site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खुमा अर्यालले किने नेपालगञ्ज मेडिकल कलेजको बहुमत सेयर

काठमाडौं । मेडिकल व्यवसायी खुमा अर्यालले नेपालगञ्ज मेडिकल कलेजमा आफ्नो स्वामित्व ५१ प्रतिशत पुर्‍याएका छन् । 

भैरहवामा युनिभर्सल मेडिकल कलेज र पोखरामा गण्डकी मेडिकल कलेज सञ्चालन गरिरहेका खुमा अर्यालले नेपालगञ्ज मेडिकल कजेजको बहुमत सेयर किनेका हुन् । 

नेपालगञ्ज मेडिकल कलेजमा ४१ प्रतिशत थप सेयर किनेर ५१ प्रतिशत पुर्‍याउन लागेको खुमा अर्यालले जानकारी दिए । 

“कलेजलाई व्यवस्थित ढंगले सञ्चालन गर्नको लागि कसैले बहुमत सेयर लिनुपर्ने भयो,” अर्यालले बाह्रखरीसँग भने, “थप ४१ प्रतिशत सेयर लिएपछि मेरो बहुमत हुने हुँदा मेडिकल कलेज सञ्चालन व्यवस्थित ढंगले हुने हुँदा किन्ने निर्णय गरेको हो ।”

अर्यालले कति रुपैयाँमा किनबेच भएको भने खुलाउन चाहेनन् ।  स्रोतले बाह्रखरीलाई दिएको जानकारी अनुसार ४१ प्रतिशत सेयरको किनबेच करिब एक अर्ब रुपैयाँमा भएको छ । 

नेपालगञ्ज मेडिकल कलेज २०७८ सालको भदौमा अर्का मेडिकल व्यवसायी सुनिल शर्माले किन्ने निर्णय गरेका थिए । 

विराटनगर र काठमाडौंमा मेडिकल कलेज चलाउने शर्माले करिब एक अर्बमा ४४ प्रतिशत सेयर स्वामित्व लिने सम्झौता गरेका थिए । 

सेयर किनबेचको सम्झौता भएर पनि केही रकम बैना बुझाए पनि शर्माले सो सेयर किन्न पाएनन् ।  नेपालगन्ज मेडिकल कलेजमा वीरेन्द्र कनौडियाको प्रमुख सेयर लगानी रहेको छ । 

५१ प्रतिशत स्वामित्व बनाउन लागेका अर्यालले सबै साझेदारको गरेर ४१ प्रतिशत सेयर किनेको बताए ।  “सेयर किनबेच गर्ने सम्झौता भइसकेको छ,” अर्यालले भने, “केही साताभित्रमा नामसारीको प्रक्रियासमेत पूरा हुन्छ । कति रुपैयाँमा किनबेच भएको हो त्यो समेत सार्वजनिक हुन्छ ।”

नेपालगन्ज मेडिकल कलेजमा ७० जनाको नाममा सेयर छ ।  जसमा अहिलेसम्म सबैभन्दा बढी सेयर कनौडिया परिवारको नाममा रहेको थियो । 

गतवर्षनै मेडिकल कलेजमा कर्मचारीको समस्या भएको हुँदा कनौडिया मेडिकल कलेजमा भएको सेयर बिक्री गरेर बाहिरिने मुडमा पुगेका थिए । 

अर्यालले नेपालगञ्ज मेडिकल कलेजलाई नयाँ ढंगले सञ्चालन गर्ने बताउँछन् । 

“मुख्य स्वामित्व कसैको नहुँदा कलेज राम्रोसँग चल्न सकेको थिएन,” अर्यालले भने, “अब कलेज व्यवस्थित तथा व्यावसायिक ढंगले चल्ने छ ।”

बाँकेको चिसापानीमा कलेजले एमबीबीएस पढाउने गर्छ ।  कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । 

कलेजको नाममा करिब डेढ अर्ब जति ऋण रहेको छ ।  कोभिडको समयदेखि नै अस्पतालको आम्दानी घटेपछि कनौडिया परिवारले सेयर बिक्री गर्न खोजेको थियो । 

नेपालगन्ज मेडिकल कलेज बाँकेको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल तथा महेन्द्रनगरमा जग्गा रहेको छ । यसको सबै गर्दा ३ अर्बभन्दा बढीको सम्पत्ति रहेको छ । 

मेडिकल कलेजमा पछिल्लो वर्षहरुमा पुराना लगानीकर्ता बाहिरिने र नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम बढेको छ । 

अहिले नेपालगञ्ज मेडिकल कलेजको स्वामित्व ५१ प्रतिशत लिएपछि अर्याल मेडिकल कलेजमा सबैभन्दा ठूलो व्यवसायी बनेका छन् । 

अर्याल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । उनी समानुपातिकबाट प्रतिनिधिसभाको उमेदवार हुन् । 

डा. सुनील शर्मा कांग्रेसबाट सांसद हुन् । नेपालगञ्ज कलेजको सेयर बिक्री गरेका कनौडिया कांग्रेसको राजनीतिमा संलग्न छन् । 

वीरगन्जमा नेसनल मेडिकल कलेज र काठमाडौंमा नेपाल मेडिकल कलेज सञ्चालन गर्ने बसुरुद्धिन अन्सारी माओवादी हुँदै एमाले प्रवेश गरेर निर्वाचन लडेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro