काठमाडौं । “पहिलो चरणका खेल सकिएको एक वर्ष पुग्न लाग्दा पनि बाँकी खेल कहिले हुन्छ भन्ने टुंगो छैन । यसले विभागीय टिमका खेलाडीलाई केही असर नगर्ला । तर, अन्य टिमका खेलाडीहरू मर्कामा छन् । हामी गाउँका खेलाडीहरू फुटबलमा लागेर बाँच्न सकिने अवस्था नै भएन,” राष्ट्रिय महिला लिगको क्लब चन्द्रपुर नगरपालिकाकी कप्तान रोजिना श्रेष्ठले आफ्नो दुखेसो सुनाइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग नियमित सञ्चालन गर्न नसक्दाको पीडा रोजिनाले व्यक्त गरेकी हुन् । रोजिना एक प्रतिनिधि पात्र हुन् । रोजिनाजस्तै थ्रुप्रै महिला खेलाडीको गुनासो एउटै छ । सबै निराश छन् । फुटबलको विकल्प खोज्न बाध्य छन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका पुरुष खेलाडीहरू नै धमाधम विदेश पलायन हुँदा पनि एन्फा मौनता साँधेर बसेको छ । यसै पनि प्राथमिकतामा नपर्ने महिला लिग एन्फा नेतृत्वले कहिले खेलाडीको आवाज सुन्ने ?
०७८ चैत १० देखि ३० गतेसम्म चितवनको शारदानगरमा राष्ट्रिय महिला लिगको पहिलो चरण सम्पन्न भइसकेका छन् । पहिलो चरण समाप्त भएको १५ दिनपछि विराटनगरमा सुरु गर्ने भनिएको पनि १० महिना पुगिसक्यो । तर, अझैपनि दोस्रो चरण कहिले सुरु हुन्छ भन्नेबारे नेपाली फुटबलको अभिभावक संस्था एन्फाले कुनै निर्णय गर्न सकेको छैन ।
“महिला फुटबललाई माथि लैजानुपर्छ भनेर कुराहरू आउँछन् । तर यस्तो परिस्थितिले कसरी माथि लैजान सकिने हो खै ? एक खेलाडीको रूपमा फुटबलमै केही गरौँ भन्ने हुन्छ । तर, यस्तो अवस्था देख्दा कहिलेकाहीँ फुटबल बेकारमै खेलेछु जस्तो पनि लाग्छ । त्यसैपनि महिला फुटबलमा प्रतियोगिताहरू न्यून हुन्छन् । अनि भएका प्रतियोगिता पनि बीचमै रोकिँदा हामीले आफ्नो प्रदर्शन कहाँ देखाउने ?,” रोजिनाले ब्राहखरीसँग भनिन् ।
एन्फाले गर्ने लिग आयोजना नभएपछि वर्षैभरि अरू फुटबल गतिविधि प्रायः शून्य हुन्छ । जसका कारण तीन विभागीय क्लबबाहेकका खेलाडीहरू पलायन हुन बाध्य छन् । महिला लिगमा पहिलो चरणका खेल सकिएपछि अहिलेसम्म घरेलु गतिविधि ठप्प छ । वैशाखमा सुदूरपश्चिम प्रदेशमा आयोजना गरिएको बीवाईसी महिला गोल्डकप यो वर्ष महिला फुटबलमा भएको एक मात्र प्रतियोगिता हो ।
वर्ष दिनदेखि कुनै प्रतियोगिता नहुँदा राष्ट्रिय टिमकी कप्तान रेनुका नगरकोटीलाई पनि प्रशिक्षण गर्न कुनै उत्साह छैन । उनी भन्छिन् “लिग भएर खेल्न पाउनु खेलाडीका लागि सबैभन्दा खुसीको कुरा हो । लिगकै दोस्रो चरण कहिले हुन्छ भन्नेबारे पनि हामीलाई केही थाहा छैन । खेल हुन्छ भनेर प्रशिक्षण गर्यो । प्रशिक्षणमै एक वर्ष बितिसक्यो । तर अझै कहिले हुने हो भन्ने नै थाहा छैन । यो वर्ष बाँकी रहेको लिगका खेलहरू सकिएर नयाँ लिग सुरु हुनपर्ने हो । सधैँ प्रशिक्षण मात्र केका लागि गर्ने ? अब त प्रशिक्षण पनि स्वास्थ्यका लागि मात्र गरिरहेको जस्तो लाग्न थालिसक्यो । हामी घरेलु प्रतियोगिताको लागि पर्खिरहेका छौँ ।”
तथापि विभागीय क्लब एपीएफको कप्तानसमेत रहेकी रेनुकाले लिग हदैन भनेर आश मारिसकेकी छैनन् । “संस्थामा सबै स्पोर्ट्स बुझेकाहरू नै हुनुहुन्छ । सही समयमा गर्नुहुन्छ भन्ने आशा छ,” रेनुकाले थपिन् ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार बाँकी रहेको दोस्रो चरणको टुंगो लाग्न आगामी नयाँ वर्षसम्म लाग्छ । तर, ठ्याक्कै कहिले हुन्छ भन्नेमा स्वयम् एन्फा पनि जवाफविहीन छ ।
त्यसले विभागीय टिममा खेलाडीको धेरै समस्या नहुन सक्छ । अरू टिममा भने खेलाडी तितरबितर भइसकेका छन् । उसै पनि नेपाली महिला फुटबलमा एक/दुई वर्षको अन्तराललाई निकै ठूलो मानिन्छ । कारण हो, शारीरिक परिवर्तन ।
अझ विवाह भइसकेपछि निकै कम महिला खेलाडीले मात्र फुटबललाई निरन्तरता दिने गरेको उदाहरण प्रशस्त छन् । लिगको पहिलो चरणपछि कति खेलाडीहरूको विवाह भइसक्यो । जसका कारण उनीहरू पुनः लिगमा सहभागी हुने सम्भावना न्यून छ ।
लिगको पहिलो चरणमा ललितपुरको कप्तानी सम्हालेकी सिर्जनासिंह ठकुरीको अनुभव पनि रोजिनाको जस्तै छ । महिला फुटबलमा घरेलु संरचनाको कहालीलाग्दो अवस्था देखेर निराश सिर्जनालाई कहिलेकाहीँ 'बेकारमै फुटबलमा लागेछु' भन्ने लाग्छ ।
“फुटबललाई नै आफ्नो करिअरको रूपमा अघि बढाएकाहरूलाई यसले ठूलो असर गरेको छ । एक खेलाडीको रूपमा वर्षदिनसम्म कुनै पनि घरेलु प्रतियोगिता खेल्न नपाउँनुले निकै पीडा दिन्छ,” सिर्जना भन्छिन्, “यस्तो देख्दा बेकारमै फुटबलमा लागिएछ भन्ने पनि मनमा आउँछ । प्रशिक्षण पनि आफ्नो स्वास्थ्यका लागि मात्र गरिरहेको हो जस्तो लाग्छ । घरेलु संरचनाको हालत यस्तो देख्दा मलाई अहिले फुटबलसँगै आफ्नो पढाइलाई पनि सँगै लिएर आएकोमा निकै खुसी लाग्छ । नेपालमा सधैँ यस्तै हो । म अरूलाई पनि फुटबलसँगै आफ्नो पढाइ पनि अघि बढाउ भन्ने सल्लाह दिन चाहन्छु ।”
कस्तो थियो लिग पहिलो चरणको समीकरण ?
०७८ चैत १० देखि भएको पहिलो चरणमा तीन विभागीय टोली एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका गरी आठ क्लबको सहभागिता थियो ।
सातौँ चरणको खेल सकिँदा २१ अंकसहित एपीएफ शीर्ष स्थानमा छ । यस्तै, समान १५ अंक जोडेका नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । १२ अंकसहित धनगढी चौथो र १० अंक जोडेको विराटनगर पाँचौँ स्थानमा छन् । त्यसैगरी समान चार अंक जोडेका ललितपुर र चन्द्रपुर क्रमशः छैटौँ र सातौँ स्थानमा रहँदा एक अंकसहित वालिङ पुछारमा छ ।
पहिलो चरणमा सर्वाधिक १४ गोल गरेकी सावित्रा भण्डारी भने हाल भारतमा छिन् । सूचीको दोस्रो स्थानमा रहेकी धनगढीकी चन्द्रा भण्डारीले आठ गोल गरेकी छन् । आर्मीकी रश्मीकुमारी घिसिङ र शर्मिला थापामगरले समान सात गोल गरेका छन् ।