site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
प्रचण्डलाई यो गठबन्धन ‘कम्फर्टेबल’ छैन, राष्ट्रपति र सभामुख एमालेलाई दिनु भनेको ०७४ मै फर्किनु हो 
Sarbottam CementSarbottam Cement

माधवकुमार नेपाल नेकपा (एस)का अध्यक्ष हुन् । नेकपा एमालेबाट पार्टी विभाजन गरेर उनले आफ्नै नेतृत्त्वमा नेकपा एकीकृत समाजवादी बनाएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा उनको पार्टीले १० स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको ‘धोका’ का कारण एमाले नेतृत्वमा अर्को गठबन्धन बनेको अध्यक्ष नेपालको बुझाई छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर प्रचण्डले पनि आफूलाई धोका दिएको नेपालको गुनासो छ । गठबन्धन भत्किँदाको पृष्ठभूमि, नयाँ बनेको गठबन्धन, त्यसको भविष्य र आगामी राजनीतिबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाह्रखरीका प्रतीक प्रधान बलराम पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंश :

 
भोलि सभामुखको मनोनयन दर्ता छ यहाँहरुको पार्टीका तर्फबाट या पुरानो गठबन्धनबाट उमेदवारी रहन्छ कि रहँदैन ? कि सात दलीय गठबन्धनलाई नै समर्थन गर्ने हो ?

Global Ime bank

हामीले अहिलेसम्म आफूले उमेदवारी दिने सोचेका छैनौं । पुरानो गठबन्धनबाट दिने भन्ने पनि तयारी छैन । तर एमालेकै हातमा सबै पद जाने हो भने त्यसपछि नेपालको राजनीति घुमिफिरी २०७४ सालमा पुग्छ ।

फेरि राज्यसत्ताको चरम दुरुपयोगको सिलसिला सुरु हुन्छ । त्यसले धेरै संकट निम्त्याउनेछ । धेरै क्षेत्रमा असर पर्छ । निरंकुश प्रवृत्ति बढेर जान्छ । संविधानको अपव्याख्या सुरु हुन्छ । संविधान मिच्ने काम फेरि सुरु हुन्छ । सीमा नाघ्ने काम सुरु हुन्छ ।

राजनीतिलाई ठिक दिशामा लैजाने हो भने अझै व्यापक छलफलको जरुरी देख्छु ।

सभामुख र राष्ट्रपति कुन कुन पार्टीलाई दिँदा सहमतिको संस्कार बस्छ त्यसमा पनि ध्यान दिन जरुरी छ ।


सहमतिमा आयो भने सभामुख लिन तपाइँको पार्टी तयार हो ?

अहिलेसम्म सभामुखमा ध्यान दिएका छैनौं ।

अहिले तपाइँहरुको ध्यान के मा छ  ? सरकार, राष्ट्रपति, प्रतिपक्ष या नयाँ गठबन्धन बनाउनमा ?

हाम्रो ध्यान अहिले पार्टी निर्माणमै छ । विगतको चुनावको समीक्षा जरुरी छ । नेता कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने कामको अभियानमा जुटेका छौँ ।

अरु पार्टीहरुसँगको एकताको पनि तयारी हो ?

हो मिल्ने तयारी छ । तर हामीले चाहेरमात्रै हुँदैन । पहिले विचार मिल्नुपर्छ । त्यसपछि व्यवहार मिल्नुपर्छ, अनि मन मिल्नुपर्छ । तीनवटै कुरा मिल्यो भने एकता हुन्छ । 

 

उपेन्द्र यादवसँग पार्टी एकताको तयारी त गर्नुभएको हो नि !

पार्टी एकता होइन हामीले तीन चरणमा सोचेका छौँ ।

पहिलो हो– सहकार्य

सहकार्यको सम्भावना रहँदासम्म त्यतिमात्रै हुन्छ । त्योभन्दा अघि बढेर मोर्चा बनाउन सकिन्छ भने पनि मोर्चा बनाउने तयारी गरिन्छ । यो दोस्रो सम्भावना हो ।

तेस्रो सम्भावना भनेको एकता हो ।

उपेन्द्र यादव सहमत हुनुहुन्छ ?

उहाँसँग कुरा हुँदा सहमत हुनुहुन्छ । कुराकानी गरौँ र टुंगो लगाऔँ भन्नुभएको छ ।

तपाइँहरु चुनावअघि माओवादी केन्द्रसँगको एकताको कुरा गर्नुहुन्थ्यो तर चुनावपछि माओवादीलाई छाडेर जनता समाजवादी पार्टीलाई रोज्नुको पछि केही कारणहरु छन् ?


यसको एउटा कारण छ । उपेन्द्र यादवसँग अशोक राईलगायतका नेता हुनुहुन्छ । वाम इतिहास भएका नेता हुनुहुन्छ । उहाँहरुसँग पनि कुरा भएको छ । 

माओवादीसँग एउटै मोर्चामा हुँदा तीनवटै पार्टी मिलाउने कि भनेर कुरा भएको हो । तीन पार्टीको मोर्चा बनाउने प्रस्ताव पनि आएको थियो ।

त्यसलाई वाममोर्चा वा समाजवादी मोर्चा भने पनि हुन्छ । अहिले त्यो पार्टीले पनि वार्ता टोली बनाइसकेको छ । 

संवाद अघि बढेको छ । विचार, मोर्चा र एकतामा छलफल गरौँ भन्ने कुरा भएको छ । हामीले सुरु त्यहाँबाट गरे पनि धेरै वामपन्थी दलसँग वार्ता र संवाद गर्छौँ ।

तपाइँहरुको नजरमा एमाले अहिले वामपन्थी दल हो कि होइन ? वार्ता त्यहाँसम्म पुग्छ कि पुग्दैन ?

एमालेले मतलबै नराखेपछि र ढोका नै बन्द गरेपछि हामीले पनि ढोका खोल्नुपर्ने आवश्यकता पर्दैन । केपी ओलीको नीति हामीलाई आउट गर्नेछ ।

त्यो नीति रहँदासम्म एमालेसँग एकता हुँदैन । हामी एमालेसँग टाँसिनुपर्ने आवश्यकता छैन । त्यसको लागि मरिहत्ते गर्नुहुँदैन ।


तपाइँहरु पुरानै गठबन्धनको निरन्तरतामा हुनुहुन्छ भन्छन् नि हो ?

छैन, पुरानो गठबन्धन ब्युँतिने अवस्था छैन । अब घटनाक्रम कसरी अघि बढ्छ हेर्नुपर्छ ।

तपाइँहरुले सभामुखमा उमेदवारी नदिने भन्नुभएको छ अनि राष्ट्रपतिमा चाहिँ के हुन्छ ?

राजनीति कुन ढंगले अघि बढ्छ हेर्दैछौँ । हामीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दियौँ । उहाँले कोसँग के वाचा गर्नुभएको छ अहिले हामीलाई जानकारी भएन । उहाँले वाचा पूरा गर्ने काम गर्नुहोला । कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरेको छ । अनेक नाम पनि बाहिर आएको छ । 

तपाइँको नाम चर्चामा छ नि ! राष्ट्रपतिको उमेदवारी दिने तयारीमा हुनुहुन्छ ?

अहिले हामीले भर्खरै विद्रोह गरेर नयाँ पार्टी बनाएका छौँ । धेरै कार्यकर्ताहरु मप्रति आशावादी भएर पनि आउनुभएको छ । वैकल्पिक व्यवस्था के होला भन्ने चित्तबुझ्दो जवाफ दिनुपर्छ ।

म त्यो पदप्रति आशक्त छैन । हिरिक्क गरेको छैन । अहिले पार्टी बनाउने कुरामा मेरो जोड छ । 

तपाइँकै पार्टीमा रहेका सांसदहरु विभाजन गरेर एमालेसँग मिल्दैछन् भन्ने चर्चा पनि छ नि, तपाइँले सुन्नुभएको छ ?

हाम्रो पार्टी छाडेर जाने सम्भावना छैन । बरु आउनुभएको छ । घनश्याम भुसाल आउनुभयो । उहाँ हाम्रो पार्टीमा समाहित हुनुभएको छ । यो पार्टीप्रतिको आकर्षण हो । अरु पार्टीप्रति आकर्षण घटेको छ । त्यहाँ जुनसुकै बेला विस्फोट हुन सक्छ ।

पार्टीमा रहेका र निर्वाचित सांसदहरुलाई ह्विप लाग्छ । पार्टीको ह्विप उल्लंघन गरेर कोही गए कारवाही हुन्छ ।

पुस १० गते देउवाले प्रचण्डलाई धोका दिँदा सम्बन्ध टुट्यो । त्यसबीचमा प्रचण्डले तपाईँलाई धोका दिएको जस्तो लाग्छ कि लाग्दैन ?

अवश्य पनि । उहाँले धोका भन्नुस् बेवास्ता भन्नुस् अन्डरमाइन्ड भन्नुस् यो सबै भएको छ । तर मैले त्यसरी लिएको छैन ।
उहाँले मेरो कमजोरी भयो भनेर भनिसकेपछि मैले दोहोर्‍याइरहनुपर्दैन ।

उहाँको मनस्थिति हेर्दा पुरानो गठबन्धन कम्फर्टेबल थियो । अहिलेको गठबन्धनले उहाँलाई कम्फर्टेबल बनाएको छैन । उहाँले नै म धेरै सहज छु भन्ने लागेको छ भने त केही भएन । 

उहाँ जबर्जस्ती हास्नुभएको रहेछ भने पनि हामीले खुसी नै हुनुहुँदोरहेछ भन्नुपर्छ । उहाँ इच्छा नभए पनि हासेको जस्तो देखिन्छ ।

तपाइँले प्रचण्डलाई सहयोग नगरेको भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सहचालकबाट बाहिर निस्कन त सक्नुहुँदैनथ्यो नि है ? अहिले अब तपाइँसँग कुनै उपाय नभएर हो उहाँको समर्थन गरेको ?

राजनीतिमा धेरै कुरा पचाउन सक्नुपर्छ । पचाउनु पनि पर्छ । हामीले दिनदिनै कति पचायौँ (लामो हासो) । तर कहिलेकाहिँ विस्फोट पनि हुन्छ ।  सकेसम्म विस्फोट हुन दिनुहुँदैन ।

तर मलाई कहिले ‘इनफ इज इनफ’ भन्ने लाग्यो भने सीमा नाघ्ने अवस्थामा पनि पुग्छु । त्यसपछि कोही बाँकी रहँदैन । 

मेरो अर्को स्वभाव भनेको विद्रोही हो । कसैले सीमा नाघेर चल्यो भने मेरो विनम्रता तोडिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC