site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय महिला लिग १० महिनादेखि अलपत्र : सम्पन्न हुनेमा शंका
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल सकिएको १० महिना बितिसक्यो । तर, दोस्रो चरणका खेल अझै सञ्चालन गरिएको छैन । बाँकी खेल कहिले हुने भन्ने पनि टुंगो छैन । यसले महिला लिगप्रति नै विभिन्न आशंका गर्न थालिएको छ ।

०७८ चैत १० देखि ३० गतेसम्म चितवनको शारदानगरमा लिगको पहिलो चरणका खेलहरू भएका थिए । दोस्रो चरणका खेलहरू विराटनगरमा गर्ने भनिएको थियो । तर, पहिलो चरणका खेल सकिएको १० महिना बितिसक्दा समेत बाँकी खेल कहिले हुने भन्ने विषयमा एन्फा नेतृत्व अनिर्णीत छ ।

“पहिले नगरपालिकाहरूले एन्फासँग सम्झौता गरेका थिए । तर, वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा नेतृत्व परिवर्तन भएको छ । त्यसैकारण नयाँ आएका नेतृत्वले पुराना नेतृत्वको समयमा भएका सम्झौता कार्यान्वयनमा आनाकानी गरिरहेका छन् । जसका कारण लिगका बाँकी खेलहरू तय गर्न समस्या भइरहेको छ,” एन्फा प्रवक्ता सुरेश शाहले बाह्रखरीसँग भने ।

KFC Island Ad
NIC Asia

पालिकामा मात्र होइन, एन्फामा पनि नयाँ नेतृत्व आएको छ । महिला लिग चलिरहेकै बेला एन्फालाई पनि चुनाव लागेको थियो । गएको असार ६ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट कर्माछिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्वाङ एन्फाको ‘ड्राइभिङ सिट’मा आएका थिए ।

दोस्रो चरणको खेलका लागि विराटनगर महानगरपालिकाले एन्फालाई ४५ लाख रुपैयाँ दिने सम्झौता गरिएको थियो । एन्फाले सोही रकमबाट लिगको विजेतालाई २० लाख, उपविजेतालाई १० लाख, तेस्रोलाई पाँच लाख र चौथो हुनेलाई तीन लाख रुपैयाँ पुरस्कार दिने जनाएको थियो ।

Royal Enfield Island Ad

9353916484657921674015483.jpg

“स्थानीय तहको निर्वाचन एन्फाका लागि राम्रो बहाना बनेको छ । लिगलाई स्थानीय तहको निर्वाचनभन्दा एन्फाको आफ्नै निर्वाचनले बढी असर गरेको देखिन्छ । यसबाट थाहा हुन्छ कि एन्फाका पदाधिकारी फुटबलको विकासमा भन्दा राजनीति गर्नमा व्यस्त छन् भनेर,” एन्फाकै एक पदाधिकारीले भने ।

 

शेर्पा नेतृत्वको तत्कालीन कार्यसमितिले पहिलो चरण चितवनको भरतपुरमा र दोस्रो चरण विराटनगरमा गर्ने निर्णय गरेको थियो । एन्फाले लिग सुरु हुनुअघि पहिलो चरण समाप्त भएको १५ दिनपछि दोस्रो चरणका खेलहरू गर्ने जनाएको थियो । तर, तत्कालीन नेतृत्व र ‘चेन्ज एन्फा’को नारा बोकेको वर्तमान नेतृत्वले पनि महिला लिगलाई प्राथमिकतामा राखेको देखिँदैन ।

नेम्वाङले त्यस बेला शेर्पाको कार्यकालमा एन्फामा फुटबलबाहेक अरू गतिविधि मौलाएको आरोप लगाएका थिए । उनले आफू पूर्ण रूपमा फुटबल विकासमा लागिपर्ने, महिला–पुरुष दुवै लिगलाई व्यवस्थित र नियमित गराउने बाचा गरेका थिए । तर, नेतृत्वमा पुगेको सात महिना बितिसक्दा पनि नयाँ कार्यसमितिले फुटबल मैदानमा केन्द्रित रहेर वाह ! भन्न लायक कुनै काम गरेको देखिँदैन ।

एन्फाले पटक–पटक मिति सारेर जसोतसो सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ मिति सार्वजनिक गरेको छ । यद्यपि, यो पनि समयमै हुनेमा शंका गर्नुपर्ने अवस्था छ । पुरुषतर्फ ‘ए’ र ‘बी’ डिभिजन लिगको मिति तय गर्दा एन्फाले महिला लिगमा अघिल्लो वर्षकै बाँकी खेलको मिति तय गर्न सकेको छैन ।

गएको असोजमा काठमाडौंमै सम्पन्न विशेष अधिवेशनपछि एन्फाले महिला लिगको दोस्रो चरण मंसिरमा गर्ने निर्णय भएको जनाएको थियो । त्यति बेला भनिएको थियो, “बाँकी रहेको महिला लिगका खेलहरू मंसिरमा गर्ने र चैतदेखि वैशाखसम्ममा महिला लिगको नयाँ सिजन सुरु गर्नेछौँ ।”

एन्फाले त्यति बेला भनेको जस्तो भएको भए अहिले महिला लिग सकिइसकेको हुन्थ्यो । तर, यो घोषणा घोषणाका लागि मात्र थियो भन्ने पुष्टि भइसकेको छ ।

त्यति बेला तीन विभागीय टिमसहित वालिङ नगरपालिका, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाको टिमले प्रतिस्पर्धा गरेका थिए ।

विभागीय टिममा खेलाडीको धेरै समस्या नहुन सक्छ । अरू टिममा भने खेलाडी तितरबितर भइसकेका छन् । उसै पनि नेपाली महिला फुटबलमा एक÷दुई वर्षको अन्तराललाई निकै ठूलो मानिन्छ । कारण हो, शारीरिक परिवर्तन । अझ विवाह भइसकेपछि निकै कम महिला खेलाडीले मात्र फुटबललाई निरन्तरता दिने गरेको उदाहरण प्रशस्त छन् । लिगको पहिलो चरणपछि कति खेलाडीहरूको विवाह भइसक्यो । जसका कारण उनीहरू पुनः लिगमा सहभागी हुने सम्भावना न्यून छ ।

7825116484837201674015442.jpg

लिगका लागि दर्ता भएका विभागीय टिममा पनि केही खेलाडीहरू शान्ति स्थापनाका लागि मिसनमा गएका छन् । केही खेलाडी भारतीय लिगमा छन् ।

एन्फा प्रवक्ता शाह भन्छन्, “लिगका लागि एक क्लबबाट दर्ता भएर खेलिरहेका धेरै खेलाडीहरू अर्को क्लबमा अनुबन्ध भएका छन् । केही बाहिर गएका छन् । उनीहरूलाई नराखी नयाँ खेलाडी दर्ता गरेर खेलाउँदा लिग नै नयाँ हुने भएकाले पनि यसबारे मूर्त निर्णय हुन सकेको छैन ।”

तर, कुनै न कुनै उपाय निकालेर एन्फाले लिगका बाँकी खेल सम्पन्न गर्ने शाह बताउँछन् । “हामीले पुस २७ गते क्लबहरूसँग छलफल गरेका थियौँ । त्यहाँ क्लबहरूसँग यसै विषयमा छलफल भएको थियो । यस्तै समस्याका कारण एन्फाले नयाँ कार्यविधिका लागि काम गरिरहेको छ । यसबारे फेरि एकपटक क्लबहरूसँग छलफल गरेर निर्णय गर्नेछौँ । एन्फाले लिगलाई पूर्णता दिने कुरामा विश्वस्त हुनुहोस्,” उनले भने ।

एन्फाले गएको पुस २९ गते कार्यसमितिको आकस्मिक बैठक बोलाएको थियो । बैठकबाट पहिले नै तय भइसकेको ‘ए’ डिभिजन लिगका बारेमा सञ्चालन समिति, टिकट, ब्रोडकास्टिङ राइटलगायत विषयमा निर्णय गरिए पनि महिला लिगका बारेमा मौन रह्यो ।

नेपालमा शीर्षस्तरका फुटबल गतिविधि निकै कम हुने गर्छन् । पुरुष फुटबलमा लिग नहुँदा मोफसलका गोल्डकप र अरू प्रतियोगिताहरूले खेलाडीलाई थोरै भए पनि व्यस्त बनाउने गर्छ । महिला फुटबलको भने अवस्था फरक छ ।

एन्फाले गर्ने लिग आयोजना नभए वर्षैभरि अरू फुटबल गतिविधि प्रायः शून्य हुन्छ । जसका कारण तीन विभागीय क्लबबाहेकका खेलाडीहरू पलायन हुन बाध्य छन् । महिला लिगमा पहिलो चरणका खेल सकिएपछि अहिलेसम्म घरेलु गतिविधि ठप्प छ । वैशाखमा सुदूरपश्चिम प्रदेशमा आयोजना गरिएको बीवाईसी महिला गोल्डकप यो वर्ष महिला फुटबलमा भएको एक मात्र प्रतियोगिता हो ।

4269516486392091674015502.jpg

तत्कालीन महिला लिगकी संयोजक पेमा लामाले क्लबहरूका केही समस्या भए पनि आफू लिग सम्पन्न गर्न लागिपरेको बताउँछिन् । “महिला लिग हुनुपर्छ भन्ने मेरो मान्यता हो । केही दिनअघि भएको बैठकमा पनि मैले लिग जसरी पनि हुनुपर्छ भन्ने धारणा राखेकी थिएँ । तर, मिटिङमा क्लबका प्रतिनिधिहरूले त्यस बेला टिममा रहेका केही खेलाडीको बिहे भइसकेको, कोही बाहिर गएको जस्ता समस्याहरू सुनाउनुभयो,” संयोजक लामा भन्छिन्, “लिग नहुँदा महिला फुटबलको विकास हुनै सक्दैन । त्यसैकारण बाँकी रहेका खेलहरू सकेसम्म चाँडो गर्नका लागि म सधैँ बलियो पहल गर्नेछु ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro