site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
अस्ताए नेपाली रुपैयाँ चिनाउने हिमालय शमशेर, जसको नेतृत्वमा बनेको थियो पहिलो बजेट 

काठमाडौं । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणा अर्थमन्त्री बनेका थिए ।

२००७ सालसम्म चलेको १०४ वर्षसम्मको राणा शासनको बेला बजेट ल्याउने तथा सरकारको आम्दानी र खर्चलाई पारदर्शी र व्यवस्थित ढंगले चलाउने व्यवस्था थिएन ।
 
सुवर्ण शमशेर अर्थमन्त्री बनेपछि उनले अर्थशास्त्रमा एमए पास गरेका व्यक्ति खोजेका थिए ।  त्यो बेला अर्थशास्त्रमा एमएम वाणिज्य शास्त्रमा एमकम गर्नेहरु निकै कम थिए । 

हिमालय शमशेरसँगै लिलाप्रकास लोहनी, परीक्षितसिंह राणाले अर्थशास्त्रमा एमएम गरेका थिए भने कृष्णराज भण्डारीले वाणिज्यशास्त्रमा एमकम गरेका थिए । 

चारजनाको नियुक्ति अर्थमन्त्रालयमा भयो । कामको आधारमा  पहिलो अर्थमन्त्री सुवर्ण शमशेरले हिमालय शमशेर राणालाई अर्थमन्त्रालयको पहिलो अर्थसचिव बनाएका थिए । 

सुवर्ण शमशेरको बजेट लेखनको नेतृत्व हिमालय शमशेरले गरेका थिए । 

हिमालय शमशेर सुवर्णजस्तै राणा परिवारको सदस्य भए पनि प्रजातान्त्रिक विचारधारा राख्नेमा पर्थे । २००५ सालमा उनले प्रजातान्त्रिक कांग्रेसको सदस्यता लिएका थिए । 

देवशमशेर राणाका पनाती हिमालय शमशेरले अर्थ मन्त्रालयमा बस्दा खर्च र आम्दानीको बारेमा जानकारी दिने काम गरेका थिए । 

त्यो बेला सरकारले गर्ने आम्दानी भनेको मालपोतबाट मात्र बढी थियो । २००८ साल माघमा सुवर्ण शमशेरले ५ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । 

जसमा सरकारले राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ उठाउने लक्ष्य राखेका थिए । 

पहिलो गभर्नरको यात्रा 

नेपालमा प्रजातन्त्र आउनु अगाडि नेपाल बैंक खुले पनि केन्द्रीय बैंक खुलेको थिएन ।  त्यो बेला नेपालमा भारतीय रुपैयाँको प्रचलन बढी थियो । 

२०१२ सालदेखि नेपालमा केन्द्रीय बैंक खोल्ने चर्चा चलेको थियो ।  नेपालमा विवादस्पद मानिएको कोशी सम्झौताको विरोधमा हिमालयन शमशेर राणा पनि थिए । 

सम्झौतापछि उनी एक वर्षजति पढ्नको लागि विदेश गए । उनलाई सरकारले सचिवको रुपमा जगेडामा राखेको थियो । 

विदेशबाट फर्केको केही समयपछि सरदार गुन्जमान सिंहले हिमालय शमशेर राणालाई बोलाएर राजा महेन्द्रले राष्ट्र बैंक स्थापना गर्न चाहेको जानकारी दिए । 

सो अनुसार उनले विदेशका केन्द्रीय बैंकको अनुभवको आधारमा राष्ट्र बैंकको स्थापना गर्ने काम गरे । २०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापना भयो । 


राष्ट्र बैंक स्थापनाको पहिलो दुईवटा उद्देश्य थिए । नेपालमा भारतीय रुपैयाँको ठाउँमा नेपाली रुपैयाँ चलाउने र भारतीय रुपैयाँसँगको बिनिमय दर स्थिर गर्ने । 

त्यो बेला केही व्यापारीले आफ्नो फाइदाको लागि तय गरेका थिए । 

हिमालय शमशेरले सुनाएअनुसार राजा महेन्द्रले उनलाई नेपाली रुपैयाँको नोट चलाउनु र विनिमय दर स्थिर बनाउन भनेको काम पूरा गरेरै छाडे । 

उनको पालामा भारु १०० को नेपाली १६० स्थिर विनिमय निर्धारण भयो । नेपालमा नेपाली रुपैयाँ चल्न थाल्यो । 

“नेपाली रुपैयाँ नेपालमा चलाउन निकै कठिन काम थियो,” हिमालय शमशेर राणाले सुनाएका थिए, “यसको लागि ३ वर्षजति समय लागेको थियो ।”

भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर कायम गरेपछि विनिमयदरलाई आफू अनुकूल चलाएका त्यो बेलाका साहुजीहरु रिसाएको हिमालय शमशेर राणाले सुनाएका थिए । 

“त्यो बेलाका साहुहरु निकै रिसाएका थिए,” राणाले केही समय अघिको कुराकानीको क्रममा भनेका थिए, “रिसाए पनि जनतालाई त फाइदा भयो ।” 

२०१५ सालमा आम निर्वाचन भएपछि २०१६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा बीपी कोइराला प्रधानमन्त्री बने । 

जनताबाट निर्वाचित प्रधानमन्त्रीले शासन चलाएको बेला हिमालय निकै खुसी थिए ।  प्रजातान्तिक विचार राख्ने हुँदा निर्वाचित सरकारसँग उनले मिलेर काम गरेका थिए । 


रानीको एडीसीले हिमालयको जेठानको घरमा सुनाएका थिए– तपाईँको पद गयो 

राष्ट्र बैंकमा सफलतापूर्वक काम गरे पनि २०१७ साल पुस १ गते महेन्द्रले निर्वाचित सरकारलाई ‘कू’ गरेरै हटाए । 

प्रजातान्त्रिक विचार राख्ने भएका कारण हिमालय शमशेरलाई महेन्द्रले रुचाएका थिएनन् ।  महेन्द्रले शासन हातमा लिएको दुई महिना पुग्न थालेको थियो । 

माघ महिनामा हिमालयको जेठानको छोराको न्वारन थियो । जसमा राजा महेन्द्र र रानी रत्न आउने कार्यक्रम थिए । 

हिमालयले सुनाएअनुसार मेच मिलाउनेदेखि धेरै काममा उनी खटिइसकेका थिए । 

“राजा रानीको सवारी भएपछि महारानीले मलाई पटक पटक हेरिबक्स्यो,” हिमालय शमशेरले त्यो दिनको घटना सुनाउँदै भनेका थिए, “मलाई केही पक्कै भएको छ भन्ने लागे पनि महारानीको एडीसीलाई सोधेँ । उनले भने हजुरको पद गएको छ ।”

एडीसीबाट त्यो सुनेपछि हिमालय जेठानको छोराको न्वारनमा खानासमेत नखाएर डिल्लीबजारको आफ्नो घरमा फर्किएका थिए ।

“राजा महेन्द्रलाई म प्रजातान्त्रिक आन्दोलनमा होमिएको भन्ने थाहा थियो । म भूमिगत भएर पनि काम गरिसकेको थिएँ । त्यसैले पनि उहाँले मलाई केही नभनी बर्खास्त गर्नु भयो,” हिमालयले सुनाउँदै भनेका थिए । 


गभर्नरबाट हटेपछि बढेको आर्थिक समस्या 

गभर्नरबाट हटेपछि हिमालय शमशेरले आफूलाई आर्थिक समस्या भएको सुनाएका थिए ।  राणा परिवारको सदस्य भए पनि उनी सुधारवादी शासक देव शमशेरका पनाती थिए । 

छोटो समय प्रधानमन्त्री बनेका देव शमशेरले अरु दाजुभाइले जस्तो सन्ततीको लागि सम्पत्ति जोडेका थिएनन् । 

“११४ दिन प्रधानमन्त्री भएका देवशमशेर महाराजले पनि खासै कमाउनु भएको थिएन,” हिमालय शमशेरले सुनाउँदै भनेका थिए । 

हिमालय शमशेरले बर्खास्तीमा परेपछि त्यसलाई सच्चाउनको लागि भिनाजु ललित चन्द मार्फत बिन्ती पत्र हालेका थिए ।

राजाले केही समयमा भेट्ने बताए पनि केही खबर गरेनन् । 

त्यसपछि हिमालय शमशेरले नेपालमा बसेर नहुने भन्दै युएनमा जागिर खान निवेदन दिए । केही समयपछि उनले युएनमा जागिर पाए । उनले युएनमा हुँदा श्रीलंका, अमेरिका, अफगानिस्थान, बर्मा, इन्डोनेसिया, पाकिस्तानमा बसेर काम गरे ।

९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएका राणा प्रजातान्त्रिक विचारमा निकै अडिग थिए । घरमा भेट्न जाने पत्रकार तथा अध्येतालाई उनले आफूले जानेका इतिहासका कुराहरु सहजै भेट दिएर सुनाउने गरेका थिए । 

राष्ट्र बैंक स्वायत्त हुनुपर्ने तथा राष्ट्र बैंकले राजनीतिक दबाबमा काम गर्न नहुने विचार उनको थियो ।

२०५० सालमा हबिब बैंकसँगको साझेदारीमा उनले हिमालयन बैंक स्थापना गरेका थिए । गोर्खा ब्रुअरीमा डेनमार्कको कम्पनी ल्याउने कामसमेत हिमालय शमशेरले नै गरेका थिए । 

 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro