site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलोपटक संसद् छिरेका सांसदहरूको प्राथमिकतामा के ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले बिहीबार सांसदको रूपमा शपथ लिएका छन् । मंसिर ४ को निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरूले ज्येष्ठ सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का समानुपातिक सांसद पशुपति शमशेर जबराबाट शपथ ग्रहण गरेकाका हुन् । 

शपथ ग्रहणका लागि सांसदहरू औपचारिक पोसाकमा सजिएर बिहान ११ बजे नै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगिसकेका थिए । एकाधबाहेक अधिकांश पुरुष सांसदहरू राष्ट्रिय पोसाक र महिला सांसदहरू सारीमा सजिएका थिए । कतिपय सांसदले जातीय तथा भौगोलिक पहिचान बोकेका पहिरन पनि लगाएका थिए । करिब दुई दर्जन सांसदले आफ्नो मातृभाषामा शपथ लिए ।

शपथ ग्रहणमा पुगेका अधिकांश सांसदहरूलाई मिडियाले घेरेका थिए । उनीहरूको संसद् यात्रा र सरकार गठनका विषयमा चासो मिडियाको थियो । बाह्रखरीले पनि संसद्मा पहिलोपटक प्रवेश गरेका सांसदहरूको अनुभव र संसद्यात्राबारे जिज्ञासा राखेको थियो । 

विश्वप्रकाशको राजनीतिमा 'नयाँ जन्म'
तेस्रो प्रयासमा संसद् छिरेका कांग्रेस महामन्त्री विश्वप्रकाश दौरा सुरुवालमा शपथ खान पुगेका थिए । झापा क्षेत्र नम्बर १ बाट निर्वाचित उनले शपथ ग्रहणपछि राजनीतिमा आफ्नो नयाँ जन्म भएको प्रतिक्रिया दिए ।

Bishwaprakash1671719966.jpg

“म पहिलोपटक सांसदको रूपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरू भएका छन्,” उनले भने, “जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रूपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमान्दारीतापूर्वक कार्य गर्नुपर्छ ।”

अब आगामी दिनमा संसद्मा जनसरोकारका विषहरूमाथि गम्भीर बहस गर्ने उनको योजना छ ।

रविको प्राथामिकतामा सरकार !
करिब पाँच महिना अगाडि पार्टी गठन गरेर राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी रवि लामिछाने सांसदको हैसियतमा बिहीबार पहिलो पटक संसद् भवन प्रवेश गरे । उनलाई सञ्चारकर्मीहरूले सरकार गठनको विषयबारे प्रश्न गरेका थिए ।

जवाफ रविले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल भइरहेको बताए । आफ्नो पार्टी प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतमा रहेकाले पनि संविधानसम्मत ढंगले अघि बढ्ने उनले बताए । उनले संसद्लाई अनिर्णयको बन्दी बन्न नदिने प्रतिबद्धता व्यक्त गरे । 

Rabi1671720020.jpg

“आम नागरिकले विश्वास गरेको जनमतको कदर नगर्ने भन्ने कुरै भएन,” लामिछानेले भने, “हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन । तर, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रूपमा हामीले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौँ ।”

प्रदीप भन्छन्– समस्या उठान मात्र गर्ने छुट छैन  
काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदीप पौडेल पनि पहिलोपटक सांसदको हैसियतमा संसद प्रवेश गरेका हुन् । पहिलोपटक सांसदको रूपमा शपथ लिएपछि बाह्रखरीसँग कुरा गर्दै उनले अहिलेको संसदीय अभ्यास सही र सन्तुष्ट बन्ने पक्षबाट नगएको बताए । अब आफूले समस्या उठाउने मात्र नभएर समाधान पनि दिनुपर्ने उनी बताउँछन् । 

Pradeep1671719962.jpg

“संसद्ले प्रभावकारी ढंगबाट जनचाहना र जनआवश्यक्ता पूरा गर्न सक्नुपर्छ । सरकारलाई त्यसप्रति जवादेही बनाउन सांसदको भूमिका खेल्नुपर्छ,” उनले भने, “यहाँ आएपछि मैले समस्या उठान मात्र हैन अब समाधानको उपाय पनि दिनसक्नुपर्छ । यो लोगो लगाएपछि थप जिम्मेवारी हुने स्वाभाविक हो । हामीले जे कुरा प्रतिबद्धता सार्वजनिक गरेका छौँ, ती विषयहरूमा हामी गम्भीर हुन जरुरी छु । हिजो कुरा गरेर जनताको विश्वास त जितियो, अब नागरिकहरूले विश्वास गरेर यहाँ पठाउनुभएको छ । अब वाचा पूरा गर्न प्रतिबद्ध हुनपर्छ । म त्यसमा सजग छु ।”

न्यायका लागि आवाज उठाउँछु : रञ्जिता श्रेष्ठ 
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पहिलोपटक संसद् भवन सांसदको रूपमा प्रवेश गरेकी हुन् । उनी कैलाली–१ बाट निर्वाचित भएकी हुन् ।

श्रेष्ठ पूर्व सांसद तथा कारागारमा रहेका रेशम चौधरीको श्रीमती हुन् । शपथ लिएपछि बाह्रखरीसँग कुरा गर्दै श्रेष्ठले राजनीतिक मुद्दामा जेलमा रहेका आफ्ना नेताहरूको रिहाइ आफ्नो अहिलेको एकमात्र एजेन्डा भएको बताइन् ।

आफू आठ वर्ष अघि भएको राजनीतिक घटनामा निर्दोष तर जेलमा रहेका बन्दीहरूको रिहाइ हुनुपर्ने एजेन्डा बोकेर संसद् छिरेको उनको भनाइ छ ।

Ranjita1671719962.jpg

शपथ ग्रहणमा उनी थारू पोसाकमा सजिएकी थिइन् । उनले सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्न पाउँदा आफूलाई गर्व लागेको समेत बताइन् । 

“सडकमा मात्र बोलेर हुने रहेनछ । सही ठाउँमा आवाज बुलन्द होस् भनेर जनताले हामीलाई यो ठाउँमा पुर्‍याइदिनुभएको हो,” उनले भनिन्, “बाहिर बोलिएका कुरा सुनेर पनि मनन हुँदैन कार्यान्वयन हुँदैन । यो ठाउँमा प्रक्रियासँगत बोलिएको आवाजहरू सुनिनुपर्छ । यो ठाउँबाट निर्दोषहरूको न्यायका लागि आवाज बुलन्द पार्नेछौँ । यहाँ हामीले बोलेका कुराहरू सबैले सुन्नै पर्छ न्याय दिनैपर्छ ।”

उनले अहिले सरकार आफ्नो पहिलो प्राथमिकता नभएको पनि बताइन् ।

भुइँमा हराएको एजेन्डा उठाउँछु : माधव सापकोटा
नेकपा (माओवादी केन्द्र) बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चुनाव जितेका नेता माधव सापकोटा पूर्व सभामुख अग्नि सापकोटाका भतिज हुन् । अग्निले आफूले टिकट छाडेर माधवलाई टिकट दिएका थिए । 

उनले आफू अहिले संसदीय अभ्यास र अन्तर्राष्ट्रिय संसदीय अभ्याहरू अध्ययन गरिरहेको भन्दै थोरैमात्र प्रतिक्रिया दिने सुरुमै बताए । आफू जनसरोकार र भुइँमा हराएमा एजेन्डा स्थापित गर्न सधैँ लागिपर्ने उनको भनाइ छ ।

Swatantra MPS1671720020.jpg

“पहिलोपटक सांसद भएर फरक जिम्मेवारी सम्हालेर संसद् भवन छिरेको हुँ । जनसरोकारको विषयहरू सदनमा सशक्त रूपमा उठाउन सक्छु भन्ने आत्मविश्वास बढेको छ,” उनले भने, “सुशासनका लागि नीति निर्माणका लागि विशेष म भूमिका खेल्छु । भुइँमा र जमिनमा हराइरहेको स–साना विषय हुन्छन् । ती विषयहरू संसद्को बहस र एजेन्डा बनाउँछु । ती हराएका विषयहरू उठाएर राष्ट्रिय राजनीतिमा स्थापित गर्छु ।”

मुस्लिम छोरीहरू सम्झेर नीति निर्माणमा खरो उत्रने जुबेदाको चाहना
जुबेदा खातुन मुस्लिम महिलाबाट समानुपातिक सांसद हुन् । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी खातुन पहिलोपटक सांसद बनेकी हुन् । पार्टीको १४ औँ महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य बनेकी खातुन पहिलो प्रयासमै सांसद बनिन् ।  

खातुनको मुस्लिम समुदाय र त्यसमा पनि विशेषगरी महिला सशक्तीकरणका लागि आवाज बुलन्द पार्ने चाहना छ । खातुन आफ्नो समुदायलाई राज्यले पछाडि पारेको दुखेसो गर्छिन् । मुस्लिम समुदायका महिलाको अवस्था दयनीय भएकाले उनीहरूको नैसर्गिक अधिकारको रक्षा तथा क्षमता विकासका लागि नीतिगत सुधार गर्ने योजना उनको छ । 

“म मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छु । यो समुदाय एकदम पछाडि परेको छ । महिलाहरू झन पछि परेका छन् । उनीहरू नेतृत्व विकासका लागि पहिलो र शिक्षाका लागि लडाइँ हुनेछ,” उनले भनिन्, “एजेन्डा धेरै छन्, बहस गर्नुपर्ने विषय धेरै छ । आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्यसँग मात्र होइन आर्थिक सामाजिक र राजनीतिक अधिकार पनि उनीहरूको सुनिश्चित गर्नुछ । उहाँहरूको प्रतिनिधित्व गराउन र प्रत्येक निकायमा मुस्लिम समुदायको सहभागिता बढाउन नीति बनाउने भूमिका मेरो रहनेछ ।” 

सोविताको संकल्प– युवाको आशा मर्न नदिने
कानुनी पृष्ठभूमि भएकी युवा सांसद सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेकी हुन् । २७ वर्षीय गौतम काठमाडौं–२ बाट निर्वाचित भएकी हुन् ।

शपथग्रहणपछि बाह्रखरीसँगको संवादमा गौतमले सांसदको लोगो लगाएपछि आफ्नो जिम्मेवारीको भार बढेको तर्क उनको छ । साथै उनले आफूमा युवा पुस्ताको अथाह भरोसा रहेको भन्दै यसलाई बचाउनु अहिलेको चुनौती रहेको बताइन् ।

“मतदाताहरूले युवामा आशा भरोसा देखाएर संसद्मा पठाउनुभएको हो । लोगो लगाएर यहाँ आउँदा त्यहाँ त्यो आशा भरोसा र विश्वासलाई मैले पूरा गर्नुपर्छ भनेर थप जिम्मेवार बनाएको छ,” उनले भनिन्, “जे पायो त्यही कुरा जहाँ पायो त्यही बोल्न मिल्दैन भन्ने सचेत बन्नुपर्ने अवस्था आएको छ । संसद् र राजनीतिमा देखिएको फोटोलाई हामीजस्ता युवा पुस्ताले सिउँने काम गर्न सकु र सबैलाई एकै ठाउँमा ल्याउन सकूँ भन्ने महसुस भइरहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro