site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेक्युरिटी प्रिन्टिङ प्रेसको बहुउद्देश्यीय भवन अन्तिम चरणमा
फाइल तस्बिर ।

काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)को आवश्यकीय भौतिक निर्माणको काम भइरहेको छ । काभ्रेको पनौती नगरपालिका वडा नम्बर–५ स्थित धनेश्वर केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेको छ । केन्द्रको मुख्य भवनको अग्रभाग पनि पुनः सजावट  थालिएको छ ।

बहुउद्देश्यीय भवनको २०७८ चैत १५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिलान्यास गरेका थिए । ५० मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भन्डारण गर्न सकिने जनाइएको छ ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलका अनुसार यस भवनमा कच्चापदार्थ र उत्पादित सुरक्षित मुद्रण भन्डारण गर्दा ‘पेपर स्रिन्क’ हुनबाट बच्ने र मसी सुकेर जाने समस्या रहने छैन । उक्त बहुउद्देश्यीय भवन भूकम्पप्रतिरोधी, आगोबाट असर नगर्ने ‘स्टिल ट्रस सिस्टम’ गुणस्तरमा निर्माण हुनेछ । साथै, भवनमा सुरक्षित मुद्रणको उपकरण जडान गर्न समेत सकिने जनाइएको छ ।

Argakhachi Cement Island Ad

एक वर्षअघि इराकबाट ल्याइएका दुईथान मेसिनबाट नमुनाका रूपमा मात्र अन्तःशुल्क स्टिकर छापिएको थियो । हाल केन्द्रको मुख्य भवनमा आवश्यकीय थप तीन मेसिन जडानकार्य भइरहेको छ ।

गत वर्ष पुसमा अर्थमन्त्री जनार्दन शर्माले उक्त केन्द्रको अनुगमन गर्दै केन्द्रमै मन्त्रालयलाई आवश्यक पर्ने अन्तःशुल्क स्टिकर छापेर उपलब्ध गराउन निर्देशन दिएका थिए । तत्कालीन समयमा उनले मन्त्रालयलाई वार्षिक तीन अर्ब अन्तःशुल्क स्टिकर आवश्यक पर्ने भएकाले मेसिन थप गर्न समेत आग्रह गरेका थिए । उनले केन्द्रमा अन्यले चोरी गरी नक्कली बनाउन नसक्ने गरी छपाइ गर्न समेत आग्रह गरेका थिए ।

केन्द्रले भने मागबमोजिम बजेट उपलब्ध भए मात्र ६ महिनापछि अन्तःशुल्क स्टिकर उत्पादन गर्न सकिने जनाउँदै आएको छ । केन्द्रका निर्देशक पौडेलका अनुसार हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिनेछ । प्रशासनिक प्रक्रियापछि अरू मेसिन ल्याएर जनशक्ति र कच्चापदार्थ व्यवस्थापनपछि पूर्ण रूपमा उत्पादन थाल्न करिब दुई वर्ष लाग्ने जनाइएको छ ।

केन्द्रमा गत वर्षको कात्तिकमा अन्तःशुल्क स्टिकर छाप्ने दुईथान उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्युरिटी डिजिटल प्रिन्टिङ मेसिन) र एकथान डाई कटिङ मेसिन ल्याइएको थियो । अघिल्लो आर्थिक वर्षको ७३ करोड रुपैयाँ बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरिद गरिएको हो । केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि तीन वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई सूचना–प्रविधि (आईटी पार्क)मा प्रेसको काम सुरु गरिएको हो ।

यस्तै, उक्त पार्क सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र)मा परिणत भएको छ ।  वि.सं. २०५७ मा निर्माण सुरु गरिएको उक्त आईटी पार्क निर्माणकार्य सम्पन्न भई वि.सं. २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब नौ करोड रुपैयाँ बजेट विनियोजन भई कामको सुरुआत गरिएको हो । प्रारम्भिक चरणमा करिब ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको केन्द्र निर्माण सम्पन्न गर्न क्रमागत बजेट विनियोजन गरिने जनाइए पनि गत आवमा यकिन बजेट विनियोजन गरिएको थिएन । राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो ।

प्रेस निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमिन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम भएको छ । खानेपानीका लागि एक/एक लाख लिटरका दुईवटा खानेपानीका ट्यांकी निर्माण, छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर सञ्चालन गर्ने इन्धन भन्डारका लागि तीन लाख लिटर क्षमताको अन्डरग्राउन्ड डिजेल ट्यांकी निर्माण सम्पन्न भइसकेका छन् ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने १० अर्ब रुपैयाँ जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ । कुल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र हाल दुईवटा ठूला व्यापारिक/प्रशासनिक भवन तथा चार सुविधासम्पन्न आवासीय भवनलगायत नौ भवन छन् ।

दक्षिण एसियामै नमुना र ठूलो मानिएको यो पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो । प्रयोगविहीन अवस्थामा रहँदा उक्त पार्कमा यसअघि चलचित्रको छायांकन, जिल्लाका राजनीतिक तथा अरू कार्यक्रम हुँदै आएको थियो । यसबीचमा केही सूचना–प्रविधिका संस्थाले पार्कमा बसेर काम थाले पनि छोटो समयमै छाडेर जाने गर्दै आएका थिए ।

सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको छ । सोहीअनुरूप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई उपलब्ध गराउनेछ । साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो । रासस

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्