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंगापुरमा चम्किएका निमेश

प्रयास गर्ने सबै मान्छे सफल हुँदैनन् । तर सफल हँुदैन भन्दैमा प्रयास नगर्ने ? नेपाली खेलकुद जगतमा एक नाम नसुनेका खेलाडी छन्, जसले अन्तर्राष्ट्रिय जगतमा थुप्रै प्रतियोगिताको उपाधि उचाले । उनी हुन् एथ्लेटिक्स खेलाडी निमेश गुरूङ, जसले १५० भन्दा बढी गोल्ड मेडल जितेका छन् भने समग्रमा ३ सयको हारहारीमा पदक जितेका छन् । 

सिंगापुर पुलिस फोर्समा आबद्ध निमेश नेपाली खेलकुद क्षेत्रमा पाइला पनि नटेकेका पात्र हुन् । तर खेलकुदमा यति धेरै सफलता कसरी ?

असफता नै असफलताले घेरिएको जीवनलाई कडा परिश्रमले चिर्दै निमेशले अन्तर्राष्ट्रिय जगतमा आफूलाई अब्बल सावित गरेका छन् । निमेशले छोटो समयमा नै थुप्रै प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन् । सिंगापुरमा हुने प्रायः सबै प्रतियोगितामा भाग लिँदै स्वर्ण पदक उचालेका निमेशले विभिन्न देशमा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीको नाम लेखाउन सफल भएका छन् । मलेसियादेखि अमेरिकासम्म पुगी स्वर्ण पदक हात पारेका निमेशलाई खेलकुदमा लागेर नाम र दाम कमाउँछु भन्ने कहिले लागेन । 

उनी भन्छन्, “म सानोमा होस् या युवा अवस्थामा कुनै पनि समयमा खेलुकदमा लागिनँ । जब सिंगापुर पुलिस फोर्समा आबद्ध भएँ, त्यहीदेखि मेरो एथ्लेटिक्स खेलप्रति मोह बढेको हो ।”

को हुन् निमेश ?

निमेश २०४३ सालमा संखुवासभाको मादी मुलखर्कमा बाबु दुर्गा बहादुर गुरुङ र आमा मनमाया गुरुङको छोराको रुपमा जन्मिए । तेह्रथुमको बसन्तपुरमा प्लस टुसम्मको अध्ययन गरेका निमेश एक सामान्य परिवारका सन्तान हुन् । पारिवारिक अवस्थाकै कारण उनले पढाइलाई बिचैमा विट मार्नुपर्यो । संखुवासभा र तेह्रथुमका पखेरीमा बाल्यकाल बिताएका निमेश कुनै बेला जागिरको सिलसिलामा निकै भांैतारिएका थिए । नेपाल आर्मी लगायत धेरै ठाउँमा जागिरको लागि पटक–पटक धाएका निमेश अन्ततः सिंगापुर पुलिस फोर्समा भर्ति हुने निधो गरे ।

तर, उनको प्रयास २ पटकसम्म फेल भयो । घरको अवस्था निकै नाजुक भएका निमेशलाई जसरी भएपनि जागिर खानु थियो । तेस्रो पटकमा भने उनले २००९ सालमा सिंगापर पुलिस फोर्समा नाम निकालेरै छाडे ।

कसरी सुरु भयो एथ्लेटिक्स यात्रा ?

सिंगापुर पुलिस फोर्समा नाम निकालेको करिब ३ वर्षपछि उनको दौड यात्रा सुरु भएको थियो । सुरुवाती समयमा उनलाई निकै समस्या थियो खेल र जागिरे जीवनलाई सँगसँगै लान । खेल जीवनलाई मात्रै अगाडि बढाउँदा कतिपय खेलाडी सफल हुँदैनन् तर निमेशले भने अर्काको देशमा जागिर र खेललाई सँगै अघि बढाउने निधो गरे । 
अहिलेसम्म प्रशिक्षण नै नलिएका निमेश कसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भइरहेका छन् ? यो आश्चर्यजनक नै हो । तर वास्तविकता के हो भने उनले आफ्नै ट्रेनिङको भरमा स्वर्ण पदक जितेका छन् ।

आफ्नै ट्रेनिङ र परिश्रमको फल राम्ररी चाखेका निमेश भन्छन्, “खेल भन्ने कुरा मलाई थाहा पनि थिएन । म गाउँमा हुर्किएको मान्छे । यहाँ भर्ति भएको करिब ३ वर्षपछि सिंगापुरमा म्याराथुनमा दौडिएको देखेँ । खेलकुदबाट पनि नाम कमाउन सकिँदो रहेछ भन्ने कुरा बुझेँ । अनि म पनि यस्तै दौडिने मान्छे हुन्छु भन्ने कुराको हेक्का राखेँ । सुरुमा कसरी दौडिनु पर्छ मलाई थाहा पनि थिएन । निकै कष्ट गरेर मैलै दौड यात्रालाई सुरु गरेँ ।”

निमेशलाई अहिले पनि उनको पुलिस फोर्सबाट खेल्नका लागि विशेष सेवा दिइएको छैन । आफ्नै लगानीमा सिंगापुरमा हुने प्रतियोगिता र अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा भाग लिँदै अघि बढेका छन् ।

सन् २०१७ मा अमेरिकामा सम्पन्न विश्व पुलिस फायर गेमको १० र २१ किलोमिटरमा स्वर्ण पदक जित्न सफल भए उनी । यस्ता अन्तर्राष्ट्रिय थुप्रै प्रतियोगितमा स्वर्ण पदकधारी निमेशले सिंगापुर न्यू ब्लेन्स, पुमा नाइट रन, पोकारी स्वीट रन, सालोमन एक्स क्रस कन्ट्री, पर्फमेन्स सिरिज, सिंगापुर सिटी रेस जस्ता अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्टको सहभागिता रहने प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । 

ड्युटी सकियो कि दौडिहाल्ने निमेशले २०१५ मा ४८ औं सिंगापुर एथ्लेटिक्स प्रतियोगिताको ५ किलोमिटरमा स्वर्ण, १० किलोमिटरमा दोस्रो, सिंगापुर सनडाउन म्याराथनको १० किलोमिरटमा स्वर्ण पदक, २०१६ मा भएको सिंगापुर एल्लो रिबोन इन्टरनेशनल रनको १० किलोमिटरमा स्वर्ण पदक जित्न सफल भए । उनले यस्ता थुप्रै प्रतियोगितामा गोल्ड मेडल जित्न सफल भएका छन् ।

निमेशले भने, “खेलमा लागेर नाम र दाम कमाएँ । म यहाँसम्म पुग्छु जस्तो लागेको पनि थिएन । अहिले मेरो भित्ताहरु मेडलले भरिएका छन् । खुशी लाग्छ । मेरो परिश्रमकै उपज हो यो सबै ।”

उनी अघि थप्छन्, “अब नेपाल आएर नेपाली खेलकुद क्षेत्रमा केही योगदान गर्छु भन्ने सोचेको छु । भित्री आत्मादेखि केही गर्छु भनेर लाग्ने हो भने नेपाली खेलकुदलाई माथि पुर्याउन सकिन्छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro