site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहादुरको उपस्थितिले बानियाँलाई संकट : देउवा र शेखर दुवैसँग दूरी

काठमाडौं । वाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको एउटै समूहबाट दुई आकांक्षी देखिएका छन् । प्रदेशमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवानिकट नेताहरू बहादुरसिंह लामा (तामाङ) र इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने दौडमा छन् । लामा केन्द्रीय सदस्य हुन् । दुईपटक केन्द्रीय सांसद बनिसकेका छन् । बानियाँ ०७० सालको दोस्रो संविधानसभा सदस्य हुन् । अहिले पार्टीको वाग्मती प्रदेश सभापति छन् ।

यी दुई नेताहरू यही मंसिर ४ गते भएको निर्वाचनबाट प्रदेशसभा सदस्य पदमा विजयी भएका छन् । लामा नुवाकोट क्षेत्र नम्बर–२ ‘ख’बाट निर्वाचित सांसद हुन् । बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

निर्वाचनअघि नै आफूले मुख्यमन्त्री बन्ने आश्वासन पाएकाले प्रदेशतर्फ प्रतिस्पर्धा गरेको लामा बताउँछन् । आफू प्रदेशसभा संसदीय दलको नेता बन्न सांसद र पार्टीका नेताहरूसँग संवादमा रहेको उनले जानकारी दिए ।

उनी ०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । योपटक वाग्मती प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दै विजयी भए । उनले नेकपा (एमाले)बाट उमेदवार बनेका विजयसिंह लामालाई आठ हजार बढी मतान्तरले पराजित गरे ।

बानियाँले पनि एमालेका लालबहादुर थापामगरलाई करिब दुई हजार मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अघिल्लो प्रदेशसभामा संसदीय दलको नेता बनिसकेका बानियाँलाई लामाको उपस्थितिले अप्ठेरो अवस्था सिर्जना भएको टिप्पणी हुन थालेको छ ।

तत्कालीन समयमा केन्द्रदेखि प्रदेशसम्म एमालेको सत्ता ढलेपछि नेकपा (एकीकृत समाजवादी)सँग बानियाँको आलोपालो मुख्यमन्त्रीको सहमति भएको थियो । तर, केन्द्रीय राजनीतिका कारण उनी मुख्यमन्त्री बन्न पाएनन् ।

उनले एमालेबाहेकका दलसँगको सत्तासाझेदारीपछि मन्त्री सिफारिस गर्नेलगायत जिम्मेवारी पाए । थप शक्तिशाली बने । प्रदेशमा आफ्नो रवाफ देखाउँदा संस्थापनका नेताहरूसँग उनको सम्बन्ध बिग्रिएको थियो ।

स्थानीय तह निर्वाचनको टिकट वितरणमा उनी पार्टीभित्र हाबी भए । केन्द्रीय सदस्य अम्बिका बस्नेतदेखि सहमहामन्त्री महालक्ष्मी उपाध्यायसहितलाई पाखा लगाउँदै कांग्रेस संस्थापनमा आफ्नो छुट्टै समूह निर्माणको कसरत गरे । त्यसपछि कांग्रेस संस्थापनमै द्वन्द्व सुरु भएको थियो ।

अहिले निर्वाचित भएसँगै उनी प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, उनले स्थानीय निर्वाचनताका नै थालेको शक्तिको अभ्यासमा संस्थापनकै नेताहरूले चुनौती महसुस गरेपछि बानियाँ अप्ठेरोमा परेका हुन् । उनको विकल्पका रूपमा कांग्रेस संस्थापनले लामालाई ‘प्रोजेक्ट’ गरेपछि बानियाँसामु चुनौती बढेको छ ।

बानियाँले स्थानीय तह निर्वाचनको टिकट वितरणका समयमा संस्थापनका नेताहरूलाई अपमानित गरेको भन्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवासम्म सूचना पुर्‍याइएको थियो । त्यसपछि पनि बानियाँले बालुवाटारसँग सम्बन्ध सुधार्ने कदम चालेनन् । चुनौतीको भाषा प्रयोग गरिरहे । त्यसपछि देउवाले लामालाई अघि बढाउन लागेका हुन् ।

तर, बानियाँनिकटहरू बालुवाटारसँगको सम्बन्ध पूरै नबिग्रिएको बताउँछन् । अझै पनि बानियाँ नै मुख्यमन्त्री बन्ने जिकिर गर्छन् ।

“इन्द्र दाइ नै हो वाग्मतीको अबको मुख्यमन्त्री,” बानियाँनिकट एक नेताले बाह्रखरीसित भने, “मलाई लाग्दैन सम्बन्ध बिग्रिएको छ । उहाँले अघिल्लोपटक पनि पाउनु भएन । यसपटक मुख्यमन्त्री बन्ने पक्का छ ।”

उनीहरू दुवै नेता संस्थापन समूहका हुन् । दुवै पछि हट्ने अवस्थामा छैनन् । आफू केन्द्रीय सदस्य र ‘सिनियर’ भएकाले पनि अवसर पाउनुपर्ने लामाको भनाइ छ । उनी सभापति देउवाले नै आफूलाई मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा प्रतिस्पर्धा गराएको जिकिर गर्छन् ।

“म पार्टीको केन्द्रीय सदस्य हो । मैले प्रदेश लड्छु भनेर टिकट मागेको पनि थिएन । म त केन्द्र नै लड्छु भनेर टिकट मागेको थिएँ । गठबन्धन गरेर टिकट व्यवस्थापना गर्दा मलाई तल लडाइएको हो,” लामाले भने, “पार्टी सभापतिले टिकट दिने बेला नै मुख्यमन्त्री बनाउने गरी लडाइएको भनेपछि मात्र मैले प्रदेश लडेको हो ।”

आदिवासी जनजातिको बाहुल्यता भएको प्रदेशमा अब आफूले मुख्यमन्त्री बन्न पाउनुपर्ने उनी बताउँछन् । “अहिलेसम्म मैले अवसर पाएको छैन । यहाँ पाण्डे, पौडेललगायत समुदायले अवसर पाइसके । यो त जनजाति बाहुल्य भएको प्रदेश हो, अब हाम्रो पालो पनि हो,” उनले भने, “हाम्रो समुदायबाट मुख्यमन्त्री बन्नु पार्टीका लागि पनि राम्रो र संगठनको हिसाबले पनि राम्रो हो । यो प्रदेशका ६ जिल्लामा तामाङ बाहुल्यता छ । तामाङ बाहुल्य प्रदेशमा अरू हुनु हुन्न भन्ने हैन । तर, हामीले पनि अवसर पाउनुपर्‍यो । अवसर पाउँदा हामी पनि सबैलाई विश्वासमा राखेर न्यायपूर्ण जिम्मेवारी सम्हाल्न सक्छौँ भन्ने देखाउने अवसर पाउनुपर्छ भन्ने हो । नेताहरूले पनि भन्नुभएको छ । पहिला संसदीय दलको नेता बन्ने र मुख्यमन्त्री बन्ने तयारी मेरो छ ।”

बानियाँमाथि यही मंसिर ४ गते भएको निर्वाचनमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई हराउन लागिपरेको आरोप छ । उनीनिकट नेताहरूले निर्वाचनका समयमा करोड बढी पैसा झिकेर बाँड्दै उपाध्यायलाई हराएर राप्रपाका दीपक सिंहका पक्षमा बजार क्षेत्रमा भोट प्रभावित पार्ने प्रयास गरेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी समेत परेको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाविरुद्ध खरो रूपमा प्रस्तुत भएका बानियाँले इतर समूहको समर्थन पाउने सम्भावना कमजोर देखिन्छ । उनले सार्वजनिक रूपमै डा. कोइरालालाई ‘एउटा कर्मचारीले नेतृत्व गर्न नसक्ने’ भन्दै ‘त्यस्ता व्यक्तिलाई राजनीतिमा स्थान दिने कांग्रेसीहरू गलत’ भएको टिप्पणी गरेका थिए । त्यसैले संस्थापनइतर समूहसँग बानियाँ निकट हुन सक्ने अवस्था देखिँदैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro