site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
देउवाले राजीनामा दिनुपर्छ कि विशेष महाधिवेशन हुनुपर्छ
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी भएर पनि प्रतिपक्षमा पुगेपछि नेतृत्वको औचित्यमाथि प्रश्न उठाउँदै आलोचना सुरु भएको छ । यसको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने आवाज चर्को छ । देउवाको राजीनामादेखि विशेष महाधिवेशनसम्मका बहसले व्यापकता पाएको छ । यसै सन्दर्भमा कांग्रेसका युवा नेता गुरुराज घिमिरे, देउवाको प्रतिरक्षामा उभिएका सहमहामन्त्री किशोरसिंह राठौर र नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने, त्यसो नभए विशेष महाधिवेशनमा जानुपर्ने बहस गरिरहेका युवा नेता नैनसिंह महरसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेतृत्व परिवर्तन नभए अर्को निर्वाचन लड्ने हैसियत रहँदैन
गुरुराज घिमिरे

नेता/नेपाली कांग्रेस

पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनलाई हाँक्न असफल हुनुभयो नि, होइन ?
मूलतः अहिले घटेको राजनीतिक घटनालाई कसरी लिने ? यो कस्तो घटना हो ? यसको दूरगामी प्रभाव कस्तो पर्छ ? नेपालको राजनीतिमा यसको बहुआयामिक प्रभाव कस्तो हुने हो ? यसभित्रको अभीष्ट के हो भन्ने कुराको अन्तर्यमा जानुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गठबन्धन हाँक्न सक्ने, परिस्थितिलाई चलाउन सक्ने, प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्ने यी सबै विशेषज्ञको उपाधि उहाँले पाउनुभयो । तर, के देखियो भने अनुकूलतालाई प्रतिकूलतामा बदलिदिनुभयो ।

उहाँलाई त वैकल्पिक गठबन्धनको सूचना नै नभएजस्तो देखियो नि ? 
सूचनाको केन्द्र बालुवाटार, सूचनाको केन्द्र कार्यकारी प्रमुखको अफिस होस् वा निवास नै हुन्छ । तर, प्रचण्डले समानान्तर रूपबाट वार्ता चलाइरहेका थिए, केही दिनअघिबाट । र, उनको अभीष्ट एकचोटिलाई दुई वर्ष प्रधानमन्त्री हुने थियो । यदि, यो बाटो हामीले दिएको भए, मार्गप्रशस्त गरिदिएको भए गठबन्धनमा रहेका सबै दलको दावा गर्ने अधिकार हुन्थ्यो ।

Global Ime bank

वास्तवमा त्यो पनि थियो एउटा पाटो । हामीले यी कुरामा पनि अनौपचारिक छलफल गरेका थियौँ । तर, कुरा कस्तो भयो भने, सत्तामा आफैँ बस्नुपर्ने मनोविज्ञानबाट निर्देशित भयो । पर्दा पछाडिबाट त्यसमा कान भर्ने काम भयो । कसले काम गर्‍यो, त्यो नाम नलिऊँ । उहाँले सहयोग लिएका मान्छेले पनि गरे र राम्रो विकल्प हुँदाहुँदै पनि बाहिर चर्चा गरे । प्रधानमन्त्री र पार्टी सभापतिको अगाडि समयमै बोल्न सकेनन् । यो अवस्थामा वर्तमानमा घटनाक्रमलाई डोर्‍याएर लग्यो । यसमा प्रचण्डले धोका दिएको भन्दा पनि हामीले सुझबुझ नपुर्‍याएको ज्यादा हो ।

अब के हुन्छ ? 
अब के हुने भो भने, कम्युनिस्ट पार्टीहरूको एकीकरणको सम्भावना हुने भयो । माधव नेपालजीको पनि केही दिनपछि मिलन हुने सम्भावना मैले देख्छु । तीनवटा कम्युनिस्ट पार्टी मिलेपछि सबैभन्दा ठूलो पार्टी हुने भयो, संसद्को । कांग्रेसले राष्ट्रपतिदेखि १४ सयवटा पद गुमायो । प्रधानमन्त्रीको पद प्रचण्डले पाउँदा पनि गठबन्धनले पाएको हुन्थ्यो । दलहरूले भागबन्डामा लिने विभिन्न सरकारी पदहरू गुमाएको अवस्था छ ।

तत्काल हेर्दा यसले देशभरिका कार्यकर्तामा निराशा छाएको छ । यो १०/१५ वर्ष क्षतिपूर्ति हुँदैन । अर्को निर्वाचनलाई पनि चुनौती थपियो । बलियो कम्युनिस्ट पार्टीसँग चुनाव लड्नुपर्ने एउटा चुनौती भयो । दोस्रो चुनौती राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । ६ महिनाअघि उदय भएको पार्टी अहिले उपप्रधान र गृहमन्त्री पाएको छ । सो पार्टीले सञ्जाल विस्तार गर्नुपर्नेछ । दुई–चारवटा राम्रा काम गर्‍यो भने २० सिटको पार्टी जनमत थपिदिनुस् न, प्रधानमन्त्री भएर देशलाई ठिक ठाउँमा ल्याउँछु भन्न सक्ने भयो । त्यो नारा त ऊसँग सुरक्षित नै छ । अथवा, यो गठबन्धनले राम्रो काम गर्न दिएन भनेर राजीनामा दिएर फेरि अर्को जनमतलाई आकर्षित गर्ने त्यो सुविधा पनि ऊसँग छ । 

यो परिस्थितिबाट जोगाउने बाटो पनि त होला ? 
धेरै क्षति हामीले व्यहोर्नुपर्‍यो । अहिले हामीले हाम्रा साथीहरू, पदाधिकारीहरूलाई भन्दै आएको कुरा के हो भने, अब तपाईं पार्टी अगाडि बढाउनुहोस् भनेर उहाँ (सभापति)ले मार्गप्रशस्त गर्नुपर्छ । त्यसका निम्ति परिस्थिति निर्माण गर्ने काम केन्द्रीय समितिका नेताहरूले गर्नुपर्छ ।

यदि, त्यो सम्भव छैन उहाँहरूले परिस्थिति बनाउन पनि सक्नु हुन्न, नैतिकता बोध गरेर मार्गप्रशस्त पनि गर्नु हुन्न भने विधानको बाटो जाऊँ । विशेष महाधिवेशन बोलाऔँ । विशेष महाधिवेशनका लागि अविश्वासको प्रस्ताव ल्याउने । यो लाइनमा पार्टी गयो भने पार्टीलाई पुनर्जीवन दिन सकिन्छ । नेतृत्व परिवर्तन प्रस्थानविन्दु हुनसक्छ ।

होइन, हामीले महाधिवेशन पर्ख्यौँ, अर्को चुनावमा कम्युनिस्टहरूमा विस्तारै तिक्तता बढ्छ, सरकार राम्रो चल्दैन, कार्यसम्पादन राम्रो हुँदैन, दलभित्र अन्तरकलह सत्ताको कारणले बढ्छ, त्यसपछि हामी राम्रो गर्छौँ भनेर पर्खने हो भने सर्वनाशलाई पर्खिएको ठहर्छ ।

देउवा आफैँले पार्टी सशक्त बनाउन सक्छौँ भनेर लैजान सक्ने सम्भावना देख्नु हुन्न ?
पार्टी ‘रिर्फम’को आवश्यकता छ । क्रियाशील सदस्यदेखि केन्द्रीय समितिसम्मका सबै संरचनाहरू हामीले एकपटक पुनर्विचार गर्नुपर्छ । एकप्रकारको क्रान्ति पार्टीभित्रै आवश्यक छ ।

त्यो क्रान्ति भनेको के हो भने, नम्बर एकमा नेतृत्व परिवर्तन । दोस्रो, हाम्रा संरचनामा सुधार गर्ने हो । हाम्रो केन्द्रदेखि वडा तहसम्मका कार्यालयको अवस्था हेर्ने हो भने पुरातनवादी छ । त्यहाँका स्टाफहरू, पार्टीका पदाधिकारीहरू नभेटिने प्रवृत्ति छ । पार्टी सभापतिलाई भेट्नु भनेको महादेवलाई भेट्नुजस्तै छ, अति दुर्लभ ।

विधानको पालना छैन । समग्रमा कुनै पनि काम भएको छैन । विभागहरू पनि खै ? पदाधिकारी मनोनीत गरेको खै ? भ्रातृसंस्थाका केन्द्रीय समितिहरू खै ? भ्रातृसंस्थाको गतिविधि र काम कारबाही खै ? विश्वविद्यालयमा नेविसंघ खै ? आज सबै ठाउँमा भ्रातृसंस्थाविहीनता, सबै युनिटमा अस्तव्यस्त छ । पार्टी एकप्रकारले थला परेको छ । त्यसलाई पुनर्जीवन दिन आवश्यक छ । त्यसका निम्ति विधानको पालना, पदाधिकारीको सक्रियता आवश्यक छ ।

देउवाको औचित्यमाथि मात्र कि कार्यसमितिका अरू पदाधिकारीमाथि पनि प्रश्न हो ?
अहिलेको घटनाले गठबन्धन किन बनाइयो र किन भत्कियो ? त्यसको जस सभापतिले नै लिनुपर्छ । किनकि, उहाँले नै यसको नेतृत्व गर्नुभएको हो । बैठकबाट उहाँले नै पास गराउनुभएको हो । उहाँकै चाहनाअनुसार गठबन्धन जरुरी छैन भन्ने पक्षले पनि उहाँलाईं समर्थन गरेको थियो ।

अर्को पाटो, पदाधिकारीको हकमा यसमा भिन्न विचार समूहबाट निर्वाचित भएका पदाधिकारीहरूले गठबन्धनमा चासो  राख्नुपर्थ्यो । भत्किँदै गएपछि बालुवाटार गएर सभापतिलाई भेटेर खबरदारी गरेर, ‘पाउनु हुन्न तपाईंले गठबन्धन भत्काउन’ भनेर जुन दबाब दिन सक्नुपर्थ्यो । तर, उहाँहरू चुक्नुभयो ।

त्यत्रो मत ल्याएर जितेको महामन्त्री र सहमहामन्त्री हुनुहुन्छ । यसमा उहाँहरू पनि चुक्नुभएको छ । यसमा उहाँहरूले जिम्मेवारी लिनैपर्छ । 

पदाधिकारी सच्चिन आवश्यक ठान्नुभएको हो ?
पदाधिकारी चुकेको सन्दर्भमा सच्याउने समय छ । एक वर्ष खेर गए पनि निर्णयको कार्यान्वयमा सुधार गर्न सक्नुहुन्छ । तीन वर्ष बाँकी छ । एक वर्ष उहाँहरूको विशिष्ट श्रेणी होइन कि उत्तीर्ण अंक समेत आएन । यसलाई सच्याउने र गुमेको साख फर्काउने उहाँहरूसँग समय छ । सभापतिको हकमा उहाँले कांग्रेसको साख फर्काउन सम्भव छैन ।

मध्यावधि चुनाव घोषणा भयो र चुनावमा जानुपर्‍यो भने कांग्रेसको भविष्य कस्तो देख्नुहुन्छ ?
सभापतिको राजीनामा आएन, विशेष अधिवेशन पनि भएन भने आगामी निर्वाचनमा कांग्रेस प्रतिस्पर्धा गर्न लायक रहँदैन । त्यतिखेरसम्म मानिसले अनेक विकल्प खोजिसकेका हुन्छन् । कतिपय मानिसले पार्टी छोड्लान् । कतिपयले नयाँ पार्टी बनाउलान् । विकल्प त अनेक छन् । यथास्थितिमै कांग्रेस रह्यो भने म स्पष्ट भन्छु– नेपाली कांग्रेस आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न योग्य रहँदैन । भएको जनमत पनि गुमाउनेछ ।

त्यो परिस्थितिमा तपाईं कांग्रेसमै रहनुहुन्छ कि विकल्प सोच्नुहुन्छ ? 
दुइटा विकल्प छन् । एउटा, नयाँ सोचका साथ अघि बढ्ने, अर्को निष्क्रिय हुने । यसअघि नै एकताका निष्क्रिय होऊँ कि भन्ने मन पनि बनाइसकेको थिएँ । तर, साथीको दबाबले म फर्किएँ, भनौँ सक्रियता कायम राखेँ । निरन्तर सक्रिए भएँ । यदि, त्यो बेला पुनर्संरचना पनि हुँदैन र केही पनि हुँदैन भने सक्रिय हुनुको अर्थै रहन्न । वैकल्पिक पार्टी बनाउने वा अर्को पार्टीमा जानेबारे मैले कुनै सोच बनाएको छैन ।

०००

विशेष महाधिवेशनको आवश्यकता र औचित्य छैन 
किशोरसिंह राठौर 
सहमहामन्त्री/नेपाली कांग्रेस

गठबन्धन जोगाउने मुद्दा लिएर १४औँ महाधिवेशन र पार्टी सभापति जित्नुभएका शेरबहादुर देउवाको अबको भूमिका कस्तो होला ?
शेरबहादुर देउवा १४औँ महाधिवेशनबाट गठबन्धनका लागि सभापति हुनुभएको होइन । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले नेपाली कांग्रेसको सभापति चुनेका हुन् । नचाहिने कुरा गर्ने होइन । कसले भन्यो गठबन्धनका लागि सभापति भएको भनेर ? त्योसँग डिवेट गर्न म तयार छु ।

१४औँ महाधिवेशनको उद्घाटनका क्रममा ‘म सभापति भइनँ भने गठबन्धन टुट्छ, फेरि ओली शासन आउँछ’ भनेको होइन र उहाँले ?
त्यो त अब शेरबहादुर दाइले दुःख परेको बेला प्रचण्ड र माधव नेपाललाई बचाउनुभयो । अहिले प्रचण्डले धोका दिए । त्यही न हो कुरा ।

अहिले विशेष महाधिवेशनको चर्चा हुँदै छ, त्यो सम्भावना छ ?
विशेष महाधिवेशनको कुरा मिडियामा बोल्ने कुरा होइन । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको कुरा उठेको छैन । केन्द्रीय समितिको बैठक (पुस) २२ गते हुँदै छ । केन्द्रीय समितिको बैठकमा यो विषय कसरी उठ्छ, महासमितिको बैठकमा कसरी उठ्छ, त्यो कुराले मात्र विशेष महाधिवेशनमा जाने वा नजाने भन्ने कुरा निर्धारण गर्छ । कसैले मिडियामा बोलेका आधारमा विशेष महाधिवेशन हुँदैन ।

अहिलेको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य देखिन्छ कि देखिँदैन ?
म एक शब्दमा भन्छु– विशेष महाधिवेशनको औचित्य छैन ।

सभापतिसँगै पदाधिकारीको मूल्यांकन गर्दा ‘पास मार्क’ आउने अवस्था छैन भनिँदै छ । सबै पदाधिकारीसहित कार्यसमिति नै फेर्ने गरी महाधिवेशनमा जानु आवश्यक पर्दैन ?
एउटा कुरा के हो भने, कांग्रेसलाई गति दिने कुरामा हिजोको भन्दा १२औँ महाधिवेशन, १३औँ महाधिवेशन वा त्योभन्दा अघिका, पहिलाका महाधिवेशनबाट आएको नेतृत्वभन्दा अहिले आएको नेतृत्व अगाडि छ । यही कारण हामी स्थानीय निर्वाचनमा पनि लार्जेस्ट पार्टी भयौँ । संघ र प्रदेशको निर्वाचनमा पनि लार्जेस्ट पार्टी भयौँ ।

१२औँ महाधिवेशनको नेतृत्वसँग तुलना गर्नुभयो । त्यस बेला कांग्रेस राम्रो बहुमतमा थियो । दोस्रो पार्टीभन्दा २१ सिट बढी थियो । समानुपातिकमा पनि अगाडि थियो । अहिलेकै नेतृत्व सबल लाग्छ तपाइलाईं ?
०७० मा पनि लार्जेस्ट पार्टी भएको हो । आज पनि भएको छ । संविधान निर्माणको नेतृत्व १२औँ महाधिवेशनबाट आएको नेतृत्वले गर्‍यो । कार्यान्वयनको नेतृत्व वर्तमान नेतृत्वले गरेको हो । यो कुरा तपाईंहरूले बिर्सनुभएको हो ?

केपी शर्मा ओली र प्रचण्डले संविधानलाई हिजो पनि बन्धक बनाए । आज पनि बन्धक बनाउने बाटोमा लिएर गइराखेका छन् । हिजो पाँच वर्ष खेर गयो । भोलिको पाँच वर्ष पनि खेर जान्छ कि भन्ने चिन्ता हामीलाई छ ।

त्यसो भए फेरि संविधान बन्धक हुँदै छ ?
हिजो प्रचण्ड र केपी ओलीको झगडा किन भयो र अहिलेको मिलन के कारण भयो ? त्यसको जस्टिफिकेसन त दिनुपर्‍यो नि त ।

कांग्रेस ‘लार्जेस्ट’ पार्टी भएर पनि प्रतिपक्षमा बस्नुपर्ने र जनताले दिएको ‘म्यान्डेट’को पालना गर्न नसकेको जिम्मा कसले लिने ?
सबैले लिनुपर्‍यो नि । पार्टी सामूहिक नेतृत्वबाट चलिरहेको छ । त्यसकारण पार्टीको सभापतिदेखि पदाधिकारी र कार्यसमिति सबैले यसको जिम्मेवारी लिनुपर्छ ।

त्यसो हुँदा अहिलेको परिस्थितिले दिएको परिणाम सुध्रन्छ ? कार्यकर्तामा उत्साह आउँछ ?
हाम्रो गल्ती त कहाँ भएको हो भने, हिजो केपी ओलीले मध्यावधि (निर्वाचन) गर्न खोज्दा प्रचण्ड र माधव नेपालको उद्धार गर्न छोडेर त्यही चुनावमा जानुपर्थ्यो । हिजो निर्वाचनमा जान सकेको भए परिणाम राम्रो आउँथ्यो र अहिलेको हविगत हुने थिएन । हिजो हामीले माधव नेपाल र प्रचण्ड धरापमा परेका बेला उद्धार गरेर उनीहरूमाथि नै विश्वास गरेका कारण यो परिस्थिति सिर्जना भएको हो ।

०००

नेतृत्व र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिन नसके विशेष महाधिवेशन 
नैनसिंह महर
केन्द्रीय सदस्य/नेपाली कांग्रेस

ठूलो पार्टी नै प्रतिपक्षमा बस्नुपर्ने अहिलेको परिस्थिति कसरी आयो ?
दुईवटा कुरा छन्, यसमा । एउटा त माओवादी पार्टी र यसका अध्यक्षको अस्थिर चरित्रको पुनरावृत्ति भयो । दोस्रो, परिस्थितिलाई ठिकसँग आकलन गर्न नसक्नु नेपाली कांग्रेसको कमजोरी रह्यो ।

गठबन्धन गरेर हामीले यति लामो यात्रा तय गरिसके पछाडि जनताका सामुन्ने पनि उभिनुपर्छ भन्ने कुरा बिर्सिएको त नभनौँ, पछिल्लो समय विकास भएका घटनाक्रमको आकलन नगरेर कार्यसम्पादन समितिको पुरानो निर्णय र पदाधिकारीको पुरानो निर्णयमा अडिनु सभापतिको पनि कमजोरी भयो ।

नयाँ खेलको आकलन गर्दै नयाँ निर्णय पनि लिनुपर्ने अवस्था जो थियो, त्यसको मूल्यांकन गरेर नयाँ निर्णय गर्न नसकेर पुरानै निर्णयमा अडान लिँदा हामी यहाँ पुगेका हौँ ।

यसमा कमजोरी कसको ? सभापति, पदाधिकारी कसले जिम्मा लिने ?
यसमा पदाधिकारीहरूले एकीकृत रूपमा काम गर्न सक्नुपर्थ्यो । त्यसरी काम हुन सकेको देखिएन । पार्टीको संयन्त्रले जुन स्केलमा सरकार निर्माणमा भूमिका निर्वाह गर्न सक्नुपर्थ्यो, त्यसो हुन सकेन । केही साथीहरूको भनाइ सभापतिले बोलाएनन् भन्ने छ । सभापतिजीसँग नजिक भएर काम गर्नेहरूको भनाइ उहाँहरू आउनु भएन भन्ने छ ।

जे भए पनि पार्टीको संस्थाभित्र पदाधिकारीको जिम्मा लिएका हरेक व्यक्ति ‘एक्जुकेटिभ पावर’ भएको हुनाले संस्थालाई शिरमा राखेर जुन किसिमको गतिविधि हुनुपर्थ्यो, त्यो भएन । यसमा पार्टी सभापति र पदाधिकारी र कार्यसम्पादन समितिले गल्ती गरेको देखिन्छ ।

त्यसको स्पष्टीकरण २२ गतेको केन्द्रीय समितिमा उहाँहरूले दिनुपर्छ । किनभने, पार्टी जीवनमा यति ठूलो दुर्घटना ल्याउने त उहाँहरू हो नि ! केन्द्रीय समितिलाई छल्ने प्रयास भयो । संघमा ७४ सिट र प्रदेशमा १६३ सिट अरूलाई दिइयो । ९१ मा मात्र लड्ने निर्णय गरियो । हामी केही साथीहरूले गठबन्धनमा जानु हुँदैन भन्दाभन्दै गठबन्धनबाट लड्ने निर्णय लिइयो । गठबन्धनमा गएर पनि रिजल्ट राम्रो आएन । किनभने, गठबन्धनको बहुमत समेत पुग्न सकेन । गठबन्धन गरेर बहुमत पुर्‍याउन नसकेपछि समीक्ष हुनुपर्ने, त्यो पनि भएन ।

उल्टै केन्द्रीय कार्यासम्पादन र पदाधिकारी बैठकका नाममा सरकारको नेतृत्व आफैँ गर्ने निर्णय भयो । जुन निर्णय काट्नका लागि केन्द्रीय समितिको बैठक नै भएन । त्योभन्दा बीचमा संसदीय बोर्ड गठन नै भएन ।

किन भएन ? विधानबमोजिम किन चल्न सकेन कांग्रेस ?
सबै अवैधानिक ढंगले निर्णय भएका छन् । कार्यसम्पादन समितिका निर्णय केन्द्रीय समितिले निर्णय गरेपछि अनुमोदन हुन्छ । तर, लामो समयदेखि केन्द्रीय समितिलाई छलिएको छ । कार्यसम्पादन समितिले अवैधानिक निर्णय गर्दै गयो । त्यो अवैधानिक निर्णयलाई छोप्नका निम्ति पदाधिकारीहरू कार्यसम्पादन समितिका बैठक र निर्णय प्रक्रियामा चुपचाप सामेल भएका छन् ।

यो गैरजिम्मेवारीको जिम्मा कसले लिने ?
जस र अपजसको पहिलो जिम्मा सभापतिकै हुन्छ । यसमा दुईमत छैन । तर, पदाधिकारी र केन्द्रीय कार्यसमितिका पदाधिकारीले अवैधानिक काममा सहकार्य गर्नुभएको छ । यसको समीक्षा हुन्छ । उहाँहरूले यसको प्रस्टीकरण दिन सक्नुपर्छ । र, चित्तबुझ्दो गरी पनि दिन सक्नुपर्छ ।

उहाँहरूले चित्तबुझ्दो जवाफ दिन सक्नु भएन भने के हुन्छ ?
हाम्रो पहिलो प्रयत्न उहाँहरूबाट जिम्मेवार स्पष्टीकरण लिने र सच्याउने नै हुन्छ । फेरि पनि जिम्मेवार नभएमा अलग कुरा हो । अहिले हाम्रो पार्टी जीवनमा धेरै ठूलो घाटा भएको छ ।

साथीहरूको राजनीतिक रूपमा शिर निहुरिएको छ । जनतालाई दिने जवाफ नपाएर स्थानीय नेता–कार्यकर्ता साथीहरू अप्ठेरोमा हुनुहुन्छ । अहिले नै विशेष महाधिवेशन भन्दा हाम्रो बचेकुचेको शक्ति पनि क्षयीकरण हुन्छ कि भन्ने चिन्ता छ । अहिले पार्टीलाई सशक्तिकरणमा लैजानुपर्ने समय हो ।

पाँच वर्षपछि एक्लै लडेर कांग्रेसलाई बहुमत दिलाउन आजैदेखि काम गर्नुपर्ने आवश्यकता छ । सभापति र पदाधिकारीलाई यसको रियलाइजेसन गराउँदै कुनै न कुनै किसिमको पनि कमिटमेन्ट भने हुनुपर्छ भन्ने हो ।

तपाईंलाई अझै विश्वास लाग्छ यही टिमले पार्टीलाई सशक्त बनाउँछ, जनतामा आकर्षण सिर्जना गर्न सक्छ र एक्लै लडेर पहिलो पार्टी बनाउन सक्छ ?
अहिले गल्ती भएको छ, नेतृत्वबाट । नेतृत्वमा सभापति मात्र होइन, पदाधिकारीहरू पनि पर्नुहुन्छ । उहाँहरूबाट गल्ती किन भयो र अब दोहोरिँदैन, यसको निराकरण कसरी हुन्छ र त्यसको ग्यारेन्टी के छ भनेर आधार खोज्छौँ । केन्द्रीय समितिमा उहाँहरूले दिने स्पष्टीकरणका आधारमा राम्रो गरेको भए उहाँहरूलाई अवार्ड गर्ने गरी प्रशंसा हुन्थ्यो होला, तर गल्ती–कमजोरी देखिएका छन् । यसकारण उहाँहरूलाई कुनै न कुनै प्रकारको रियलाइजेसनसम्म पुर्‍याउने काम केन्द्रीय समितिबाट हुन्छ ।

आ–आफ्ना सबल पक्ष मात्र राखेर जिम्मेवारी लिन तयार हुनु भएन भने ?
गुटगत र व्यक्तिगत आरोप–प्रत्यारोप हामीले देखेकै छौँ । तर, निर्णय प्रक्रियामा नभएकाहरूबाट हेर्दा फस्टमेनको जिम्मेवारी बढी भई नै हाल्छ । सँगै केन्द्रीय समितिलाई बाइपास गरेर निर्णय प्रक्रियामा सामेल भए उनीहरू पनि चोखा छैनन् । यसबारेमा समीक्षा हुन्छ । उहाँहरू सच्चिनु भएन भने अर्को विकल्प भनेको विशेष महाधिवेशन हुनसक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC