site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
‘निजी र सरकारी विद्यालयबीच प्रतिष्पर्धा गराएर शिक्षा क्षेत्र सुधार्ने लक्ष्य छ’ 

बालबालिकाको गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्ने उद्देश्य बोकेर स्थापना भएको रातो बंगला फाउन्डेसनले आज २०औँ वार्षिकोत्सव मनाउँदै छ । गुणस्तरीय शिक्षाका लागि बालबालिकाको रुचि, सिप, व्यवहारिक ज्ञानबारे मार्गनिर्देश गराउँदै फाउन्डेसन अहिले देशभरका एक हजार ४०० विद्यालयसम्म पुगेको छ ।

प्रस्तुत छ, फाउन्डेसनको २० वर्षको उपलब्धि र आगामी योजनाबारे रातो बंगला फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितसँग गरिएको कुराकानीको सम्पादित अंश :

रातो बंगला फाउन्डेसनले शिक्षाको क्षेत्रमा कस्ता कस्ता कामहरू गर्दै आएको छ ?

Himalayan Bank
Dabur nepal
Agni Group

नेपालको भविष्य बालबालिकामै छ । उनीहरूमा जति लगानी गर्न सक्यौँ त्यति नै देशको भविष्य उज्ज्वल हुन्छ भन्ने ठहर गरेर हामी शिक्षा क्षेत्रको सुधारमा २० वर्षदेखि लागि परेका छौँ ।

त्यसका लागि हामी बढीभन्दा बढी शिक्षकलाई तालिम दिने र बालबालिकासम्म व्यवाहारिक शिक्षा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेका छौँ ।

Global bank

हामीले आफूलाई मात्रै होइन, सबैलाई अझै भनौँ देशभरको रुचिलाई हेरेर काम गरिरहेका छौँ । त्यसका लागि हाम्रो फोकस मुख्यगरी सामुदायिक विद्यालय शिक्षा सुधारमा हो ।

सन् २००२ मा पाँचवटा जिल्लाबाट सुरु गरिएको कार्यक्रम लिएर हामी आफ्नै विद्यालय परिषरदेखि दुरदराजसम्म पुगेका छौँ र हाल ३३ जिल्लामा तालिम र विभिन्न कार्यक्रमहरू लिएर पुगिसकेका छौँ । 

२० वर्षको अवधिमा फाउन्डेसनले के कस्ता उपलब्धि गर्‍यो ?

मुख्य रूपमा विद्यार्थीको चौतर्फी विकास र तालिममार्फत सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर बढाउनु नै फाउन्डेसनको लक्ष्य हो ।

पीटीटीपी (प्राइमरी टिचर्स ट्रेनिङ प्रोग्राम) र लेभल वान काठमाडौंस्तरीय तालिममा बढी जोड दिएका छौँ । यसअन्तरगत २० वर्षको अवधिमा ३८६ जनाले पीटीटीपी र ११२२ तालिम लिइसकेका छन् । देशभर १० हजार बढी जनशक्तिलाई तालिम दिइसकेका छौँ ।

हामीबाट तालिम पूरा गरेर देशभर फेरि कति नयाँ जनशक्ति उत्पादन भए त्यसको तथ्यांक हामीसँग छैन । तर हाम्रो कार्यक्रमबाट तीन लाख ७५ हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । देशभरका एक हजार ४०० विद्यालयमा हाम्रा कार्यक्रमहरू पुगेका छन् ।  

फाउन्डेसनले लक्ष लिएकोजस्तो विद्यार्थीको चौतर्फी विकासका लागि के गर्न आवश्यक छ ? 

सबैभन्दा पहिलो कुरा बालबालिकाको उमेर अनुसारको हरेक मस्तिष्क र सिकाइको विकास हुनपर्‍यो । त्यसका लागि अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।

अहिले हामी बालबालिकाले उमेर अनुसार गर्नसक्ने काममा पनि ध्यान नदिएर उनीहरूलाई परनिर्भर बनाइरहेको देख्छौँ ।

दोस्रो विद्यालयमा सिक्ने कुरा त्यसमा बालबालिकाको रुचि र सिपलाई हेरेर उनीहरूलाई प्रयोगात्मक शिक्षा दिनुपर्छ । विद्यालयलदेखि नै प्राविधिक शिक्षा चाहिन्छ । आफ्नो दैनिकी र जीवनलाई चाहिने सबै सिप विद्यालयमा नै सिकाउनु जरुरी छ न कि घोकन्ते विद्या । 

सन् २०१२ मा रातो बंगला फाउन्डेसनले युनेस्कोले प्रदान गर्ने अवार्ड पनि पाएको थियो यसको सन्दर्भ के थियो ? 

हामीले फाउन्डेसनको सुरुवातदेखि नै पाँच जिल्लामा काम गर्दै आएका थियौँ । त्यसमध्ये सबैभन्दा बढी प्रभावकारी कार्यक्रम दैलेख जिल्लामा भएको थियो ।

पछि हामीले दैलेखमा दुई वर्ष कार्यक्रम थप गरेर सात वर्षमा ५१३ वटा विद्यालयहरूसँग काम गर्‍यौँ । त्यतिबेला ती विद्यालयहरूमा ठूलै परिवर्तन देखियो । लाइब्रेरी सञ्चालनदेखि विद्यार्थीहरूको स्वास्थ्यका लागि चकटी कार्यक्रमजस्ता अभियानहरू सफल भए ।

हाम्रा यिनै कामहरूको मूल्यांकन गर्दै युनेस्कोले रातो बंगला फाउन्डेसनलाई 'हमदान बिन रसिद अल मकतुम' पुरस्कार ‘हमदान अवार्ड’ बाट पुरस्कृत गर्‍यो ।

यो पुरस्कारबाट प्राप्त ९० हजार डलर रकमबाट पनि हामीले ४० प्रतिशत रकम दैलेखका १५० विद्यालयमा लाइब्रेरी, ४० प्रतिशत गुल्मीका विद्यालयहरूमा तालिम, २० प्रतिशत अन्तर्राष्ट्रिया सम्मेलनजस्ता उपलब्धिमूलक कार्यमा खर्च गर्‍यौँ । 

यो २० वर्षको अवधिमा फाउन्डेसनको गौरव गर्न लायक उपलब्धि के रह्यो ? 

पहिलो कुरा त फाउन्डेसन द्वन्द्वकालमा जन्मिएको थियो । अनेक चुनौती पार गर्दै यहाँसम्म आइपुग्दा वयस्क भएको छ ।

यसबीचमा सरकारसँग मिलेर वा भनौँ सरकारसँगको सहकार्यमा दुरदराजसम्म पुगेर त्यहाँको शिक्षाको अवस्था सुधार गर्ने मौका पायौँ । यो आफैँमा उपलब्धिमूलक कार्य हो ।

अहिले आएर देशका नाम कहलिएका, गुणस्तरीय शिक्षा दिने विद्यालयको सूचीमा परेका शैक्षिक संस्थाहरू पनि हाम्रो तालिममा सहभागी हुन चाहना राख्नुहुन्छ । हामीसँग सहकार्य चाहनुहुन्छ यो नै हाम्रो लागि गौरवको विषय हो । 

विद्यालय शिक्षाको विकास कस्तो होस् भन्ने चाहनुहुन्छ ? 

हाम्रो जोड भनेको विद्यालय शिक्षाको विकासका लागि सामुदायिक र निजी दुवै विद्यालयको शैक्षिक गुणस्तर सुधार नै हो ।

हामी चाहान्छौँ कि निजी र सामुदायिक दुवै विद्यालयको शिक्षामा प्रतिस्पर्धा होस् । दुवैले एक अर्कालाई हेरेर गुणस्तर बढाउँदै लैजाऊन् । यही हाम्रो चाहना र लक्ष्य पनि हो ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय