site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनको विरोध गर्नेले ‘खप्की’ खान्थ्यो कांग्रेसमा ! कहाँ चुक्यो नेतृत्व ?

काठमाडौं । वैशाख ३० को स्थानीय तह निर्वाचनअघि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्यो । 

केही दिन बसेर चैत १५ मा सम्पन्न भएको बैठकको निर्णय नम्बर ६ मा चुनावी गठबन्धन गर्ने निर्णय गरियो ।

उक्त बैठकमा नेताहरू गठबन्धनको पक्ष विपक्षमा उभिएका थिए । संस्थापन पक्षका नेताहरूनै गठबन्धनको पक्षमा उभिएका थिएनन् । 

प्रदेश सभापतिहरू पनि गठबन्धन गर्न नहुने पक्षमा थिए । सभापति शेरबहादुर देउवा निकट सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पनि गठबन्धन गर्न नहुने पक्षमा थिए । 

उनले बैठकमा आफ्नो असहमति राख्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धन गर्दै जाने हो भने भारतीय दल ‘कांग्रेस आइ’ को हालतमा कांग्रेस पुग्ने धारणा राखेका थिए । जवाफमा सभापति देउवाले उनीलगायत नेताहरूलाई थर्काएका थिए । 

“चुनाव लड्ने कुरा आएपछि पार्टीभित्रै अन्तर्घात हुन्छ । पार्टीको अन्तर्घात रोक्न पनि गठबन्धन चाहिएको छ,” देउवाले बैठकमा भनेका थिए ।

पुनले उक्त बैठक सम्झदै बाह्रखरीसँग भने–“अन्तर्घात गठबन्धन गरेर रोक्छु भन्दै उहाँले हामीलाई थर्काउनुभएको थियो । तर, मैले जे कुरा राखे आज स्थिति त्यस्तै बन्ने अवस्थामा पुगेको छ । अन्तिममा आएर माओवादी एमालेसँग मिलेर सरकार बनायो, हामीले के पायौं ?”

उनी आफूहरूलाई थर्काइ थर्काइ पार्टी सभापतिले विचार र सिद्धान्त नमिल्नेसँग अप्राकृतिक गठबन्धन गर्दा संगठन ध्वस्त भएको बताउँछन् । 

स्थानीय तहको निर्वाचनमा केन्द्रबाट गठबन्धन लादेर आफू र पार्टीका तल्ला संयन्त्र कमजोर बनाउँदा चुनावी परिणाम पनि अपेक्षाकृत नआएको तर्क उनको छ । 

सभापति पुन त्यसको असर दुबै तहको निर्वाचनमा परेको र अहिले ८ वटै सरकारबाट कांग्रेस बाहिर बस्नुपरेको विडम्वना पोख्छन् । 

“हामीले गठबन्धन नगर्न भन्यौं । गरिसकेपछि पनि मोडालिटी भएन भन्यौँ । तर, सभापति भने आफ्नैलाई पाखा लगाएर कम्युनिष्टहरूलाई काखी च्याप्न लाग्नुभयो,” उनको दुखेसो छ, “चुनाव मैले पनि हार्नुपर्यो । केन्द्रको निर्णय नमानेर आफ्नै नीतिमा चुनाव लडेको भए म जित्ने थिएँ । साँच्चै हामीले भनेजस्तै चुनावी तालमेल भएको हुन्थ्यो भने अहिले कांग्रेस सय सिट माथिको पार्टी हुन्थ्यो । त्यसलाई उहाँले आवश्यक्ता नै ठान्नुभएन ।”

सो बैठकमा गठबन्धनको औचित्य पुष्टि गर्न सभपाति देउवाको ‘किचन क्याबिनेट’ लागिपरेको थियो ।  डाटा प्रस्तुत गरेर कांग्रेसलाई गठबन्धनका कारण बहुमत आउने भनिएको थियो । 

तर, त्यो निर्वाचनका परिणामहरूले पुष्टि नगरेको दुखेसो सभापति देउवा निकट नेताहरूनै गर्छन् । 

उक्त बैठकमा देउवा निकट केन्द्रीय सदस्यहरू पनि गठबन्धन गर्न नहुने पक्षमा उभिएका थिए । नेविसंघका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य गुरू बरालले गठबन्धनको विपक्षमा मत राखेका थिए । 

‘विचार सिद्धान्त नमिल्ने दलहरूसँग मिलेर चुनाव लड्नु हुँदैन । यो गठबन्धन कति दिन टिक्छ र ? कोमामा राखेको बिरामी जस्तै हो गठबन्धन भेन्टिलेटर निकालिसक्दा मृत हुन्छ । हामी एक्लै लड्ने संगठन बनाउँछौं । गठबन्धन नगरि चुनावमा जाऔँ हामी सफल हुन्छौं’ बरालले बैठकमा भनेका थिए । 

बरालको बोली नसकिँदै आक्रोशमा आएका सभापति देउवाले एक्लै चुनाव लडेर जितेर देखाउन चुनौती दिएका थिए । 

देउवाको आक्रोश सम्झँदै गुरूले बाह्रखरीसँग भने “गठबन्धन नगरे एक्लै लडेर देखाए भयो नि ! जितेर देखाए भयो नि !’ उहाँले मलाई यसरी चुनौती नै दिनुभएको थियो ।” 

प्रतिनिधि सभा निर्वाचनमा तीन क्षेत्र भएको कास्कीबाट गुरूले टिकट पाएनन् ।

भागबण्डा गर्दा कांग्रेसको भागमा १ नम्बर क्षेत्र परेको थियो । नातामा काका पर्ने जिल्ला सभापति किशोरदत्त बरालले टिकट पाए र, चुनाव पनि हारे ।

गुरु भन्छन्, “अहिले साच्चै कोमाबाटै बनेको गठबन्धनको मृत्यु भयो । मैले यही दिनको डरले उक्त बैठकमा कुरा राखेको थिएँ । जे डर थियो थियो त्यही भयो । कम्युनिष्टहरू मिले कांग्रेस सक्काए ।”

नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको चतुर खेल देउवाले बुझ्न नसकेको स्वर अहिले गठबन्धनभित्र छ ।

यस्तै धेरै भाग खोज्दा र भुइँको टिप्न खोज्दा गोजीको पनि सबै पोखिएको स्वयम् निकट नेताहरू बताउँछन् ।

निकटहरूको जालमा फसेका देउवा !

१५ वर्ष जान्छ भन्दै गरिएको गठबन्धन २ वर्ष नपुग्दै भत्किएपछि अहिले कांग्रेसभित्र ‘आक्रोशको आगो’ दन्किएको छ ।

पूर्व केन्द्रीय सदस्य तथा शेखर समूहका नेता गुरूराज घिमिरे सभापति देउवाले तुरून्तै सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने जिकिर गर्छन् । गठबन्धन नगरौँ भन्दा गर्ने र जोगाउनुपर्ने समयमा जोगाउन नसक्नु देउवाको चरम असफलता घिमिरेले ठानेका छन् । 

“सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ?” घिमिरेले भने । 

गठबन्धनकै कारण समानुपातिकतर्फ कांग्रेसको सात प्रतिशत मत घटेको उनको आरोप छ । 

प्रत्यक्षतर्फ सिट बढेको देखिए पनि संगठनमा अपूरणीय क्षति भएको केन्द्रीय सदस्य नैनसिंह महरको जिकिर गर्छन् ।

९१ सिटमा मात्र लडेर कांग्रेसले धेरै जिल्लामा संगठन ध्वस्त बनाएको ठहर महरको छ ।

“पदाधिकारीहरू पनि स्पष्ट गठबन्धनको विपक्षमा उभिएनन् । मैले र साथीहरूले गठबन्धनको निर्णयमा नोट अफ डिसेन्ट लेखेर निस्कनुपर्थ्यो त्यो हामीले पनि सकेनौं । यहाँ गल्ती हाम्रो पनि छ,” केन्द्रीय सदस्य बरालले भने, “गठबन्धन नभए अन्तिम पटक सांसद बन्न पाउँदिन र सबै सकिन्छ भन्ने रामचन्द्र दाई, विमल दाई, पूर्ण दाई, प्रकाशमान दाई , प्रकाशरण दाई, बालकृष्ण दाई, ज्ञानेन्द्र दाई अनि भाउजूहरू आज कांग्रेसलाई यो स्थितिमा पुर्याउन सबैभन्दा बढी दोषी हुनुहुन्छ ।”

गठबन्धनबाटै प्रधानमन्त्री भएका देउवा गठबन्धनबाटै संकटमा !

०७८ मंसिर अन्तिममा देउवा कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

उनी त्यसअघिनै प्रधानमन्त्री बन्न सफल भएका थिए । बिना एजेन्डामा बहस, बिनाविधानमा छलफल मात्र महाधिवेशन गराउँदै देउवाले सभापति जितेका थिए । 

उनीसँगै केन्द्रीय समितिमा करिब ८० प्रतिशत उनीनिकट विजयी भएका छन् । अर्थात् संस्थापन पक्ष कांग्रेसमा बलियो छ ।

बहुमतको भरमा अहिले कांग्रेसभित्र निर्णय हुने गरेको छ । अन्तरपार्टी संवाद र रणनीतिक महत्वका विषयहरूमा समेत कांग्रेस पदाधिकारीहरू निरीह हुने गरेका छन् । 

उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतमात्र निर्णयमा हावी गरेका छन् । यस्तै, रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीको हर्ताकर्ता पार्टीमा चल्ने गरेको छ । केन्द्रीय समितिको राय र कार्यसम्पादनका निर्णयहरू कमै लागू हुने गरेको गुनासो निकट नेताहरूकै छ ।

“निर्वाचित महामन्त्रीहरू, सँगै प्रतिस्पर्धा गरेका नेता तथा केन्द्रीय समितिको कुरा नसुन्ने । आफ्ना पुराना र नयाँ सहकर्मीहरू र किचेन क्याबिनेटको कुरा सुनेर सभापतिज्यूले गल्ती गर्नुभयो,” नेता गुरुराज घिमिरे भन्छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर पनि केन्द्रीय समितिलाई बाइपास गरेर भएका सबै निर्णहरूले कांग्रेसको सत्ता मात्र गएको नभइ संगठन कमजोर भएको जिकिर गर्छन् । उनी पार्टीमा यसको जिम्मेवारी कार्यसम्पादनका नेता, पदाधिकारीमात्र नभइ सभापतिको वरिपरिका झुण्डले समेत दिनुपर्ने तर्क गर्छन् । 

“सरकार गठबन्धनको बनाउने भन्दै निर्णय कार्यसम्पादन समितिबाट गर्ने अनि त्यो निर्णय केन्द्रीय समितिबाट पास नगराउने । टिकट वितरण गर्दा संसदीय बोर्ड नबनाउने । बाँडिएको टिकट अनुमोदन गर्न केन्द्रीय समिति बैठक नबस्ने । अनि अहिले परिणाम आएको विषयमा अरूलाई आक्षेप लगाउने,” महरले बाह्रखरीसँग भने, “कांग्रेसकै नेतृत्वमा सरकार बनाउँछु भन्दै कार्यसम्पादन र पदाधिकारी बैठकबाट निर्णय गर्दा केन्द्रीय समितिलाई सोधिएन । सांसदहरूको भेला केन्द्रीय समिति किन बोलाइएन ?”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro