site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्थिक अभावले अलपत्र राष्ट्रिय लिग 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय लिग आर्थिक अभावका कारण अलपत्र परेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग–२०७६ का शीर्ष ६ क्लब र मोफसलबाट छनोट खेलेर आएका चारसहितन १० क्लबको सहभागिता रहने राष्ट्रिय लिग दुई वर्ष पहिले नै हुनु पर्ने हो । तर, आयोजनाका लागि पटक–पटक एन्फाको बैठक बसे पनि आर्थिक अभावका कारण प्रतियोगिता अलपत्र परेको हो ।

दुई वर्षअघि बाँकेको नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट कपको आयोजना भयो । त्यसबेला प्रतियोगितामा सहभागी सात प्रदेशका सात टिममध्ये शीर्ष चारमा रहने टिम र सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ गरी १० टिमले राष्ट्रिय लिग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको थियो । 

एन्फाकै अनुसार चैत पहिलो सातादेखि तेस्रो साताको सुरुआतसम्म नेपालगञ्जमा सात प्रदेशका सात टिमले राष्ट्रिय लिग छनोटको रूपमा रहेको प्रेसिडेन्ट कप खेले । त्यसबाट स्टार सिटी युवा क्लब, धम्बोझी क्लब, मनकामना युवा क्लब र त्रिवेणी युवा क्लब प्रतियोगिताको शीर्ष चारमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भए । 

Argakhachi Cement Island Ad

एन्फाको उद्घोष अनुरुप गतिविधि हुन्थ्यो भने राष्ट्रिय लिग गत वर्ष नै सम्पन्न भइसकेको हुन्थ्यो । त्यसबेला एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को शीर्ष ६ मा रहने टिमसँग यी चार टिमले प्रतिस्पर्धा गर्ने जनाएको थियो । तर, त्यसपछि ‘ए’ डिभिजन लिग–२०७८ ले समेत नयाँ विजेता र नयाँ शीर्ष ६ टिम पाइसकेको छ र अहिले लिगको नयाँ सिजन २०७९ फागुन १९ गतेदेखि सुरु हुने पनि तय भइसक्दासमेत एन्फाले दुई वर्षदेखि अलपत्र राष्ट्रिय लिगको बारेमा भने कुनै निर्णय गर्न सकेको छैन ।

“राष्ट्रिय लिगको एजेन्डा कार्यसमिति बैठकमा लगेका छौँ । मुख्य कुरा आर्थिक पाटो हो । तर, लिगलाई अब कसरी गराउने भन्नेबारेमा हामी छलफल गरिरहेका छौँ । राष्ट्रिय लिग हुन्छ नै । तर, अहिले हामी ‘ए’ डिभिजन लिगमा केन्द्रित छौँ । ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगपछि त्यसलाई कसरी गर्ने भन्ने विषयमा छलफल हुँदै छ । यसबारे अहिलेसम्म कुनै निर्णय भइसकेको छैन, राष्ट्रिय लिगबारे एन्फाका प्रवक्ता सुरेश शाह बाह्रखरीसँग भन्छन् ।”

“दुई वर्ष कोभिडले गर्दा सबै कुरा विग्रियो । अहिले एन्फा ‘ए’ डिभिजनलाई सफलतापूर्वक सम्पन्न गर्नेमा केन्द्रित छ । राष्ट्रिय लिग, महिला लिग सबै कुरा बजेटसँग जोडिन्छ । ‘ए’ डिभिजन लिगपछि गृहकार्य गरेर राष्ट्रिय लिगबारे निर्णय गरिनेछ ।”

मोफसलका यी चार टिम जिल्ला लिग, प्रदेश लिग र प्रेसिडेन्ट कप गरी छनोटका तीन चरण पार गरेर राष्ट्रिय लिगसम्मको यात्रा तय गरेका हुन् । राष्ट्रिय लिगमा छनोट भएर राष्ट्रिय क्लबको मान्यता पाएको यी चार क्लबले गत असार ६ गते सम्पन्न एन्फा कार्यसमितिको निर्वाचनका लागि भोटिङ अधिकार पाएका थिए । तर, एन्फा नेतृत्व संस्थाभित्र  भागबण्डाको राजनीतिमा लागेपछि यी चार क्लबको औचित्य एन्फा निर्वाचनमा भोटिङका लागि मात्र समेटिएको छ । राष्ट्रिय लिग नहुँदा उनीहरू एन्फाको भोट बैंकमा मात्र सीमित बनेका छन् ।

एन्फाका एक अधिकारी पनि आर्थिक समस्याका कारण राष्ट्रिय लिग अझै लामो समयसम्मका लागि अनिश्चित रहेको दाबी गर्छन् । 

“एन्फाले फागुनदेखि ‘ए’ डिभिजन लिग, चैतदेखि ‘बी’ डिभिजन लिग र जेठदेखि ‘सी’ डिभिजन लिग गर्ने तय गरेको छ । यसको लागि नै झन्डै २० करोड रुपैयाँ आवश्यक पर्छ । अझ यसपटक डबल राउन्ड रोविन पद्दतिमा हुने भएकाले ‘ए’ डिभिजन लिगमा १८२ खेल हुन्छन् । ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका लागि दिने तयारी खर्च नै करिब आठ करोड हुन जान्छ,” उनी भन्छन् ।

“‘ए’ डिभिजन लिगको उपाधिसहित अन्यबाहेक सञ्चालन खर्च नै अढाई करोड हुन्छ । प्राथमिकतामा नहुँदा राज्यबाट खेलकुदका लागि पर्याप्त बजेट आउँदैन । त्यसकारण फिफा र एएफसीकै बजेटमात्र एन्फाले टार्गेट गरिरहेको छ । ‘ए’ डिभिजन लिगकै लागिसमेत अहिलेसम्म प्रायोजक भेटिएको छैन । यही लिगकै दौरान ‘बी’ र ‘सी’ डिभिजन लिग पनि छ । त्यसकारण अहिले एन्फाको तयारी भनेको ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग नै हो । राष्ट्रिय लिग अझै लामो समयसम्म अनिश्चित छ,” उनले भने । 

राष्ट्रिय लिगको इतिहास 
आधिकारिक रुपमा हेर्ने हो भने राष्ट्रिय लिग २०६८ सालदेखि सुरु भएको हो । त्यसबेला एन्फाले ‘ए’ डिभिजन लिगका शीर्ष आठ क्लब र मोफसलबाट बोलाइएका दुई गरी १० क्लबले प्रतिस्पर्धा गरेका थिए । ०६८ को पुसदेखि सुरु भएको यो प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । यस्तै, यसको दोस्रो संस्करण २०७१ माघदेखि २०७२ असोज ३० गतेसम्म चलेको थियो । लिगको दोस्रो संस्करण ०७२ वैशाख १२ गतेको भूकम्पले प्रभावित समेत बनेको थियो । दोस्रो संस्करणमा ९ टिमले प्रतिस्पर्धा गर्दा थ्री स्टार क्लब च्याम्पियन बनेको थियो ।

यसपछि कर्माछिरिङ शेर्पा नेतृत्वको तत्कालीन एन्फा कार्यसमितिले राष्ट्रिय लिग २०७६ को चैतमा गर्ने तय गरेको थियो । तर, कोभिड–१९ महामारीका कारण लिग पूर्वनिर्धारित समयमा हुन सकेको थिएन । यही बेला एन्फाले लिगको नयाँ संस्करणमा ‘ए’ डिभिजन लिगका शीर्ष ६ र प्रेसिडेन्ट कपको शीर्ष चारमा रहने टिमले प्रतिस्पर्धा गर्ने गरी राष्ट्रिय लिगको ढाँचा तय गरेको थियो ।

एन्फा प्रेसिडेन्ट कप
२०७७ को चैत दुई गतेदेखि चैत १४ गतेसम्म चलेको प्रतियोगितामा प्रदेश–१ को सैनिक फुटबल क्लब झापा, मधेस प्रदेशको मनकामना युवा क्लब रौतहट, वाग्मती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णालीको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरेका थिए ।

जसबाट सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब, लुम्बिनी प्रदेशको धम्बोझी क्लब, प्रदेश २ को मनकामना युवा क्लब, र त्रिवेणी युवा क्लब क्रमशः शीर्ष चारभित्र रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका थिए । 

गएको असोजमा काठमाडौंमै सम्पन्न विशेष अधिवेशनपछि एन्फाले राष्ट्रिय लिगका लागि जेठ २० गतेदेखि असार ३० गतेसम्मको समय राखेको जनाएको थियो । 
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्