site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमानस्थलको उद्घाटन गर्दा रथारोहण गरिएका शंकरराज को हुन् ?

पोखरा । पोखरामा आज 'रमाइला' दुई दृश्य देखिए– पहिलो, इतिहासकै धेरै ट्राफिक जाम । दोस्रो, सांसदहरू कुर्सी नपाएर सर्वसाधारणसँगै उभिएको ।

चीन सरकारको सहयोगमा बनेको पृथ्वी राजमार्ग आज निकै व्यस्त बन्यो । साढे दुई किलोमिटरभन्दा लामो जामका कारण सवारी आवागमन अस्तव्यस्त बन्यो । १० मिनेट दूरीको बाटो पार गर्न घण्टौँ लाग्यो ।

अर्को चाहिँ प्रतिनिधिसभा होस वा प्रदेशसभाका सांसदहरू । उनीहरू आफूसँगै उभिएको देखे । कुर्सी अपुग र पछि मगाइएका कुर्सीहरू जामका कारण समयमा पुग्न नसकेपछि सांसदहरूले पनि पोखरा विमानस्थलको उद्धाटन कार्यक्रम उभिएरै हेरे ।

यी सबको कारक थियो– चिनियाँ लगानीमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्धाटन ।

बिहान साढे ७ बजे पहिलो विमानबाट आउने यात्रु र चालकदललाई स्वागत गर्न भनेर नागरिक उड्डय प्राधिकरण (क्यान) तम्तयार थियो । तर, नयाँ विमानस्थलमा पहिलो दिन नै समयमा विमान आउन सकेन । झण्डै चार घण्टापछि मात्र विमान अवतरण भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विमानस्थलको औपचारिक उद्धाटन गरे । पोखरा विमानस्थलको उद्धाटनकै लागि भनेर पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । आम नागरिकहरूलाई विमानस्थल प्रवेश सहज थियो । सोही कारण नयाँ विमानस्थलको टर्मिनल भवन अगाडि हजारौँ मानिस उपस्थित भए । विमानस्थलको भव्य उद्धाटन भयो ।

उद्धाटन सत्रमा धेरैले ‘साढे चार दशकदेखिको सपना’ भनेर धेरैपटक दोहोर्‍याए ।

आखिर विमानस्थल बनाउन साढे चार दशक किन लाग्यो ? योसहित विमानस्थलसँग सम्बन्धित धेरै प्रश्नको जवाफ दिने एक व्यक्ति थिए– प्रा.डा. शंकरराज पाठक ।

उनै पाठक जसको पालामा पोखरा गुरुयोजना बन्यो । विमानस्थलको अवधारणा जन्मियो । औद्योगिक क्षेत्र खुल्यो र पोखरा आर्थिक गतिविधितर्फ उन्मुख बन्यो ।

औपचारिक उद्धाटन कार्यक्रमअघि पोखरा महानगरले उनलाई स्मरण गर्दै रथारोहणसमेत गरायो । मञ्चमा उनले ठाउँ पाएनन् । तर, विमानस्थलबारे चासो राख्ने सबैलाई थाहा छ । 

शंकरारज पाठकको दिमागमा त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भन्ने अवधारणा नआएको भए र राजा विरेन्द्रले 'ओके' नभनेको भए, विमानस्थल के हुन्थ्यो होला ? राजा विरेन्द्रले अमेरिकामा भिजिटिङ प्रोफेसर बनेका पाठकलाई त्यतिबेला अञ्चलाधीश नबनाएको भए के हुन्थ्यो होला ?

