
काठमाडौं । छैटौँपटक प्रधानमन्त्री बन्ने सपना बोकेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा छानिए । उनलाई शेखर कोइराला समूहका महामन्त्री गगन थापाले चुनौती त दिए तर ८९ मध्ये २५ सांसदको मात्र साथ पाए । उनकै समूहका भनिएका सांसदले नै उनलाई पत्याएनन् । पुस ६ मा भएको दलको चुनावमा ६४ मतसहित देउवा संसदीय दलको नेता निर्वाचित भए । भलै उनको प्रधानमन्त्री बन्ने सपना भने तत्काललाई सकिएको छ ।
कांग्रेसले सातमध्ये ६ प्रदेशमा संसदीय दलको नेता पाइसकेको छ । सुदूरपश्चिममा भने दाबेदारीको संख्या धेरै भएकाले सहमति जुट्न सकेको छैन ।
प्रदेश १ मा उद्धव थापा, मधेस प्रदेशमा कृष्ण यादव, वाग्मती प्रदेशमा बहादुरसिंह लामा, गण्डकीमा सुरेन्द्रराज पाण्डे, कर्णालीमा जीवनबहादुर शाही, लुम्बिनीमा डिल्लिराम चौधरी संसदीय दलको नेतामा चयन भएका छन् । उनीहरू सबै देउवा समूहका हुन् ।
शेखर समूहले दाबी नै गर्न सकेन !
कांग्रेसमा केन्द्र र चार प्रदेशमा चुनावबाट दलको नेता चयन छानियो । केन्द्रमा तामाझामसहित दलको नेतामा उमेदवारी दिएको शेखर समूहले भने चार प्रदेशमा उमेदवारी नै दिन सकेन । शेखर समूहबाट प्रदेश १ मा केदार कार्की र गण्डकीमा भोजराज अर्यालले संसदीय दलको नेताका लागि उमेदवारी दिए । अरू प्रदेशमा शेखर पक्षबाट संसदीय दलको नेतामा दाबी गर्ने नेता नै भएनन् । दलको नेता छान्न बाँकी रहेको सुदूरपश्चिममा देउवा पक्षकै पक्कड भएकाले शेखर पक्षको सम्भावना लगभग शून्य बराबर छ ।
प्रदेश १ समूहका नेता शेखर कोइरालाको गृह प्रदेश हो । प्रदेश १ मा शेखर समूहबाट केदार कार्कीले दलको नेतामा उमेदवारी दिएका थिए । उनी देउवा समूहका उद्धव थापासँग ९ मतले पराजित भए । २७ मध्ये थापाले १८ मत प्राए । संस्थापन समूहनिकट नेता तथा केन्द्रीय सदस्य अमृत अर्यालले दुई मत पाए ।
यता, महामन्त्री थापाको गृह प्रदेश वाग्मतीमा पनि शेखर समूहले उमेदवार उठाएन ।
गण्डकीमा भोजराज अर्याललाई शेखर समूहले दलको नेतामा लडाएको थियो । गण्डकीमा शेखर समूहसँग १३ सांसद भएको आकलन गरिएको थियो । तर, देउवा पक्षबाट उमेदवार बनेका नेता सुरेन्द्र पाण्डेले १८ मत ल्याएर दलको नेता चुनिए ।
लुम्बिनीमा शेखर समूहबाट दलको नेतामा वीरबहादुर राना र नीमा गिरी आकांक्षी थिए । तर, मनोनयको अन्तिम समयसम्म शेखर समूहबाट उमेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको छ ।
कर्णालीमा भने संस्थापन पक्षकै जीवनबहादुर शाही दोस्रो कार्यकालका लागि संसदीय दलको नेतामा सर्वसम्मत चयन भए ।
शेखर समूहले किन उमेदवारी दिन सकेन ?
शेखर समूहका नेता जगदिश्वरनरसिंह केसी १५ औँ महाधिवेशनलाई रणनीति बनाएर कदम चालिएको बताउँछन् । यसलाई नाफा घाटासँग तुलना गर्न नहुने उनको तर्क छ ।
“हामीले परिस्थिति हेरेर सबै प्रदेशमा उमेदवारी नदिएका हौँ । हामीसँग भएका सांसद छँदै छन्,” उनले बाह्रखरीसँग भने, “हामीले नाफा–घाटा लाग्यो भन्दा पनि समय परिस्थिति बुझेका हौँ । कसलाई सहयोग गर्दा पछि को हाम्रो पक्षमा लाग्न सक्छ भनेर हेरेको हो ।”
राजनीतिमा सबै ठाउँमा उमेदवारी दिँदा मात्र बलियो नहुने बताउँदै उनी कहिलेकाहीँ उमेदवारी नदिँदा पनि फाइदा नै हुने बताउँछन् । “हामीले भविष्य हेरेका हौँ । भोलि समूह बलियो बन्नुपर्छ भनेर संसदीय दलको नेतामा राजनीतिक खेल खेलेका हौँ,” उनले भने ।
प्रदेशमा संसदीय दलको चुनाव कसरी लड्ने भनेर शेखर समूहले लगातार केन्द्र र प्रदेशका नेताहरूसँग छलफल गरेको थियो । शेखर समूहका एक नेता आफू बलियो नभएको ठाउँमा इतर समूहलाई भिडाएर नयाँ राजनीतिक चाल चाल्न सफल भएको दाबी गर्छन् । तर, आफ्नो पक्षमा पर्याप्त सांसद नभएकाले पनि दलको नेतामा उमेदवारी दिन नसकिएको ती नेता स्वीकार्छन् । १४ सांसद भएको कर्णालीमा आफूहरूसँग चार जना सांसद मात्र भएकाले चुनाव लड्न नसकिएको ती नेता बताउँछन् ।
ती नेताको भनाइमा शेखर समूहले संस्थापन समूहभित्रै खेल्ने र उनीहरूलाई आफूतिर तान्ने कसरत गरिरहेको छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भने यसलाई विशुद्ध रणनीतिक चालको रूपमा स्वीकार गरिनुपर्ने तर्क गर्छन् ।
“सबैतिर उठाएको भए समूहको उपस्थिति बलियो देखिन्थ्यो । तर, हामीले त्यसो गर्न नसक्नु भनेको यहाँभित्र धेरै रणनीति छ र यो रणनीतिक मुभ हो भन्ने बुझ्न जरुरी छ,” उनले भने ।
अर्का एक नेता समूहले मधेस प्रदेशमा रामसरोज यादव, वाग्मीमा इन्द्रबहादुर बानियाँलाई सहयोग गरिएको तर्क गर्छन् । “हामीले मधेसमा रामसरोजजी र वाग्मतीमा इन्द्रलाई सहयोग गरेकै हो । तर, सबै साथीहरूले भोट हाल्नुभयो भन्ने ग्यारेन्टी चाहिँ छैन,” ती नेताले भने, “देउवा टिमबाट केही मान्छे यता ल्याउन सफल भएका छौँ ।”
कुन प्रदेशमा कसरी नेता छानिए ?
केन्द्रदेखि चुनाव हुन बाँकी सुदूरपश्चिबाहेक सबै प्रदेशमा देउवा समूहले संसदीय दलको चुनाव जितेको छ । कांग्रेस १ नम्बर प्रदेश संसदीय दलको नेतामा चुनिएमा उद्धव थापा कृष्ण सिटौला निकट हुन् । सिटौला केन्द्रमा देउवाकै टिममा छन् । यहाँ दलको नेतामा शेखर समूहबाट केदार कार्कीले चुनाव लडे । केन्द्रीय सदस्यसमेत रहेका अमृत अर्यालले पनि चुनाव लडे । अर्याल पनि देउवा निकट नेता हुन् । तर, सभापति देउवा अमृततिर भन्दा पनि थापातिर खुलेपछि अमृतले प्रस्तावक वा समर्थकमध्ये एकको मत नै पाउन सकेनन् । उनी दुई मतमा खुम्चिए ।
मधेस प्रदेशमा पनि संस्थापन पक्षकैबीच चुनाव भयो । चुनावबाट मधेस प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद यादव दलको नेता बने । उनले नेता विमलेन्द्र निधि निकट मानिने रामसरोज यादवलाई पराजित गरे । रामसरोज अघिल्लोपटक संसदीय दलको नेता थिए । उनलाई शेखर समूहले पनि सहयोग गरेको थियो । तर, चार मत अपुग हुँदा रामसरोज पराजित भए । निर्वाचित कृष्णले २२ मत पाउँदा रामसरोजले १८ मत पाए ।
वाग्मती प्रदेशमा पनि संस्थापन पक्षकै दुई उमेदवारले चुनाव लडे । अघिल्लोपटकका संसदीय दलका नेता इन्द्र बानिया र पार्टी केन्द्रीय सदस्य तथा अघिल्लोपटकका प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाले चुनाव लडेका थिए । तर, बहादुरले देउवाको साथ पाए । इन्द्रलाई शेखर समूहबाट केही मत नगएको हैन । तर, खुलेर सबैले मत हालेनन् । विगतमा देउवा विश्वासपात्र इन्द्र अहिले यो समूहबाट अलि टाढा छन् । उनी अहिले प्रकाशमान सिंह निकट मानिन्छन् । लामाले २१ मत पाएर निर्वाचित हुँदा बानियाँले १६ मत पाए ।
गण्डकी प्रदेशमा भने शेखर समूहले चुनाव लड्यो । तर, जित्न सकेन । स्याङ्जाका भोजराज अर्यालले शेखर समूहबाट चुनाव लडे । तर, चुनाव भने देउवा निकट गोरखाका सुरेन्द्र पाण्डेले जिते । पाण्डेले १८ मत ल्याउँदा अर्यालले आठ मत मात्र ल्याए । यहाँ कांग्रेसको २७ सांसद छन् ।
लुम्बिनीमा र कर्णालीमा सर्वसम्मत संसदीय दलको नेता चुन्ने काम भयो । लुम्बिनीमा संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल र अब्दुल रज्जाक भिड्ने चर्चा थियो । यता, शेखर समूहबाट वीरबहादुर राना र निमा गिरी आकांक्षी थिए । सबै पछि हटेपछि चौधरी सर्वसम्मत भए ।
यता, कर्णालीमा राजीवविक्रम शाही पछि हटेपछि जीवनबहादुर शाही दोस्रोपटक संसदीय दलको नेता बने ।
सुदूरपश्चिम प्रदेशमा भने सभापति शेरबहादुर देउवाको भतिज तथा आरजु राणाका विश्वासपात्र प्रकाश देउवालाई संसदीय दलको नेता बनाउने तयारी छ । यहाँ पनि शेखर समूहले उमेदवारी दिने तयारी गरेको छैन ।