काठमाडौं । आजभोलि काठमाडौंका चोक–चोकमा पठाओका नाममा मोटरसाइकल चालकहरु यात्रुसँग अफलाइन मोलमोलाइ गरिरहेका भेटिन्छन् । राइडरहरु यात्रुलाई खोसाखोस गरिरहेका हुन्छन् ।
कहाँ जाने हो ? पठाओ हो, भन्दै चोक–चोकमा सर्वसाधारणसँग बार्गेनिङ गर्नेहरुको लाइन हुन्छ । उनीहरु यात्रुसँग चर्को रुपैयाँको मोलमोलाइ गर्छन् ।
आफूले गरेको कामको केही प्रतिशत रकम पठाओलाई तिर्नुपर्ने र डाटा सकिने भन्दै अधिकांश राइडरले अफलाइन सेवा दिइरहेको बताए ।
यस्तो अवस्थामा यात्रु र चालक दुवैलाई जोखिम बढाएको गुनासो छ । तर, पठाओ, टुटललगायत दर्जनौँ सेवाप्रदायक कम्पनीहरु बेखबर छन् ।
मंगलबार साँझ नयाँ बानेश्वर चोकमा बा ८१ प ३५५० नम्बरको मोटरसाइकल चालक एक याुत्रसँग अफलाइन बार्गेनिङ गरिरहेका भेटिए । गाडी कुरिरहेका यात्रुलाई ती राइडरले सुरुमै ‘कहाँ जाने हो ? पठाओ हो’ भन्दै सोधेँ ।
यात्रुले ‘पठाओ चाहिने भए अनलाइन बुक गरेर गैहाल्छु नि !’ भन्दै जवाफ फर्काए र गाडी कुरिरहे ।
यात्रु–जोरपाटी जाने गाडी कुरिरहेका थिए । बानेश्वर क्षेत्रबाट बौद्ध जोरपाटीका लागि माइक्रोबस र ट्याम्पो छिटफुट मात्रै छुट्छन् ।
चालकले पुनः जाउँ न जाउँ मिलाएरै लैजान्छु भन्दै कर गर्न थाले । आधा घण्टापछि गाडी आयो र उनी गाडीमै यात्रा गरे ।
लु ६६ प ४७२२ नम्बरको मोटरसाइकल पनि पठाओ चाहिँएको हो ? भन्दै यात्रुसँग अफलाइन बार्गेनिङ गरिरहेको पाइयो ।
यात्रुले कतिमा लाने हो भन्दै गरेको प्रश्नमा राइडरले मिलाएर २०० रुपैयाँमा जाम न भन्दै मोलमोलाइ गरे ।
यात्रुले १५० रुपैयाँ जान आग्रह गर्दा राइडरले भने, “रातिको समय टिप लाग्दैन । घुमेर बौद्ध नै आउनुपर्छ । १५० ले भ्याउदैन २०० दिनुस्,” ती राइडरले भने ।
त्यसपछि उनले जोरपाटीसम्म अफलाइन यात्रा गरे ।
त्यस्तै जडिबुटी चोकमा पनि यस्तै बार्गेनिङ गरिरहेको अवस्थामा ०३२ प ८६६६ नम्बरको मोटरसाइकल चालक भेटिए ।
एकजना यात्रुले गोठाटार जाने भन्दै राइडरलाई सोध्दा २५० रुपैयाँ लाग्ने राइडरले बताए । यात्रुले अनलाइन हेरेर जति आउँछ त्यति दिन्छु भन्दा चालकले मोबाइलमा डाटा सकिएको बहाना बनाए । तर चालकले दुवैजनालाई फाइदा हुने भन्दै अफलाइन राइड नै गरे ।
यसरी अफलाइनमा राइड गर्ने चालकहरुले चर्को भाडादर असुलिरहेका छन् । अफलाइन राइड गर्दा यात्रु र चालक दुबै असुरक्षित हुन्छन् ।
दुर्घटनाको जोखिम र लुटपाट हुने जोखिम बढेर गएको छ । सेवा प्रदायकसँग नजोडिइ सिधै मोटरसाइकल चालकसँग बार्गेनिङ गर्दा विभिन्न ठाउँमा गम्भीर दुर्घटनासमेत हुने गरेका उदाहरण छन् ।
२०७८ साल माघ ८ गते शनिबार काठमाडौंका प्रविन राईले वाग्मती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरकोे मोटरसाइकलमा राति कोटेश्वरबाट धापाखेल जान सुमन तामाङसँग अफलाइन बार्गेनिङ गरे । साढे ११ बजे सुमनलाई धापाखेल पुर्याउन अफलाइन हिँडे ।
तर उनले यात्रुलाई धापाखेल पुर्याउन साथ तीनै यात्रुबाट अपहरणमा परे । तामाङका साथी मिनराज राई दुई जना मिलेर उनलाई बन्धक बनाइ मोटरसाइकल लुटपाट गरे । चालक राईसँग भएको ८ हजार नगद पनि लुटपाट भयो ।
त्यसपछि स्थानीयको सहयोगमा चालक राई अस्पताल पुग्नु पर्यो ।
लुटपाट र अपहरणपछि प्रहरीले मोटरसाइकलसहित चन्द्रागिरिबाट अपहरणकारीलाई पक्राउ गर्यो ।
त्यसको दुई दिनपछि राइड सेयरिङ कम्पनी पठाओले एक विज्ञप्ति जारी गर्दै उक्त राइडर राईले अनलाइनबाट नभइ अफलाइन राइड गरेको भन्दै जिम्मा नलिने बतायो ।
पठाओ राइडरहरुलाई अफलाइन राइड गर्दा कम्पनी जिम्मेवार नहुने भन्दै सचेत गरायो । गत साउन १० गते बेलुका तगेन्द्र राईले पनि बल्खुदेखि कुसुन्तीसम्म अफलाइन राइड गरे ।
तर गन्तव्यमा नपुग्दै मोटरसाइकल मिनीट्रकसँग ठोक्किएर राइडरको ज्यान गयो ।
यात्रु गम्भीर घाइते भए । उनले पनि अफलाइन राइड गरेकै कारण उनको परिवारले कम्पनीले दिने बिमावापतको रकम समेत पाएनन् । गम्भीर घाइते भएका यात्रुले पनि आफैँ उपचार गर्नुपर्यो ।
अफलाइन राइडकै कारण निम्तिएका यस्ता घटनाहरु केही उदाहरण मात्रै हुन् । अत्यधिक दुर्घटनाको जोखिमकै बीच अफलाइन राइड गर्ने यात्रु र चालककोे संख्या झनझन बढ्दै गएको छ ।
दुईपाङ्ग्रे सवारी दुर्घटनाको तथ्यांक भने डरलाग्दो छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार चालु आर्थिक वर्षमा मात्रै काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लामा मात्रै ३ हजार ३३६ सवारी साधन दुर्घटनामा परेका छन् ।
जसमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनाको संख्या २६४६ रहेको छ ।
यी सबै दुर्घटना गरी जम्मा ७ हजार ५९४ सवारी साधनको सहभागिता रहेको ट्राफिकको तथ्यांकले देखाउँछ ।
त्यस्तै आर्थिक वर्ष ०७८–७९ मा १० हजार ७३३ सवारी साधन दुर्घटनामा परेको ट्राफिकको तथ्यांक छ । जसमध्ये ८ हजार ३६४ मोटरसाइकल र स्कुटरको दुर्घटना भएको छ ।
ट्राफिकले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनको आधारमा दुर्घटनाको तथ्यांक संकलन गर्छ ।
राइडिङ सेयरिङ कम्पनी अहिले निकै बढी भएको र प्रतिष्पर्धाका कारण पनि धेरै अफलाइन बस्ने गर्दा र हतार गर्दा बढी दुर्घटनाको जोखिम बढेको बताइएको छ ।
सवारी साधन पार्किङ गर्न नमिल्ने ठाउँबाहेक अन्य अवस्थामा ट्राफिकले राइडरलाई कारबाही गर्न नमिल्ने बताउँछ ।
अफलाइन यात्रु नपाएको खण्डमा मात्रै अनलाइन बस्ने गरेको उनीहरुको भनाइ छ । अफलाइन राइड गर्न आफूहरुलाई पनि रहर नभइ बाध्यता रहेको राइडरहरुको दाबी छ ।
नेपालमा पठाओ, टुटल, इन्ड्राइभ, ट्याक्सीमाण्डु, सहारालगायत दर्जनौँ कम्पनीले नेपालमा अनलाइन राइडिङ सेवा दिइरहेका छन् । तर सरकारी नियमन बाहिर छन् ।
सेवाप्रदायक कम्पनी दर्ता गरेर मात्रै चलाउने गरी काुनुन बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
संघीय सवारी तथा यातायात व्यवस्था विधेयकमा अनुमति दिने प्रस्ताव गरिएको समेत मन्त्रालयले जनाएको छ ।
अब बन्ने ऐन नियमले यसलाई अनुमतिमा ल्याएर नियमन गर्ने मन्त्रालयको भनाइ छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले नियमन गर्ने विषयमा छलफल भइरहेको बताए ।
“पठाओ टुटल लगायतमा राइडिङ सेयरिङलाई के गर्ने भन्नेबारे छलफल भइरहेको छ । यद्यपी टुंगो लागिसकेको छैन,” उनले भने ।