
काठमाडौं । विश्व पुस्तक दिवसको अवसर पारेर रिडर्स हबले पुस्तक आदानप्रदानसँगै रचना वाचनको कार्यक्रम आयोजन गरेको छ । बुधबार गान्धीमोड काँडाघारीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पुस्तक प्रेमीहरूबीच किताब आदानप्रदानका साथै कविहरूले रचना वाचन गरे ।
कार्यक्रममा प्रा.डा. सनतकुमार वस्तीले महाभारत लेखनको चर्चा गर्दै व्यासले कसरी महाभारत भने र गणेशले कसरी लेखे भन्ने बताए । उनले आजका पुस्तामा पनि पुस्तकप्रति रुचि रहेको प्रसंग सुनाए ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले लिपिको विकास नहुँदा मस्तिष्कमै पुस्तक लेखिँदै आएको बताए । कार्यक्रमका अर्का वक्ता प्रकाश सायमीले विश्व पुस्तक दिवस नेपालमा सन् २००२ देखि मनाउँदै आएको बताउँदै अप्रिल २३ तारिखका दिन एकेडेमी लगायतले सामूहिक पुस्तक विमोचन गरिदिए, ओझेल परेका पुराना पुस्तकहरूको पुनः प्रकाशन गरिदिए दिवसको सार्थकता रहने बताए ।
कार्यक्रमका आयोजक अनुप आचार्यले पुस्तकप्रति रुचि हुनेहरूका लागि आफूहरूले पढ्ने ठाउँको व्यवस्था गर्ने प्रयास गरेको बताए ।
कार्यक्रममा राधेश्याम ढकाल, निशा केसी, बिटु केसी, शरद प्रधान, विक्रमभक्त जोशी, राजु दाहाललगायतका कविहरूले आआफ्ना रचना वाचन गरे । उक्त अवसरमा सूवर्ण कर्माचार्य, किलेश्वर मल्ल, प्रवीण ढुंगेल, शैलेश सिंह लगायतले आफ्नो पठन अनुभव सुनाएका थिए ।