
काठमाडौं । माघ ३ गते मन्त्रिपरिषद् विस्तार भयो । तर, पूर्णता पाएन । अहिले प्रधानमन्त्री र तीन राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् छ । बाँकी रहेका दुई मन्त्रालय (वन तथा वातावरण र युवा तथा खेलकुद) प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफैँले सम्हालेका छन् ।
सात दलीय गठबन्धनमा रहेका पाँच दलले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । तर, आफ्ना माग सम्बोधन नभएपछि जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रालय लिन मानेका छैनन् । प्रधानमन्त्रीले बाँकी रहेका दुई मन्त्रालय यी दुई पार्टीका लागि छुट्याएका हुन् ।
जसपाले आफूसँग १२ सांसद रहेकाले आफूलाई प्रभावकारी र शक्तिशाली मन्त्रालय दिनुपर्ने माग गरिरहेको छ । उसले भागबन्डा सम्मानजनक नभए गठबन्धनमा नबस्ने चेतावनी दिइरहेको छ । तर, गठबन्धन छाड्न सकेको छैन । नयाँ समीकरणका लागि कांग्रेससँग छलफल गरेपनि उसले बिहीबार भएको सभामुखको चुनावमा कांग्रेसलाई साथ दिएन । गठबन्धन छाड्ने घुर्की देखाएपनि जसपाले एमालेकै उमेदवार देवराज घिमिरेलाई मत दियो ।
जसपाले अब गठबन्धनबाट उपराष्ट्रपतिसहित विभिन्न संवैधानिक निकायमा राम्रै भागबन्डा खोजिरहेको छ । जसपाले सत्ता गठबन्धनकै सहयोगमा मधेस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाएको छ । उसले प्रदेश प्रमुखमा समेत भागबन्डा खोजेको छ ।
जसपाका सांसद प्रमोद साह प्याकेजमै सहमति भएमात्र आफूहरू सरकारमा जाने बताउँछन् । तर, अहिले खाली राखिएका दुई मन्त्रालय जसपाको रोजाइमा नपर्ने उनले बताए ।
“सरकारमा अहिलेजस्तो दुई मन्त्री लिएर जाने भन्नेमा हामी छैनौँ । हामी अहिलेको अवस्थामा सरकारमा जान सक्दैनौँ,” साहले भने, “प्याकेजमै सहमति भएमात्र सरकारमा जान्छौँ ।”
उनका अनुसार जसपाले उपराष्ट्रपतिसहित संवैधानिक निकाय र विभिन्न समितिहरूमा प्याकेजमै सहमति खोजिरहेको छ ।
यो बीचमा बसेको जसपा संसदीय दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा जसपालाई अवमूल्यन गरेको बताएका थिए । उनले आफूहरूलाई दुई कमजोर मन्त्रालयमा खुम्चाउने प्रयास भएको बताएका थिए ।
जवाफमा सांसदहरूले वर्तमान अवस्थामा सरकारमा जान नहुने धारणा राखेको थिए । सांसदहरूले प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान उपेन्द्रलाई दबाब दिएका थिए ।
जसपाका अर्का सांसद राजकिशोर यादवले वर्तमान अवस्थामा दुई मन्त्रालय लिएर सरकारमा जान नहुने पक्षमा पार्टी सांसदहरू उभिएको जानकारी दिए ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै उनले भने “दुईपटक बसेको संसदीय दलको बैठकमा सरकारमा जान नहुने पक्षमा सांसदहरू उभिनुभयो । अध्यक्षज्यूले पनि सांसदहरूको कुरा मान्न तयार हुनुभएको । जानै परे पुनः संवाद हुन्छ । सम्मानजनक शक्ति नमिले सरकारमा जाने पक्षमा हामी छैनौँ ।”
गठबन्धनमा सहमति कार्यान्वयन नहुँदा अहिले समस्या देखिएको उनको भनाइ छ । यादवको भनाइमा सरकारलाई विश्वासको मत दिनुपूर्व मिलाउनुपर्ने विषयलाई गठबन्धनले मिलाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो ।
“विश्वासको मत भन्दा पनि पहिले सबै विषय टुंगिनुपर्थ्यो । तर, त्यसतर्फ प्रधानमन्त्रीले बढी ध्यान दिनुभएन,” उनले भने, “विश्वासको मतपछि सरकार विस्तार हुँदा विषयलाई मिलान गर्न सकिएन । अब बसेर गहिरो संवाद हुनुपर्छ ।”
विश्वास मत पाएपछि गठबन्धनका शीर्ष दलहरूले जसपालाई उपेक्षा गरेको बुझाइ पार्टीभित्र छ । अर्कोतिर प्रधानमन्त्री प्रचण्डभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका सशक्त देखिएपछि समस्या बढेको बुझाइ जसपाका नेताहरूको छ ।
अहिले अपवादबाहेक गठबन्धनमा हुने छलफल र निर्णयहरूमा जसपालाई सहभागी गराइँदैन । अध्यक्ष उपेन्द्रले माग राखेपनि सुनुवाइ नहुने गरेको जसपाकै एक नेता बताउँछन् ।
“विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले हामीलाई बेवास्ता गर्नुभएको छ । अहिले दुई मन्त्रालय दिने अनि बाँकी भागबन्डामा पनि कमजोर बनाउने अवस्था आए किन सरकारमा सहभागी हुनुपर्यो ?,” ती नेताले भने ।
यता गठबन्धनको शीर्ष दल एमाले भने अहिलेकै अवस्थामा जसपा सरकारमा आउनेमा ढुक्क छ । सांसदसमेत रहेका एमाले सचिव योगेश भट्टराई जसपा अहिलेकै अवस्थामा सरकारमा आउने बताउँछन् । जसपाका लागि मन्त्रालय सुरक्षित राखिएकाले ऊ सरकारमा सहभागी हुने भट्टराई बताउँछन् ।
“केही नमिलेको भए हामी मिलाउँछौँ, जसपा सरकारमा आउनेछ,” उनले भने, “मन्त्रालय छुट्याएर राखेका छौँ ।”
अहिले सत्ता गठबन्धनसँग जसपाका १२ सहित १६९ सांसद छन् । सरकारलाई टिकाउन १३८ सिट भए पुग्छ । जसपा बाहिरिएपनि गठबन्धनसँग १५७ सांसद बाँकी हुन्छ । जुन सरकार टिकाउन पर्याप्त संख्या हो ।