तर, उनी अञ्चलाधीश बने र पोखरा आए । आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाए । आर्थिक गतिविधिको केन्द्र बनाउन पोखरा गुरुयोजना बनाए । केही वर्षपछि राजालाई नै बिन्ती बिसाए– महाराज पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्‍यो ।

उमेरले ९० पुगेका उनै पाठक आइतबार बिहानै पोखरास्थित एक रेडियो कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा नै उनले त्यतिबेलाको जग्गा अधिग्रहणदेखि पोखरा विमानस्थलको अवधारणको बारेमा सुनाए ।

पोखरा आउनुपूर्वको व्यस्तताबारेमा पाठक भन्छन, “म अमेरिकाको क्यालिफोर्नियाको बर्क्ली युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर थिएँ । त्यहाँबाट फर्केपछि एकदिन विरेन्द्र सरकारले बोलाएर हुकुम भयो– ‘के पढाएको छौ ?’ मैले भने– इकोनोमिक डेभलपमेन्ट विथ स्पेसल रिफरेन्स इन नेपाल ।”

राजा विरेन्द्रले जवाथ थियो– ‘ए’ ।

बाँकी प्रश्न गरेनन ।

पछि एकदिन राजाले अचानक उनलाई प्रशासक हुन आग्रह गरे । त्यतिबेला अञ्चलाधीश भनेका राजाका नजिकका मान्छे नियुक्त हुन्थे । राजाको आग्रहलाई उनले नकार्न सकेनन र अञ्चलाधीश बनेर पोखरा आए ।

“डेभलपमेन्ट पढाएको भनेर होला एक्कासि प्रोफेसर भएर पढाएको मान्छेलाई प्रशासक भएर जाऊ है भन्नुभयो । पछि थाहा भयो, म यहाँको अञ्चलाधीश भएर आएँ,” उनले भने, “यहाँ आएँ । त्यसपछि के गर्ने भन्ने भयो । सुरुमा टाउन प्लानिङ भयो । पछि विस्तारै बाटो बनाएँ । उद्योगधन्दा चलाउन लगाएँ ।”

अञ्चलाधीश बनेर पोखरा आएको पाठकको मनमा विमानस्थलको सोच कसरी आयो त ? यसबारेमा उनी एक रोचक घटना सम्झिन्छन् ।

उनी २०२९ सालमा अञ्चलाधीश बनेर पोखरा आएका थिए । ३/४ दिनमा उनलाई भेट्न मित्रहरू आए । एकजनाले 'आज साह्रै आनन्द भयो' भनेर भने । पाठकले 'के भयो' भनेर सोधे ।

ती व्यक्तिले आफूकहाँ चारजना अमेरिकी पर्यटक सुत्न आएको र एउटा बेडको दुई डलरका दरले लिएको बताए । झन्डै ५० डलर आम्दानी भयो सुनाए ।

पाठकले सोधे– ‘केके खाए ?’

ती व्यक्तिले उनीहरू आफैँले खाना बोकेर आउने गरेको सुनाए । 

पाठकले सोचे– उनीहरूले खाना पनि यहीँको खानुपर्छ । 

त्यसपछि नै पोखरामा औद्योगिक क्षेत्र सुरु भएको हो । सुरुमा पाउरोटी फ्याक्ट्री, त्यसपछि आइसक्रिम, चकलेट पछि नुडल्स बनाउन लगाए । नुडल्स बनाउने मान्छेले पैसा कसले दिन्छ भनेर पाठकलाई सोधे । 

त्यतिबेला नेपालमा २/३ वटा अञ्चलमा उद्योगको निमित्त पैसा दिन भनेर नेपाल औद्योगिक कर्पोरेसन बनाइएको थियो । पाठक त्यसको अध्यक्ष थिए, पोखरामा अफिस पनि थियो ।

त्यहाँको निर्देशक केशवप्रसाद भन्ने थिए । उनलाई बोलाएर पाठकले ३२ हजार दिन भने । सिमलचौरमा गण्डकी नुडल्स खुल्यो, अहिलेको रारा त्यसकै निरन्तरता हो । 

विदेशीले खाने खानेकुरा उत्पादन भएपछि विदेशी पनि बढाउनुपर्छ भन्ने सोच आयो र त्यसपछि नै विमानस्थलको अवधारणा आएको हो ।

त्यतिबेला काठमाडौंमा मात्रै विमानस्थल थियो । पर्यटक त्यहाँबाट बल्ल पोखरा आउँथे । 

“यहाँ पनि अन्तर्राष्ट्रिय विमानस्थल खोल्यो भने यही पर्यटक आउँछन् भन्ने धारणा आउन थाल्यो । मैले विरेन्द्र सरकारलाई बिन्ती गरेँ– सरकार यहाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउनुपर्छ,” पाठकले भने ।

पाठकले सबै कुरा विस्तृतमा बताएपछि राजाले त्यतिबेलाका यातायातमन्त्री प्रयागराज सुवाललाई भेट्न भने । उनै सुवालले नै त्यतिबेला विमानस्थल निर्माणका लागि लगानीकर्ताको सहजीकरण गरिदिएका थिए । 

विमानस्थल बनाउने भनिसकेपछि पाठकले इन्जिनियरहरूलाई जग्गा देखाए । उनीहरूले जग्गा अधिग्रहण गर्नुपर्ने बताए ।

पाठकको दौडधुप फेरि सुरु भयो ।

“अधिग्रहण भनेर बिहान ८ बजे जान्थेँ, ११ बजे फर्किन्थेँ,” उनी सम्झिन्छन् ।

त्यतिबेला अधिग्रहणको नाममा जग्गा लिँदा पैसा कम आउने भनेर स्थानीय सशंकित थिए । उनीहरूलाई आश्वासन दिन पाठकले मालपोतका कर्मचारीलाई पनि सँगै लगेर सोधे– यहाँ हिजोआजको भाउ के छ ?

मालपोतका कर्मचारीले जवाफ दिएपछि उनले स्थानीयहरूलाई भने– चलेको पैसाभन्दा एक पैसा कम दिन्न, चलेकै भाउ पाउनुहुन्छ ।

"नेपालमा अधिग्रहण भन्नेबित्तिकै चलेको पैसाभन्दा कम हुन्छ भन्ने छ । मैले उहाँहरूलाई विश्वास दिलाउन मालपोतको मान्छे पनि लगेर कुरा गराएँ । हिजोअस्तिको भाउ कसरी चलेको छ भनेर सोधेँ, उहाँले स्थानीयहरूले माने र विमानस्थलको जग्गा अधिग्रहण २०३२ सालमा भयो ।"

तर, विमानस्थलको निर्माण प्रक्रिया भने अगाडि बढ्न सकेन ।

किन ?

पाठक भन्छन्, “पछि यहाँ एयरपोर्टबाट आउने मान्छेहरू कम भए । बस, नाइट बसबाट आउन थाले । त्यसले गर्दा जुन चाहिँ संस्थाले पैसा दिन्छु भनेको हो, उसले एकवर्षको तथ्यांक हेर्‍यो । मान्छेहरू बसबाट आउन थालेपछि पछिल्लो वर्ष विमानमा आउने मान्छे कम भए । मान्छे कम भएपछि उसले (लगानीमा इच्छुक) ले हुँदैन भनेर त्यतिबेला रोकियो ।”

उनै पाठकले अधिग्रहण गरेको जग्गामा मानिसहरू शरीर तन्काउँथे । गाइवस्तु चराउँथे । आज त्यो ठाउँ नेपालकै एक अत्याधुनिक र सुविधायुक्त विमानस्थल बनेको छ । ४७ वर्ष अगाडिको त्यो सपना साकार हुँदा उनी खुसी छन् । 

“मलाई अहिले खुसी लागेको छ । कमसेकम त्यो बेलामा सुरु गरेको कुरा अहिले यो रूपमा आएको देख्दा मनमा के लागेको छ भने यसले पोखरालाई अवश्य सहयोग गर्छ,” उनले भने ।

विकास अर्थशास्त्रका विज्ञ पाठकले भने, “अर्थशास्त्रमा ‘पुस एन्ड पुल’ भन्ने थ्योरी छ । विकास नभएको ठाउँमा धकेल्ने हो । अहिले ‘पुस’ चाहिँ सकिसक्यो अहिले ‘पुल’ भइरहेको छ ।”

पोखराको अबको विकास राजनीतिक रूपमा पनि निर्भर रहने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro