site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उठ्दैछ सुस्ताएको पोखरा
SkywellSkywell

पोखरा । माघे सक्रान्तिको दिन यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि विमानमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घट्यो । 

विमानस्थल दुर्घटनाकै दिन विमानस्थलमा पुगेका यात्रुलेसमेत आफ्नो टिकट रद्ध गरेर सडकमार्गबाट गन्तव्यतर्फ लागे ।

एउटा अकल्पनीय त्रासदी भोगेको पोखरामा त्यसपछि विमानबाट आउने यात्रुको संख्यामा निकै गिरावट हुन पुग्यो । 

KFC Island Ad
NIC Asia

विमानस्थलकै तथ्यांकअनुसार पनि दुर्घटना अगाडि नै पोखराबाट ४८ वटासम्म उडान हुने गरेका थिए । त्यो संख्या झन्डै आधा घटेर २६ सम्ममा झरेको थियो ।

पुस १७ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक नै भएता पनि यात्रुको चहलपहल निकै बढेको थियो । 

Royal Enfield Island Ad

नागरिक उड्ययन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको लागि तयारी भइरहेको र केही विदेशी एयरलान्इसहरुले चासो देखाएको पनि बताउँदै थिए । तर, एउटा दुर्घटनापछि त्यसको असर भने धेरै क्षेत्रमा पर्न पुग्यो ।

धेरैले सार्वजनिक रुपमा नै काठमाडौंपछिको सबैभन्दा धेरै पर्यटक आउने पोखरालाई असर परेको टिप्पणी गर्न थाले ।

तर, पर्यटकीय क्षेत्र पोखरा भने त्यसलाई स्वीकार गर्न तयार छैन ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, “अहिले पर्यटक घट्ने सिजन नै हो । हामीले यसलाई लो सिजन भन्छौँ ।”

तर, विमानबाट आउने यात्रुमा केही कमी भएको भने उनी स्वीकार गर्छन् ।

“विमानबाट पोखरा भित्रिने यात्रुमध्ये १५–२० प्रतिशत पर्यटक हुन्थे । विमान दुर्घटना भएपछि त्यो संख्या कम भएको हो, तर विमान दुर्घटनाको कारण चाहिँ पर्यटक नआएको भन्न मिल्दैन,” उनले भने ।

उनका अनुसार अंग्रेजी नयाँ वर्षसम्म चाहिँ पर्यटकको हाइ सिजन नै हो । 

हरेक वर्ष अंग्रेजी नयाँ वर्षपछि मार्चसम्म त लो सिजन नै हो । आन्तरिक रुपमा आउने पर्यटकहरुमा भने कमी नआएको उनले बताए ।

अहिलेको समयमा पनि पोखराका होटेलहरुमा अहिले ५–७ प्रतिशत अकुपेन्सी छ । शुक्रबार शनिबार भने यो संख्या १० प्रतिशतसम्म हुने उनको भनाई छ ।

“बाइ फ्लाइट आउने पर्यटक त केही घटेकै हुन्, तर यतिबेला सडकमार्ग पनि राम्रो नभएका कारण संख्या कम भएको हो कि भन्ने छ । मार्चपछि चाहिँ पुरानै अवस्थामा फर्किन्छ,” उनले भने ।

क्रिसमसदेखि अंग्रेजी नयाँ वर्षसम्मको समयलाई पर्यटकीय सिजन मानिन्छ । तेस्रो मुलुकका धेरै पर्यटकको आगमन पनि यही सिजनमा हुन्छ । 

तर, विमान दुर्घटनाका कारण त्यसले पारेको दीर्घकालीन असर भने मार्च पछि नै थाहा हुने उनको भनाई छ ।

“बाहिर जति हल्ला भएता पनि त्यस्तो भने छैन, दीर्घकालीन असर परेको छ, छैन चाहिँ मार्च पछाडि नै थाहा होला । विमान दुर्घटनाले गर्दा अन्तर्राष्ट्रिय रुपमा हवाई सुरक्षाको विषय उठेको हुँदा तेस्रो मुलु्कबाट आउने पर्यटक कत्तिको संख्यामा पोखरा आउनुहुन्छ, त्यो पछि नै थाहा हुन्छ । यो समय त तेस्रो मुलुकबाट पर्यटक आउने समय नै होइन । क्रिसमसदेखि नयाँ वर्षसम्म चाहिँ पोखरामा पर्यटकको चहलपहल नै हुन्छ,” उनले भने ।

पोखरामा अहिले आन्तरिक पर्यटक र विद्यालयहरुबाट आउने शैक्षिक भ्रमणले होटलहरुको अकुपेन्सी ५ प्रतिशतसम्म धानिरहेको उनले बताए ।

कोभिड अगाडिको समयमा भने यतिबेला पनि (फेब्रुअरी) चिनियाँ पर्यटकको चहलपहल भने हुने गर्दथ्यो ।

“चिनियाँ नयाँ वर्ष चाहिँ फेब्रुअरीमा पर्ने हुँदा र १०–१५ दिन बिदा भएका कारण केही वर्ष अगाडि चिनियाँ पर्यटकको चहलपहल बाक्लो हुन्थ्यो । नेपाल भित्रिनेमध्ये ९० प्रतिशतसम्म चिनियाँहरु पोखरा आउँथे । विशेषगरि प्याराग्लाइडिङमा उनीहरुले रुचि राख्थे । अरु पर्यटक ३०–३५ प्रतिशतसम्म आउथे,” सुवेदीले भने, “तर, कोभिडपछि भने चिनियाँहरु पनि आउन छाडेका छन् । अहिले आउँछन् कि भन्ने आश त थियो तर, विमान दुर्घटनाले हो कि भन्ने शंका चाहिँ छ, तर त्यही कारण हो भन्ने चाहिँ मलाई लाग्दैन ।”

केही दिन अगाडि मात्रै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए ।

उक्त छलफलमा व्यवसायीहरुले हवाई दुर्घटना र सडकको दुरावस्थाका कारण पर्यटकहरुको आगमनमा कमी भएको गुनासो गरेका थिए । 

विमान दुर्घटनाको अफवाह फैलिँदा त्यसले झनै नकारात्मक सन्देश गएको र पर्यटकको संख्यामा गिरावट आएको हुँदा सकारात्मक वातावरण बनाइदिन उनीहरुले मुख्यमन्त्रीसँग आग्रह गरेका थिए ।

“विमान दुर्घटनापछि त भारतीय पाहुना पनि आएनन् । दुर्घटनाबारे अफवाह फैलाउँदा भारतीय पाहुना पनि नेपाल आउन तर्सेका छन्, भारतीय पाहुना  भित्र्याउनका लागि मुख्यमन्त्रीकै भ्रमण आवश्यक परेमा पनि तयार भइदिनुपर्‍यो,” पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले मुख्यमन्त्रीलाई आग्रह गरे ।

काठमाडौंबाट पोखरा जोड्ने पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड पनि यतिबेला विस्तारका कारणले अस्तव्यस्त छ । 

९० किलोमिटर सडकखण्ड विस्तारको कार्य सुरु भएता पनि त्यसको प्रगती भने निकै कम छ । 

यसले गर्दा सडकखण्डबाट आउन सामान्य अवस्थामा भन्दा पनि ३–४ घण्टा बढी समय लाग्ने भएका कारण पर्यटकको आगमनमा झनै कमी भएको र यसले पोखरालाई नै असर पुर्‍याएको गुनासो उनीहरुले गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले पर्यटक घटेकोमा आफू चिन्तित रहेको बताउँदै भारतको बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पोखरा घुम्न आउनका लागि निम्ता दिने सोच बनाएको जानकारी दिए । 

तर, आफ्नो भारत भ्रममा भने संघीय सरकारले अनुमति दिनुपर्ने बताए ।   अधिकारीले राजमार्ग बिस्तार हुँदै गर्दा पनि यात्रुले तोकिएकै समयमा यात्रा गर्न पाउनुपर्ने बताए । 

उनले राजमार्ग बिस्तारमा सघाएको एसियाली विकास बैंकका प्रतिनिधिसँग कुरा गरेको पनि जानकारी दिए ।

पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले भने पछिल्लो संख्यामा विमानबाट आउजाउ गर्ने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको बताउँदै यसले रिभाइभको संकेत गरेको बताए ।

“एउटा चाहिँ अलिअलि विमान दुर्घटनापछि मनोविज्ञान पनि परिवर्तन भएको होला, अर्को चाहिँ सिजन पनि यतिबेला कममात्रामा नै पर्यटक आउने समय हो,” उनले भने, “त, अहिले भने विमानमा आउनेजाने यात्रुहरुको संख्या भने बढिरहेको छ । आजकै कुरा गर्दा २० भन्दा बढि उडान भएका छन् । पोखराबाट उडान भर्ने सबै विमानमा यात्रुहरु भरि छन् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro