पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सवारीसाधन पार्किङको लागि बोलपत्र आह्वान गरेको ६ दिनमा नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयले संशोधन गरेको छ । गत माघ १५ गते आइतबार प्राधिकरणले ३० दिनको समयसीमा दिएर पार्किङको लागि बोलपत्र खुलाएको थियो ।
तर, शनिबार (२१ गते) प्राधिकरणले परिमार्जित बोलपत्र पुनः प्रकाशन गरेको छ । प्राधिकरणले पहिलो टर्मिनल भवन अगाडिको खुला क्षेत्रमा सवारीसाधन विसान सेवा शुल्क उठाउन भन्दै ठेक्का आह्वान गरेको थियो ।
प्राधिकरणले एक करोड ६२ लाख ३३ हजार रुपैयाँ ठेक अंकमा आह्वान गरेको बोलपत्रमा एउटामात्र शर्त संशोधन गरेर पुनः अर्को सूचना प्रकाशन गरेको हो । गत आइतबार र शनिबार प्रकाशित सूचनामा प्राधिकरणले बोलपत्रको बुँदा नं. ४ को शर्तलाई हेरफेर गरेको छ ।
यो बुँदामा पहिलो सूचनामा, “सवारीसाधन विसान शुल्क उठाउने सेवा सञ्चालको लागि ठेक्का अवधि ५ (पाँच) वर्षको हुनेछ । सो अवधिको न्यूनतम ठेक्का अंक रु एक करोड ६२ लाख ३३ हजार रुपैयाँ (भ्याटसहित) कायम गरिएको छ । साथै, बहाल रकममा हरेक दुई वर्षमा दश प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ र सोहीअनुरुप कायम हुन आउने थप बहाल रकमसमेत बुझाउनुपर्ने,” उल्लेख गरिएको छ ।
प्राधिकरणले शनिबारको अर्को सूचनामा सोही दश प्रतिशत राजस्व र ठेक्का अवधि घटाएको हो । “...सञ्चालनको ठेक्का अवधि २ (दुई) वर्षको हुनेछ” सूचनामा उल्लेख गरिएको छ । ठेक्का अवधि घटेका कारण प्राधिकरणले दुई वर्षमा १० प्रतिशतले बढ्ने बहाल रकम उल्लेखित वाक्य पनि परिमार्जन गरेको छ ।
पहिलो सूचना निकालेको म्याद रहँदै र प्राधिकरणले एक हप्ता पनि नबित्दै नयाँ सूचना जारी गरेको हो । यसबारेमा बुझ्न खोज्दा विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीको फोन उठेन ।
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलको सवारी पार्किङको ठेक्का लागिनसकेको अवस्थामा पार्किङ शुल्क भने तेब्बर पुगेको छ । पुरानो क्षेत्रीय विमानस्थलमा पार्किङको ठेक्का पाएको मनोज निर्माण सेवाले नै अन्तर्राष्ट्रिय विमानस्थलमा पनि शुल्क उठाइरहेको छ ।
तर, क्षेत्रीय विमानस्थलको पार्किङको ठेक्का पाए पनि उसले अन्तर्राष्ट्रिय विमानस्थलमा भने बढी शुल्क उठाएको छ । जसको चौतर्फी विरोध पनि भएको छ ।
अहिले विमानस्थलमा पार्किङ गरेवापत मोटरसाइकल, स्कुटर, रिक्सा प्रतिघण्टा ३०, प्रतिदिन १८० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, कार, जिप, टेम्पो आदि पार्किङ गरेको प्रतिघण्टा ६०, प्रतिदिन ३ ६० रुपैयाँ तिर्नुपर्नेछ ।
पुरानो विमानस्थलमा दुई पांग्रे सवारीसाधनको पार्किङ शुल्क १० रुपैयाँ मात्र थियो । त्यस्तै, हल्का सवारीसाधन मिनी बस, माइक्रो आदि प्रतिघण्टा ८० र प्रतिदिन ४ ८० रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । गह्रौं सवारी साधनजस्तै बस, ट्रक १२० र प्रतिदिन ७२० रुपैयाँ तिर्नुपर्छ ।
विमानस्थलमा प्रवेश गरेको पनि महँगो पटके पार्किङ शुल्क बुझाउनु परेपछि ट्याक्सी धनीले समेत भाडा बढाएका छन् । यात्रु लिएर विमानस्थल प्रवेश गर्दा नै ६० रुपैयाँ बुझाउनु परेपछि सोहीअनुसार भाडा वृद्धि गर्नु आफूहरुको बाध्यता रहेको ट्याक्सी चालक तर्क गर्छन् ।
नेपाल सरकारबाट ०७८ चैत ३० गते स्वीकृत भएको विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा सवारीसाधनका विसान शुल्कको व्यवस्था गरिएको छ । उक्त नियमावलीको नियम ७ अनुसार, “विमानस्थल प्रमुखले निर्धारण गरेको सवारीसाधन विसान क्षेत्रमा सवारी साधन विसान गरेबापत प्राधिकरणले निर्धारण गरेबमोजिमको सवारीसाधन विकास सेवा शुल्क लाग्नेछ,” उल्लेख गरिएको छ ।
प्राधिकरणले आह्वान गरेको बोलपत्रको शर्त ९ अनुसार स्वीकृत हुने बोलपत्रदाताले असुल्न पाउने सेवाशुल्क बोलपत्र डकुमेन्टमा उल्लेख गरेको जनाएको छ । “स्वीकृत बोलपत्रदाताले असुलउपर गर्न पाउने सवारी विकास सेवाशुल्क बोलपत्र डकुमेन्टमा उल्लेख गरिएको छ” शर्तमा उल्लेख छ ।