site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पितृसत्तासँग लड्न अझै बाँकी छ (अन्तर्वार्ता)

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य शुक्रबार भएको उपराष्ट्रपति पदमा पराजित भइन् । उनी गठबन्धनबाट उमेदवार बनेका रामसहायप्रसाद यादवसँग पराजित भइन् ।

नेपालमा पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास लेखेकी शाक्य महिला सशक्तीकरण आन्दोलनबाट खारिएकी नेतृ हुन् । संविधान निर्माणपश्चात् उनको नाम राष्ट्रपतिको रूपमा पनि चर्चा हुने गरेका थियो । तर, पार्टीभित्रको ‘गुटीय राजनीति’बाट पिल्सिएकी उनले यसपटक भने हार्ने निश्चित भएको उपराष्ट्रपति निर्वाचन लड्नुपर्यो ।

शाक्यले गएको मंसिर ४ मा भएको निर्वाचनमा टिकट अस्वीकार गरेकी थिइन् । संसदीय राजनीति नगर्ने अडान लिएकी उनले आज भएको उपराष्ट्रपति निर्वाचन भने लडिन् । तर, सफलता हासिल गर्न भने सकिनन् । यिनै विषयमा शाक्यसँग बाह्रखरीका रोमन आचार्यले गरेको संवादको सम्पादित अंश :-

उपराष्ट्रपतिको निर्वाचनमा पराजय भोग्नुभयो, के छ हजुरको प्रतिक्रिया ?

यो सातदलीय गठबन्धन सत्ता, शक्तिको दुरुपयोग र संविधानको भावनाविपरीत जनआन्दोलनको भावना र मर्मविपरीत उमेदवारी उहाँहरूले दिनुभयो । यो अत्यन्तै आपत्तिजनक छ । संविधानले महिला र पुरुष समान हुन्छन् भनेको छ । एउटा महत्वपूर्ण पद महिला र पुरुष हुनुपर्छ भनेको छ । आन्दोलनको मूलमर्म पनि त्यही हो । यही दलका नेताहरू हुन्, आन्दोलन गर्ने महिलाहरूको भावनासँग जोडेर संविधान लेख्ने ।

तर, आज उहाँहरुको सत्ता टिकाउनका लागि शक्तिको दुरूपयोग गरेर जुन् खालको नतिजा आएको छ, यो त अक्षम्य कुरा हुन् । यसमा माफी नै दिन सकिँदैन नि । यो त अत्यन्तै दुःख लाग्ने कुरा हो ।

पितृसत्ता जबसम्म दिमाग र सोचमा हुन्छ र व्यवहारमा हुन्छ यसले महिलाहरूको अधिकार खोसेको छ । यो महिलाहरूको अधिकार स्थान खोसिएको कुरा हो । महिलाहरू केही होइनन्, जे गरे पनि हुन्छ भन्ने महिलाविरोधी सोचहरूको जित हो । पितृसत्ता सोचविरुद्ध लड्न अझै बाँकी छ ।

हजुरलाई यो नतिजा अपेक्षित हो ? उमेदवारी दर्ताकै समयमा सोच्नुभएको थियो ?

१० दलीय सत्ता गठबन्धन गरेर शक्तिमा बसेको छ । शक्तिको दुरुपयोग गरेर अनेकन खेलहरू खेलेको छ । एक्लै नेकपा (एमाले) लड्दा हामीलाई समस्या त थियो नै । हामीले मुद्दा पनि हाल्यौं । यो असमान व्यवहार स्थगित होला, पुरूष उमेदवारी खारेजी हुन्छ भन्ने पनि लागेको थियो । तर, निर्वाचन आयोगले सशक्त भूमिका खेल्न सकेन । यसले पाँच वर्षसम्म प्रश्न उठाउने भयो ।

संविधान लेख्दा तपाईं पनि संविधानसभा सदस्य हुनुहुन्थ्यो । आफैँले धारा ७० मा ‘वा’ लेख्नुभएको हैन र ?

यो सबै वहाना हो । र, लेखेको भए हुन्थ्यो नि वा किन लेखेको भन्दै शक्तिको दुरुपयोग गर्ने र महिलालाई दबाउने वहाना मात्र हो । अघि पनि भनेँ, यही दलहरू आन्दोलनमा लागेको, संविधान लेख्न पनि बसेको अनि संविधान आन्दोलनको भावनाअनुसार कोरिएको हो ।

विविधता भएको हाम्रो देश महिला पुरुष समान गर्नुपर्छ भनेर समानुपातिक सहभागी, समावेशी देश भनेर संविधान लेखिएको हो नि । अनि अहिले चाहिँ ‘वा’ छ महिलालाई नदिए पनि हुन्छ, महत्वपूर्ण पद महिलालाई किन दिनुपर्यो भन्ने पितृसत्तामक सोचको परिणाम हो । यो वहानावाजीले हुँदैन के । यसरी चाहिँ सरकार चलाउने र सत्ता टिकाउने र संविधान मिच्ने र आन्दोलनको भावना कुल्चिने काम गरिरहे हामी सच्चा लोकतन्त्रवादी हुन् सक्दैनौँ । पाएका उपलब्धिलाई रक्षा गर्न सकेनौं ।

संविधान लेख्दै किन खेल्ने ठाउँ दिएको भन्ने स्वभाविक प्रश्न हैन र ?

यतिबेला आएर प्रश्न उठ्यो । उठेको प्रश्नमा सोचौँला, छलफल गरौँला भन्न सकिन्थ्यो के । तर, छिद्रमा टेकेर माथि पनि पुरुष, तल पनि पुरुष पुर्याउनु गलत हो । संविधानमा यस्तो छ, उस्तो छ भन्दै जे पनि गर्ने स्थितिमा हामी पुग्यौं भने त कहाँ पुग्छौं होला र । मलाई बढो चिन्ता लाग्छ ।

ठिकै छ, संविधानमा कमिकमजोरी छ भने त्यसलाई सच्याउने हो । त्यसैलाई प्रयोग गर्नुपर्छ भन्ने त छैन नि । छलफल गरेर सकारात्मक ढंगबाट जान सकिन्छ नि । ‘वा’ मा टेकेर यस्तो निर्णय गरेर महिला निषेध गर्ने, महत्वपूर्ण पदमा पुरुषै पुरुष आउँदा दुनियाँ कति हाँस्छ होला, के भन्छ होला । हामी कुन परिपाटी बसाउन खोजेको होला हामीले भन्ने लाग्न थालेको छ ।

संविधान बनाउँदा चाहिँ पार्टीमा पनि पुरूष सोच नै हाबी भएको रहेछ भनेर भन्न सकिन्छ ?

महिलाहरु पनि त्यो बेला नलागेको भन्न मिल्दैन । ‘वा’ होइन ‘र’ राख्नुपर्छ भनेर हामी लागेकै हो । मलाई अझै सम्झना छ । यो पनि फरक पर्दैन, महिला, पुरुष लिङ्ग र जातीय हिसाबमा समान छन् । यो भावनाको कुरा हो, यसले सम्बोधन गर्छ भनेर भनियो ।

निर्वाचन आयोगले अपेक्षित निर्णय गरेन भनेर भन्नुभयो । अहिले अदालतमा विषय पुगेको छ, अदालतले पक्षमा फैसला दिन्छ भन्नेमा तपाईं कतिको ढुक्क हुनुहुन्छ ?

अदालतले अब बोल्नुपर्छ । महिलामैत्री समाज निर्माण गर्नुपर्छ । महिलालाई अवसर दिएर अघि बढ्नुपर्छ, महिलाहरूको स्थान खोसिनु हुँदैन, महिलाहरू सक्षम छन् र समान हैसियतमा अघि बढ्नुपर्छ भनेर अदालतले बोल्नुपर्छ भन्ने मेरो चाहना छ । यो घटनाले भएको अवसर पनि महिलाबाट खोसिने डर भयो ।

तपाईंले अब संसदीय राजनीति गर्दिनँ, चुनाव लड्दिनँ भन्नुभएको थियो । अहिले आएर उपराष्ट्रपति निर्वाचन लड्नुभयो । आफ्नै कुरामा अडिग किन हुन नसक्नुभएको ? हार्ने चुनाव लड्ने बाध्यता के आइलाग्यो ?

अहिले व्यक्तिको इच्छा आकांक्षाभन्दा पनि परिस्थितिले यो अवस्था सिर्जना गर्यो । गठबन्धन एकातिर छ हाम्रो पार्टी नेकपा (एमाले) छुट्टै पार्टी एक्लै अघि बढ्यो । यो महत्वपूर्ण निर्वाचन उमेदवार उठाउनुपर्ने आवश्यक्ता पनि बढेको हो । पार्टीले सक्षम व्यक्ति कोही छैन भन्ने पनि बनाउनु भएन नि ।

हामीले जित्नुमात्र ठूलो कुरा होइन र जित्ने चुनावमात्र लड्ने भन्ने पनि सोच्नु हुँदैन । पार्टी निर्माणको दौरान धेरै त्याग गरेका छौं । सबैलाई माथि उठाउन भूमिका खेलेका छौं । त्यसकारण सबै कुरा थाहा छ । पार्टीको सर्वसम्मत निर्णयलाई स्वागत गर्दै ठिकै छ म चुनाव लड्छु भनेर उठेको हो । म नभए पनि कोही न कोही चुनाव त लड्नै पर्थ्यो नि । खाली त राख्न मिल्दैन नि ।

तपाईंको आगामी राजनीतिक यात्रा कसरी अघि बढ्छ ?

मैले संसदीय राजनीति गर्दिनँ भनेर टिकट नै छाडिसकेको हो नि । त्यसैले पार्टीको काम गर्छु, पार्टीको राजनीतिलाई माथि उठाउँछु । पार्टीलाई बलियो बनाउन जरुरी छ । त्यसकारण म यसैका लागि पार्टी राजनीति गर्छु ।

मैले यही पार्टी निर्माणका लागि सबै कुरा छाडेको हो, त्यागेको हो । र, त्यतिखेर आइसकेपछि मलाई यो पार्टीलाई विचारको हिसाबले पनि अझै दह्रो र बलियो बनाउनुपर्छ भन्ने लागेको छ । म मात्रै होइन, ठूलो पंक्ति पार्टी बलियो बनाउन त्यागको राजनीतिमा छन् । इमान्दार राजनीति लाग्नु अहिलेको आवश्यक्ता हो । रुपान्तरणको नेतृत्व गर्नुपर्ने आवश्यक्ताअनुसार मेरो राजनीति अघि बढ्नेछ ।

अन्त्यमा नवनिर्वाचित उपराष्ट्रपतिलाई दिनुपर्ने केही सुझाव छन् ?

सुझाव दिन अलि अप्ठ्यारै लाग्यो । हामीले बनाएको संविधानअनुसार आन्दोलनको भावनालाई नजरअन्दाज नगरियोस् । उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुगेपछि आन्दोलनको भावनालाई आत्मसाथ गर्न सक्नुपर्छ । नभए दुःख र त्याग गरेको बलिदान दिएर महान् लक्ष्य राखेर अघि बढेका छौं, त्यसमा ध्यान नदिए समाजलाई अघि बढाउन गाह्रो हुन्छ । महिलाहरुलाई पछाडि पारेर समृद्धि आउँछ, समाज रुपान्तरण हुन्छ र यो देशको विकास हुन्छ भन्ने सोचबाट हट्नुपर्छ । देश निर्माणमा महिला साथमा नलिए सफल भइँदैन, यो भावनलाई कमजोर ठान्ने काम गरिनु हुँदैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro