site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विमानस्थल, तारे होटलदेखि हाउजिङले चहलपहल बढाएको भैरहवा
Sarbottam CementSarbottam Cement

बुटवल । रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यस क्षेत्रमा आर्थिक चहलपहल बढ्न थालेको छ । व्यवसायको पर्खाइमा रहेका एवं पूराना व्यवसायीहरू उत्साहित देखिन्छन् । 

भैरहवा क्षेत्रको बजार व्यवस्थापन तथा होटलहरूको खुल्ने समयमा समेत परिवर्तनका प्रयासहरू भइरहेका छन् ।

विमानस्थलको प्रभावले नै यस क्षेत्रमा तारे होटलहरू निर्माणसँगै हाउजिङसम्बन्धी कामहरू धमाधम भइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनी प्रदेशको मुकामसमेत रहेको रुपन्देहीमा दुईवटा मुख्य कारण भएपनि स्थायी राजधानी दाङ जाने भएपछि विमानस्थल केन्द्रित व्यवसायहरूको निर्माण भइरहेको हो ।

विमानस्थल हुँदै यात्रा गर्ने यात्रुलाई लक्षित गरी पुस्तक, कपडा, होटल, रेस्टुराँ, मार्ट तथा अन्य व्यापारिक पसल सञ्चालन भइरहेका छन् । 

Global Ime bank

विमानस्थल निर्माण हुने भएपछि स्थानीयलाई जग्गाको मुआब्जा उपलब्ध गराएर स्थानान्तरण गरिएको थियो । अहिले उनीहरू एयरपोर्टभन्दा अगाडि मायादेवी कोलनीका बासिन्दा भएका छन् । ३५ देखि ४० घर रहेको कोलनीमा अहिले रौनक छाएको छ ।

विमानस्थल निर्माण सुरु भएपछि जग्गाको मूल्यमै परिवर्तन आएको छ । तर देशव्यापी मन्दीका कारण भने कारोबार नभएको व्यवसायी बताउँछन् । 

bbbb1673144927.JPG

भैरहवा–लुम्बिनी खण्डअन्तर्गत जग्गाको भाउ अहिले प्रतिधुर १०–१२ लाख रुपैयाँसम्म बढेको स्थानीय सुवास बीसीले बताए । 

२५ वर्षदेखि कोलनीमा बस्दै आएका उनले विमानस्थलले गर्दा बस्तीमा चहलपहल बढेको जानकारी दिए । 

काठमाडौंसहित अन्य स्थानमा बसोबास गर्नेले आफ्नो क्षेत्रका खाली जमिन खरिद गरेर धमाधम घर बनाएर भाडामा दिन थालेको उनको भनाइ छ ।

विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरिएपछि स्थानीयले राम्रो मुआब्जा पाएका थिए । यसरी मुआब्जा पाउनेमा एक हुन्, टुर्स एन्ड ट्राभल्स व्यवसायी सञ्जय बजिमय । उनले नेपा टुर्स एन्ड ट्राभल्स प्राली सञ्चालन गरिरहेका छन् । 

विमानस्थल सञ्चालनमा आउने विश्वासमा दुई करोड रुपैयाँमा कार्यालय व्यवस्थापन गरेको उनले बताए । 

“अब अन्तर्राष्ट्रिय स्तरमा जोडिने मौका छ,” उनले भने, “भारतबाट हुने टुर प्याकेजका कार्यक्रम अब विमानस्थलकै टुर्स एन्ड ट्राभल्सले गर्नेछ ।” 

airport1673144862.jpg

विमानस्थल सञ्चालन हुन थालेपछि दुई वर्षदेखि कोरोना महामारीले थलिएका व्यवसायी फस्टाउने उनको आशा छ ।

विमानस्थल नजिकै रहेको आफ्नो जग्गामा होटल र विमानस्थल कार्गोमा लगानी गर्ने तयारी भइरहेको उनले सुनाए ।

हाउजिङमा आकर्षण 

भैरहवा, तिलोत्तमा, बुटवल क्षेत्रमा तीव्र रूपमा सहरीकरण भइरहेको छ  । उद्योग, पर्यटन, कृषि एवं खाद्यान्नलगायत उद्योगमा लगानी आइरहेको छ । व्यावसायिक प्रतिष्ठानका कर्पोरेट कार्यालय रुपन्देहीका बुटवल र भैरहवामा केन्द्रित बनेका छन् । परम्परागत सहर साँघुरा भइरहेकोले नयाँ र खुला स्थानमा बसाइँ सर्नेहरू धेरै छन् ।

यस्तै परिवार लक्षित गरेर रुपन्देहीमा आधुनिक घर निर्माणमा हाउजिङ कम्पनी आकर्षित भएका हुन् । आरामदायी जीवनयापनका लागि आवश्यक सुविधा दृष्टिगत गरी कम्पनीले व्यावसायिक घर निर्माण गरिरहेका छन् । यस क्षेत्र तथा बाहिरी जिल्लाका बासिन्दाको आकर्षण हाउजिङ र कोलोनीमा बढेपछि विभिन्न कम्पनीले ठूलो लगानी गरिरहेका छन् । 

housing1673144927.JPG

यहाँस्थित अष्टदीप मल्टिनेसनल प्रालीले गत वर्षदेखि सुरु गरेको परियोजना तिलोत्तमा होम्सको आवास क्षेत्र अवलोकन तथा बुकिङका लागि खुला गरिएको छ । तिलोत्तमा–७ भलवारीमा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ बिघा क्षेत्रफलमा फैलिएको छ । 

यहाँ व्यवस्थित सहरीकरणको उद्देश्यसहित १०९ घर निर्माण गरिने परियोजनाअन्तर्गत ५५ घर बन्दै छन्, जसअन्तर्गत २० घरको ढलान र ३५ घरकोे जगको काम सकिएको कम्पनीका सेल्स एन्ड मार्केटिङ हेड सुदीप ढकालले बताए । 

निर्माणाधीन आवास क्षेत्र परिसरभित्र सबै घरपरिवारले उपयोग गर्न मिल्ने गरी अत्याधुनिक कमर्सियल कम्प्लेक्स, सामुदायिक भवन, ब्याडमिन्टन कभर्ड हल, बास्केटबल कोर्ट, स्विमिङ पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब, रेस्टुराँ, सैलुन, ब्युटिपार्लर, ग्रिनजोन रहने कम्पनीका अध्यक्ष नेत्र वनले बताए । यस्तै, परियोजना स्थलभित्र मूल बाटो २६ फुट र सहायक बाटा २४ फुटका रहनेछन् । परियोजनाको निर्माण कार्य सर्वश्रेष्ठ बिल्डर्सले गरिरहेको कम्पनीले जनाएको छ ।

यस परियोजनाअन्तर्गत बन्ने घर तथा अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्री सरकारले तोकेको मापदण्डअनुसार हुने र निर्माण कार्य पूर्णतः इन्जिनियरको सुपरिवेक्षणमा भइरहेको कम्पनीका सीईओ प्रकाश भण्डारीले बताए । परियोजना निर्माण स्थलको माटो परीक्षण गरी त्यसका आधारमा नक्सा डिजाइन गरिएको र घरहरू भूकम्प प्रतिरोधात्मक हुने प्रोजेक्ट म्यानेजर यदु बरालले जानकारी दिए । 

“परियोजना स्थलमा ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत् जस्ता पूर्वाधार विकासको काम कम्पनी आफैँले गरिरहेको छ,” उनले भने, “परियोजनाअन्तर्गत बन्ने घरहरूको निर्माण कार्य सकिएर सम्पूर्ण घर बिक्री भएपछि त्यहाँ रहने सार्वजनिक स्थान तथा पूर्वाधारको सञ्चालन र व्यवस्थापनको जिम्मा त्यहाँ रहने सोसाइटी आफैँले गर्नेछ ।” 

सरकारले निर्धारण गरेका मापदण्ड पालना गरी सम्पूर्ण सुविधा एकै ठाउँमा प्राप्त हुनेगरी सुरक्षित र स्मार्ट आवास क्षेत्र निर्माण गर्ने सरकारी नीतिअनुरूप निजी क्षेत्रबाट यो परियोजना कार्यान्वयन गर्न थालिएको आवास क्षेत्रमा दुई समूहमा घर विभाजन गरिएको प्रोजेक्ट इन्जिनियर वासुदेव नेपालले जानकारी दिए । 

समूह ‘ए’ का घरको सूचीकृत मूल्य दुई करोड ५० लाख र समूह ‘बी’ का घरको सूचीकृत मूल्य एक करोड ७५ लाख निर्धारण गरिएको कम्पनीका सेल्स एन्ड मार्केटिङ हेड सुदीप ढकालले बताए । मध्यम वर्गीय आर्थिक अवस्था भएकालाई लक्षित गरी सञ्चालन गरिएको परियोजनामा जग्गा र घरको क्षेत्रफलका आधारमा पहिलो समूहमा १५ धुर जग्गामा दुई हजार ९२० स्क्वायर फिटको घर निर्माण गरिनेछ । दोस्रो समूहमा १० धुर क्षेत्रफलमा दुई हजार १८१ स्क्वायर फिटका घर निर्माण गरिने कम्पनी प्रचेज डिपार्टमेन्ट प्रमुख षडानन्द पोखरेलको भनाइ छ । 

एन्ट्रास्पेस टेक्निकलद्वारा डीपीआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा घर लिन चाहनेहरूलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए । कम्पनीले यसका लागि सेन्चुरी कमर्सियल बैंकसँग सहकार्य गरेको छ । कर्मचारी र विदेशमा रहेका नागरिक परियोजनाका आवासप्रति विशेष आकर्षित रहेको वनको भनाइ छ । 

परियोजनामा नेत्र वन, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र उद्योगी विष्णुप्रसाद भुसालसमेतको लगानी छ । नेपाल सरकारको सहरी विकास मापदण्डअनुसार साढे दुई तलाका भूकम्परहित घर निर्माण गरिने वनले जानकारी दिए । तीन वर्षभित्रमा परियोजना सम्पन्न गर्नेगरी काम गरिरहेको कम्पनीले कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तीमा ९ महिनाभित्रमा उपलब्ध गराउने बताएको छ । 

यस्तै, रुपन्देहीको ओमसतिया–४ स्थित बोधी होल्डिङ प्रालीअन्तर्गत बोधी होम्स हाउजिङ परियोजनाले सुविधासम्पन्न आवास निर्माण गरिरहेको छ । उक्त परियोजनाअन्तर्गत पहिलो चरणमा विभिन्न किसिमका १०४ घर निर्माणाधीन अवस्थामा छन् । बोधी होम्समा दुई चरण गरी साढे चार अर्ब रुपैयाँ लगानी गरिँदैछ ।  होम्समा जलेश्वर पाण्डे, प्रमोद यादव, दीपक पाण्डे, रवीन्द्र कुँवर, छविलाल कुँवर र दीनबन्धु पोखरेलको लगानी छ । 

bodhi homes1673144864.jpg

रुपन्देहीको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र विकासको क्रम हेरेर हाउजिङको आवश्यकता महसुस गरी लगानी गरिएको परियोजनाका प्रबन्ध निर्देशक दीनबन्धु पोखरेलले बताए । 

एकीकृत बस्तीको अवधारणाअनुसार बोधी होम्सको सुरुवात गरिएको उनको भनाइ छ । 

यस प्रालीमा पोखरा, काठमाडौं, भैरहवा र एनआरएनएका लगानीकर्ता संलग्न छन् । परियोजनाले काठमाडौं र पोखराको झल्को दिनेगरी आवास निर्माण गरेको जनाएको छ ।

रुपन्देहीका स्थानीय र बसाइँ सरेर आएका ग्राहकलक्षित गरी आवास निर्माण गरिएको उनले बताए । 

“परियोजनाले डाक्टर, उद्योगी/व्यवसायी, वित्तीय क्षेत्रका कर्मचारी तथा विदेशमा बसोबास गरिरहेका व्यक्ति स्वदेश फर्किएर बस्न सकून् भनेर हाउजिङ लक्षित गरिएको छ,” उनले भने ।

bodhi31673144868.jpg

रुपन्देहीकै तिलोत्तमा–१६, मधवलिया चोकदेखि डेढ किलोमिटर पूर्वमा ४८ घरसहितको माया रेसिडेन्सी तयार भइरहेको छ । सीई कन्स्ट्रक्सन प्रालीअन्तर्गत माया डेभलपर्सले आवास, अपार्टमेन्ट र कम्प्लेक्स निर्माण गर्नेगरी हाउजिङ परियोजना अगाडि बढाएको उक्त कन्स्ट्रक्सनका बजार व्यवस्थापक दीपेन्द्र केसीले बताए । उनका अनुसार तीन बिघा जमिनमा पहिलो चरणमा ४८ घर निर्माण भइरहेका छन् । ती घरलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी छुट्याइएको उनले बताए । 

विजय राजभण्डारी अध्यक्ष रहेको उक्त प्रालीको परियोजनामा गोपाल मानन्धर अपरेसन निर्देशक छन् । श्याम मिलन श्रेष्ठ यसका वित्तीय निर्देशक हुन् । बजार व्यवस्थापक केसीले निर्माणाधीन आवासमध्ये २९ वटा बिक्री भइसकेको जानकारी दिए । 

हाउजिङको चहलपहलले पेसागत मानिसलाई सहजता प्रदान गर्ने बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल बताउँछन् ।

विदेशमा पेसा व्यवसाय गर्ने मानिस घर बनाएर बस्ने काममा व्यस्त हुनुहुँदैन भन्ने सोच रहेको भन्दै नेपालमा पनि यो ट्रेन्ड सुरु हुनु राम्रो भएको उनको भनाइ छ । 

“घर बनाउने समयमा उसले अन्य धेरै काम गर्न सक्छ,” उनले भने, “यो सुविधा पेसागत सबैका लागि उपयक्त हुन सक्छ ।” हाउजिङले ओगट्ने जमिन पनि खेर जानसक्ने भन्दै उनले फ्ल्याट सिस्टम गरे झनै सहज हुने बताए । 

हाउजिङ मानिसको चाहना भएको उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्ज्वल कसजूको भनाइ छ । मानिसको व्यस्तता, बढ्दो जनघनत्व र जग्गा अभावले हाउजिङमा बस्ने इच्छा जगाइरहेको महसुस गरेको उनको धारणा छ । “मानिस दुःख गरेर पैसा कमाउँछ, भनेजस्तो जमिन र बस्ती भेट्दैन,” उनले भने, “पैसा भएपछि शान्त र रमाइलो वातावरणमा बस्न कम्प्लेक्स क्षेत्र राम्रो रोजाइ बन्न सक्छ ।” बस्ती विकासका क्रममा खेर जाने खालको जमिनको उचित प्रयोग गर्न सकिने कसजूको भनाइ छ ।

धमाधम खुल्दै होटल

तराई क्षेत्रमा भैरहवाको आधुनिक सहरीकरण तीव्र रूपमा भइरहेको छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सुरू भएको छ । विमानस्थलको वरपर तारे होटल निर्माण भइरहेका छन् । 

संघीय राजधानीबाहिर भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँका सहरको विदेशसँग सिधा सम्पर्क कायम हुनेछ । यहाँको लुम्बिनीमा प्रत्येक वर्ष १७÷१८ लाख पाहुना आउँछन् । पछिल्लो समय संख्या बढ्दै गएको छ ।

तराईमा गर्मी हुँदा पहाडका ‘हिल स्टेसन’ चम्किन्छन् । यिनै सम्भावनाका कारण प्रदेशका सीमावर्ती जिल्लामा तारे होटल सञ्चालनको होड चलेको छ । पहाडमा रैथाने विशेषता समेटिएका रिसोर्टमा लगानी गर्ने बढेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी, आध्यात्मिक धाम, वन, नदी र हिमालको संगम स्थल छनोट गरेर आकर्षक होटल निर्माणको लहर चलेको छ । साबिकमा होटल तथा रिसोर्टले प्रदान गरेको सेवाभन्दा फरक सुविधा थपेर लगानी गर्ने बढेका छन् । 

बुद्धस्थल लुम्बिनीमा आउने पाहुनालाई लक्षित गरेर तारे होटल सञ्चालनको होडबाजी छ । यहाँ रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न बौद्ध धर्मावलम्बी मुलुकका पर्यटक ओइरिने विश्वासले लगानी बढेको व्यवसायी बताउँछन् । 

hotel1673144868.jpg

पछिल्ला वर्ष कोरोना भाइरस महामारीले उत्पादन र औद्योगिक लगानीका क्षेत्र प्रभावित भए । यही अवधिमा सेवामूलक होटल व्यवसायमा लगानी ओइरिरहेको थियो । नयाँ होटल खुलिरहेका थिए । पुरानाले भौतिक पूर्वाधार सुधार गरेर सेवा विस्तार र स्तरोन्नति गरेका थिए । 

बुद्ध जन्मस्थल लुम्बिनी र यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण रुपन्देहीका विभिन्न स्थानमा स्तरीय तारे होटल सञ्चालनमा आएका छन् । कोरोनाका कारण लगानीमा ढिलाइ गरिरहेका व्यवसायी अहिले होटल निर्माणमा अग्रसर देखिएका छन् । लुम्बिनी क्षेत्रको पहिलो पाँच तारे होटल टाइगर प्यालेस हो । व्यवसायी पवन हलुवाई पवन प्यालेस सञ्चालनमा ल्याएका छन् । यो पनि पाँच तारे होटल हो । 

अन्तर्राष्ट्रिय विमानस्थलको कारण अहिले विमानस्थदेखि भैरहवा तथा भैरहवादेखि बुटवलसम्म हरेक चोकमा स्तरिय होटल देख्न सकिन्छ । लुम्बिनीमै बुद्धमाया र कासाई पनि सञ्चालनमा छ। 

लुम्बिनी क्षेत्रमा होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् ।  भैरहवा परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटल सञ्चालनमा छ । बुटवल भैरहवा क्षेत्रमा मणिग्राममा ड्रिम ल्याण्ड एक दशकदेखि सफलता पूर्वक सञ्चालनमा छ । 

यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो होटल छ । 

रुपन्देहीमा दुई हजार बढी रहेको होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष भास्कर काफ्लेले बताए । यहाँ होटलका संरचना थप भइरहेको उनले जानकारी दिए । 

पर्यटन क्षेत्रमै पर्ने ट्राभल एन्ड टुरिजम सेन्टरले सञ्चालन गरिरहेको टुर अपरेट प्याकेजले होटल चलाउन थप सहयोग पुगेको छ । विदेशी हुन् या आन्तरिक पर्यटक, विभिन्न दररेटमा भ्रमण र होटल बसाइको प्याकेज मिलाएको ट्राभल एन्ड टुरिजम व्यवसायी सञ्जय बजिमयले बताए । 

विद्यार्थी पर्यटकलाई एक हजारदेखि अन्य पर्यटकको हकमा १५ हजारसम्मका प्याकेज राखिएको उनको भनाइ छ । प्याकेज सिस्टमले होटलमा, सरकारको आम्दानीमा र ट्राभल एन्ड टुरिजमजस्ता क्षेत्रमा सघाएको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC