site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोखिममा पोखरा विमानस्थल : विमान उड्दा उड्दै ठोकिन्छन् चरा !
SkywellSkywell

पोखरा । सोमबार काठमाडौंबाट पोखरा जाँदै गरेको बुद्ध एयरको विमानमा जटायु ठोक्किएर भुइँमा झरेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

सोमबार बुद्ध एयरको विमान काठमाडौंबाट यात्रु लिएर पोखरा आयो, साढे तीन बजेतिर । 

अवतरणको लागि विजयपुरबाट रनवेसम्मको दूरी घटाउँदै गर्दा विजयपुर खोलामाथि उडिरहेका दुई गिद्ध सीधै भूईँमा झरे । उक्त विमानसँग ती गिद्ध ठोकिन पुगेका थिए । यती एयरलाइन्सको विमान दुर्घटना भएकै भोलिपल्ट माघ २ गते पनि बुद्ध एयरको विमानमा ‘गोमायु महाचिल’ ठोकिएर रनवेमा नै झरेको थियो ।

KFC Island Ad
NIC Asia

त्यतिबेला बुद्ध एयरले विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारीसमेत गराएको थियो । तर, विमानस्थलले भने त्यसको पुष्टि गर्न चाहेन, घटना नै नभएको दाबी गरिरह्यो ।

Royal Enfield Island Ad

 

सोमबारको उक्त घटनालाई पनि विमानस्थलले स्वीकार गरेको छैन । बरु, चराको गतिविधि बढेको र विमानमा चरा ठोकिए बाँच्ने सम्भावना नै नहुने तर्क गरेको छ । 

सामाजिक सञ्जालमा भाइरल उक्त घटनालाई कसैले टिकटक प्रयोजनको लागि खिचेको र त्यसमा कुनै टिप्पणी नगर्ने विमानस्थलको तर्क छ । तर, घुमाउरो पारामा भने त्यसलाई विमानस्थलले स्वीकार गरेको छ ।

चराविद् र प्रकृतिप्रेमीले हालको नयाँ विमानस्थल रहेको क्षेत्रमा विमानस्थल नै बनाउनु हुँदैन भनेर विरोध पनि नगरेका होइनन् । तर, विमानस्थल बन्दा हुने फाइदालाई देखेर त्यसको विरोध गर्नेहरुले भने उनीहरुलाई ‘विकासविरोधी’को उपमा दिए ।

सोमबार विमानमा ठोक्किएर गिद्ध मरेको घटनालाई पोखराका विश्लेषक विश्व सिग्देलले एक वाक्यमा प्रतिक्रिया दिएका छन्, “चराहरु विकास विरोधी हुन् भन्ने भाष्य चलिञ्जेल हुने यस्तै हो ।”

पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले माघ २ गते पनि विमानमा गिद्ध ठोक्किएर रनवेमा झरेको तस्बिर खिचेका थिए । त्यसलाई विमानस्थलका कर्मचारीहरुले तत्कालै हटाएका थिए । सोमबार पनि विमानमा ठोक्किएर मरेका गिद्धको भिडियो सेयर गर्दै उनले लेखेका छन्, “विमान र गिद्धको टक्कर, वास्तविकता लुकाउन सकिँदैन ।”

पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) उद्घाटनको भोलिपल्ट पोखराका लेखक गनेस पौडेलले सामाजिक सञ्जालमा लेखे, “पीआईए सञ्चालनपछि वितरा परेका गिद्धहरू बास खोज्दै हिजोबाट मेरो फार्म हाउसमा बसिरहेका छन् । सम्भवतः अन्तिम प्रहरको रात्रि विश्राम हो, उपत्यकामा यिनको ! मजस्तै यिनीहरू पनि अब यहाँबाट विस्थापित हुनेछन् ।”

हो, मान्छेहरु सरेर विस्थापित भए, चराहरु झरेर विस्थापित हुँदै छन् ।

कुनै बेला लेखक पौडेलको पुरानो घर त्यही ठाउँमा थियो, जुन ठाउँमा अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । विमानस्थलको उद्घाटनका दिनसम्म पनि पौडेलले त्यो ठाउँलाई ‘विमानघाट’ शब्दको प्रयोग गरिरहे ।

“आजको विमानस्थल बन्नका लागि त्यहाँका हजारौँ बासिन्दा जबर्जस्ती विस्थापित हुनुपर्‍यो । सामाजिक, सांस्कृतिक सम्बन्धहरू त्यो ठाउँमा नष्ट भए । चराचुरुङ्गी, समग्र पर्यावरण त्यहाँ बिसर्जन गर्‍यौं, त्यही भएर हाम्रा लागि यो एक विमानघाट हो,” उनले लेखेका थिए ।

सोमबार पनि उनले उक्त घटनाप्रति प्रतिक्रिया दिए । उनले लेखेका छन्, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमानसँग ठोकिएको गिद्ध । हचुवाका भरमा हतारहतार विमानस्थल उद्धाटन गर्नेहरुले बनाएको हाम्रो हवाई सुरक्षाको अवस्था ।”

यता, पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले चराबिनाको आकाश असम्भव रहेको बताए ।

“विमानमा ठोकिएपछि चरा त बाँच्ने सम्भावना नै हुँदैन नि,” गौतमले चरासँग विमान ठोकिएको घटनाबारे बोल्दै भने, “ठोकिँदैमा केही भइहाल्ने होइन, विमानको गति कुन फेजमा छ, चराको दिशालगायतका कुराहरुले अर्थ राख्छ ।”

तर, सोमबार विमानमा गिद्ध ठोकिएर झरेको कुरा भने उनले अस्वीकार गरे । 

“कुन मान्छे कतिबेला विमान आउँछ र चरालाई हान्छ भनेर खिच्न बसेजस्तो गरी बस्छन्, त्यसमा धेरै सहमत हुन सकिनँ,” उनले भने ।

सोमबार नै आफूले पनि उक्त भिडियो हेरेको तर औपचारिक रुपमा आफूलाई केही जानकारी नआएको उनले बताए ।

“मैले पनि भिडियो हेरेको थिएँ, पोखराको जस्तो देखिन्छ । कसले, कहाँ टिकटक बनाउँदा खिचेको भिडियोमा श्रीको र बुद्धको जहाजजस्तो देखिन्छ । मैले हिजो नै हेरेको हुँ,” गौतमले थपे, “मैले सबै युनिटहरुलाई एक्टिभेट गरेँ । सत्यतथ्य पत्ता लगाउनुहोस् भने । एयरलाइन्सका क्याप्टेन, एटीसी सबलाई हेर्न लगाएँ । त्यस्तो केही छैन । त्यो घटनाको मसँग कुनै औपचारिक जानकारी छैन ।”

यसबीच फेबु्रअरी २३ देखि यो विमानस्थलबाट रात्रि उडान पनि हुने प्राधिकरणले जानकारी दिएको छ । 


रनवेमाथिको आकाशमा किन गिद्ध झुुम्मिइरहेछन् ?

यो विमानस्थलमाथिको आकाशमा गिद्धहरु कहिलेदेखि छन् त ? जवाफ खोज्न इतिहास हेर्नुपर्छ । 

विमानस्थल बन्नुपूर्व यो ठाउँ एउटा गौचरन थियो । घोडा, खच्चडलगायतका पशुहरु यहीँ चर्थे, बुढो भएपछि यहीँ मर्थे । 

त्यतिमात्रै होइन, मरेका सिनोहरु पनि यहीँ फ्याँकिन्थे । प्रकृतिका कुचीकार भनिने गिद्धको खान्की यही सिनो हो । प्रशस्त आहार र गौचनरको छेउछाउमा अग्ला रुखहरु भएका कारण यो ठाउँ गिद्धहरुको बासस्थान बन्न पुग्यो ।

पोखरा पंक्षी समाजद्वारा प्रकाशित पुस्तकले पोखरा उपत्यकामा करिब ४७० प्रजातिका चराहरू पाइने बताएको छ । तीमध्ये विमानस्थल वरपर मात्रै १६२ प्रजाति सहजै भेटिन्छन् । 

विमानस्थल वरिपरि विश्वमै दुर्लभ आठ प्रजातिका चराहरू नियमित उडिरहन्छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदाताका नै चराहरुको गतिविधिका कारण हवाई सुरक्षामा जोखिमको बारेमा छलफल नभएको भने होइन । 

त्यतिबेला विमानस्थलको साढे दुई किलोमिटर परिधिभित्र नै वडा नं. १४ मा ल्यान्डफिल साइट थियो । त्यो नसारेसम्म विमानस्थलमा चराहरुको कारण दुर्घटना हुने जोखिमको निकै चर्चा पनि भयो ।

पोखरा महानगरले त्यहाँको ल्यान्डफिल साइटलाई माटोले पुर्‍यो र वडा नं. ३२ स्थित लामेआहालमा नयाँ ल्यान्डफिल साइट बनायो । अहिले महानगरको फोहोर त्यहीँ व्यवस्थापन भइरहेको छ ।

तर, किन गिद्धहरु रनवेको दक्षिणपट्टि झुम्मिइरहेका छन् त ?

हिउँदको समय भएका कारण विजयपुर खोलामा पानीको सतह घटेको छ । त्यही खोला किनारमा अहिले पनि मरेका पशुपक्षीलाई फाल्ने गरिएको छ । आहारकै खोजीमा उडिरहेका गिद्धले विमानस्थलको रनवेको दक्षिणपट्टि नै सिनो भेट्ने गरेका छन् ।

विमानस्थल प्रमुख गौतम भन्छन्, “अहिले विजयपुर खोलाको पुलतर्फ सिनोजन्य पदार्थहरु छन् । पहिले पुरानो ल्यान्डफिल साइटमा थियो, अहिले त्यहाँबाट डाइभर्ट भएर अहिले रनवेको दक्षिणपट्टि बढिरहेको देखिएको छ ।”

सोमबार विमानमा ठोकिएर मरेका दुई गिद्धहरु पनि रनवेभन्दा केही सयमाथिको उचाइमा उडिरहेका थिए । विमानस्थल नजिकै पनि अहिले गिद्धको बासस्थान छ । विमानस्थल सञ्चालनपछि पनि रैथाने चराहरूले त्यो स्थान छोडेका छैनन् । यसका लागि गुँड खोजी गर्ने, भत्काउनेलगायतका कार्य पनि विमानस्थलले गरिरहेको छ । तर, गुँड नभत्काउन पक्षीसम्बद्ध संस्थाहरुले आग्रह गरिरहेका छन् ।

दुर्घटनाको जोखिम कति ?

सन् १९६० अक्टोबर ४ तारिख अमेरिकाको बोस्टनस्थित लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान ६ सेकेन्डमा दुर्घटना भयो । 

इस्टर्न एयरलाइन्सको सो विमानमा सवार ७२ जनामध्ये ६२ जनाको निधन भयो । 

बेलुकी ५ः३९ बजे उडेको केही सेकेन्डभित्रै डाङ्ग्रे (रुबी) चराको हुलसँग ठोक्किएर इन्जिन बन्द भई अनियन्त्रित भएर विमान खसेको थियो ।

सन् २०१२ मा काठमाडौंदेखि लुक्ला उडेको विमान दुर्घटना भएर १६ जना यात्री र तीनजना विमान कर्मचारीको मृत्यु भयो । त्यसैगरी सन् १९९६ मा थाई एयरवेज पनि चीलको कारणले क्षति भई चार दिनसम्म ग्राउन्डेड भएको थियो ।

विमानमा चरा ठोकिएर दुर्घटना भएका र जोगिएका थुप्रै उदाहरण छन् । 

तर, चरा ठोकिँदैमा दुर्घटना हुने जोखिम कत्तिको छ त ? जवाफमा पोखरा विमानस्थलका प्रमुख गौतमको भनाइ यस्तो छ–
पहिलो कुरा कत्रो चरा छ भन्ने हुन्छ । उडानको कुन फेज हुन्छ भन्ने हुन्छ । तेस्रो त्यसले कहाँ हान्छ भन्ने हुन्छ र कुन टाइपको जहाज हो भन्ने कुराले म्याटर गर्छ । त्यसपछि चराको गति कुन दिशाको हो भन्नेले पनि अर्थ राख्छ । चराको लोड, चराको मोमेन्ट । त्यसपछि बल्ल इम्प्याक्टको कुरा आउने हो । त्यो हाम्रो हिसाबमा छ । विमानको स्पिड पनि हेर्नुपर्छ ।

कुनै कुनै वायुयानले ५०० ग्रामसम्मको हिटलाई इन्जिनले नै पचाउने हुन्छन् । सामान्यताः बोइङ ७४७ ले सानोतिनो हिटलाई इजिली एसेप्ट गर्छ । जहाजको टाइप हेरेर हुन्छ ।

के हुन्छ भन्ने कुरामा चाहिँ सामान्यता सानो चराले छुँदा केही हुँदैन । बेसिकल्ली इन्जिनमा ठोकियो भने हो, तर पंखाले नै काटेर उडाइदिन्छ । इन्जिनमा पनि पिन पोइन्टको कुरा हुन्छ ।

चराबिनाको आकाशको कल्पना गर्न सकिन्नँ । तर, चरासँग हुने जोखिम न्यूनीकरणको लागि गर्नुपर्ने कामहरु चाहिँ गर्नुपर्ने छ । अहिले विमानस्थलले चरा धपाउने, लखेट्ने स्केयरिङ गनको लागि कर्मचारी, इक्विपमेन्ट बोक्नको लागि छुट्टै कर्मचारी, नियमित पेट्रोलिङका काम गरिरहेका छौँ । चराका गुँडहरु छन् कि भनेर हेरिरहेको हुन्छन् । गुँड भए पनि त्यसलाई हटाउने काम भइरहेको छ । हामीले महानगरसँग बसेर छिट्टै एउटा वर्कसप पनि गर्छौँ ।

चराहरुको गतिविधि घटाउनुपर्ने छ । त्यसका लागि महानगरभित्र मुसा, कुकुर, गाई, भैँसी, सुँगुरलगायतका जनावरहरु सहरमा केके छन् र मरिसकेपछि त्यसलाई कहाँ फाल्ने, बधशालाहरु बाहिर बनाउने, फोहोर पनि अलिक टाढा व्यवस्थापन गर्ने भन्नेतर्फ ध्यान दिन जरुरी छ । त्यो भयो भने आकाशलाई जहाजले प्रयोग गर्न थालिसकेपछि चराहरुको गतिविधि पनि अर्कातर्फ जान्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro